भय र स्नेहका पर्याय: ठुल्दाजु

आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।

म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।

Related Posts with Thumbnails