गोहीको साथी

गोहिँ

हेर्दा मान्छेजस्तो लाग्थ्यो
मान्छेकै जस्ता दुई ओटा गोडा
मान्छेकै जस्तो आकृति
मान्छेकै जस्तो उभ्याइ, हिँडाइ र बोलाइ थिए उसका
लाग्थ्यो, त्यो मान्छे हो
निक्खुर मान्छे

एक दिन ऊ हाँस्तै
म नेर आउँदै थियो
म पनि मान्छे न हुँ
फिस्स हाँसि दिएँ

उसले मलाई च्याप्प समात्यो
ग्वाम्लाङ्ङ अँगालो मार्‍यो

मलाई चाट्न थाल्यो

म मक्खिएँ चाटिन पाएकामा
धेरै माया गरेको ठानेँ
उसले चाट्दै गयो,
म चाटिँदै गएँ

उसले धेरै चाटेपछि
म आत्तिएँ
मेरा गाला, हात, पाखुरा र गोडाका
मासुहरु त
दर्फरिइसकेका रहेछन्
जता छाम्दा पनि दुख्तो रहेछ
जता छाम्दा पनि पीडा नै हुँदो रहेछ

उसले चाट्ता चाट्तै
क्रूरताका डामहरु छोडि सकेको रहेछ
पीडाका स्मारकहरु खडा गरि सकेको रहेछ
झलक्क हेर्दा दयालु जस्तो
पुलुक्क चियाउँदा मायालु जस्तो
त्यो त
बोली मिठो

जिब्रो खस्रो भएको
गैँडा पो रहेछ
गोहीको साथी!

(Picture Source : Click Here)

लामखुट्टेहरू

mosquito-clipart2

लामखुट्टेहरू रगत चुसिरहेछन्
निर्दोष मानिसहरूका
परजीवी हुनुको लक्षण
वर्षौँदेखी देखाउँदै आएका छन्

बिगो गर्नेले अमल तिर्नैपर्छ
सजायमा उनीहरू अर्मल पनि तिरिरहेछन्
प्राणदण्ड स्वकारेर

रगत चुसिरहेका लामखुट्टेहरू देखेर
शोषणका उग्र विरोधिहरू
तिनलाई
ठामका ठामै ठहरै पार्दैछन्
रगत चुसुवामा सुचिकृत गरेर

जतिखेर लामखुट्टेले रगत चुस्तै हुन्छन्
त्यतिखेर देखिने लामखुट्टेहरू
सूचीकृत हुदैँछन्, परमधाम जाँदैछन्
सूचीवालहरूद्वारा

तर नदेखिने लामखुट्टेहरू
थाहै नपाई चुस्स टोक्ने लामखुट्टेहरू
बाँचिरहेछन्
बचेको बच्यै छन्

भिजिटरहरूको अर्कै खेती छ
तिनीहरू सयौँ वर्ष पुरानो
डी.डी.टी. छर्कने सल्लाह दिदैँछन्
तर
मान्छेहरू डी.डी.टी. छर्कदैँछन्
लामखुट्टेहरू बढ्दैछन्
प्रतिरोधात्मक शक्ति बढ्दैछ
लामखुट्टेहरूमा

जय खरपस !

hill_area 

यता हेर्छु खरपस देख्छु
उता हेर्छु खरपस देख्छु

खरपसबाट घेरिएकैले
म भोकाएको रहेछु
नाङ्गिइ सकेको रहेछु
ओत गुमाइ सकेको रहेछु

अब मलाई खरपसबाट मुक्ति
आवश्यक छैन
किनभने
अब मेरा हातहरु खरपस नै खोज्छन्
अब मेरा गोडाहरु खरपस नै खोज्छन्
अब मेरा आखाँहरु खरपस नै खोज्छन्
त्यसैले अब म पनि
निर्धक्क भन्छु
जय खरपस !

(Picture source:-Click Here)

नेपाली भाषामा नेवारी भाषाको प्रभाव: सामान्य दृष्टि

old-architecture-newari परापूर्वकालदेखि नै एक भाषाभाषीको प्रभाव अर्को भाषाभाषीमा पर्दै आएको हो । एउटा भाषाको प्रभाव अर्को भाषामा नपर्ने हो भने प्रायः भाषाहरू समृद्ध हुन सक्तैनन् । कुनै पनि भाषामा मौलिक शब्दहरू हुनु नै राम्रो हो तर अर्को भाषाको प्रभाव पर्नै हुन्न पनि भन्न सकिन्न । ‘ बुढा मरै भाषा सरै’ भनेझैँ भाषा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदैँ जान्छ तथा अवस्था र स्थान विशेषका कारणले यो स्थानान्तरण पनि हुँदै जान्छ ।

नेपाली भाषाको मूल संस्कृत हुँदै हो, त्यसैले आधाजसो शब्द नेपालीमा संस्कृतबाट नै आएका छन् । यसैगरी नेपाली भाषामा अङ्ग्रेजी भाषाको प्रशस्त प्रभाव परेको छ । यस्तै अरबी, फारसी, हिन्दी, तुर्की, पोर्तगाली, चिनियाँ एवं फ्रान्सेली भाषाहरूको । नेपालमा बोलिने अन्य भाषाहरुको प्रभावलाई पनि नेपाली भाषाले राम्रैसँग ग्रहण गरेको छ । नेवारी, थारु, लिम्बू, मैथली, मगराँती आदि भाषाहरूबाट पनि प्रभावित छ नेपाली भाषा ।

राष्ट्र भाषाहरुमध्ये सबैभन्दा बढी नेवारी भाषाबाट प्रभावित छ नेपाली भाषा । नेपालको राजधानी नै नेवारहरुको बहुल क्षेत्र भएकाले यस्तो भएको हुन सक्छ । नेपाली बृहत् शब्दकोश ( ने.रा.प्र.प्र., परिमार्जित संस्करण २०५८ ) का अनुसार नेपाली भाषामा नेवारी भाषाका सवा दुई सय जति शब्दहरू मुद्रित रूपमा समाविष्ट छन् । तीमध्ये कतिपय शब्दहरु राजधानी बाहेक अन्यत्रका नेपाली भाषीहरूका जिब्रामा त्यति सारो झुन्डिन सकेका छैनन् ।

नेपाल भाषाको रूपमा समेत चिनिने नेवारी भाषामा कस्ता कस्ता शब्दहरू छन् भन्ने कुरा खोजको अर्कै विषय हुन सक्छ ।

पारितोषिक

award

‘भ्रम पो रहेछ ।’ जिल्ल पर्दै कमल बोल्छ । यताउति हेर्छ, अरूले उसको स्वर सुनेको भए अवश्य उसलाई पागल भन्थे होलान् ।

कयौँ वर्षदेखि ऊ त्यहाँ काम गरिरहेको छ । त्यहाँ थुप्रै सहकर्मीहरू छन उसका । कोही उत्तिकै कर्तव्य परायण, उत्तिकै निष्ठावान्, कोही ठिक विपरीत अर्थात् कर्तव्यच्यूत र निष्ठाहीन । सङ्ख्या भने दोस्राहरूको नै बढी छ । साथै कर्तव्यच्यूत र निष्ठाहीनहरूको एउटा सङ्गठन छ ‘कनिस’ प्रसङ्ग अनुसार उनीहरूको सङ्गठनको राम्रो अर्थ पनि लाग्न सक्छ अर्थात् कर्तव्य परायण तथा निष्ठावानहरूको सङ्गठन ।

त्यहाँ त्यसकै बोलवाला छ अर्थात् त्यो गिरोहले भनेकै चल्छ । व्यवस्थापन पक्ष उनीहरूदेखि डराउँछ र ‘कनिस’ को निर्णय र चाहना पन्छाउन सक्तैन । यो उसको बाध्यता हो वा आत्मिक चाहना हो, खुट्याउन गाह्रो मात्र होइन , साह्रै गाह्रो छ ।

कार्यरत कर्मचारीहरूको वार्षिक मूल्याङ्कन गर्दै कर्तव्यपरायणहरूलाई पुरस्कार दिने परम्परा त्यहाँ वर्षौँदेखि छ ।

आफू कर्तव्यनिष्ठ भएकामा कमलालाई गर्व छ किनभने उसको कार्यको प्रतिफल उसले सोचे अनुसार वा लक्ष्य अनुसार नै हुँदै आएको छ र व्यवस्थापनले पनि उसको प्रशंसा गर्ने गरेको छ ।

पारितोषिक वितरणको दिन भव्य कार्यक्रमको आयोजना हुन्छ । कार्यालयका उसका सम्पूर्ण सहकर्मीहरू सो कार्यक्रममा उपस्थित हुन्छन् । पारितोषिक तिन जनालाई दिइने भएको हुन्छ । मूल्याङ्कन समितिको निर्णय सुनाइँदा आफ्नो नाम पनि पर्छ, अझ एक नम्बरमा पर्छ भनेर उ पक किसिमले विश्वस्त नै हुन्छ ।

ऊ उद्घोषकको मुखबाट आफ्नो नाम सुन्न आतुर हुन्छ । नभन्दै उद्घोषकले पुरस्कार पाउनेहरूको नाम भन्छन् “यो वर्ष कार्यालयको लक्ष्य अनुसार कर्तव्य निष्ठा तथा आआफ्ना जिम्मेवारी पुरा गर्ने उम्दा कर्मचारीहरू हुनुहुन्छ विभीषण, हनुमान र कुम्भकर्ण ।”

 (Image Source: Click Here )

आँखा ( लघुकथा )

fuuny doctor ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् ।

‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन । यस्ता रोगमा के के जाति रोगका लक्षण देखिन्छन् भन्ने सुनेर आएको हुँ ।’ रोगी आफ्नो रोगलाई राम्ररी हेरियोस् भन्ने आग्रहयुक्त बोली एकै सासमा तुर्याउँछन् ।

रोगीलाई आफ्नो अलि नजिक डाक्तै डाक्टर हल्कै तरिकाले हेर्छन् र भन्छन् ‘देखिँदैन त ?’

‘इ ! याँनेर डाक्टर साहेब !’ रोगीले रातै ठाउँमा देखाउँछ ।

‘खै, मैले त देख्तै देखिनँ।’ डाक्टरको उपेक्षित जस्तो जवाफ हुन्छ ।

यस घाउका बारेमा शङ्का भएपछि ‘ दुइटा प्राइवेट क्लिनिकमा यसको उपचार गराएँ तर ठिक भएन । त्यसैले यहाँ आएको हुँ ।’ यसभन्दा अघिको उपचारको स्थिति अवगत गराउँछन् रोगी ।

त्यसपछि डाक्टर प्रसन्न हुँदै भन्छन् ‘ए ! उसो भए मेरो पनि प्राइवेटमै आउनुस् न !’

 

( Source of photo :Click here )

टिकट ( लघुकथा )

एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि थिए । त्यसैले उसले मामानेर आफ्नो समस्याको पोको फुकायो । भान्जाको अप्ठ्यारो परिस्थितिसँग मामा राम्ररी परिचित थिए । यस्तो स्थितिमा फाइदा उठाउन राजनीतिमा खप्पिस मामा के चुक्थे र ! मामाले भनी पनि हाले 'भान्जा ! जागिर त जहाँसुकै पाइन्छ तर भान्जाको विचार चाहिँ अलि ‍‍-----------। भान्जा चाहिँ अलि जिल्ल पर्यो र सोध्यो 'के भन्न खोज्नु भएको मामा, प्रस्ट भन्नुहोस् न !'

मामाले आफ्नो अभीप्सा पुरा हुने ठानेर जुङ्गामा ताउ लाउँदै भने 'मतलब, सत्ताधारी पार्टीको टिकट लिनु पर्यो ।'

आफ्ना मामाले समेत विचारको सौदाबाजी गर्न खोजेको देखेर भान्जा मामाको मुखमा हेर्या हेर्यै भयो ।

न्वारान ( लघुकथा )

Modern Purohit

‘नमस्कार पण्डित बाजे ! भोलि छोरीको न्वारान छ, आइ दिन सक्नु हुन्छ?’ ‘हुन्छ आइ दिउँला नि त ! बरू कति बजे हो कुन्नि ! पण्डित प्रश्न गर्दछन् । ‘सकेसम्म सात बजे बिहान हजुर ! अरू काम पनि छ, दिउँसो सबेरै सकिए पछि धन्दा नै छिनिन्छ बाजे ।' पण्डित स्वीकृति सूचक मुन्टो हल्लाउँछन् । पण्डित बाजेलाई नमस्कार गर्दै रामबिर घर जान्छ ।

भोलिपल्ट पण्डितलाई दिएको वचन पुरा गर्न र छोरीको न्वारानको फुरफुरले गर्दा रामबिर बिहान चार बजेदेखि नै उठेर पूजा सर्दाम मिलाएर ठिक पार्छ । तर ९ बजि सक्ता पनि पण्डितको पत्तो फाँट नपाएपछि पण्डितले बिर्से कि भन्ठान्दै बोलाउन घर जान्छ । तर अघि नै जानु भएको भन्ने पण्डितनी बज्यैको उत्तरले निराश हुन्छ । छटपटीले पिरोलिएर भौँतारिँदै हिँड्दै गर्दा एउटा भट्टीमा उसको आँखा ठोक्किन पुग्छ अचम्मित हुँदै । बाजे त २-३ गिलास लगाएर नटुङ्गिने गफ गरेर पो बसेका रहेछन् । रामबिरलाई देखेपछि ‘किन आयो होला ?’ भन्ठानेर निकैबेर घोरिएपछि उसकी छोरीको न्वारानको लागि बोलाएको कुरो बल्ल सम्झन्छन् । अनि पण्डित जगन्नाथ लर्बरिँदै बोल्छन् ‘ए ह्यामबीरे, तेइ छोरीको न्वायान ह्यै छ है ! मइले त हुसुक्कै बिसेको ! लौ हिँड् ।‘

आफ्नी पत्नीको सुतक फुकाइ दिएर चोख्याइ दिने पण्डित बाजेको चारित्रिक शुद्धता देखेर अचम्म मान्दै रामबिरे उनको पछि-पछि पाइलो चाल्छ घरतर्फ । 

( Source of photo: Click here )

'प्रेतकल्प' पढ्दा

नारायण ढकालज्यू,

मैले 'प्रेतकल्प' भर्खरै जसो पढेँ । तपाईँनेर गरेको वचन अनुरूप यो पत्र लेख्तै छु । पुस्तक केही कुरामा अरू उपन्यासहरूभन्दा पृथक् छ । कुनै परिच्छेदमा प्रथम र कुनैमा तृतीय पुरुष प्रयोग हुनु फरकपना हो । यस्तै परिच्छेदपिच्छे टिप्पणी फरक जस्तो लाग्छ । टिप्पणीहरूले उपन्यासका प्रकरणहरूलाई जीवन्त पारेका छन् ।

पण्डित बालकृष्ण र उसको परिवारले रत्ति नडगी एकपछि अर्का हिम्मतिला कार्यहरू गर्नु , समाजबाट सहमति प्राप्त हुँदै जानु र सफलता समेत प्राप्त हुँदै जानु चमत्कार जस्तै लाग्छ । त्यो चमत्कारै चमत्कारको भुवँरी कतिखेरसम्म चल्ने हो शङ्का पनि लाग्छ । चन्द्र शमशेरजस्ता निरङ्कुश शासकका अगाडि आर्य समाजी प्रचार गर्नु, चन्द्र शमशेरको निम्तो अस्वीकार गर्नु, जातपातको कुरा मेटाउन खोज्नु , अझ अश्विनीको संरक्षण गर्नु, विष्णुभक्तलाई नरम बनाउनु, शिक्षाको ज्योति छर्ने कार्य गर्नु, चेतना फैलाउने कार्य गर्नु एकपछि अर्का जादुगरी जस्ता लाग्ने कार्यहरू हुन् । अझ विधवा विवाह र अन्तरजातीय विवाह त्यसबेलाका परिवेशमा अति क्रान्तिकारी कार्यहरू हुन् ।

यस उपन्यासले दुइटा शिक्षा दिन खोजे जस्तो लाग्छ - पहिलो, उपन्यासका कथानक तथा घटनाक्रमहरूले समाजमा जागरण ल्याउन सङ्गठनको आवश्यकता औँल्याउनु हो भने दोस्रो समाजलाई बदल्न व्यक्ति पर्याप्त हुँदैन, राज्यको कानुन पनि सहयोगी हुन सक्नुपर्छ भन्ने हो ।

'क्रान्तिको महान् गीत झैँ', 'फाँटको साँढे झैँ', 'असारे फूल झैँ' जस्ता सुन्दर उपमाहरू पाइने यो कृति सूक्तिमय वाक्यहरूले अझ सुन्दर बनेको छ र मार्मिक पनि छ ।

अति कथ्य 'मन्नोदरी', 'भे', 'विधुवी' सामान्य पाठकका लागि उपयुक्त जस्तो लागि हाले पनि अनेपाली 'दोगला' खट्कँदो शब्द हो । 'टाउचे', 'टेठा', 'खलिखप्पर', 'खुल्ली' जस्ता अप्रसिध्द शब्द भाषिका भए पनि सामान्य पाठकका दिमागभित्र घुस्न गाह्रो मान्छन् । 'कथाकारको टिप्पणी' मा पुनरुक्ति पाइन्छ भने आदरगत त्रुटि पनि पाइन्छ ।

बालकृष्ण थुनिएपछि उसको बाली स्याहारिदिने को थिए ? बाहिर खुलेर समर्थन गर्न नसके पनि भित्रभित्र सघाउन खोज्ने सार्कीहरू थिए कि अरू कोही ? विष्णुभक्तको छोरा किन त्यति साह्रो पलायन भएको ? त्यस्ता साहसिक कार्य गर्न सक्ने बालकृष्ण किन त्यति विघ्न निरीह देखिएको ? कुराहरू राम्ररी खुल्न सकेका छैनन् ।

पुस्तक पढिरहँदा हृदय चन्द्रसिंह प्रधानको उपन्यास 'स्वास्नीमान्छे' र कृष्ण धरावासीको कथा 'झोला' को सम्झना आउँछ ।

कृति उपन्यास हुनाले टिप्पणीलाई 'कथाकारको टिप्पणी' नभनेर 'उपन्यासकारको टिप्पणी' भन्न पाएको भए राम्रो हुन्थ्यो ।

प्रगतिवादी लेखक भएर पनि यौन सन्दर्भ प्रस्तुत गर्नु भएको रहेछ । यस्तै अश्लील शब्दको पनि प्रयोग पाइन्छ ।

'दु:खको नवीकरण' भन्ने परिच्छेद नराखेकै भए राम्रो हुन्थ्यो । नागरिकहरू निराश भएको अवस्थामा झन् हतोत्साहित पार्न हुन्नथ्यो ।

ढकालज्यू !

पुस्तक रोचक छ । सुरुमा प्रेरक छ र अन्त्यमा निराशाजनक ! मेरो विचारमा होनहार लेखक तपाईँले क्षतिपूर्तिमा अर्को उपन्यास लेख्नुपर्छ; बालकृष्णकै शृङ्खलामा वा एउटा गतिलो पात्र राखेर ! प्रेरक र उत्साहवर्ध्दक उपन्यास लेख्नुपर्छ ।

तपाईँको

रमेशमोहन अधिकारी

'ठूली' पढ्दा

नरनाथ लुइँटेलज्यू,

तपाईँले आफ्नी आमालाई सम्झेर लेख्नुभएको शोककाव्य 'ठूली' भर्खर पढिसिध्याएँ । आमाका बारेमा लेख्नुभएको राम्रो हो । आमाका बारेमा धेरै मानिसहरू संवेदित हुन्छन् । स्वाभाविकै हो , आमाले जत्तिकै माया र त्याग गर्ने नातादार वा अन्य व्यक्ति पनि कमै भेटिन्छन् ।

आमाका बारेमा लेख्नुपर्छ भन्ने प्रेरणा मैले सर्वप्रथम श्यामप्रसादबाट पाएको थिएँ । उहाँले आफ्नी आमाका बारेमा आमाको जीवन छँदै लेख्न नसकेकामा पछुतो मान्नुभएको थियो । त्यसैले म आमाको जीवन छँदै लेख्न चाहन्थेँ तर सकिनँ । जीवन छँदै लेख्ता त्यसमा आमाको चित्त नबुझ्न सक्थ्यो । त्यसले हामीबीचको समझदारीमा असर पार्न पनि सक्थ्यो । त्यसैले मैले मेरी आमाको देहावसानको एकतीसौँ दिनमा मात्र 'आमा' शीर्षकमा संस्मरण लेख्न सकेँ, जुन तपाईँले पढिसक्नुभएको हुन सक्छ ।

'ठूली' पढ्दा मैले तपाईँकी आमालाई मेरी आमाको समानान्तरतामा हेरेछु । तपाईँकी आमाले तपाईँलाई गर्नुभएको मायालाई मेरी आमाले मलाई गर्नुभएको ठानेछु र तपाईँकी आमाले तपाईँका बारेमा सोच्नुभएको कुरा मेरी आमाले मेरा बारेमा सोच्नुभएको ठानेछु । त्यसैले 'ठूली' का सिलोकहरू पढ्दा म द्रवित भएको रहेछु ।

'आशा किन नगरेकी त्यो गुनको गुन
बैगुनीले सकेनछौँ तिम्रा आँसु धुन'

पढेपछि मैले आफूलाई थाम्न सकिनँ, त्यसपछि दस मिनेटजति थामिएर पढ्न खोजेँ पुन: पढ्न सकिनँ । हो, त्यही रन्कोमा मैले तपाईँलाई एस्एम्एस् गरेको थिएँ 'रुने किन लेख्नुभएको ? रोएरै पढ्न सकिनँ मैले त !'

मेरो एस्एम्एस्ले पक्कै तपाईँलाई मर्माहत तुल्याएको हुनुपर्छ । आफ्नी जन्मदातृसँग सधैँभरिको लागि बिछोड कुनै पनि सुयोग्य छोराछोरीका लागि मार्मिक हुन्छ, त्यही कुराको अभिव्यक्ति थियो तपाईँको लेखाइमा । नितान्त आफ्नो संवेदना पोखिएको थियो त्यसमा । कसैलाई पीडा पार्ने उद्देश्य थिएन त्यो लेखाइको र पनि मैले चित्त कुँडिने एस्एम्एस् पठाएछु ।

कहिलेकाहीँ संवेदित पाठकले यसो गर्न पनि सक्छ। यसले असमञ्जसमा परिन्छ, चित्त दुख्ने स्थिति आउन पनि सक्छ तर यो लेखकको सफलता पनि हो ।

तपाईँको पुस्तकमा केही मार्मिक प्रसङ्गहरू आएका छन् । महिलाले हलो जोत्न हुँदैन भन्ने धारणा र अर्कातिर आमाले हलो जोत्नै पर्ने बाध्यता । यस्तै 'बाहुनले च्याउ खान हुँदैन' भन्ने धारणा र अर्कोतिर च्याउ खानै पर्ने बाध्यता । यस्ता केही गर्न नमिल्ने भनिएका बाध्यताहरू यथार्थताका विरूध्द छन् तर नगरी नहुने प्रकारका छन् । निकास दिन नसक्नेको औँलो ठड्याउने हक हुँदैन तर हाम्रो समाज उपयुक्त निकास दिने ल्याकत पनि राख्तैन र औँलो पनि ठड्याउँछ । पति भएर आफ्नो भूमिका वहन गर्न नसक्नेलाई स्याबासी दिने हाम्रो समाज लाजै नमानी एउटी पत्नी हुँदाहुँदै साली स्याहार्नेलाई धाप मार्छ । निरीहका पक्षमा बोल्न सक्तैन र चाहँदैन तर आफूलाई बाठो ठान्छ । हो; यो नचाहिँदो बाठोपनको तपाईँले पर्दाफास गर्नुभएको छ, राम्रो पक्ष हो ।

अत्याचारको पराकाष्ठाले मानिसलाई सहिष्णु वा विद्रोही जस्तो पनि बनाउन सक्छ । सहने प्रवृत्तिकाहरू सहेरै जिन्दगी बिताइदिन्छन् तर सहन नसक्नेहरू विद्रोही बन्न पुग्छन् । तपाईँ र आमाको बीचको फरक पनि त्यही होला ।

तपाईँ र आमाको बीचको सम्झौता गजब लाग्छ । एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तपाईँका घरमा अपवादका रूपमा भएजस्तो लाग्छ । सबैका आमाहरू कहाँ त्यति लचिला हुन्छन् र ? आमालाई त्यो कुरामा मनाउन तपाईँ सफल हुनुभएको रहेछ ।

आफ्नो मृत्युपश्चात् पिण्ड-पानी नदिन गर्नुभएको आग्रह जायज छ ।

अँ, तपाईँले आफ्नी आमाको दिगो सम्झनाको स्मारकका रूपमा केही गर्न खोज्नुभएको रहेछ । त्यसो गर्दा सम्भव भए वृध्दाश्रम नै राम्रो हो, नसक्ता पुरस्कार स्थापना गर्दा पनि हुन्छ । यसमा हाम्रो अनुभवले तपाईँलाई सहयोग गर्न सक्छ ।

हाम्रो बुवा २०३२ सालमा नै बित्नुभयो । हामी आमाकै संरक्षणमा हुर्क्यौँ । आमा २०६३ चैत्रमा बित्नुभयो । हामीले आमाको जीवनकालमै अर्थात् २०५२ सालमा 'शिव-सावित्री प्रतिष्ठान' स्थापना गर्यौँ र २०५४ सालदेखि केही वर्षसम्म साहित्यिक कार्यक्रमको प्रायोजन र लगभग २०६० देखि आयोजन नै गर्न थाल्यौँ । आमा खस्नुभएपछि त्यस क्रममा केही परिवर्तन आएको छ ।

आमाको जिउनीबाट क्रिया र बरखी गरेर बाँकी रहेको जग्गा आमाबुवाकै नाममा रहने सर्तमा 'शिव-सावित्री आँखा अस्पताल' खोल्न दिने निर्णय भएको छ । अस्पतालले सो सहयोग निश्चित समयभित्रमा प्रयोग नगरेमा त्यसका बारेमा पुन: निर्णय गर्नुपर्ने हुन्छ । यता हेटौँडामा चाहिँ मेरो व्यक्तिगत व्यवस्थापनमा प्रत्येक वर्ष दिने गरी 'शिव-सावित्री मुक्तक साहित्य पुरस्कार' स्थापना गरिएको छ । 'झरना-हेटौँडा सेतु'द्वारा आयोजना गरिने प्रत्येक वर्षको चौथो मुक्तक गोष्ठीका उत्कृष्टलाई दिइने पुरस्कार राशि रु ११११।– रहेको छ ।

यस्तै वा अन्य खाले पुरस्कार स्थापना गरेर पनि पितृलाई सम्झने बाटो गर्न सकिन्छ ।

मानिसले मरेर जाँदा केही लाने होइन, छोडेर जाने कीर्ति वा अकीर्ति हो । मरेर जाने त गइहाल्छन्, उनीहरूलाई सम्झने बाटो गर्नाले आफूलाई पनि सन्तुष्टि मिल्छ, यो नै बाँच्नेका लागि प्राप्ति हो ।

चिठी लामो पो हुन थालेछ । अरू कुरा भेटमा वा अर्को पत्रमा गरौँला । अहिलेलाई बिट मारेँ है त !

तपाईँको

रमेशमोहन अधिकारी

साहित्यमा कोमलता

कमलो वस्तुमा हुने गुण नै कोमलता हो । कोमल हुनु भनेको नरम हुनु हो ।
कुनै वस्तु नरम छ भने त्यसलाई स्पर्श गर्न पाउँदा मात्र पनि हामीलाई आनन्द आउँछ । नरम वस्तुलाई छुँदा आउने आनन्द साहित्यमा नआउन पनि सक्छ ।
साहित्यमा कोमलता भनेको मन छुने हुनु हो । मन छुने साहित्यिक रचनाले कहिले मनलाई आनन्दित तुल्याउँछ भने कहिले पीडित समेत । कविता अझ पद्य कविताका सन्दर्भमा भन्नुपर्दा माधुर्य गुण भएका कारण करुण, शृङ्गार आदि रसका रचनाहरू मूलत: कोमल हुन्छन् ।
शृङ्गार रस प्रधानताको पृथक्ता बोकेर आएको हुनाले गजल कोमल हुन्छ तर गीत अझ कोमल हुन्छ । यस्तै कविता तथा मुक्तकहरू पनि कोमल हुनु राम्रो हुन्छ । हाइकु, हाइकाइ, क्षणिका तथा छोकहरू भने अलि पृथक् प्रवृत्तिका हुन्छन् । जुन विषयमा हामी जति पग्लन सक्छौँ, जति हामी सलल बग्न सक्छौँ, त्यति नै त्यो सुबोध्य, हृदयसंवेद्य वा मर्मस्पर्शी हुन्छ, जति मर्मस्पर्शी हुन्छ; त्यति नै लयात्मक, मधुर, स्तरीय तथा चिरस्थायी हुने सम्भावना हुन्छ ।
कवितामा कोमलता खोज्दा छन्दमय कविताहरूमा हामी यसको पर्याप्त प्रभाव पाउन सक्छौँ । महाकवि देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘राजेश्वरी’ तथा ‘गौरी’ जस्ता खण्डकाव्य तथा शोक काव्यहरू कोमल कृतिका उदाहरण हुन् ।
कविता, गीत, गजल जस्ता पद्य विधामा मात्र होइन मानिसका पीडा तथा आनन्दसँग एकाकार हुन सकेका गद्य रचनाहरू पनि कोमल हुन सक्छन् । कृष्ण धरावासीको ‘झोला’ र महेशविक्रम शाहको ‘गनाउने चामल’ कथा समेत मर्म स्पर्शी र कोमल छन् । मानवीय संवेदनाको गहिराइसम्म मनग्गे डुबुल्की मारी लेखिएका रचनाहरू कारुणिक छन् र स्तरीय पनि ।
आनन्दका क्षणलाई मानवीय संवेदनाले च्याप्प समात्न सकेका खण्डमा आनन्दयुक्त रचनाहरू पनि कोमल हुन सक्ने सम्भावना हुन्छ तर पीडादायक वा करुणरसप्रधान रचनाहरू नै मूलत: कोमल हुन्छन् ।
साहित्यकार चाहे जुनसुकै विधामा सिध्दहस्त होस्, उसले मिठो शैलीलाई रोज्न सक्यो भने धेरैको प्यारो हुन सक्छ ।
मिठो रचना लेख्न खोज्दा स्वत: मस्तिष्कभन्दा हृदय परिचालित हुन्छ । मस्तिष्क बढी परिचालन हुँदा बौध्दिक रचनाहरू तयार हुन्छन् । बौध्दिकताका दृष्टिले ती स्तरीय र शाश्वत भए तापनि तिनले पाठकका मन जित्न नसकेका हुन सक्छन् । हृदय, मस्तिष्क र हातको क्रमश: संयोजन गरी हामीले त्रिशङ्कु रचना सिर्ज्यौँ भने त्यो निबन्ध नै भए पनि कोमल हुन सक्छ । निबन्धका क्षेत्रमा खास गरी आत्मपरक निबन्ध तथा नियात्रा कोमल हुने सम्भावना हुन्छ । कोमल रचनामा खुबी भएका साहित्यकारहरू नै लोकप्रिय हुन सक्छन् ।
प्रकृति तथा शृङ्गार जस्ता विषयमा लेखिएका रचनाहरू कोमल हुने सम्भावना हुन्छ । तैपनि व्यक्तिले आफ्ना विगतलाई रत्ति नलुकाई लेखेका रचनाहरू नै कोमल हुन्छन् ।
रचनालाई कोमल बनाउन आफू कोमल हुनु पर्छ । कठोर हृदय भएका व्यक्तिबाट कोमल रचनाको अपेक्षा गर्न सकिन्न । केही गरी कठोर हृदयीले कोमल रचना लेखेका छन् भने ती आदर्शका फोस्रा स्वाङ हुन्छन् । तसर्थ कोमल रचना कोमल हृदयीले मात्र लेख्न सक्छ भनेर ठोकुवा गर्न सकिन्छ ।
सबै मानिसले एकै प्रकारको काम गर्नुपर्छ, एउटै धारमा बग्नु पर्छ भन्ने छैन तर हरेकले आआफ्ना रचनालाई यथासम्भव हृदयस्पर्शी, मधुर तथा कोमल बनाउन सके साहित्यका नरम विधाहरूले अग्र गति लिन सक्छन्, स्तरीय हुन सक्छन् र आफ्ना पाठकहरू माझ प्रिय हुन सक्छन् । त्यसैले आउनुहोस्, हामी पनि कोमल रचना लेख्ने प्रयत्न गरौँ ।

ऊ र यात्रा

रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ

यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा


प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई


यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्

नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !

निसाना

अनामग्राममा कुनै बेला दुईजना अचुक निसानाबाजहरु थिए । ती दुवैको सिकारपनामा कहिल्यै कमजोरी आउन पाएको थिएन । एक दिन ती दुवै सिकार गर्न सँगै जङ्गल पसेका थिए । एउटा घनघोर जङ्गलको माझमा पुगेपछि दुइटा बाटाहरू देखिए । एकजनालाई दायाँतिरबाट जाँदा सिकार पाइने लाग्यो र अर्कालाई बायाँपट्टिबाट ।
आ-आफ्ना निसानाको अचुकताले दुवैको अहम् चरमावस्थामा पुग्यो र ती एकै बाटाबाट अघि बढ्न नसक्ने भए । आखिर ती दुई छुट्टिए । ती दुवै झन्नै उस्तै गतिमा हिँड्दै थिए । दुवैले भिन्नाभिन्नै बाटामा कुनै वस्तुको सरसराहट सुने । ती दुवैलाई लाग्यो ‘सिकार पक्कै उनीहरूको नजिक आउँदै छ ।’ दुवैले आआफूले आवाज सुनेका दिशामा गोली छाडे ।
नीरव वनमा एक्कासि दुई ठूला आवाजहरू ध्वनन-प्रतिध्वनन भए ‘ड्याङ्ङ ! ड्याङ्ङ !!’ उनीहरू दुवैको निसाना अचुक नै थियो तर ती निसानाहरूका सिकार ...................!
lw_main
( Source of Photo : Click here )

एक त्यान्द्रो गुन्द्रुक


एक त्यान्द्रो गुन्द्रुक
गिजामा अड्किरहन्छ
दाँतलाई दु:ख दिइरहन्छ
जिब्रोलाई सक्रिय मात्र पारिरहन्छ

मेरो मस्तिष्कलाई
उतै केन्द्रित पारिदिन्छ

कस्तो रहेछ
न त्यसै त्यसै बिलाउने
न हतपत बाहिर नै आउने
कस्तो अधबेस्रो यो
उकुच पल्टेको घाउजस्तो
भिरमा फलेको फर्सीजस्तो

न यसो गर्दा हुन्छ
न उसो गर्दा हुन्छ
यसले मलाई खालि दु:ख दिन्छ
न यो रहनुको प्रयोजन छ
न यो आफैँ मेरो मर्का बुझ्न प्रयत्नरत छ

स्वार्थ पूरा गर्न मात्र तयार देखिन्छ यो
पीडा दिन मात्र तयार भेटिन्छ यो
कस्तो यो कस्तो कस्तो
न यसोको न उसोको
एक त्यान्द्रो गुन्द्रुक !

कालीखोला



कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई

कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला

चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला

कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला

कालीखोला अब उठ्नेछ

उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!

Beautiful_village

(Source of Photo:- Click Here )

बिदा ! जयपुर बिदा !

हामी राजस्थानको आबुरोडमा छौँ । हामीलाई आबुरोडबाट नेपाल आउनु छ । २०६३ सालको असार १५ गते दहीचिउरा खाएर रमाइलो गर्ने दिन ! हामी छ्याकछ्याके रेलमा चढेर सुइय्यँ आउने पक्षमा मात्र छैनौँ । हामीले यात्रामा बढीभन्दा बढी रमाइला, फरक र आनन्द लाग्ने कुराहरू अनुभव गर्नु छ, त्यसैले हामीसँगै भएका जनकपुरका साथीहरूभन्दा फरकिन्छौँ र चन्द्रनिगाहपुरेहरूमात्र एकसाथ यात्रा गर्न खोज्दै छौँ ।

हामीसँग रेलको रिजर्भ टिकट छ आबुरोड-दिल्ली, दिल्ली-नरकटियागन्ज, र नरकटियागन्ज-रक्सौलको । हामीलाई राजस्थानको प्रान्तीय राजधानी जयपुर हेर्न खुब मन छ, त्यसैले हामीले आबुरोडदेखि जयपुरसम्मको रेल-टिकट माया मारेका हौँ । झन्डै ५०० कि.मीको रिजर्भ टिकट माया मार्नु चानचुने कुरो होइन तर आएका बेला नयाँ ठाउँ हेरिहाल्नुपर्छ भन्ने धारणाले हामीले यो हिम्मत गरेको हौं।

आबुरोडबाट जयपुरसम्म रेल, बसजस्ता यात्रुवाहन चल्ने गर्छन् । तर रेल छाडिसकेपछि बसमा चढ्नु छ हामीले । बस पनि दुई थरी छन् । बस्ने सिट मात्र भएका र सुत्ने सिट पनि भएका । हाम्रो देशमा हामीले फोल्डिङ सिटवालाबाहेक सुत्ने सिट भएको बस देखेका छैनौँ, त्यसैले हामीलाई सुत्ने सिटको अनुभव गर्नु छ। सुत्ने र बस्ने सिटको भाडादर फरक रहेछ । यहाँ पनि हामी बढी तिरेरै भए पनि सुत्ने सिटहरूको जोहो गर्छौँ ।

बस्ने सिटहरूको मास्तिर हुँदो रहेछ सुत्ने सिट । बस्नेहरू नेपालका बसमा जस्तै बस्ने खालका सिटमा बस्ता रहेछन् , सुत्न खोज्नेहरू चाहिँ सुत्ने सिट नै रोज्दा रहेछन् ।सुत्ने सिटमा बस्न मन लाग्यो भने पलेटी कसेर बस्न पनि सकिँदो रहेछ ।एउटा सुत्ने सिटमा दुईजना सुत्नुपर्दो रहेछ । अपरिचितसँग परियो भने अप्ठ्यारै हुने रहेछ । बसको र रेलको सुताइमा धेरै फरक पर्ने रहेछ । रेल लिगमा सुलुलु बग्ने हुनाले प्राय: समतलै हुन्छ वा घल्च्याङघुल्चुङ हुँदैन भने बस गुड्ने बाटो राजमार्ग हुनाले रोकिँदा ,साइड दिँदा र जोल्डिङहरूमा पर्दा अलि अप्ठ्यारै हुने रहेछ । यात्री खाना खाएर सुतेको छ, बस ओरालोतिर हुइँकिरहेको छ र सिरानी ओरालैतिर परेको छ भने खाएको खाना फरक्क फर्करेर मुखबाट निस्कने सम्भावना हुँदो रहेछ ।

बसका केही अनुभूतिहरू बटुल्दै रात्रिकालीन झन्डै बाह्र घन्टाको यात्रा पूरा गरेर हामी आइपुग्छौँ जयपुर । प्लेटफार्म त नजिकै छ, लकरमा सामानहरू राखेर डुल्न त सकिन्छ तर हाम्रो यात्रादलका गाँठवाला मित्रहरूको मनसायलाई स्विकार्दै दिउँसो डुलुन्जेललाई मात्र भनेर लजका दुईवटा कोठाहरू लिन्छौँ । बाह्रैजनाले पालैपालो नित्य क्रिया गर्छौँ ।

कल्पन ट्राभल्सको टुरिस्ट बसले हामीलाई दिनभर जयपुर डुलाइदिने भएको छ ।

भव्य र दिव्य जयपुरमा हामी महालक्ष्मी मन्दिरबाट आफ्नो यात्राको श्रीगणेश गर्छौँ ।विशाल द्वार भएको त्यस भव्य मन्दिरमा हिन्दू देवताका प्रतिमूर्तिहरू देख्न पाइन्छ, मन्दिरका वरिपरि भागमा झन्डै रिङ्गै । निर्माणाधीन अवस्थामा पनि मैले कहिल्यै नदेखेको तालको भव्य छ भने निर्माण पूरा भइसक्ता झन् यो कस्तो होला !

मन्दिरलाई एकसरो तर थोरै भएपनि धित मर्ने गरी हेरेपछि हामी लाग्दै छौँ जन्तरमन्तरतिर । कुनै मन्त्रतन्त्रको प्रभाव देखाएर अन्धविश्वासी बनाउन खोजेको होला जस्तो लाग्छ हामीलाई । तर होइन रहेछ, नाम मात्र जन्तरमन्तर रहेछ । यो त तपाईँ-हामीले हेर्नुपर्ने कुरा पो रहेछ । ईसवीय अठारौँ शताब्दीको प्रारम्भमा सवाई जयसिंह द्वितीयद्वारा बनाइएको यस यन्त्रशालाका फरकफरक काम गर्ने र नजिकैनजिकै तर अलग-अलग रूपमा यी साधनहरू ढुङ्गाबाट बनाइएका रहेछन् । सिमेन्टेड जस्तो भ्रम हुने ढुङ्गाका यस्ता संसाधनहरू भारतका दिल्ली, मथुरा, बनारस तथा उज्जैनमा समेत भए तापनि जयपुरको जस्तो जन्तरमन्तर संसारको अन्य कुनै पनि ठाउँमा पाइन्न रे ! घडीको आविष्कार नहुँदा वा अभावमा समय थाहा पाउन कुनै खास समयको ग्रह, नक्षत्र , राशि आदि पत्ता लगाउन प्रयोग हुँदो रहेछ ज्योतिष विद्यासम्बन्धी यो वेधशाला । छाया नै मुख्य आधार हुनाले घाम नलाग्दा , पानी नपर्दा र हिउँदमा त्यति उपयोग हुन सक्तो रहेनछ यो ।

हामी अधबेस्रा खालका छौँ । बाह्र बजेको टन्टलापुर, त्यो पनि जयपुरको प्रचण्ड घाममा पनि हामीले ओढाहरू लिएका रहेनछौँ । छातालाई पानीबाट मात्र ओतिने साधनका रूपमा लिने बानी छ हाम्रो । त्यसैले घामबाट बच्न छाता चाहिन्छ भन्ने होस हामीमध्ये कसैलाई पनि छैन । चर्को घाम बेहोरेर खलखली पसिना काडेर पनि हामी पर्यटन सुख लिइरहेकाछौँ वा इन्द्रिय-सुख भोग गरिरहेका छौँ । जन्तरमन्तर हेर्दाहेर्दै मध्याह्न भइसकेछ । हाम्रा पेटहरू पनि उखरमाउलो गर्ने तम्तयारीमा जुटिसकेका छन । अब चाहिँ हामीले खाना खानुपर्छ । त्यसैले हामी राम्रै होटेलमा पुर्याइन्छौँ । होटेलमा प्रवेश गरिसकेपछि हाम्रा आन्द्राहरू एकछिनका लागि धीर हुन्छन् । तर हामी नयाँ खानाका लागि उत्कण्ठित हुन्छौँ ।

बिहानको खानामा म प्रय: भात रुचाउँछु । रोटी, चिउरा, चाउचाउ वा अन्य कुनै केहीले पनि मेरो आत्मा सन्तुष्ट हुँदैन । बेयराले कस्तो खाना ल्याउँछ केही थाहा छैन तैपनि अर्डर खुस्कन्छ ओठबाट 'राजस्थानी खाना'। मलाई लाग्छ 'राजस्थानको राजधानीमा म किन राजस्थानी खाना किन नखाऊँ ! यो पनि बेलाको उपलब्धि नै हो । सबै साथीहरूलाई खना दिइसकेपछि मात्र बेयरा मतिर फर्कन भ्याउँछ र ल्याउँछ-परोठा, दुई थरी तरकारी र अचार । उफ ! मैले भात खान नपाउने भएँ आज । तर के गर्नु बोलेको त आफैँले हो, चुकेको त आफैँ हो । खाना स्वादिलो रहेछ । थकथकिनु परेन मात्र होइन बेहद स्वादिलो ।

खाना खाएपछि बल्ल सास आयो, साहस पनि बढ्यो । नभए त 'नुन खाएको कुखुरा' भइसकिएको थियो ।

हामी अब अमेर जाँदै छौँ । यहाँ एउटा दरबार रहेछ पुरानो । दरबार जाने बाटो भन्दा निकै वर हाम्रो बस रोकिन्छ । दरबार जान थोरै उक्लिनुपर्छ । त्यसैले हाम्रा अधिकांश साथीहरू जान तयार हुँदैनन् । मलाई चाहिँ जान, हेर्न र रम्न खुब मन लागिरहेको छ । हाम्रो बसमा बाटामा चढेका केही भारतीय र हामीमध्ये केही प्राय: छरिएरै दरबार पुग्छौँ । एकजनाको लागि मात्र गाइड लिँदा महँगो पर्ने हुनाले म आफ्नै तालले दरबार चहार्छु । सत्रौँ शताब्दीतिर बनाउन थालिएको यस दरबारमा रानीहरूको तिर जाने बाटोमा भर्याङ छैन, सुस्त उकालोओरालो छ प्राय: अस्पतालमा हुने खालको । ओरालिँदा तल्लो तलामा पुगिन्छ, उकालिँदा माथ्लो तलामा । ३०० वर्षभन्दा पुरानो यस महलका रानीहरू हिँड्ने बाटामा हिँड्दा र उनीहरूका कोठाहरू चहार्न खोज्दा छुट्टै रमाइलो हुन्छ ।

यस दरबारमा कति नवयौवनाहरू रहरले भित्रिए होलान् र चाहेको आनन्द पाएर मक्खिए होलान् , सुन्दर सपना बोक्ने कतिपय शोडषीहरू यहाँ जबर्जस्ती भित्र्याइए होलान् र कुमारीत्व लुटाइए होलान् । यहाँका हाँसो र रोदनका, उदारता र सङ्कीर्णताका, नैतिकता र अनैतिकताका, मोजस्ती र पीडाका कथाहरू त यही भव्य दरबारलाई थाहा होला । तर न दरबार बोल्छ न इतिहास नै ।

हाम्रा कान र आँखाहरू जहिले पनि राम्रो सुन्न र हेर्न मात्र लालायित हुन्छन् । त्यसैले म रानीहरूका उन्मुक्त, तत्कालीन यौवनाहरूका रौनक, चहलपहल र मोजमस्तीहरू मात्र कल्पना गरेर विभोर हुन्छु र यी क्षणहरूलाई स्मृतिभित्र कैद गर्दै सुस्तसुस्त पइला चाल्छु ।

अँ, अमेरबाट फर्कँदा देखिन्छ वृन्दावन । यो कृष्णले रासलीला गरेको वृन्दावन होइन, त्यसको प्रतीक भने अवश्य हो । यहाँ पनि आधुनिक गोपिनीहरू जोडीजोडी भएर गफगाफमा तल्लीन भएको देख्न पाइन्छ । अनि सम्झन मन लाग्छ आफूले भर्खरभर्खर विवाह गरेको समयलाई ।

विवाह गर्दा म झन्डै एक्काइसको थिएँ भने मैले विवाह गरेकी कन्या थिइन् सोह्र वर्षकी । बिहे गरेको दोस्रो वर्ष अर्थात् मैले बाइस टेक्ता नटेक्तै र उनी सत्र वर्षकी छँदा मकवानपुर गढी डुल्न गएका थियौँ हामी । साथी थिए साला रूपचन्द्र । जुम्ल्याहाहरूको सँगसँगै विवाह गर्नुपर्छ भनेर रूपको पनि विवाह भइसकेको थियो हाम्रो भन्दा ठ्याक्कै सात दिन अगाडि अर्थात् २०४० साल माघ ८ गते । तर उनी सपत्नीक त्यहाँ थिएनन् अर्थात् हामी थियौँ तीन । म पहिलोपटक मकवानपुर गढी जाँदै थिएँ । फुरफर थिएँ म ऐतिहासिक-सांस्कृतिक स्थलमा जान पाएर । त्यहाँको बाटो थियो उकालो । उकालो र ओरालोमा अप्ठ्यारो परेको बेला एकले अर्काको हात समातिन्थ्यो-

'उकालीमा अघिअघि 
ओरालीमा पछिपछि'
मा जस्तै हो । त्यही सम्झना भइरहेको छ मलाई । आजभन्दा बाइस वर्षअगाडिको घटना सम्झँदा मात्र पनि मलाई रोमाञ्च भइरहेको छ र कताकता काउकुती लागेजस्तो पनि ।

कृष्णको सम्झना गराउने र आफैँलाई विगततिर फर्काइदिने रमाइलो वृन्दावनमा पाँच मिनेट रोकिएर यहाँको प्राकृतिक तथा वातावरणीय रसपान गरेर हामी अगाडि बढ्दै छौँ । अब हामीलाई अलिकति बजार गर्नु छ, त्यसैले हामी त्यतै लाग्दै छौँ ।

पहिले हामी जान्छौँ कपडा पसलमा । थरीथरी कपडाहरू छन् । सारी, तन्ना, गलैँचा, प्यान्ट, सर्ट, सुरुवाल, कुर्ता, ब्याग के लिने त्यही छ । लिन त मलाई पनि मन छ, तर यहाँको भाउ महँगो छ । घरका लागि कोसेली किन्ने रहर हुँदाहुँदै पनि म रोक्छु आफूलाई । यहाँभन्दा त मेरै देशमा सस्तो छ । वीरगन्जमा उही मूल्यमा पाइने कुरा जयपुरदेखि किन बोक्नुपर्यो ! केही किन्दिनँ । केही साथीहरू सारी, कुर्ता-सुरुवाल र तन्नाहरू किन्छन् र थकथकिन्छन् । किन नथकथकिऊन् , भारुमा मूल्य सुन्दा सस्तो ठान्छन तर गोजीबाट रकम झिक्ता नेपाली रुपियाँ घटेको महसुस गर्छन् 'मथुराजीका पेडा खायाभी पछताया, नहीं खायाभी पछताया ।'

कपडा पसलपछि हामी अघि बढ्दै छौँ अन्य पसलहरूतर्फ । अब हामीले पनि अलिअलि अनुभव गर्न लागेका छौँ 'कि त जयपुर महँगो छ कि त जयपुरको महँगो पसलमा पर्यौँ हामी ।' ब्रोकेन हिन्दी बोले पनि नेपाली भनेर चिनिहाल्छन् जयपुरका धूर्त व्यापारी । त्यसमाथि पसलमा पनि परस्परमा हामी नेपाली बोल्ने, ठगिन झन् सजिलो । चिनोका रूपमा केही किन्नैपर्ने हाम्रो सोचाइ हुनाले विभिन्न पसलहरूबाट हामी भाँडा, मूर्ति, प्रतिमूर्ति, जुत्ता, ब्याग, रिङ आदि केही न केही किन्छौँ र बाटो लाग्छौँ ।

अब हामी समयमा नै रेल चढ्न स्टेसनमा पुग्नु छ । हामीलाई जयपुर डुल्नु छैन अब । झन्डैझन्डै एकसरो धोको पूरा गरी हेरेका छौँ गुलाबी सहर जयपुरलाई । त्यसैले जयपुरलाई बिदाइका हातहरू हल्लाउँदै अघि बढ्छौँ – बिदा ! जयपुर बिदा !!

jantar_mantar_jaipur_2281_jpg_600x

(Source of Photo: Click Here)

कागजको घोडा



त्यो त कागजको घोडा हो
जो एक झोक्का हावाले
ढल्न सक्छ
एक घुस्सा मात्रले पनि
कच्याककुचुक हुन सक्छ


कागजको घोडाको
के पाइन हुन्छ र ?
केही छिटा पानीले
गल्न सक्छ
पानीको एउटा सानै लहरले पनि
बग्न सक्छ

जनआन्दोलन


कागजको घोडा
आखिर कागतकै हो
चाहे त्यो गत्ताको होस्
चाहे नेपाली कागतको
वा
साधारण रोलदार,
फुलिस्केपको
त्यो एक काँटी सलाईको
खेल त हो 


त्यसैले
त्यति कमजोर घोडाले होस्
वा
त्यसमाथि काठी कस्नेले होस्
फुर्ती लाइरहनु आवश्यक छैन
किनभने
घोडा जस्तो देखिए पनि
आखिर कागतकै हो  !

(२०६२-६३को आन्दोलनका क्रममा सशस्त्र सेनाको घेराबन्दीबीच २०६३ वैशाख ५ गते चन्द्रनिगाहपुरको दुर्गाचोकमा सुनाइएको कविता )

(Source of photo : Click here)

अप्ठ्यारो प्राप्ति



एउटा स्पष्ट चित्र छ
सुदूरमा
जो धेरैलाई मन पर्छ

थोरैलाई मन पर्दैन

टाढाको, साह्रै टाढाको त्यो चित्र
कल्पनाको मात्र भए पनि
सपनाको मात्र भए पनि
दन्त्यकथाको
अप्ठ्यारो प्राप्तिझैँ भए पनि
त्यो प्यारो छ, सबैको प्यारो


त्यो चित्र
छुन र भोग्न
बडो अप्ठ्यारो छ
किनभने
त्यहाँसम्म पुग्ने बाटाहरू
स्पष्ट छैनन्
सजिला छैनन्
त्यसैले
चित्र छुन र भोग्न चाहनेहरू
चित्रसम्म पुग्ने बाटो खोज्दै छन्

त्यहाँसम्म पुग्न सक्ने
समर्थ पथप्रदर्शक खोज्दै छन्
बाटाहरू अस्पष्ट छन्
धूमिल छन्
र पनि
चित्रसम्म पुग्न डोर्याउने
साहसी खोज्दै छन्
धेरै मान्छेहरू

निकै धेरै मान्छेहरू !

 12

 

(फोटो स्रोत :- यहाँ क्लिक गर्नुहोस् )

परदेशी ! परदेशी !!

जयपुरमा २०६३ असार सत्र गते राति ११ बजे रेल चढेका हामी अठार गते बिहान ७ बजे दिल्ली आइपुग्यौँ । आबुतिर जाने बेलामा हामीले दिल्ली घुम्ने ताल मिलाउन सकेका थिएनौँ । त्यतिखेर प्लेटफारमको पाँच घन्टाको समय व्यर्थै गएको थियो । अहिले पनि समय मिलाउन नसक्ता हाम्रो ठुलो गल्ती हुन्थ्यो । एउटा राम्रो अवसर हामीले गुमाउनु पर्थ्यो । दिल्ली पुगेपछि साधारण ढङ्गले नित्यक्रिया गरेर निस्किहाल्ने रेलमै सल्लाह भए तापनि ओर्लेपछि भने यसोउसो गर्दागर्दै एघार बजिहाल्यो । अब हामीसँग चार घण्टाजति मात्र समय बाँकी रह्यो डुल्न । यहाँ डुल्न हामीले महिन्द्रा गाडी भेट्यौँ ।

साथीहरू विभिन्न रुचिका थिए । दिल्लीका प्रत्येक अवलोकनीय स्थलहरू हेरौँ भन्थे कोही, होइन गाडीबाटै दिल्ली सरर हेरौँ भन्थे कोही, बढीभन्दा बढी ठाउँ हेरौँ भन्थे कोही । 'बढ्ता जोगी मठ उजाडे' भनेझैँ थरीथरीका रुचि र चाहना अनि त्यसै किसिमको आदेशले ड्राइभरसमेत हैरान भयो । त्यसो हुँदाहुँदै पनि केही महत्त्वपूर्ण र प्रसिद्ध स्थलहरू हेर्न भ्यायौँ ।

सर्वप्रथम हामी गान्धीसमाधि पुग्यौँ । गान्धी परिवारकाहरूलाई समाधिस्थ गर्ने गरिएको ठाउँ रहेछ यो । गान्धीसमाधि एउटा सुन्दर र विशाल पार्क जस्तो छ ,जहाँ फूलैफूलका माझमा सुन्दर कमला हरिया दुबोमा बसेर घन्टौँ गफिन, कविता रच्न वा भावनात्मक वार्तालापमा तल्लीन हुन मन लाग्छ । साँच्चिकै भनूँ भने बिहान-बेलुका यहाँ डुल्न आउने हो भने छुट्टै शान्ति मिल्छ ।

ठ्याक्कै समाधि नै भएको ठाउँमा पुग्नुअघि चप्पल-जुत्ता फुकाल्नपर्ने रहेछ । समाधिस्थल नै चाहिँ अत्यन्त सम्मानित रहेछ ,श्रद्धाका साथ फूलका गुच्छा चढाउँदा रहेछन् मानिसहरू । म भारतीय होइन, गान्धी परिवारको राजनीतिबारे पनि म धेरै जान्दिनँ । तैपनि समाधिस्थलमा पुग्दा कसोकसो मेरा दुवै हातहरू जोरिएर उचालिएछ न् । पछि पो ख्याल भयो, भारतीय यी मनीषीहरूलाई पत्तै नपाई सम्मान गरेछु भनेर ।

गान्धीसमाधिबाट मुग्धिएर लाग्यौँ हामी कुतुबमिनार तर्फ । कुतुबमिनार हेर्न पुग्दा मलाई आफ्नो बाल्यकालको सम्झना भयो । म दस-एघार वर्षको हुँदा साइकलमा बाकसजस्तो एउटा भाँडो ल्याउँथ्यो एउटा घुमन्तेले । कोहीसँग मकै, कोहीसँग पैसा लिएर उसले सिनेमा देखाउँथ्यो । हाम्रो गाउँमा त्यतिखेर चलचित्र घर थिएन । हामीले सिनेमा देखेकै थिएनौँ । त्यसैले घुमन्तेले सिनेमा भनेर ल्याएको भाँडो हामीलाई साँच्चिकै सिनेमा जस्तो लाग्थ्यो ।

म पनि कहिलेकाहीँ त्यस्तै सिनेमा हेर्न जान्थेँ । उसले बाकसमाथिको ह्यान्डिल घुमाउँदै जान्थ्यो, चित्र सर्दै जान्थ्यो । एकपछि अर्को रङ्गिन आकर्षक चित्र हेर्दा हामीलाई खुब आनन्द लाग्थ्यो, सिनेमा हेरेकै मज्जा आउँथ्यो । हामी फुरुङ्ङ परेको देखेर फेरीवाला मक्ख पर्थ्यो र भन्दै जान्थ्यो 'ए, राजेश खन्ना देखो, 'ए हेमा मालिनी देखो', ए, मकैका घोगा देखो आदिआदि । हेर्नमा मज्जा आउने हुनाले ऊ आएपिच्छे म पनि मकैका घोगा लिएर कुदिहाल्थेँ ।

हो, त्यसैबेला सिनेमाभित्र देखेको दिल्लीको कुतुबमिनार अर्थात् धरहराको सामुन्ने थिएँ म । कुतुबमिनार मात्र थिएन त्यहाँ । त्यसको सुरक्षार्थ बनाइएजस्ता लाग्ने अवशेष र भग्नावशेषहरू पनि थिए त्यहाँ ।

पहिलेका राजा-माहाराजाहरूले सोखका रूपमा बनाए तापनि ,यस्ता कुरामा गरिएका खर्च त्यतिखेर फजुल लागे तापनि आज ती राष्ट्रकै सम्मानित बनेका छन् र अत्यन्त सजगतासाथ सुरक्षित गरिएका छन्।

अँ, त्यसपछि हामी इन्डियागेट हुँदै हामी लाग्यौँ इन्दिरा गान्धी म्युजियम । जाने-नजाने, जाने-नजाने गर्दै थिए कति साथी । हामी अघि बढिहाल्यौँ ,पछि उनीहरू पनि आएछन् ।

मैले 'नेहरुज लेटर' पढेको थिइनँ तर विद्यालय पढ्दाताकै सान्दाजु चन्द्रमोहनबाट प्रसङ्ग भने सुनेको थिएँ धेरैपटक । "त्यो पुस्तक जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेका चिठीहरूको सँगालो हो" भन्नुभएको थियो उहाँले । बाबुले छोरीलाई लेखेका व्यक्तिगत चिठीहरू अरूका लागि पनि पठनीय र प्रेरक हुन्छन् भन्ने सुन्दा छक्क परेको थिएँ म । त्यसैले इन्दिरा गान्धीका बारेमा थोरै भए पनि चासो राख्ने गरेको थिएँ । यहाँ अर्थात् इन्दिरा गान्धी म्युजियममा चाहिँ इन्दिरा गान्धीको दिनचर्या ,जीवन, सङ्गत तथा उनीप्रति अरूको दृष्टिकोण झल्काउने वस्तुहरू सङ्ग्रह गरिएका थिए । भारतको कुनै बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीप्रति त्यसैत्यसै सम्मान पलाएर आयो पुन:स्मृतिले, उनले प्रयोग गर्ने गरेका सामग्रीहरूले, उनको विवाहका झल्काहरूले, उनले पाएका सौगात र उपाधिहरूले, अनि उनले आफ्नो हत्याका दिन लगाएका सारी, गहना र भिरेका ब्यागहरूले ।

यही म्युजियममा भेटिए राजा वीरेन्द्र । राजा वीरेन्द्रको सम्झना ताजा बनेर आयो । विदेशमा तस्विर मात्र देख्ता पनि आत्मगौरवले मन धपक्क बल्यो । तुरून्तै हत्या गरिएको क्रूर र वीभत्स दृश्य आँखा अगाडि आयो र मन कस्तोकस्तो नरमाइलो भयो ।

लालकिल्ला हेर्ने ठूलो उत्कण्ठा भएर पनि आइतबारे भीडले हाम्रो अपेक्षामा तुषारापात गर्यो । लाल किल्ला हेर्न खोज्नेहरूको पङ्क्ति निकै लामो थियो र घामले पनि प्रचण्डता प्रदर्शन गरिरहेको थियो । स्टेसनमा पुग्न हामीसँग एक घण्टा मात्र समय बाँकी थियो । यहाँको लाममा मात्र हामीलाई एक घण्टा लाग्ने थियो, हेर्न कतिबेर लाग्थ्यो होला ! त्यसैले होला समयको लगामले कसेर लालकिल्लाको परिसरबाहिर ल्याइपुर्याएको हामीलाई ।

समय घर्कँदै थियो, 'दिल्लीको चिनु' भनेर हामीले केही किन्नु पनि थियो । आइतवार हुनाले दिल्ली बन्द जस्तै रहेछ । त्यसैले हामी पस्यौँ सधैँजसो खुला रहने चाँदनीचोकमा । दिल्लीमा सामान सस्तैमा पाइन्छ भन्दा रहेछन् मान्छेहरू । जयपुर जत्तिकै नभएपनि महँगै रहेछ चाँदनीचोकभित्रको दिल्ली पनि । साना पसलहरू छन् चाँदनीचोकमा । रेलको समय र बिदाको दिन सम्झँदै बजार गर्यौँ हामीले । मैले किनेका सामानहरू दिल्लीमा भन्दा वीरगन्जमै सस्तो पाइने रहेछ । जयपुरमा ठगिनबाट बचेको म भारतको राजधानीमा भने फेला परिहालेँ ।

भारतीयहरू आफ्नो देशका प्रत्येक निधिको प्रचार गर्न, महत्त्व बढाउन तथा संरक्षण गर्न अत्यन्त सचेत र तत्पर रहेछन् ।

अँ, बजार सकेर हामी स्टेसनमा आयौँ । जुन रेलमा चढेका थियौँ, त्यसैबाट हामी नरकटियागन्जसम्म आउन पाउँथ्यौँ । यो रेल मुजफ्फरपुर जाने हुनाले हामीले नरकटियागन्जमा रेल बदलिनु थियो । लोकल रेलमा चढ्दा सिट पाइने कम सम्भावनाले चढ्दा भने बढी भीड हुने रहेछ । चढिसकेपछि भने त्यस्तो असुविधा भएन ।

नरकटियागन्जबाट यता आएपछि भने पल्लो डब्बाबाट

नारीआवाजमा गीत सुनियो । मुक्त कण्ठले गाउने तिनीहरू मागेर गुजारा गर्नेहरू रहेछन् । तर माग्ने जुक्ति भने तिनीहरूको फरक थियो । हामी उता लाग्ने बेलामा हिजडाहरूले माग्दाखेरि अपनाएजस्तो अश्लील व्यवहार उनीहरूको थिएन । अनि छोरीको बिहे गरिदिनुछ भनेर एउटी तरुनीलाई अगि लाएर माग्दै हिँड्ने आमाको भूमिकामा रहेकी एक माग्नेको जस्तो चाला थिएन यिनीहरूको । यिनीहरू हक्की थिए । कला र गलाको संयोजन गरेर यात्रीहरूलाई मोहित पार्न सक्थे ।

पल्लो कोठामा गीत घन्केको सुनेर हाम्रो डब्बाका प्राय:को ध्यान उतै मोडियो । चालीस वरपरको उमेरका ती महिला विभिन्न गीतका टुक्राहरू निरन्तर गाउँथे ,मानौँ ती सबै गीतहरू एकै गीतका फाँकीहरू हुन् । उनीहरूलाई कुनै पनि गीत सिङ्गो रूपमा गाउन आएपनि नआएपनि वा उनीहरूले विविधता दिन खोजेको भए पनि उनीहरूले दिल खोलेर गाएका थिए । कलाकारिताको उच्च सम्मान गर्न कुरा राख्तै मोटै रकम माग गरेका थिए । उनीहरूले मागेजति दिन पल्लो डब्बाकाहरूलाई हम्मे परयो होला । मलाई चाहिँ तिनीहरूको प्रस्तुति रोचक लाग्यो । रेलबाट ओर्लिसकेर पनि उनीहरूको मुक्त आवाज मेरो कानमा गुन्जिरहेकै छ :

'परदेशी ! परदेशी !!

जाना नहीँ

मुझे छोडके, मुझे छोडके !'

युना



दिनहरू गन्छे ऊ
एक, दुई, तीन
र फेरि
एक, दुई, तीन
हिसाबमा दोहोरिन्छन् उही दिनहरू

गणना हुन्छन् त्यसै गरी
आगतका दिनहरू

रोपाइँका दिनहरू आउँछन्
ऊ मेला जान्छे
ऊ पर्म जान्छे
पर्महरू सध्दै जान्छन्
मेलाका ज्यालाहरू बढ्दै हुन्छन्
क्रमशः क्रमशः

सपना देख्न थाल्छे
'फेबल्स अफ एसप'की केटीझैँ
वा
दन्त्यकथाको 'सोम शर्मा'को बाबुझैँ
किन नदेखोस् ऊ सपना त्यस्तो
सपनाले नै
कल्पनाले नै
मान्छेलाई जिजीविषातर्फ आकृष्ट गर्छ

यस्तै सपना र परिकल्पनाले त
ऊ बाँचेकी छ
ऊ हाँसेकी छ

यसै यसै गरी
बाँच्ने छे युना
बाँचिरहने छे युना !

'अन्तर्मनको यात्रा' : एक हेराइ

२०६६।१०।९
जगदीश घिमिरेज्यू ,
तपाईँको 'केही कथा कविता संस्मरण' पाएर पनि मैले पढेको थिइनँ । त्यो पुस्तक मेरो छोरो विवेकले २०५१ सालतिर बालकविका रूपमा पुरस्कार पाएको थियो । विधागत छ्यासमिस देखेर मन नपरेको हो खास मलाई ।
पछिल्ला वर्षहरूमा मैले अति चर्चित पुस्तक यथासम्भव किनेरै पढ्न थालेको थिएँ । त्यसै क्रममा 'अन्तर्मनको यात्रा' रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिने गरी हात पर्यो । कुनै पनि पुस्तक हतार-हतार नपढ्ने बानीले छिटै पढिसिध्याउन सकिनँ ।
म रामेछापबासी होइनँ, तर मेरो रगतमा पनि रामेछापको अंश भने छ । मेरो हजुरबुवा गणेशराज अधिकारी अघिको पूर्व दुई नम्बरकै कठजोरबाट पर्सा जिल्लाको खेस्राहामा बसाइँ जानुभएकाले हामी तराईमा जन्मेका हौँ । हाम्रा आमाबुवा कहिलेकाहीँ कठजोर जानुहुन्थ्यो रे । हाम्रा दुईजना हजुरआमामध्ये एकजना तराईमा र एकजना कठजोरमै बस्नुहुन्थ्यो रे । त्यसैले हजुरबुवाको कठजोर-खेस्राहा ओहोरदोहोर स्वाभाविक नै थियो ।
हजुरबुवा तथा हजुरआमाहरूको सेखपछि हुनुपर्छ, हाम्रो एकजना काका कठजोर जाँदा आफन्तले नै हरिताल ख्वाएर मारेछन् । त्यसपछि बुवा, काका र ठूलोबुवाहरू पनि जान छाड्नुभएछ । हाम्रो मूल सम्पत्ति त्यहीँ थियो रे, कसले अपुताली मनायो थाहा भएन ।

हामीलाई आफ्नो पुर्ख्यौली टेक्ने, हाम्रा पुर्खाको पौरखको वास लिने ठूलो धोको थियो तर काकाप्रति घटित घटनाले आमामा परेको 'इम्प्रेसन' र आमाप्रतिको आज्ञाकारिताले हामी कुनै पनि भाइ कहिल्यै पनि कठजोर उक्लेनौँ । 'अन्तर्मनको यात्रा' पढिसक्ता नसक्तै मभित्र भने आफ्नो पुर्ख्यौली माटो सुँघ्ने रहर अठोटमा परिणत हुन खोज्दै छ ।
मैले 'अन्तर्मनको यात्रा' को कुरो गर्न खोज्दै थिएँ, बहकिएर आफ्नै कुरो पो गर्न थालेछु त । हट्ट !
'अन्तर्मनको यात्रा' तपाईँका भोगाइहरूको आफ्नो अभिव्यक्ति हो तर पनि यसले संवेदनशील हरेक भावकलाई आ-आफ्नै किसिमले झकझक्याउँछ । यसको खरो शैली कसैका लागि सुस्वादु वा कसैका लागि कोक्याउँदो हुन सक्छ । यथार्थताको उदाङ्गता यस कृतिको सबभन्दा मन खिँच्ने पाटो हो । जीवनका विभिन्न मोडमा आवश्यक पर्ने शिक्षा सूक्तिमय रूपमा व्यक्तिनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो ।
जीवन भोगाइको सङ्घर्षको निश्छल प्रकटन तथा धार्मिक पाखण्डप्रति तीव्र असन्तुष्टि पाइने यस कृतिमा प्रेमप्रति आफ्नै खाले दृष्टि पाइन्छ । यो कृति मार्मिक त छँदै छ, साथै यसमा हास्य तथा व्यङ्ग्यसमेत पाइन्छ । फ्ल्यासब्याक शैलीले प्रसङ्गहरूलाई पट्यारिलो हुन नदिई रोचक बनाएको छ ।
झर्रोपनप्रति अनुराग हुँदाहुँदै अङ्ग्रेजी पर्याप्त परेको छ । कथ्य, भाषिका तथा अझ व्यक्तिभाषाको प्रयोगले भाषाशैली आफ्नै प्रकारको भएको छ । उपमा तथा बिम्बको प्रयोगले भाषालाई सुन्दर बन्न सघाएका छन् ।
किमो उपचारका प्रसङ्गहरू झसङ्ग र जिरिङ्ङ पार्ने खालका छन् ।
पुस्तकमा कताकति निराशाका धर्साहरू देखिए तापनि समग्रमा आशावादी छ ।
यस पुस्तकको अध्ययनबाट आफूले थाहापत्तै नपाई काल सुटुक्क आएर छेवैमा बस्ने हुनाले जीवनलाई सार्थक पार्न निमेष समेत खेर फाल्न नहुने रहेछ, आफ्नो पछिल्लो जीवनबारे सचेत र विश्वस्त हुनुपर्ने रहेछ र अन्तिम साससम्म आशावादी भएर काम गर्नुपर्ने रहेछ भन्ने शिक्षा पाएँ ।
तपाईँको जीवन रहेसम्म यस्तै उत्कृष्ट कृतिहरू पढ्न पाइरहौँ । तपाईँको जीवन लामो होओस्, शुभकामना !
तपाईँको
रमेशमोहन अधिकारी

तिमी

तिमी आएझैँ गर्छ्यौ
आएकी पनि हुन्छ्यौ
दैला ठेलामा ठिङ्ङ उभिएकी हुन्छौ
अमृतको घडा हुन्छ तिम्रो साथमा
म अमृतको प्यासी
एक थोपा मात्र पाए पनि
अमर बन्ने लालसामा छु


तिमीले घडाबाट
अमृतको एक थोपा
निकालिसकेकी पनि छ्यौ
म आनन्दले विभोर छु
मेरो खुसीको सीमा छैन

आँखा चिम्लन्छु
पूर्ण तृप्तिका लागि
म आँखा खोल्छु
तिमीलाई देख्तिनँ


कहाँ गयौ तिमी
कलश साथमा लिएर
कहाँ गयौ
मलाई मृगतृष्णामा भुलाएर
पानीबिनाको माछो बनाएर
उफ !
म एक थोपा अमृतको प्यासी
प्यासप्यासमै मर्न लागेँ
हाय !!

मेरो भूत

07014053.detail.a कुरा केही वर्ष अगाडिको हो, त्यतिखेर म एक्लै बस्ने गर्थेँ। म बस्ने घर अलि पुरानो खालको थियो, जसको माथिको छ कोठामध्ये अगाडिको दुइटा कोठामा घरबेटीहरू बस्थे । म पछाडिको एउटा कोठामा बस्थेँ र माथिको ३ वटा कोठा खाली थियो । घरबेटीहरुको माथि नै भएपनि उनीहरुकोमा पुग्न बिचको गजवारवाला ढोका पार भएर जानु पर्ने भएको हुनाले घरबेटीहरू भएपनि म एक्लो जस्तै नै हुन्थेँ । Toilet-Bathroom सबै तल नै थियो। तलको तल्लामा क्याम्पस पढ्ने विद्यार्थीहरु बस्थे । त्यतिखेर गर्मीयाम थियो ।
त्यो दिन म केही काममा अल्झिएर बसेकोले गर्दा राति सुत्न अलि ढिलो भयो । सुत्नु भन्दा अगाडि हल्का हुनुपर्यो भनेर म त्यस्तै १०:३० तलतिर ओर्लें, त्यतिखेरसम्म सबैजना सुतिसक्नु पर्ने थियो तर गर्मीले गर्दा सुत्न सकिरहेका रहेनछन् । उमेश र उसको रुम पार्टनर राजेश आफ्नै कोठाभित्र गफिँदै थिए। म पनि सधैँझैँ उनीहरुको कोठातिर लागें । राजेश भर्खर गाउँबाट आएको हुनाले ऊसँग गफ गर्ने विषय धेरै नै थियो । ऊ भर्खरै गाऊँमा घटेको घटना बारे सविस्तार व्याख्या गर्दै थियो । उसको गाउँको साथीको भर्खरै गाउँ नजिकको दहमा डुबेर दु:खद निधन भएको रहेछ । ती युवकको शव निकालिएको विषयमा वर्णन गर्दै थियो । यसै प्रसङ्गमा कुरा हुँदाहुँदै गाउँमा देखिने गरेको भूतको कुरा हुन थाल्यो, जसलाई अधिकांश गाउँलेहरुले गोठमा, चौरमा, वनमा, खोला नजिकै वा बासँको झ्याङ्गमा देख्ने गर्थे । यो गफ मोडिदै बिस्तारै एक-अर्कालाई तर्साउने र रमाइलो मान्ने हिसाबले अगाडि बढ्न थाल्यो । गफै-गफमा उमेश र राजेश दुवैजना मिलेर मलाई तर्साउने हिसाबले कुरा गर्न थाले। दुवैजना मलाई भूत-प्रेतको कथा बनाउँदै सुनाउन पनि थाले, म यी सबैमा विश्वास नगर्ने भएकोले उनीहरु आफ्नो कुराहरु पुष्टि गर्न जोडतोडले लागिपरेका थिए । मलाई पनि यिनीहरुसँग मजाक गर्नुपर्यो भन्ने लाग्यो र मैले पनि तिनीहरुलाई तर्साउन नयाँ कथा बनाएर भनेँ जसअनुसार ऊनीहरु बसेको कोठामा एक असफल प्रेमी झुन्डिएर मरेको थियो । म उनीहरुभन्दा पहिलेदेखि नै त्यहाँ बसिरहेको हुनाले आफूसँग भएको अन्य जानकारीको प्रयोग गर्दै त्यस कुराको थप पुष्टि गरें । उनिहरुले सुरुमा त पत्याएका थिएनन् तर मैले हो कि हो भनेपछि उनीहरुले पनि विश्वास नगरी धरै भएन । यसरी उनीहरु पङ्गु बने भन्ने लागेपछि म माथि लागेँ र मस्तसँग सुतेँ ।
भोलिपल्ट बिहान अलि अबेला नै आँखा खुल्यो र नित्यक्रिया गर्न तलतिर लागेँ । तल त भद्रगोल नै भएको रहेछ । तलका सबैको अनुहार निन्याउरो देखिन्थ्यो, जसले उनीहरु राति राम्ररी नसुतेको कुराको पुष्टि गर्दथ्यो । म बाथरूमसम्म पुग्न भ्याएको थिइनँ; बाटैमा शेखर, जो बिचको कोठामा बस्थ्यो, ले हिजोको कुरा साँचो हो कि होइन भनेर सोध्यो। मैले कुन कुरा भनेर सोधेँ। उसले भूतको कुरा भनेर भन्यो अनि म छक्क परेँ । मैले उसलाई कसरी थाहा भयो भनेर सोध्दा उसले सम्पुर्ण कुरा भन्यो । हिजो म गइसकेपछि उमेश र राजेश बाहिर निस्केछन् र सबैलाई उठाएर मेरो कथालाई फुलबुट्टा भरेर सुनाउने काम चैँ राजेशले गरछ । त्यसले गर्दा अरुहरुपनि अबेरसम्म सुत्न सकेनछन् । यसरी एउटा कोठाभित्र गरेको मजाकले सारालाई सताएछ । त्यसले गर्दा अन्य कथाहरूपनि प्रकाशमा आयो । अरुहरुले पनि भूत भेटेको प्रमाण दिन थालेछन्, जसमा दिनेश, जो स्नातकको पढाई सकेर शिक्षण गरिरहेको थियो, ले सबैलाई उछिनेछ । उसले घरको पछाडिमा, गल्लीमा, धारामा समेत भूत भेटेको रहेछ । अरुहरूका पनि त्यस्तै खालका कुराहरु रहेछन् । त्यहाँ भएका मध्ये वैधनाथलाई सबभन्दा बढी असर परेछ । ऊ कक्षा १२ मा विज्ञान पढ्ने विद्यार्थी थियो । ऊ सबभन्दा पछाडिको कोठामा एक्लै बस्ने गर्थ्यो । तलका सवै जनालाई सुत्न जान डर लागेछ गफ गरेर १ बजेसम्म बसेछन् र त्यसपछिमात्र सुत्न गएछन् । वैधनाथको डरले गर्दा पेट दुखेछ । उसलाई रातभरी छेरपट्टी चलेछ । राति एक्लै सुत्न डर लागेर ऊ उमेशहरुको कोठामा सुतेछ । मलाई यि सारा कुराहरू सनेपछी सारै नै नराम्रो लाग्यो । अघिल्लो बेलुका यस्तो हुन्छ भन्ने लागेको भए अवश्य नै यस्तो कुरा गर्ने थिइन् । मेरो कारणले गर्दा त्यतिखेर सबैले दु:ख झेल्नुपर्यो । मैले यो मजाक हो भनेर भन्दा भन्दै पनि वैधनाथले त्यो घटना भएको १ हप्तापछि कोठा सर्यो । घरबेटीहरु यो घटना पछि मसँग रिसाएका थिए ,जसले मलाई झन् दु:खी बनाएको थियो ।
(Image source: Click here )

हिमाल

 



कति राम्रो हिमाल हेर हाँसे जस्तै लाग्छ
हिमालमा डाँफे चरी नाचे जस्तै लाग्छ
म पनि त हिमाल खोज्न लेक-बेँसी धाएँ
आखिरीमा आफ्नो हिमाल आफैसँग पाएँ


हेर साथी हिमालमा सेता दन्त लहर
हिमालसँग नाता गाँस्ने मेरो आफ्नो रहर
कस्तो राम्रो हिमाल हेर सधैँ हाँसिरहने
सबैसँग आफ्नो नाता गाँसिरहने


हामी पनि हिमाल जस्तै हाँस्न सिक्नुपर्छ
सबैसँग आफ्नो नाता गाँस्न सिक्नुपर्छ
हिमाल, पहाड, तराई कोही छैन पराई
हिँड्नुपर्छ हामी शत्रुसँग नडराई


सगरमाथा शिखर नेपालमा छँदै छ
त्यही माथि नेपालीको इज्जत बढ्दै छ
नेपाली हामी कमाउँन मिहिनेत गर्छौं
मिहिनेतअनुसार आफ्नो नाम कमाउँछौं


मलाई हिमाल र झर्ना साह्रै मन पर्छ
हिमालमा हिउँ पग्ली नदी बनी बग्छ
हामीले हिमाललाई माया गर्नुपर्छ
हिमालसँग हाँसी खुसी सधैँ बस्नुपर्छ

रचयिता :- अञ्जिता बर्तौला

कक्षा :- ८

कालिका मावि नामटार, मकवानपुर

प्रियालाई चिठी

प्रियालाई चिठी

प्रिय छतिवन,

धेरै धेरै सम्झना,

तिमीलाई मैले छाडेको एक वर्ष तीन महिना भइसकेछ । यस बीचमा तिमीलाई एउटा चिठी पठाएको थिएँ । तिमीले पाएकी हुनुपर्छ । तर मैले जबाफ पाउन सकिनँ, दु:ख लागिरहेको छ। मेरा जीवनका ऊर्जाशील वर्षहरूमा तिम्रो र मेरो बीच फस्टाएको प्रेमले गर्दा नै तिम्रो पत्रको उत्तर नपाए तापनि पत्र कोर्ने धृष्टता गर्दै छु ।

प्रिय छतु !

तिमीलाई मैले आजभन्दा तेह्र वर्षअगाडि मात्र चिनेको हुँ । सुरुमा तिमलिाई चिन्न खोज्दा बिरानी जस्ती लाग्थ्यौ । म तिमीलाई पुलुक्क हेर्थेँ ,तिमी लजाउँदै ओझेल हुन्थ्यौ । तिमीसँग नजिक भइनसक्तै पनि तिमीले हरिदाइको होटलमा खुवाएको जेरी म अहिले पनि सम्झँदै छु ।

अँ, जेरी प्रसङ्गले एउटा घटनाको सम्झना भयो मलाई । त्यतिखेर म फापरबारीमा पढाउँथेँ । दशैँको बिदाताक होला, म आफ्नो विद्यालयको प्रअ मभधुसूदन शर्मा साहित्याचार्य, सहप्रकोष्ठी श्यामकृष्ण ढकाल र अन्य मित्रहरूसँग घर आउनका लागि हेटौँडा आउँदै थिएँ । आमाले जानकारी दिनुभएअनुसार त्यो दिन एकछाकी थियो । त्यही हुनाले म फापरबारीबाट केही नखाई हिँडेको थिएँ । फापरबारीबाट तिमीसम्म आइपुग्दाको चार कोसको छिटो हिँडाइले मलाई ज्यादै भोक लागिसकेको थियो । एकातिर मेरा स्वर्गीय पिताप्रतिको श्रद्धा र भक्तिले एकछाकीप्रति सतर्क थिएँ भने अर्कातिर पेट र खुट्टाले ज्यादै दु;ख दिन थालिसकेका थिए, वस्तुगत परिवेशसँग सम्झौता गर्नुपर्ने अवस्था आइसकेको थियो । भोको पेटमा यात्रामा ज्यादा थकाइ लाग्छ भन्ने कुरा यसपालि पनि मैले राम्ररी अनुभूति गर्न पाएको थिएँ । हो, त्यही अवसरमा मैले खाजाको भोक मारेको थिएँ । त्यतिखेर नै तिम्रो र मेरो सम्बन्ध प्रगाढ हुने छनक मैले पाइसकेको थिएँ । आखिर तिमीसँगको सान्निध्यले मलाई तिमीनेर तानेरै छाड्यो ।

तिमीसँगको बसाइ, उठाइ र हिँडाइका दस वर्षका एक-एक क्षणहरू मेरा लागि अति प्रिय छन्। तिनै क्षणहरू सम्झेर म तीता र पीडाजनक क्षणहरू बिर्सन खोज्छु ।

जीवनका पीडाका क्षणहरू बिर्सन कोही सुरामा भुल्दा हुन् कोही सुन्दरीमा, कोही कौडामा, अनि कोही तासमा । तर मलाई चित्लु र तिम्रा सम्झना पर्याप्त छन् । चित्लु मेरी प्रिया हुन् तर उनीसँगको संसर्ग अवधि कम हुनाले म तिमीसँगै बढी नजिकिएको छु; सायद तिमीसँग नै बढी रत्तिएको छु, रित्तिएको छु ।

हाम्रो भेट नभएको लामो समयका कारणले पनि मैले अलि लामो गनगन लेखेँ कि जस्तो लागिरहेको छ । अहिले मेरो स्मृतिमा तिमीसँगका एक-एक क्षणहरू तँछाड-मछाड गर्दै आइरहेका छन् ।तिनलाई संयोजन गर्न मलाई अप्ठ्यारो-अप्ठ्यारो भइरहेको छ । सायद भावनात्मक क्षणहरू यस्तै हुँदा हुन् ।

छतु !

तिमीसँगै बस्न आइपुग्दा त मैले तिमीलाई थोरै र निकै थोरै मात्र चिनेको थिएँ ।कसैले भन्थे त्यो राम्री छे, कोही भन्थे देख्नमा मात्र राम्री छे । यस्तै यस्तै प्रतिक्रियाहरूबिच तिम्रो र मेरो सामीप्य बढेपछि म आफैँले चिन्न थालेँ र साँच्चै चिनेँ । साँच्चिकै भन्नुपर्दा तिमी सुन्दरी हौ भनेर त म पनि भन्दिनँ । तिम्रो बाह्यपन एकथरी छ र आन्तरिकपन अर्को थरी । तिम्रो सङ्गतै नगरी चिन्न खोज्नेहरूले तिमीलाई आफ्नै ढंगले चिन्दा हुन् र तिमीमै समाहित हुनेहरूले भिन्दै ढङ्गले चिन्दा हुन् । म चाहिँ तिमीमै समाहित हुनाले थोरै भए पनि राम्ररी चिन्न पाएको छु ।

अँ, म तिमीसँग लामो सहवासका लागि आउन खोज्दा तिमीसँग मलाई भेट्न दिने-नदिने विषयमा लामो बहस भएको थियो रे । म तिम्रा लागि योग्य छैन भनेर कतिपयले भने भनेर केदार दाइले मलाई सुनाउनुभएको थियो । पछि तिम्रो र मेरो भेट भइसकेपछि कसले छेक्न सक्नु मेरो र तिम्रो सम्बन्धलाई, कसले थुनेर सक्नु तिम्रो र मेरो पिरतीलाई । पिरती आफैँ हुँदोरहेछ, हैन त छतु !

तिम्रो र मेरो सान्निध्यमा रिस गर्नेहरू मात्र थिएनन्, रमाउनेहरू पनि थिए र त म र तिमी त्यसरी एकाकार भएका थियौँ ।तिमीसँगको भेटपछि उद्धव सर, जनार्दन सर, परशुराम सर अनि बेलप्रसाद दाइहरूले हाम्रो मिलनलाई कत्ति सघाउनु भएको हगि !

तिम्रो उर्वरता पो प्रशंसनीय लाग्यो । तिमीलाई सिँचन गर्ने झरना ! तिमीलाई उर्वरशील बनाउने झरना ! तिम्रो उर्वरताको पारख गर्ने झरना ! हो, त्यही झरनामा नुहाउँदा कत्ति आनन्द लाग्थ्यो हामीलाई । चैत-बैशाखको खडेरीमा झरना पातलिँदा कति साथी अधीर भएर हिँडे । कति साथी झरनामै नुहाएर पनि नित्य नित्य नुहाइरहन सकेनन् । हामीले त नुहाइरह्यौं नुहाइरह्यौं हैन त !

आहा ! झरनाको पानी कति कति पोसिलो ! झरनामा नुहाएर, नुहाएको निहुँमा कतिपय अनमोलहरू मणि बने, कतिपय चिरञ्जीवीहरू चकोर बने, कतिपय लीलाहरू शिरीष बने अनि जनक, मीन, अमृत, सुवास, दीपक, राजन, कुमार, देवकी, मुना, वासुदेव, नारायणहरू तृप्त भए । हो, यही तृप्ति आनन्द हो र जीवन पनि ।

हाम्रो निकटता पाएर पनि जसले झरनाको पानी पिएनन्, पिउँदै पिएनन्, तिनलाई के थाहा ! आनन्दको क्षण कस्तो हुन्छ, पीडा व्यक्तिन पाउँदा पीडाको खिल कसरी उक्किएर जाँदोरहेछ ! हो, तिनले त जीवनलाई राम्ररी बुझ्न सकेनन् ।

प्रिय, मैले यहाँ आएर पनि उद्यानका कोपिलाहरू फस्टाउन खोजेको देखिरहेको छु, लक्ष्मीहरूले विवशताहरूलाई कुल्चेर पनि झरनामा नुहाइरहेको, भावना, सिर्जना, कुन्साङ, सोमनाथ र मसानहरू झरनाबाट तृप्त, परितृप्त भएको देखिरहेको छु ।

छतु ! तिमीसँगका मेरा हर पलहरू मेरो शरीरका, मनका हरेक कणकणमा भिजेका छन् र ती मेरा जीवनका महत्त्वपूर्ण अंशियारसमेत बनेका छन् ।

म यस्तो शुष्क भूमिमा आइपुगेको छु, जहाँ निस्वार्थता भन्दा स्वार्थताको, सेवाभन्दा जागिरे प्रवृत्तिको र संवेदनाभन्दा कठोरताको हैकम छ । जब मलाई यी कुराहरूले चिमोट्न थाल्दछन्, अनि शिवजीको जटाबाट निस्केकी गङ्गाझैं तिमीबाट नि:सृत झरनालाई स्मरण र कल्पनाको संयोजनद्वारा आव्हान गरेर परितृप्त हुन्छु ।

प्रिय ! भावनाको अन्त हुँदैन भन्छन् मान्छेहरू । म पनि भावनामै बगिरहेको रहेछु । अब पत्र बन्द गरूँ है !

छिट्टै भेट्ने वाचाका साथ ।

तिम्रो उही आफ्नो मान्छे

रमेशमोहन अधिकारी

तिमी

तिमी जन्मँदा सग्लै थियौ
सलक्क परेका हातगोडा
बोलिहाल्लान् जस्ता ओठ
मृगका जस्ता आँखा
सुन्दर नाक
अनुहारका प्रत्येक उपाङ्ग
तिम्रो सुन्दरता बढाइरहन उद्यत देखिन्थे

जय चुस्की !

आदरणीय मित्र ! नव वर्ष २०१० तपाईँ, तपाईँको परिवार, हाम्रो राष्ट्र र सिङ्गो विश्वका लागि पूर्व वर्षहरूभन्दा सुखद रहोस् । शुभकामना !




जय चुस्की !

चुस्की
तपाईँलाई मीठो लाग्छ 
मलाई मीठो लाग्छ

उहाँलाई पनि मीठो लाग्छ
Related Posts with Thumbnails