भय र स्नेहका पर्याय: ठुल्दाजु

आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।

म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।


म सात वर्षको हुँदा ठुल्दाजुले प्रवेशिका परीक्षा दिइसक्नुभएको थियो र उहाँ हालको जनज्योति माविको शिक्षक भइसक्नुभएको थियो । म भने दुई कक्षाको अर्धवार्षिक परीक्षा दिएर चन्द्रनिगाहपुर आएको थिएँ । म चन्द्रनिगाहपुर आएपछि हाम्रो नाता गुरु र शिष्यका रूपमा पनि भएको थियो । दाजु शिक्षक हुनाले म चौबिसै घन्टा जसो दाजुको निगरानीमा रहन्थेँ । दाजु आमा र बुबाभन्दा साह्रै कडा हुनुहुन्थ्यो ।

तीन कक्षाको अर्धवार्षिक हो कि वार्षिक परीक्षा दिने बेलामा मैले एउटा हिसाब बिर्सेछु । दाजु मेरो कोठामा आइपुग्नुभएको थियो । दाजुको कडापन ख्याल गर्दा गर्दै पनि मैले सो हिसाब गर्न आएन भनेर हिन्ट्स पर्खेर बसेको त के हुन्थ्यो ! गाला रनन्न हुने गरी दाजुको थप्पड आइहाल्यो । मलाई पनि रिस उठ्यो तर के गर्नु ? ‘राजाके आगे बापके दुहाई भन्थे’ तराईतिर । सोही हाइ भयो । बेसरी रोएँ । अरू बेला रुँदा अझ रुन्छस् ? भनेर हप्काउनुहुन्थ्यो । यसपालि रुन दिनुभयो । रोइसकेपछि माया लागेछ क्यारे ! धारामा गएर मुख धो, एकछिन चौर घुम् अनि आएर लेख्न थाल् भन्नुभयो । एकछिन डुलेपछि चित्त अलि शान्त भयो र परीक्षा हलमा पसेँ । तर अहँ दाजुले सिकाउनुभएन । मैले साह्रै बल गरेँ र सम्झेँ । नभन्दै आयो । ‘लातको भूत बातले नमान्ने’ रहेछ क्यारे । नभए कुटाइ खानुभन्दा अघि नआएको हिसाब कुटाइ खाएपछि कसरी आयो त ?

अँ, त्यही वर्षको अर्थात् २०२८ साल मङ्सिरमा रिजल्ट सुन्न जानु अघि दाजुले मलाई भन्नुभयो “केही गरी पुरस्कार पाउने भइस् भने लाडे नपल्टिनू ।” मलाई अलि अलि अनुमान भयो रिजल्टको । नभन्दै म प्रथम भएछु । लाज मानेर पुरस्कार थापेँ । मेरै कक्षाका अरूको र अन्य कक्षाका विद्यार्थीहरूको रिजल्ट सुन्नु थियो तर म अधीर भइसकेको थिएँ । मलाई ‘कतिखेर घर पुगूँ र आमालाई सुनाऊँ’ भइरहेको थियो । शिक्षकको भाइ, त्यसमाथि प्रथम भएको; अनुशासित हुनै प¥यो । रिजल्ट सकिन अरू आधा घन्टा लाग्यो । बडो अधीर भएर पर्खेँ ।

रिजल्ट सकिनासाथ बेतोडले हानिएँ घरतिर । स्कुलबाट घर २ किलोमिटर पर थियो । जति कुद्छु घर आउँदैन । कहिले कुद्दै, कहिले फटाफट हिँड्दै गरेर बल्ल बल्ल घर पुगेँ । आमालाई आफ्नो खुसी सुनाएँ । आमालाई दाजुले भनिसक्नुभएको थियो होला तर भर्खरै थाहा पाएको जस्तो गरी आमा पनि खुसी हुनुभयो । आफ्नो सन्तानको अनुहारमा चमक देखेर कुन आमा खुसी हुँदैनन् होला ? अझ म कान्छो छोरो, पहिलोपल्ट प्रथम भएको । दाजुले जे नगर्नु भन्नुभएको थियो, त्यही मबाट भएको थियो । पुरस्कार ग्रहण गर्न जाँदा मेरो खुसीको अधीरता मेरो अनुहार र हिँडाइबाट झल्केको रहेछ, म अलिकति लाडिएको जस्तो भएको रहेछु, दाजुले गाली गर्नुभयो ।

ंचार कक्षामा पढ्दा हुनुपर्छ । वार्षिक परीक्षामा “माटो कति प्रकारका हुन्छन् ? माटो के के काममा प्रयोग हुन्छ ? छोटकरीमा उत्तर लेख” भन्ने प्रश्न आएको थियो । मलाई उत्तर त आउँथ्यो तर छोटकरीमा लेख्ने भनेको के हो, द्विविधा भयो । मैले डराई डराई लेखेँ “मा.ति.प्र.हु. । से.मा., का.मा., प.मा. । मा.घ.लि., बा बि. का ला., चु.ब., मा.भाँ.ब. आ.का.प्र.ग. ।” यस्तै अरू केही लेखेँ । घरमा गएपछि झन्डै कुटाइ खाएको । तँलाई गधा, छोटकरीमा भनेको त्यस्तै हो ? पाठमा भए जति पो नलेख्ने त । जति लेखे पनि शब्द नबुझ्ने गरी लेखेपछि कसरी कापी जाँचिन्छ ? कसरी नम्बर हालिन्छ ? यसपछि भने मैले कहिल्यै नबिर्सने गरी छोटकरीमा लेख्ने तरिका थाहा पाएँ ।

पाँचमा पढ्दा साथीहरूलाई कताको हावा लागेछ । नाम फेर्ने सनक चढ्यो । कक्षाका सबैले पाँचबाट छमा जाँदा नाम फेरेर सर्टिफिकेट निकाल्ने कुरो भयो । साथीहरूका आमाबुबाले राखिदिनुभएका नामहरू सुबोल, पुरुषोत्तम, दिनेश, रमेश, निर्मला, उमा, लक्ष्मी यस्तै यस्तै थिए । हामी सबै मिलेर सरहरूसँग कुरो गर्यौँ । सरहरूले के सुन्नुहुन्थ्यो हाम्रो कुरो । हामी पुरानै नाम बोकेर कक्षा छदेखि अर्कै स्कुलमा गयौँ ।

कक्षा छमा पुगेपछि म अलि फुक्का भएँ । दाजुको ममाथिको निगरानीको समय घटेको थियो । बिहानको कक्षामा ठुल्दाजु नउठ्तै म र सान्दाजु पाँच किलोमिटर परको सुबलाल हाई स्कुलतिर लागिसक्थ्यौँ । फर्केर आउँदा कम्तीमा एक बज्थ्यो । दाजुहरूसँग खाना खाने बेलामा मात्र भेट हुन्थ्यो । ठुल्दाजुको निगरानीबाट स्वतन्त्र रहेको फाइदा उठाउन खोज्दा ज्यान जोखिममा परेका घटनाहरू पनि छन् । अहिले एउटा मात्रै घटना भनूँ है !

बिहानी कक्षा चलेको बेला थियो । त्यतिखेर साढे एघार बजे स्कुल छुट्टी हुन्थ्यो जस्तो लाग्छ । स्कुल सकेर घरतिर ˚फर्कँदै गर्दा पूर्वटोलतिरका ध्रुव आचार्य, राजन चालिसेलगायतका साथीहरूले ‘जमुना खान जाऔँ’ भने । अलि टाढा घर भएका हामी दाजुभाइ अर्थात् सान्दाजु र म मात्र थियौँ । सान्दाजुले उनीहरूको प्रस्ताव स्विकार्नुभयो । दाजुभाइ पनि लाग्यौँ चाँदीपुलभन्दा दक्षिणपूर्वको जङ्गलमा । ती साथीहरू र हामी गरी पाँच सात जना थियौँ । रुख चढ्न सक्ने साथीहरू रुखमा चढे र हाँगाहरू काट्तै झार्न लागे । म जमुना टिप्तै थिएँ, माथिबाट ठुलै हाँगो ममाथि बज्रियो । मेरो काँधमा हाँगाको ˚ेद भागले लागेको थियो । सर्ट लगाइराखेको हुनाले दर्खरियो मात्र, कुमको हड्डी भाँचिन पाएन । त्यो घटना सान्दाजु र मलाई मात्र थाहा हुनाले गोप्य नै राख्यौँ । आमालाई भन्दा पनि दाजुले थाहा पाउने सम्भावना थियो । ठुल्दाजुले त्यतिखेर थाहा पाउनुभएको भए सान्दाजु र मेरो रामधुलाइ हुन्थ्यो । सान्दाजु कुरा लुकाउनुहुन्थ्यो तर झुटो बोल्नुहुन्नथ्यो । त्यही भएर सान्दाजुले पनि यो घटना आमा र दाजुलाई जीवनभर नै भन्नुभएन होला जस्तो लाग्छ ।

कतिपय कुरामा दाजुको कडापन राम्रै लाग्थ्यो । कहिलेकाहीँ कुरो नबुझिदिँदा कस्तो कस्तो पनि लाग्थ्यो । खेतीपातीको समयमा खेताला अह्राउन पठाउनुहुन्थ्यो । छिटै काम सकेर ˚र्किँदा पत्याउनुहुन्थेन र हप्कीदप्की लाउनुहुन्थ्यो । “छिटै भेटिएकाले म चाँडै ˚फर्केको हुृँ” भन्दा पनि लम्कीझम्की गर्नुहुन्थ्यो । दोहोर्याएर गएको देखाउनु पर्दा चाहिँ नक्कली काम गरिन्थ्यो । त्यो चाहिँ पत्याउनुहुन्थ्यो बरु ।

दाजुका नकारात्मक अनुभव मात्र छैनन् मसँग । उहाँका सकारात्मकतासमेत छन् । म आठ वर्षको हुँदासमेत आमा र ठुल्दाजुले बाल्टिन र बाटामा भरि पानी राखेर आँगनमा नाङ्गो पारेर नुहाइदिनुभएको म सम्झिन्छु । सातै वर्षको उमेरमा भागेर एउटा विवाहमा पुगेको बेला र ‘भेट्नासाथ धूलो पार्छु’ भनेर मलाई खोज्दै वाग्मती पुग्दा मायाले द्रवीभूत भएर बिस्कुट किनिदिएर मायासाथ घर ल्याउनुभएको कुरा पनि मेरा स्मृतिपटमा ताजै छन् । एस.एल.सी. परीक्षामा समय हेरी हेरी प्रश्नोत्तर लेख्ता प्रश्न नछुटोस् भनेर माइल्दाजुको घडी लगाउन दिनुभएको पनि म सम्झन्छु ।

हामी दुई भाइ मात्र बसमा कतै गइराखेका र्छौ र एउटा मात्र सिट खाली देखियो भने दाजुले मलाई बसाएरै छाड्नुहुन्थ्यो । आफू चाहिँ बसको डन्डी समातेर उभिरहनुहुन्थ्यो । म छोराछोरीका बुबा भइसक्ता पनि दाजुको व्यवहार उही थियो । यस्तो व्यवहार मप्रति मात्र होइन, वृद्ध वृद्धा र महिलाहरूप्रति पनि थियो । वृद्ध वृद्धाप्रतिको व्यवहार स्वाभाविक लाग्थ्यो तर महिलाहरूलाई सिट छाडेकामा भने मेरो असहमति थियो । दाजु ६० वर्षको भइसक्ता पनि दाजुले २५÷३० वर्षका महिलाहरूलाई सिट छाडिदिने गर्नुहुन्थ्यो । “यो चाहिँ तपाईँको अतिमानवतावाद हो । यो सम्भव छैन । तपाईँलाई आजसम्म कति जना महिलाले सिट छाडेर बसाए ?” भन्थेँ म । दाजु निरुत्तर हुनुहुन्थ्यो । महिलाहरू समानताका ठुला ठुला कुरा गर्छन् तर जति मात्रामा पुरुषले महिलालाई सिट छाड्छन्, त्यतिकै मात्रामा आपूmले पनि छाड्न सक्नुपर्छ भन्ठान्दैनन् । आपूmले अरूबाट समानताको हक प्राप्त गर्न आफूले पनि त्यस्तै व्यवहार गर्न सक्नुपर्छ, जान्नुपर्छ भन्ने कुरा नेपाली महिलाहरूले कहिले अनुभव गर्लान् ?

अँ, म २०६० सालमा माध्यमिक शिक्षक पदमा स्थायी भएँ । स्थायीको पत्र शङ्कर गुदर उच्च मावि समनपुर, रौतहटको नाममा बनेको थियो । चिठी मेरो हातमा परेपछि ठुल्दाजुले मसँग ठुल्दाजु वा माइल्दाजु जानुपर्छ भन्नुभयो । म भर्खर स्थायी भएको थिएँ । चालिस कटेर स्थायी हुन पाए पनि नयाँ उमङ्ग थियो । मैले भनेँ “साथी हिँड्नुहुन्छ भने राम्रै हो तर जानुपर्छ भन्ने मलाई लाग्दैन ।” दाजुले मेरो सोझो भनाइको प्रतिवाद गर्दै भन्नुभयो “तँलाई के थाहा छ ? स्कुलहरूले जे पनि गर्न सक्छन् । स्थायी भए पनि नभए पनि हाजिर नगराउन पनि सक्छन् । हामीमध्ये कोही गयौँ भने उनीहरूलाई दबाब पर्छ ।” दाजुहरू बिच कुरा भएपछि ठुल्दाजु नै मसँग जाने हुनुभयो । दुवै भाइ गयौँ । नभन्दै त्यस्तै भयो । म मात्रै गएका भए लरक्कै फर्काउने रहेछन् । दाजु साथमा हुँदा त हम्मे प¥यो ।

यसरी दाजुसँग जोडिएका थुप्रै प्रसङ्गहरू छन् । दाजुले हात समाएर डो¥र्याएका, बलियो हात दिएका र गतिलो छहारी दिएका सन्दर्भहरू छन् । तीमध्ये अहिले केही मात्र यहाँ उल्लेख गर्न सकेँ । अस्तु !

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails