आधारभूत तहका नेपाली पाठ्य पुस्तकहरूमा एक दृष्टि

नेपाली पाठ्यक्रमले मूलत: विक्रमाब्द २०२८ देखि विकसित स्वरूप सुरु गरेको
हो । त्यसदेखि यता पनि समय अनुसार पाठ्यक्रममा निरन्तर रूपमा सुधार हुँदै
आएको छ । त्यही क्रममा पाठ्यक्रम आजको स्वरूपसम्म आइ पुगेको छ । सोही
अनुसार पाठ्य पु्स्तक पनि तयार भएर हाम्रा हात हातमा छन् । निश्चित रूपमा
भन्न सकिन्छ-पाठ्यक्रम र पाठ्यपुस्तक आजको स्थितिमा आइ पुग्दासम्म निकै
कुइनेटाहरू पार गरेको छ र अनन्तसम्म पाठ्यक्रम र सोही अनुसार पाठ्य
पुस्तकमा परिवर्तन गर्दै जान पर्ने स्थिति छ ।
यस लेखोटमा वर्तमान नेपाली पाठ्य पुस्तकका सन्दर्भमा केही कुरा उठाउन
खोजिएको छ । यस क्रममा सर्सर्ती हर्दा देखिएका सकारात्मक तथा नकारात्मक
पक्षको चर्चा हुने छ ।
पाठ्य पुस्तक अद्यावधिक छ र पनि ख्याल पुर्याउनु पर्ने कतिपय पक्ष छुटेका
छन्, खटकेका छन् । ती पक्षहरूलाई बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयत्न
गरिएको छ । यस लेखमा आधारभूत तहको कक्षा एकदेखि पाँचसम्मलाई आधार मानिएको
छ ।
विद्वान् लेखकहरूले लेख्नु भएको छ, आआफ्ना सिप पोख्नु भएको छ राम्रो हो
तर उहाँहरूले कक्षा अनुसार शब्दहरू चयन गर्न ख्याल पुर्याउन नसक्नु भएको
हो कि जस्तो लाग्छ ।
हाम्रो देश बहु भाषिक, बहु स्थानिक तथा बहु जातीय हुनाले सबैका लागि
अर्थात् देशभरिका विद्यार्थीका लागि एउटै पाठ्य क्रम र पाठ्य पुस्तक
दिँदा उनीहरूको ग्रहण क्षमतालाई पनि ख्याल गर्नु पर्छ । काठमाडौँका
विद्यार्थीले ग्रहण गर्न सक्ने शब्दहरू मोफसलका लागि उपयुक्त नहुन सक्छ,
मोफसलका लागि उपयुक्त हुने शब्दहरू काठमाडौँका लागि उपयुक्त नहुन सक्छ ।
तसर्थ पुस्तक लेखक तथा सम्पादकहरूले नेपाली भाषाको स्तर उठेका
विद्यार्थीहरू, नेपाली मातृभाषी भएर पनि स्तर नउठेका विद्यार्थीहरू,
नेपाली भाषिक वातावरण नपाएका विद्यार्थीहरू तथा नेपाली भाषिक परिवेश
पटक्कै नपाएका विद्यार्थीहरूलाई एकै दृष्टिले हेर्न हुँदैन । यस कुरामा
ख्याल पुर्याउन सकिएन भने लक्ष्य अनुसार उपयुक्त ढङ्गले बालबालिकाको
विकास हुन सक्तैन ।
विद्वान् लेखकहरूको भाषिक स्तर उच्च भए तापनि धरातलमा रहेर पाठ्य पुस्तक
अध्यापन गर्ने शिक्षकहरूले बेग्लै खालको अप्ठ्यारो बेहोर्नु परेको छ । यस
क्रम र दृष्टिले देखिएका अप्ठ्यारा शब्दहरू यहाँ प्रस्तुत गरिएको छ ।
कक्षा दुईका मातृभूमि (पृ.४), सहमत (पृ. १०), बज्र (पृ.४५), खटप्वाल (पृ.
७१), ऋषि (पृ.८७); कक्षा तिनका मानचित्र (पृ.१), कण(पृ.१७),
सत्ज्ञान(पृ.२०), जीवनमार्ग (पृ.२०),बढिया, घटिया(पृ.२२), इतिहास(पृ.२०),
प्रकाशक(पृ.२३), मोची, जिजोउसामा(पृ.४०), ऋषिमुनि, ऊर्जा(पृ.५१),
स्वाभिमानी, साम्राज्य, पुरुषार्थी(पृ.५५), नाल, कवच(पृ.५६), भाव(पृ.६०),
विश्व सम्पदा सूची, दुर्लभ(पृ.८२), संरक्षण(पृ.८३), आरोहण, चरण(पृ.८७),
पाटो-पातो, भूक्षय, अनुभव(पृ.९३), उत्पादन(पृ.९४), कक्षा चारका प्रीति,
ध्वजा, सृष्टि(पृ.२), श्रध्दा(पृ.११), सद्भाव(पृ.१३), शिथिल(पृ५०),
प्रेमधारा(पृ.५८), प्रसिध्दि, शल्यक्रिया(पृ.९५ ?), सार्थक(पृ.९५), नवीन,
प्रविधि(पृ.११०), आविष्कार(पृ.१११/११२ तिर) तथा कक्षा पाँचका वृक्ष,
रश्मि(पृ.३), खेलोफड्को(पृ.५), अधबैँसे(पृ.५), जिन्सी(पृ.१२),
दलहन(पृ.१३), अनादि, अनन्त(पृ.३१), साम्राज्य(पृ.४७), राजसी,
धृष्टता(पृ.५०), घानी(पृ.५५), समतामूलक(पृ.६०),
कुञ्ज(पृ.६३), तट(पृ.५३), हिज्जे(पृ.८२), बर्न(पृ.८९), तृप्त,
कृपा(पृ.९७), सजग(पृ.९८), पेय(पृ.१०२), शल्यक्रिया(पृ.१०९),
प्रसूति(पृ.१०९), अन्तरिक्ष, स्पाइडरम्यान(पृ.११३), भाषण(पृ.१२२),
सम्पादन, विशेषज्ञ, पाण्डुलिपि(पृ.१२६), मुद्रक(पृ.१२७), ह्रस्व(पृ.१२९),
किस्ती(पृ.१२८) आदि हुन् ।
कतिपय पाठहरू विद्यार्थीहरूका पहुँच क्षमताभन्दा माथिका छन् । तिनलाई
अधिकांश विद्यार्थीहरूले भेट्न सक्तैनन् । यस्ता पाठहरूमा प्राय: कविता
परेका छन् । जस्तै कक्षा दुईमा बोध प्रश्नका रूपमा दिइएको प्रश्न (५
नम्बर,पृ.६५) तार्किक दृष्टिले हेर्दा अत्यन्त मनासिब भए तापनि कक्षागत
तथा उमेरगत दृष्टिले साह्रै गाह्रो छ । यी प्रश्नहरूका उत्तरमा आउने शब्द
अँठ्याउन विद्यार्थीहरूलाई निकै अप्ठ्यारो हुन्छ । उत्तर समग्रतामा दिन
मिल्ने र केही नबुझी सार्दा समेत मिल्न सक्ने भए तापनि विद्यर्थीहरूका
लागि ती शब्द निकै गाह्रा हुन् । जस्तै-शिक्षा तथा खेलकुद मन्त्रालय,
पाठ्यक्रम विकास केन्द्र आदि ।
कक्षा तिनको 'जुन दिन छातीभित्र देश मैले देखेँ
डाँडाकाडा जताततै देशैदेश देखेँ' (पृ.१)
सोफिया बानोको 'मेरो देश' को उक्त कवितांशको भाव लरतरा विद्यार्थीहरूले
बुझ्न सकिने खालको छैन ।
कक्षा चारको 'नौ लाख तारा' स्तरभन्दा माथिल्लो कविता हो । 'लक्ष्य'
भावनात्मक र सुमधुरभन्दा वैचारिक कविता हो । आधारभूत तह, त्यो पनि कक्षा
चारका विद्यार्थीको मस्तिष्कले धान्न सक्ने खालको छैन ।
कक्षा पाँचको 'नैतिक दृष्टान्त' तथा 'किसानको रहर' यस्तै कविताहरू हुन् ।
यस्तै 'देशको माटो' कठिन कविता हो । यो स्तरभन्दा निकै माथि छ। यस
कविताका शब्दहरू गह्रौँ छन् र यसमा प्रतीकहरू पनि मनग्ये छन् । कविको
आफ्नै जीवनको समालोचना जस्तो लाग्छ । कक्षागत दृष्टिले मिठासमा पनि कमी छ
। प्रश्न पनि गह्रौँ छ-कवि मृत्युलाई कसरी स्विकार्न चाहन्छन् ?(पृ.९०)
भन्ने प्रश्न पनि गह्रौँ छ ।
कक्षा पाँचको पुस्तकमा पाँचको स्तरभन्दा निकै माथिल्ला वाक्यहरू पनि
परेका छन् । पृ.३५ को 'समय ईश्वर हो' भन्ने वाक्य विद्यार्थीले सितिमिति
बुझ्न सक्तैनन् । दार्शनिक खालको छ । बोध प्रश्नका सन्दर्भमा दिइएको
अनुच्छेद पनि विद्यार्थीको पहुँचभन्दा माथिल्लो स्तरको छ ।(पृ.११३)
एकातिर उदार कक्षोन्नतिको व्यवस्था र अर्कातिर स्तरीय सामग्री दिने
प्रयत्न ! परस्पर बाझिने कुरा हुन् जस्तो लाग्छ ।
एक त पाठ्य पुस्तकमा मुद्रण त्रुटि हुनु विद्यार्थीहरूका लागि घातक
हुन्छ, त्यसमाथि नेपाली विषय र अझ आधारभूत तहमा । तर पनि मुद्रक तथा यस
सम्बन्धी जिम्मेवारहरूको ध्यान त्यतातिर त्यति पुगे जस्तो लाग्दैन ।
त्यसै भएर होला कक्षैपिच्छे मुद्रण त्रुटिहरू भइरहेका पाइन्छन् ।
यस प्रकारका त्रुटिहरू कक्षा एकमा शिक्ष्णँ (पृ.१३), कक्षा दुईमा आधा 'झ'
का सट्टा सिङ्गो 'झ', आम्खोरा(पृ.१००), पाढी(पृ.१०३), कक्षा चारमा
राम्र(पृ.११), कयौँ (पृ.११), फट्याङ्ग्रँ(पृ.१८), कम्ती(पृ.२९),
नसुतेसम्मे(पृ.४९), हाम्रँ(पृ.५२,५६,९४,१११), कविवाहित(पृ.५३),
शिक्षँ(पृ.१०३), तिम्रँ(पृ.१०४), गाह्रँ(पृ.१०९), इन् टरनेट(पृ.११२) तथा
कक्षा पाँचका हुनु हुन्छ (पृ.३८), पश्चात्तँप(पृ.१२०) आदि हुन्।
कक्षा तिनको पाठ्य पुस्तकमा बटुवालाई बास दिने बुढीलाई खिचडी पकाउन दाल
चामल चाहिन्छ भन्ने थाहा नहुनु(पृ.१), पुस्तकले सबै ज्ञान सखाप पार्छ'
भन्ठान्नु (पृ.२०), गुरुले सोचे बमोजिमकै उत्तर दिँदा पनि तेस्रो चित्रकी
चेलीले पनि शिर निहुराउनु, चित्रहरूमा शिष्यहरूको सङ्ख्या घटबढ हुनु
६-५-५(पृ.२४-२६), तराईको हाटमा सेलरोटी बेच्न राखिने प्रसङ्ग आउनु जस्ता
कुराहरू अस्वाभाविक हुन् । यसै गरी ईश्वरप्रतिको विश्वासलाई प्रस्रय
दिइनु (खेतीवाल, पृ.३६), बुढाले गलबन्दी लगाएको चित्रमा नदेखिनु तर
जिजोउसामालाई आफूले नै बेरेको गलबन्दी दिनु(पृ.४२-४३), बुवाका सट्टा बाबु
हुनु(पृ.५९) जस्ता प्रसङ्गहरू पनि अस्वाभाविक लाग्दछन् ।
खट्कँदा शब्दहरू
कक्षा चारको 'कर्ण' को अर्थ 'पोख्त' हुने गरी, 'जग' को पर्यायवाची संसार
(पृ.९९) हुने गरी जोडा मिलाउन दिइएको छ । यसै गरी 'प्रतिभाशाली' को अर्थ
'मिहिनेती' हुने गरी जोडा मिलाउने प्रश्न (पृ.१०५) समन्वय गरिएको छ ।
कक्षा पाँचको पाठ्य पुस्तकमा 'डर' को विपरीत शब्द दिन भनिएको छ । के दिने
भन्ने समस्या छ । झिना मसिना कुरालाई बेवास्ता गर्ने हो भने पनि कतिपय
कुरा खट्कँदा नै लाग्दछन् ।
उस्तै शब्दलाई कक्षा तिनको 'लेख्ने छु' हुनु पर्ने ठाउँमा 'लेख्नेछु',
कक्षा चारमा 'गणेश चाहिँ'(पृ.५) हुनु पर्नेमा 'गणेशचाहिँ' भएर पदयोग तथा
पदवियोगगत त्रुटि भएको छ ।(पृ.५) यसै गरी उस्तै शब्दलाई कहीँ पदयोग र
कहीँ पदवियोग गरिएको छ । किन उस्तै शब्दमा पनि कहिले पदयोगको नियम र
कहिले पदवियोगको नियम लाग्छ भन्ने कुरामा स्पष्टता छैन । जस्तै 'भागे छ'
अज्ञात भूत कालको क्रियापदमा पद वियोग भएको देखिन्छ तर
'निदाएछ'(पृ.१००तिर)मा पद योग भएको पाइन्छ । सायद यसको तार्किक आधार
पाठ्य पुस्तक लेख्नेहरूसँग पनि छैन । यसै गरी 'उद्योग'को अर्थ 'उत्पादन'
दिइएको छ, 'पृष्ठ' र 'पाना' (पृ.१२९) उही हो भन्ठाने सरी अर्थ दिइएको छ ।
'नयाँ वर्षको उपहार' कथाबाट अन्धविश्वासको सृजना गर्न खोजिएको छ ।
कक्षा-१ को 'ख' र अन्य कक्षाको 'ख' लेखाइमा भिन्नता पाइन्छ । कक्षा तिनको
'सगरमाथा राष्ट्रिय निकुञ्जलाई किन विश्वकै सम्पत्ति हो ?'(पृ.८४)मा
विभक्ति 'लाई'को प्रयोग जस्ता प्रसङ्ग असङ्गत हुन् ।
कक्षा तिनको 'लेख्ने छु' हुनु पर्ने ठाउँमा 'लेख्नेछु', कक्षा चारमा
'गणेश चाहिँ'(पृ.५) हुनु पर्नेमा 'गणेशचाहिँ' भएर पदयोग तथा पदवियोगगत
त्रुटि भएको छ ।(पृ.५) साथै कक्षा पाँचको 'फ्'(पृ.३०/४७)ले बालबालिकामा
गलत धारणाको विकास गर्छ । आधा 'फ' भनेको 'फ्' हो भन्ने भ्रम पर्छ । यसै
गरी तीर्थालु(पृ.५४), झ्(पृ.९०) तथा अपराह्न(पृ.१०८) वर्ण विन्यासगत
त्रुटि हुन् ।
यी पुस्तकहरूमा केही खट्कँदा प्रसङ्ग पनि पाइन्छन् ।
कक्षा पाँचको 'किसानको रहर' का कविको नाम खुलाइएको छैन ।
'गालामा साना पसिना दाना मोती झैँ खुलेकी' भनेर नारी सौन्दर्यको पारख
गर्न खोजिएको वा त्यसतर्फ ध्यान तान्न खोजिएको जस्तो लाग्छ । बाल
कक्षाहरूमा बाल सौन्दर्यको कुरा आउनु पर्छ, नारी वा पुरुष अर्थात्
लैङ्गिक सौन्दर्यको होइन ।
'दलितको छोराले कक्षामा प्रथम भई पुरस्कार प्राप्त गर्नु गौरवकै कुरा हो
'(पृ.५९)विभेदक वाक्य हो । यस्तो वाक्यले दलित र गैर दलित बिच भेद गर्छ ।
यस वाक्यमा दलितहरू पहिले पहिले निकै पछि परेका र भर्खर उठ्न थालेकाले
अचम्मकै कुरो ठानेर गर्व बोध गराइएको छ । जेहन र मेधावी जुन सुकै
विद्यार्थी प्रथम वा विशिष्ट वा प्रतिभाशाली हुनु स्वाभाविक हुन्छ । त्यो
विद्यार्थी दलित वा गैर दलित, जनजाति वा गैर जनजाति जो पनि हुन सक्छ ।
अघि बढ्ने स्वभावका जो सुकै पहिले पहिले पनि अगि बढ्ने गरेकै हुन्, अहिले
पनि बढ्दै छन् र पछि पनि बढ्दै जाने छन् । त्यस कारण जातिगत भेद देखिने
यस प्रकारका वाक्यहरू अबका पाठ्य पुस्तक वा अबका संस्करणमा पर्न हुन्न ।
कक्षा तिनको पृ.५५मा प्रयोग गरिएको 'पुरुषार्थी' शब्द लैङ्गिक भेद
जनाउने शब्द हो । कक्षा चारको 'पछुतो' कथा (पृ.७)को 'धनीको त मान पो
गर्नु पर्छ त' (?) ले वर्गीय भेद सृजना गर्छ, धनको पूजा गर्न सिकाउँछ र
गरिब वा आर्थिक दृष्टिले अलि पछि परेकालाई हेय दृष्टिले हेर्न सिकाउँछ ।
मान त धनी र गरिबलाई बराबरी गर्नु पर्छ होइन र ? धन भएर पनि मनका गरिब र
धन नभएर पनि मनका धनी कयौँ व्यक्ति हाम्रा आँखा अगाडि भएको वस्तु तथ्यलाई
कसैले पनि बिर्सन मिल्दैन । यसै गरी दलितको छोराको न्वारान गर्न नगएका
पण्डितले बेनामलाई सुमसुम्याए तर काखमा नै लिएनन् किन ? यसको अर्थ आफ्नो
ज्यान बचाउने दलितकै रगत नसामा दौडिए पनि उनीभित्रको छिइछिटो गर्ने
संस्कार भने गइसकेको रहेनछ । उनी त लोकाचारका लागि मात्र ती मसिनेकहाँ
गएका रहेछन् । यसै गरी कक्षा पाँचको अभ्यासमा दिइएको पृ.७० को 'मसँग
बस्न तिमी सुहाउदैनौ' भन्ने वाक्य पनि विभेदपरक वाक्य हो । मांसाहारी
वाक्य पनि परेको छ ।
कक्षा चारको (पृ.४७)को चुटकिला नकारात्मक सन्देश दिने खालको छ भने
कक्षा-५को पृ.११६ मा ८ र ९मा अनावश्यक रूपमा स्पेस छोडिएको छ ।
कक्षा तिनको पुस्तकमा समुद्रको पानी पिउन नहुने कारण (पृ.१५) प्रष्टताको
अभाव पाइन्छ । 'म को हुँ' पाठभरि कुरो नखुलाएर कौतुहल कायम राख्न खोजिए
तापनि कम्तीमा अन्त्यमा अन्योल नराखेर अन्तिम वाक्य 'म पानी हुँ' भनेर
टुङ्ङ्याइएको भए राम्रो हुन्थ्यो ।(पृ.१६)
कक्षा-३को 'अनौठो परीक्षा' कथाको 'चेली जवाफ दिई(पृ.२६)मा चेलीसँग जोडिनु
पर्ने विभक्ति चिह्न 'ले' लोप भएको देखिन्छ । यस्तै कक्षा चारको पृ.२५मा
'त', पृ.४७,५७मा 'कान्दानी' तथा पृ.४९मा मात्रा लोप भएका पाइन्छन् ।
'शुभकामना' पछि उदगार चिह्न लाउँदा राम्रो हुने भए तापनि त्यसो गरिएको
छैन । (कक्षा५; पृ.१०४)
कक्षा तिनमा 'नयाँ वर्षको उपहार' कथाको 'बुढो मनमा कुरा खेलाउँदै घरतिर
लागे' भन्ने वाक्यांश(पृ.४२)मा कारक विचलन भएको पाइन्छ ।
यस वाक्यमा 'बुढो' को सट्टा 'बुढा' हुनु पर्ने हो ।
पदसङ्गति
कक्षा-४ को पृ.१०५मा वचनगत असङ्गति देखिन्छ । चेलाको अर्थ प्रसङ्गले
'शिष्य' र 'शिष्यहरू' दुवै लाग्छ । तर यहाँ 'शिष्यहरू' का लागि मात्र
प्रयोग गरिएको छ ।
कक्षा एकको बालगीत 'ताराबाजी लै लै'को
'मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोली' (पृ.१ ) मा आदरगत विचलन पाइन्छ । यसै गरी कक्षा दुईको
दाउराको भारी बोकेर बुढो सहरतिर लाग्यो(पृ.४२)मा 'बुढो'का लागि पहिले र
पछि प्रयोग गरिएको आदरमा फरक देखा परेको छ । कक्षा पाँचको 'उनको'(पृ.२१)
तथा 'अकबरको दरबारमा नौ जना विशिष्ट व्यक्तिहरू रहन्थे र उसलाई नवरत्न
भनिन्थ्यो' (पृ.४७)मा पनि आदरगत विचलन पाइन्छ । यहाँ 'उसलाई नवरत्न
भनिन्थ्यो' नभनेर 'उनीहरूलाई समग्रमा नवरत्न' भनिन्थ्यो भनेको भए राम्रो
हुन्थ्यो ।
कक्षा ५ मा केही वचनगत विचलन पनि पाइन्छ । 'देखाऊ'(पृ.३१) मा वचनगत, 'हरे
! मेरो दिन त कति चाँडै गइ सकेछन्'(पृ.३४), 'तिमीहरूलाई नमिठो चिज मन
पर्दैनन्' (पृ.८०), 'सबै नमिठो चिजहरूलाई पन्छाउन सकिन्न' (ऐ) तथा 'नमिठो
शब्दहरू प्रयोग नगर' (पृ.८१)मा वचनगत तथा कारकगत विचलन पाइन्छन् ।
कक्षा चारको चा(पृ.१२), उपयुक्त(पृ.१७), (पृ.९५) तथा कक्षा-५ का 'काम',
'च्यातिएको', 'जाने'(पृ.६९) आदिको छपाइमा मधुरोपन देखा पर्छ ।
कक्षा पाँचका 'हुनु हुन्छ' (पृ.३८) तथा 'पश्चात्तँप'(पृ.१२०) मुद्रण
त्रुटिका उदाहरण हुन् ।
२६.आध्यात्मिकतातर्फ तान्ने प्रयत्न
कक्षा तिनमा ईश्वरप्रतिको विश्वासलाई प्रश्रय दिइनु (खेतीवाल, पृ.३६),
कक्षा-५मा अमृत-अमर बन्न देवताले खाने तरल पदार्थ हो(पृ.३६) भन्नु र
भगवान्को नाम जप्न लगाउनुले विद्यार्थीहरूलाई यथार्थभन्दा भ्रमप्रति तथा
भौतिकवादभन्दा ईश्वरवादप्रति विश्वास जगाउँछ र यसैप्रति आस्थाको विकास
गराउँछ । तसर्थ यसले विद्यार्थीहरूलाई वस्तुवादीभन्दा अन्धविश्वासवादी
बनाउने सम्भावना हुन्छ ।
राम्रो पक्ष
यी पाठ्य पुस्तकहरू अत्यन्त मिहिनेत पूर्वक तयार गरिएका हुन् र पूर्व
परीक्षण गरी लागु गरिएका हुन् । त्यसैले यसका राम्रा पक्षहरू पर्याप्त
छन् र प्रशंसा गरिन लायक पनि छन् । ती मध्ये केहीलाई यहाँ प्रस्तुत
गरिँदै छ ।
कक्षा तिनको पाठ्य पुस्तकको निर्देशनमा प्रष्टता हुनु, विदेशी संस्कृति र
परम्पराको परिचय दिनु (मोची, जिजोउसामा; पृ.४०), चुटकिलाहरू समावेश
गरिनु, कोठेपद राखिनु आदि राम्रा कुराहरू हुन् । यसै गरी गाउँ खाने कथा
राखिनु, श्रुति लेखन अभ्यास गराउने आधार निर्माण गरिनु, शब्दगत
अन्ताक्षरी राखिनु तथा हास्य रचना (पूर्ण बहादुरको कथा(पृ.८४/८५ तिर)
समावेश गरिनु राम्रा कुराहरू हुन् । यस्तै कक्षा ४ को 'श्री' को प्रयोगमा
लैङ्गिक विभेदता नहुनु(पृ.८५) तथा कक्षा पाँचमा शब्दकोशको प्रयोग गराउन
खोज्नु र कविता लेख्न लगाउने अभ्यास समावेश गरिनु पनि राम्रा कुराहरू
हुन् ।
२७.सुझाव
जोडा मिलाउने प्रश्नका शीर्ष भागमा राखिने 'शब्द' र 'अर्थ' शब्दहरूलाई
बोल्ड वा अन्डरलाइन गर्ने गरे शीर्ष र अन्य शब्दहरूका भिन्नता बुझ्न
सजिलो पर्छ र विद्यार्थीहरू अलि बढी स्पष्ट हुन सक्छन् । जस्तै- शब्द र
अर्थ । यी शब्दहरूलाई अरूभन्दा भिन्दै रूपमा चिनाएपछि जोडा मिलाउन पर्ने
शब्दहरू विकल्पसाथ दिँदा राम्रो हुन्छ । जोडा मिलाउने प्रश्नमा दोस्रो
साइडमा बढी विकल्पहरू दिने गरे अन्दाजमा उत्तर मिलाउने प्रवृत्तिलाई थोरै
मात्रामा भए पनि निरुत्साह गर्न सकिन्छ र वस्तुगत जानकारीप्रति
विद्यार्थीहरूको ध्यान मोड्न सकिन्छ । यसै गरी जोडा मिलाउन दिइने
विकल्पहरू पनि सिधा सिधा मिल्ने गरी दिइनु ठिक नहोला । जस्तै:
निर्णय-निधो ।
कक्षा पाँचसम्म व्याकरण अनौपचारिक रूपमा पढाउँदा नै राम्रो हुने हुनाले
अनुकरणात्मक शब्दको परिभाषा दिइनु (पृ.५८) आवश्यक थिएन र व्याकरणका अन्य
एकाइहरूलाई पनि त्यति विघ्न औपचारिक रूपमा चिनाउनु आवश्यक छैन ।(पृ.५८)
कुनै कक्षामा चिठीमा ठेगाना पहिले र कुनैमा मिति पहिले गर्नुभन्दा एकै
किसिमको गर्नु राम्रो हुन्छ ।
अहिलेको युग वैज्ञानिक हो र आजको विश्व विज्ञानले गर्दा नै जङ्गली युगबाट
इन्टरनेट युगमा आइ पुगेको हुनाले विद्यार्थीहरूलाई सबै सन्दर्भमा
ईश्वरतिरै मात्र तान्न खोज्नु हुँदैन । ईश्वरसँग नजोडीकनै पनि हामी
नैतिकता सिकाउन सक्छौँ । हामी आफू अनैतिक भएर अरूलाई नैतिक बन्न प्रेरित
गर्न सक्तैनौँ । त्यसैले हामी अर्थात् शिक्षक, अभिभावक, नातेदार, सामाजिक
कार्यकर्ता तथा मुलुक हाँक्ने नेता सबका सब आदर्शवादी हुनु पर्छ अनि
मात्र अबको पुस्तालाई नैतिकवान् तथा आदर्शवादी बनाउन सक्छौँ । हामी आफू
सज्जन बन्न नसके मात्र हाम्रो अक्षमताको प्रमाण दिन ईश्वरको डन्डा
देखाउनु पर्छ । कतिपय सांस्कृतिक सन्दर्भमा ईश्वरका कुरा आउन सक्छन् तर
जुन सुकै कुरालाई पनि कसै गरी पनि ईश्वरसँगै जोड्न खोज्ने प्रवृत्तिलाई
बढि रहन भने दिन हुँदैन । सन्दर्भ(पृ.८४)
यो लेखाइ सर्सर्ती हेराइ मात्र हो । अध्ययनका क्रममा कतिपय पक्षहरु
हेर्न, देख्न तथा बुझ्न छुटेका हुन सक्छन् । कतिपय अति मसिना कुराहरू
लेखोट लामो नबनाउन जानी जानी छुटाइएका पनि हुन सक्छन् । यहाँ प्राय:
स्थूल देखाइ मात्र प्रस्तुत गर्न खोजिएको छ । न त यो कुनै आग्रह हो न त
यो कुनै पूर्वाग्रह हो । यो हाम्रो विद्यालय तहका शिक्षकहरूको
ध्यानाकर्षण गर्ने माध्यम मात्र हो । हाम्रा पाठ्य पुस्तक लेखकहरूले
पाठ्य पुस्तक लेख्ता विषयवस्तुको छनोट, तिनको प्रस्तुति कला, भाषिक तथा
शैलीगत छनोटतर्फ निकै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

सन्दर्भ सामग्री
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर मेरो नेपाली कक्षा १ तेस्रो
संस्करण (पुनर्मुद्रण, २०६६)
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर मेरो नेपाली कक्षा २
परिमार्जित संस्करण (पुनर्मुद्रण, २०६४)
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर मेरो नेपाली कक्षा ३
परिमार्जित संस्करण, २०६४
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर मेरो नेपाली कक्षा ४
परिमार्जित संस्करण, २०६६
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर मेरो नेपाली कक्षा ५
परिमार्जित संस्करण, २०६७(?)
• नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय
प्रज्ञा-प्रतिष्ठान कमलादी काठमाडौँ, २०५८
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर प्राथमिक शिक्षा
पाठ्यक्रम-२०६२; कक्षा १-३; २०६४
• पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर प्राथमिक शिक्षा
पाठ्यक्रम-२०६५; कक्षा ४-५; २०६५

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails