‘डाक्टर अङ्कल’ कथामा एक दृष्टि

१. परिचय
आत्माराम शर्मा पुडासैनी एक कथाकार, कवि तथा उपन्यासकार हुन् । उनी वि.सं. २०२० मा काठमाडौँको भद्रवासमा जन्मेका हुन् । उनको ‘माफ गर बहिनी चिन्न सकिनँ’ कविता सङ्ग्रह वि.सं. २०५७ मा प्रकाशन भएको थियो भने ‘धुवाँ’ कथा सङ्ग्रह २०६० मा । यसै गरी ‘सुखान्त’ उपन्यास वि.सं. २०७१ मा प्रकाशित भएको हो । ‘डाक्टर अङ्कल’ कथा सङ्ग्रह भने वि.सं.२०६७ मा प्रकाशन भएको हो ।
‘डाक्टर अङ्कल’ कथा ‘डाक्टर अङ्कल’ किशोर कथा सङ्ग्रहमा सङ्गृहीत कथा हो । यस सङ्ग्रहमा १२ वटा कथाहरू समाविष्ट छन् । यस सङ्ग्रहमा ‘पीडा’, ‘मृत डायरी’, ‘एउटाले बिराउँछ, शाखा पिराउँछ’ ‘अस्वीकृत मृत्यु’, ‘अपूर्ण’, ‘नहाँसेको मन—१’, ‘नहाँसेको मन—२’, ‘नहाँसेको मन—३’, ‘बोर्ड फस्ट’, ‘यो दुःख म संसारलाई बाँड्नेछु’ तथा ‘निर्मलको प्रतिज्ञा’समेत समाहित छन् ।

‘डाक्टर अङ्कल’ कथा सङ्ग्रहभित्रको ‘डाक्टर अङ्कल’ कथा चाहिँ कक्षा ९ को पाठ्यपुस्तक ‘नेपाली’मा पढ्न पाइन्छ । पाठ्यपुस्तकमा समावेश गरिएको कथा मूल कथाकै स्वरूपमा नभई सम्पादित रूपमा छ । पाठ्यपुस्तकमा राख्ता मूल कथामा केही अंश थपिएको छ  भने केही हटाइएको पनि छ । यस समीक्षामा भने कथा र कथाकारमाथि न्याय गर्ने दृष्टिकोणले मूल स्वरूपलाई आधार मानिएको छ ।
२. कथावस्तु
यस कथामा कमल कथावाचकका रूपमा रहेका छन् ।
यस कथाअनुसार नेपालको पश्चिमी पहाडको एउटा गाउँमा एउटा अति विपन्न परिवार थियो । त्यस परिवारका सदस्यहरू पनि गाउँका अरूसरह नै खेतीपाती गर्ने र जीविकाका नपुग कुराहरू जोहो गर्ने क्रममा सहरमा भारी बोक्न जान्थे ।  फर्किने बेलामा घरका लागि नुन, तेल, लुगाफाटोलगायत आवश्यक अन्य कुराहरूसमेत ल्याउँथे र जसोतसो गुजारा गर्थे । त्यही क्रममा भीरबाट लडेर कमलकी आमाको मृत्यु भएको थियो । त्यसपछि घरभित्रको अव्यवस्थाका कारण कमलकी दिदीले आफ्नो विवाहको जिम्मेवारी पनि आफैँले मिलाउनुपरेको थियो भने घरको जेठो छोरो पनि गाउँघर चटक्कै छाडेर परदेशतिर लागेको थियो । बाँकी रहेको थिए त्यस परिवारको कान्छो छोरो र उसका बुबा ।
एक दिन बुबाको अनुपस्थितिमा कान्छाले दस रुपियाँ चोरेको निहुँमा बुबा आएपछि नराम्ररी खप्की खानुपरेको थियो । यस कुराले ग्लानि भएर र बुबालाई सजिलो पार्ने उद्देश्यले ऊ पनि घर छाडे हिँड्यो । अञ्चल सदरमुकाम पुगेर एक जना व्यापारीको घरेलु कामदारका रूपमा काम गर्दै चार कक्षामा भर्ना भई पढ्न थाल्यो ।
एक दिन नेपाली गुरुले कक्षामा विद्यार्थीको अक्षर सपार्न “मलाई आमाले धेरै माया गर्नुहुन्छ” शीर्षकमा अनुभव लेख्न दिनुहुँदा आमाको सम्झनाले लेख्न सकेको थिएन र भक्कानिएर रोएको थियो । त्यसपछि गुरुहरूबाट अझ माया पाउँदै पढ्दै गर्दा प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको थियो ।
त्यसपछि शिक्षकहरूकै सहयोगमा विज्ञान क्याम्पस भर्ना भई पढ्न थाल्यो । काठमाडौँको बसाइ महँगो थियो । पढिछाड्ने लक्ष्य भएकाले सुरुमा ज्यामी काम गरेर र पछि विद्यालय तहका विद्यार्थीलाई ट्युसन पढाएर अध्ययन सुचारु राख्यो । त्यहाँ पनि अब्बल भएकाले सरकारी छत्रवृत्तिमा विदेश गएर डाक्टरी पढेर देशकै अस्पतालमा सेवा गर्न थाल्यो ।
कमलले कथाको अन्त्यमा आफ्ना प्यारा छोराछोरीको जिज्ञासाको जबाफ दिँदादिँदै त्यति धेरै हन्डर खाने पात्र आफैँ रहेको कुरा बताए । यति सुनिसक्ता विदुर र सुनीताले पनि आफ्ना पिताप्रति गर्वबोध गरे ।
३. मूल पाठ तथा सम्पादित पाठमा रहेको मुख्य फरकपना
विषय                                  मूल पाठ                                             पाठ्य पुस्तकमा रहेको पाठ
अचेलका केटाकेटीको बानी  ..................                                             ल्यापटप र आइप्याडमा झुत्ती खेल्ने
कथा भन्न कर गर्ने-            काम गर्ने केटो सन्ते र छोराछोरी             छोराछोरी मात्र
सम्बोधन                          बाबुनानीहो                                                   ................................
                                         गरिब किसानको गाउँ                              पहाड गाउँ
विवाह                          गरिब किसानको पुनः विवाह                      ..............................
सौतेनी आमाको व्यवहार सुरुमा मायालु, पछि भने कर्कश                      ...............................
दस रुपियाँ चोरी          सौतनी आमाको                                                   बुबाको
सजाय सौतेनी आमाद्वारा बेसरी पिटेर थाकेपछि डोरीले बाँधी लडाउने कार्य- बाबुको गाली
घर छाड्नुको कारण सौतेनी आमाको पिटाइ र हेला खप्न नसक्नु पैसा कमाएर बाबुलाई सघाउनु
विदेश जानु अघि बाबुलाई भेट्न गाउँमा गएको                      .......................................
उनन्तिसौँ अनुच्छेद            नभएको                                                         थप गरिएको
तिसौँ अनुच्छेद                   नभएको                                                         थप गरिएको

मूल कथालाई पाठ्य पुस्तकमा राख्ता विद्यालय तहका बालबालिकाको अनुकूल बनाउने प्रयत्न गरिएको छ । यस क्रममा मूल कथाबाट बाल श्रमिक सन्तेको सन्दर्भ हटाइएको छ । यो सन्दर्भ नेपालको संविधान २०७२ को प्रतिकूल हुनाले हटाइएको हुन सक्छ । यसै गरी सौतेनी आमाको प्रसङ्ग राख्ता लैङ्गिक विभेद प्रकट हुने हुनाले हटाइएको हुन सक्छ । यसै गरी पछि थपिएका दुई अनुच्छेद बुबा कमल तथा छोरा विदुर र छोरी सुनीताबिच हार्दिक सम्बन्ध वृद्धि गर्न एवम् कथाको अन्त्य हार्दिक तथा स्वाभाविक बनाउन प्रस्तुत भएका हुन् ।
४. सन्देश
यस कथाका बाल पात्रहरूले आफ्नो बुबालाई कथा भन्न कर लगाउँदा उनीहरूले अभिभावकहरूले पढ्न खोज्दा पाएका हन्डर र सास्तीसँग परिचित हुन पाएका छन् भने यस्ता अभिभावकका सन्तानले पढाइमा कति ध्यान दिनुपर्ने रहेछ भन्ने पनि थाहा पाएका छन् । यसै गरी मिहिनेत गरी पढ्ने हो भने सोचेको जस्तो वा त्यसभन्दा पनि सुखी जीवन भोग्न पाइने रहेछ भन्ने थाहा पाएका छन् ।
यस कथाले अचेल पढ्ने वा गृहकार्य गर्ने समय कटाएर ल्यापटप र आइप्याडमा झुत्तिने सम्पन्न घरका बालबालिकाको प्रवृत्तिप्रति तीक्ष्ण प्रहार गरेको छ । आधुनिक प्रविधिको प्रयोग गर्ने हो, दास हुने होइन भन्ने कुरामा जोड दिन कमललाई कथा प्रस्तोताका रूपमा प्रस्तुत गरिएको छ । यस कथाले पहाडी ग्रामीण कष्टकर जीवनको मार्मिक चित्रण गरेको छ भने आमाको मृत्युपछि हुने छोराछोरीको बिचल्लीको अवस्थाप्रति सचेत गराएको छ । आमाको असमयमा मृत्यु हुँदा परिवार नै विघटनतर्फ उन्मुख हुने वा पुनर्संरचना हुने, छोराछोरीले आफूलाई असहाय ठान्नुपर्ने, छोराछोरीले आआफ्नो व्यवस्थापन आआफैँले गर्नुपर्ने अवस्था तथा छोराछोरी कुलतमा लाग्ने वा बिग्रिने सम्भावनातर्फ सचेत गराइएको छ ।
यस कथाका अध्येता किशोरकिशोरीहरूले बाल्य तथा किशोरावस्थाका गरिबीको पीडा पछिल्लो जीवनको सुखको आधार बन्न सक्ने कुरा थाहा पाउँछन् ।

यस कथाबाट प्राप्त हुने शिक्षा

-घरका अभिभावकमध्ये कसैले कथा सुनाउने गर्दा राम्रो हुने
-पढ्न चाहनेले जसरी पनि पढिछाड्ने                                                                                                         ---सङ्घर्ष नै व्यक्तिगत उन्नतिको आधार
-बाल्य तथा किशोरावस्थाका गरिबीको पीडा पछिल्लो जीवनको सुखको आधार बन्न सक्ने
-छोराछोरीप्रतिको बाबुको माया
-कारुणिकता

५. निष्कर्ष
यो कथा कोमल, हार्दिक र मार्मिक छ । किशोर वयका विद्यार्थीहरूलाई नैतिक बाटोतर्फ डोर्याउने, अध्ययनप्रति उत्प्रेरणा जगाउने तथा राष्ट्रप्रति आकर्षित गर्ने दृष्टिले यो उत्कृष्ट कथा हो ।


 


3 comments:

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails