नेपाली भाषामा नेवारी भाषाको प्रभाव: सामान्य दृष्टि

old-architecture-newari परापूर्वकालदेखि नै एक भाषाभाषीको प्रभाव अर्को भाषाभाषीमा पर्दै आएको हो । एउटा भाषाको प्रभाव अर्को भाषामा नपर्ने हो भने प्रायः भाषाहरू समृद्ध हुन सक्तैनन् । कुनै पनि भाषामा मौलिक शब्दहरू हुनु नै राम्रो हो तर अर्को भाषाको प्रभाव पर्नै हुन्न पनि भन्न सकिन्न । ‘ बुढा मरै भाषा सरै’ भनेझैँ भाषा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदैँ जान्छ तथा अवस्था र स्थान विशेषका कारणले यो स्थानान्तरण पनि हुँदै जान्छ ।

नेपाली भाषाको मूल संस्कृत हुँदै हो, त्यसैले आधाजसो शब्द नेपालीमा संस्कृतबाट नै आएका छन् । यसैगरी नेपाली भाषामा अङ्ग्रेजी भाषाको प्रशस्त प्रभाव परेको छ । यस्तै अरबी, फारसी, हिन्दी, तुर्की, पोर्तगाली, चिनियाँ एवं फ्रान्सेली भाषाहरूको । नेपालमा बोलिने अन्य भाषाहरुको प्रभावलाई पनि नेपाली भाषाले राम्रैसँग ग्रहण गरेको छ । नेवारी, थारु, लिम्बू, मैथली, मगराँती आदि भाषाहरूबाट पनि प्रभावित छ नेपाली भाषा ।

राष्ट्र भाषाहरुमध्ये सबैभन्दा बढी नेवारी भाषाबाट प्रभावित छ नेपाली भाषा । नेपालको राजधानी नै नेवारहरुको बहुल क्षेत्र भएकाले यस्तो भएको हुन सक्छ । नेपाली बृहत् शब्दकोश ( ने.रा.प्र.प्र., परिमार्जित संस्करण २०५८ ) का अनुसार नेपाली भाषामा नेवारी भाषाका सवा दुई सय जति शब्दहरू मुद्रित रूपमा समाविष्ट छन् । तीमध्ये कतिपय शब्दहरु राजधानी बाहेक अन्यत्रका नेपाली भाषीहरूका जिब्रामा त्यति सारो झुन्डिन सकेका छैनन् ।

नेपाल भाषाको रूपमा समेत चिनिने नेवारी भाषामा कस्ता कस्ता शब्दहरू छन् भन्ने कुरा खोजको अर्कै विषय हुन सक्छ ।

म चाहिँ नेपाली भाषामा पचिसकेका वा पच्ने तरखरमा रहेका नेवारी शब्दहरूका आधारमा त्यस जातिका प्रवृत्ति, रुचि तथा विशेषताहरूबारे कोट्याउन खोज्दै छु ।

नेपाली भाषामा प्रवृष्ट शब्दहरू हेर्दा नेवारी भाषामा अनुनासिकता तथा ह्रस्वताले घर पाएको देखिन्छ ।

नेपाली बृहत् शब्दकोशको मात्रै भर परेर भन्नुपर्दा नेवारी भाषाबाट नेपाली भाषामा आएका शब्दहरू बढी वास्तु कला सम्बन्धी नै छन् । यो उनीहरू वास्तु कलामा अगाडि रहेको प्रमाण हो । त्यसैले यस्ता शब्दहरू बढी प्रचलनमा आएका हुन् । नेपाली वास्तुकलाको इतिहास हेर्यौँ भने वा काठमाडौं उपत्यकाका सहरहरूतर्फ एक दृष्टि मात्र लगायौँ भने पनि हामीले यो कुराको पुष्टि पाउन सक्छौँ । उनीहरुले आआफ्ना घरमा इँट, झिङटी तथा टायलहरूको प्रयोग गर्ने गरेको, घरहरुमा कौसी, बुइँगल आदिलाई महत्व दिने गरेको हामी पाउँछौं ।

यस्तै गृह निर्माणका क्रममा काठ, फलाम, बाँस आदिको प्रयोग भएको भेट्टाउँछौं । भवन विषयक यस्ता शब्दहरू अवाल, इलो, कउल/कवल, कुई, कुम्खा, कोटाली, कोला, कौसी, खल्मा, खसिपा, खापा, खाप्टा, चलु, चुकुल, चोटो, छिंडी, झरी, झिङटी, टकुँचा, टुनाल, ट्वाकल, ठ्याकप्वा, डकर्मी, दिलाप, नोबँटा, पलाँसी, बटाँ, बतासी, बुइँगल, बेताल, भौँप्वाल, भ्याल्सी, मटान, मा, मुठल, मुसी, लकासी, सन्झ्याल, साल, सिकर्मी, हँखी आदि हुन् ।

ईश्वरप्रति आस्था राख्ने, परम्परा निर्वाह गर्ने तथा सांस्कृतिक पक्षको जगेर्ना गर्ने कुरामा नेवारहरू अगाडि नै छन् । यो कुरा मन्दिर, तिथि, तन्त्र, राक्षस, भूत, नाच, जात्रा आदि सम्बन्धी शब्दहरू प्रचलनमा रहेकाले अनुमान गर्न सकिन्छ । यस्ता शब्दहरू इचङ्गु, ख्याक, गठे, गठेमङ्गल, गुभाजु, गुरुमापा, जङ्कु, डबली, न्यातपोल, पानीजुह, पाहाँचरे, पुलाँकिसी, बिनाबी, भ्वाङलाखे, मतया आदि हुन् ।

नेवारहरु सांस्कृतिक कार्यक्रमहरू गरि रहन मन पराउँछन् । गान बजानमा उनीहरूको राम्रै रुचि रहेको छ । प्रसिद्ध चाडपर्व तथा विशेष उत्सवहरुमा उनीहरू बाजागाजा साथ प्रस्तुत हुन्छन् । यस क्रममा धातु, छाला, गजाहरुको प्रयोग फुक्न, ठोक्न, रेट्न आदिका लागि गरिन्छ । यसरी उनीहरू कैपुँचा, कोंचाखी, कोकिंला, गुलाँ, घँगला, ङेकु, झ्यालिन्चा, ताःतिनीमनी, तिन्छु, दबदब, दमखि, धिमा, नयाखिं, नेकु, पिवाँचा, पैंता, पाङ्गा, यँका, याकबभुचा, लगुखजस्ता, तालबाजा, सिङबाजा, तारबाजा प्रभृतिका बाजाहरु प्रयोग गर्दछन् ।

नेवारहरुको खान्की सामान्यदेखि विशिष्ट स्तरसम्मका हुन्छन् । मासु, अचार, खट्टे, रोटी, चिउरा, माडाजस्ता खाजा तथा खानाका विभिन्न परिकार मन पराउने यिनीहरुलाई मिठाई पनि खुब मीठो लाग्दो रहेछ । खाद्य वस्तुहरुमा नेवारहरुले कचिला, कम्घासा, क्वाँटी, गोलफुकी, ग्वारामरी, ग्वार्चा, चटामरी, चाकु, छोयला, टिकनबजी, डुकु, पाउँ, पौं, भ्यात्तल, योमरी, लाखा, सिन्की, स्याबजी आदि प्रयोग गर्दछन् ।

नेवारहरु उद्यमी हुन्छन् । उनीहरू तानमा कपडा आफैँ बनाउँछन्, विभिन्न कपडाहरूमा किनार तथा विभिन्न बुट्टाहरू हाली सजाउँछन् । यस क्रममा उनीहरू कोका, खिका, तयँगा, थाज्या, थाज्या, पटासी, पौवा, फेलु, बाकन, बालकठी आदिसँग अन्योन्याश्रित छन् ।

नेवारहरूका विभिन्न चाडपर्वहरूमा रक्सीले सम्मान पाएको महसुस हुन्छ । यस्तै जाँड पनि उनीहरुको आवश्यकताकै रूपमा रहेको पाइन्छ । यस प्रकारका कट, खोला, दुबली, पाके, मनायु, मुती आदी शब्दहरू प्रचलनमा देखिन्छन् ।

नेवारहरु परम्परागत रुपमै कलाविद् जस्ता लाग्दछन् । यिनीहरु धातुहरूबाट विभिन्न किसिमका भाँडाहरु बनाउँछन् । त्यसका लागि विभिन्न साधनहरू समेत प्रयोग गर्दछन् । यस क्रममा ठो, करुवाजस्ता भाँडाहरुका लागि इचा, खन्चा, खासी, टाँपो, फोसी आदि प्रयोग हुन्छन् ।

मानिसहरूको जनसङ्ख्या बढ्दै गएपछि मानव समुदायमा विस्तारै श्रम विभाजनको धारणाले विकास पायो । त्यसै क्रममा खास खास क्षमता भएकाहरूलाई खास खास कामको जिम्मा दिइयो । यसरी खास खास कामको जिम्मा लिएका/पाएका समूहहरू नै पछिल्ला पिँढीहरुमा खास जातिका रुपमा चिनिन थाले ।

यस क्रममा नेवार जातिमा पनि छाला, फलाम, सरसफाइ, कपडा, खेती, तेल आदि क्षेत्रमा विशेष दखल भएकाहरु अवाले, कलु, कौ, च्यामे, छिपा, ज्यापू, डङ्गोल, नकर्मी, पोडे, साल्मी आदि उपजातिका रूपमा चिनिन थाले । यसै गरी ‘नेवा’ तथा ‘नेवार’ शब्दहरू भने सिङ्गो जातिलाई चिनाउने गरी प्रयोग हुन थाले ।

खेल विषयक शब्दहरु पनि छन् नेवारीबाट नेपालीमा आएका । खेलहरूमा चङ्गा, भुरुङजस्ता खेलहरू पर्दछन् । यस्ता शब्दहरु आजु, कका, ग्वाँक, ध्वाइँ, ध्वाइँकासा आदि हुन् ।

नेवारहरू माटा, काँस तथा अन्य धातुका भाँडाहरू समेत चलन गर्दछन् । यस्ता भाँडाहरूमा भिउँट, भोचा, मकल, सुकुन्डो आदि पर्दछन् । उनीहरूले माटोबाट भाँडा, मूर्ति आदि बनाउने हुनाले यस सम्बन्धमा गठेचा, धोगचा जस्ता शब्दहरू समेत प्रचलनमा पाइन्छन् ।

नेवारहरु परिश्रमी छन् । खेती जमेर गर्छन् र आफूहरूद्वारा उत्पादित सामग्रीहरु बिक्री गर्न रत्ति पनि सङ्कोच मान्दैनन् । त्यसैले यस जातिका मानिसहरुले दुःख पाएको पनि त्यत्ति देखिँदैन । उनीहरू भारी बोक्छन् तर बोकेको भारीले आफूलाई उति सारो थकाइ नलागोस् र बोक्ता अप्ठ्यारो नपरोस् भनेर सजिलो पार्ने साधनहरुको समेत प्रयोग गर्दछन् । यस्ता भारी र भरिया सम्बन्धी शब्दहरु खर्पन, चउ, नोल आदि हुन् ।

प्रकृति अनुसारका नोकरहरु जनाउन काठामचे, मोचे जस्ता शब्दहरू प्रचलनमा छन् । नेवारहरूका मौलिक गहना पहिचान गराउन टुकी, टुकिचाजस्ता शब्दहरु चल्तीमा छन् । यस्तै रोगहरु चिनाउन अडिन्चे, अलकाई, घोरीजस्ता शब्दहरू छन् ।

नेपालीमा भिजेका वा भिज्न खोजेका अन्य केही शब्दहरू व्यक्तिगत प्रवृत्ति, आकृतिगत विशेषता, शारीरिक अवयव, परिमाण, कुचो, नदी, कीरा, तरकारी आदि जनाउन आएका छन् । तीमध्ये केही शब्दहरू आसेपासे, कुसेत्रो, ख, खिता, गर्चो, ग्वाली, घैमल, चखन्ची, चर्पी, चाक्सी, च्याम्पटी, च्वाफी, छ्वाँके, छ्वायबाली, छ्वाली, छ्वालीखुट्टे, ज्यामी, ज्यामीमाहुरी, ज्याला, ज्यासल, टुकुचा, टुखुल, टुसाल, ट्वाँटी, ठ्या, ठ्यासफू, डेप्पा, ड्याक, ढुकुटी, ढेवा, दाप्चा, न्यासे, पाचुकी, प्यान, प्वाकल, फटाँ, फर्सी, फाकन, फुकी, फुने, फोसा, बच्छी, बाकुपौ, बुई, मङ्गाल, मचाकथी, मठया, मिसाखत, लखाकी, लपेस, लमी, लोंविल, ल्यासे, वाल, सुकुल, हकुवा, हाजा, हिग्वे, हिसी आदि हुन् ।

जुन भाषामा आफ्नो लिपि, आफ्ना शब्दहरू हुन्छन्, त्यो त्यतिकै सम्पन्न हुन्छ । नेवारी भाषाको आफ्नै लिपि पनि छ । देवनागरी लिपिमै पनि नेवारी भाषाका पुस्तकहरू लेखिएका होलान्, शब्द भण्डारको दृष्टिले नेपाली भाषा त्यति दुब्लो छैन । यही नै यस भाषाको उपलब्धि हो ।

आफ्नो भाषा, लिपि, इतिहास, संस्कृति जोगाउन आफैँ लाग्नु पर्दछ । अरूले जति नै गरे पनि पुग्दैन । यस कुरालाई नेवार जातिका अग्रणीहरूले राम्ररी बुझेका छन् । आफ्नो भाषिक आन्दोलनमा लागी परेका छन् । त्यसैले होला नेपालमा बोलिने राष्ट्र भाषाहरू मध्ये नेवारी भाषाले नै नेपाली भाषामा बढी प्रभाव पारेको !

बडा दशैँ २०६७ को हार्दिक मङ्गलमय शुभ कामना !

(Picture Source: Click here)

3 comments:

  1. एकातिर अङ्ग्रेजीले भाषा गाँजेको छ र अर्को तर्फ हामीनै कहीँ कतैबाट आफ्नो छोडी अर्काको समाउन पुग्छौँ । भाषाको विज्ञान हो तर सरल र सहजको नाममा आफ्नै अस्तित्व मेटिने बोध सवैले राख्न जरुरी भएको छ । हजुरको ब्लगबाट सिक्ने मैका पाएँ धन्यवाद ।

    ReplyDelete
  2. तपाइको अनुसन्धान र खोज सार्है राम्रो लग्यो ! भाषा-बिज्ञानका धेरै कुरा थाहा पाउने मौका मिल्यो ! धन्यवाद !

    ReplyDelete
  3. लेख खोजमुलक लाग्यो | जसरी हिन्दी भाषा प्रादेशिक भाषाहरुबाट शब्द बटुलेर धनी बन्दै गएको छ, नेपाली भाषाले पनि नेवारी र अन्य भाषाबाट राम्रा राम्रा शब्द मिलाएर धनी बन्न सक्छ

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails