आदरणीय गुरु शिवचन्द्र


 

मैले प्राथमिक तहमा हुँदै अङ्ग्रेजी ग्रामरका पुस्तकहरू पढिसकेको थिएँ र केही ट्रान्सलेसनका पुस्तकहरूमा अभ्यास गरिसकेको थिएँ । छैठौँ कक्षामा पुग्दा चूडामणि ग्रामरपनि एकसरो अध्ययन गरिसकेको थिएँ तैपनि म अङ्ग्रेजीमा कमजोर नै थिएँ । कक्षा सातमा पढ्दा मैले पढेको सुबलाल हाई स्कुल सन्तपुरमा आउनुभएका रामदेव सरको अङ्ग्रेजी खुब मन पर्थ्यो । उहाँको बुझाउने कला अद्भूत थियो तर हाम्रो विद्यालयमा उहाँ एक वर्ष पनि बस्नुभयो कि बस्नुभएन !

नढाँटी भन्दा कक्षा आठदेखि दससम्मको अङ्ग्रेजी, गणित र विज्ञान मैले त्यस्तरी बुझिनँ । यसो हुनाका केही कारणहरू थिए जस्तो लाग्छ मलाई । पहिलो; ती विषयहरूप्रति मेरो आकर्षण कम हुनु, दोस्रो ती शिक्षकहरूले म जस्ता विद्यार्थीलाई समेटेर पढाउने कुरामा हेक्का नराख्नु, तेस्रो कक्षाका जान्ने विद्यार्थीहरूले छिटै बुझे जस्तो गर्नु ।

म कक्षा ८ मा पुग्दा अर्थात् २०३२ सालमा मेरो जिल्ला रौतहटमा नयाँ शिक्षा योजना लागू भयो । त्यसै क्रममा विद्यालयमा केही नयाँ शिक्षकहरू आउनुभएको थियो शिवचन्द्र साह, सुन्दरदेव झाहरू । 

मझौला कद, रातो वर्ण, अनुहारमा सामान्य दाग जस्तो तर हँसिलो अनुहार । उमेर गधापच्चिसी ननाघेको व्यक्ति अर्थात् शिवचन्द्र साह ।

म प्राथमिक तहमा हुँदा उत्कृष्ट विद्यार्थी; नयाँ विद्यालय र नयाँ कक्षामा पुगेपछि ओरालो झर्दै थिएँ । 

शिवचन्द्र साह मेरो माहिलो दाजु उत्तममोहनको समकालीन । दाजुले साथी पनि भन्नुभएको थियो । उहाँले पढाउनुभएको पनि म त्यति सम्झन्नँ । 

मेरो बाह्य व्यक्तित्वका बारेमा म बाल्यकालदेखि नै निस्फिक्री थिएँ । कहिले कपाल कोरेर जान्थेँ, कहिले कोरेको पनि बिग्रन्थ्यो होला वा कहिले कोर्दैनथेँ पनि हुँला । एक्लै भेट्ता शिवचन्द्र सरले सम्झाउनुहुन्थ्यो कपाल कोर्ने गर, काइँयो बोक्ने गर ।

दाजुको साथी हुनाको नाताले भन्नुहुन्थ्यो वा त्यत्तिकै थाहा हुन्थेन । 

अँ, मेरो माहिलो दाजुको विवाह हुँदा म कक्षा नौमा पढ्थेँ । दाजुको विवाह मङ्सिर १४ गते भएको थियो । त्यस ताका मङ्सिरमै वार्षिक परीक्षा हुन्थ्यो । मैले बिहे सारिदिन आग्रह गरेँ आफू जान पाइने मनसायले । तर के हुन्थ्यो ! लगन भनेको लगन नै हो । तोकेकै समयमा विवाह भयो; म जान पाइनँ । 

विवाहमा जान नपाएको रन्को एकातिर थियो भने जाँचको तयारी गर्नुपर्ने जिम्मेवारी अर्कोतिर । पहिलो कुरो आनन्द र मनोरञ्जनको थियो भने दोस्रो आफैँ कक्षा उक्लने कुरा । बिहे घरमा केको पढाइ ! पाहुनापासा ग्याइँग्याइँ छन्, रत्यौली पनि खेल्ने भइहाले । अरूकहाँ रत्यौली हुँदा त कतै न कतै छेको लागेर हेर्ने मान्छे; आफ्नै घरमा झन् मन के मान्थ्यो  तर समस्या पनि थियो । बाहिर बरन्डामा निस्केर हेर्न मिल्दैनथ्यो । फलेकको घर हुनाले कुनै चेपोबाट हेर्न मिल्ने जति हेरेर चित्त बुझाएँ । 

भोलिपल्ट जाँच दिन बस्छु त दिमागै खुल्दैन । अचम्ममा परेँ । ल, जाँचको बेलामा राम्ररी पढ्न पाइएन वा पढिएन; पहिले अर्थात् वर्षभरि पढेको कहाँ गयो त ? सबै लेखिरहेका छन्, म चाहिँ कलम समातेर बसिरहेको छु । शिवचन्द्र सर नै गार्ड हुनुहुन्थ्यो वा कतैबाट आइपुग्नुभयो । सोध्नुभयो किन नलेखेको ?” मैले भनेँ सर ! प्रश्नको उत्तरै आएन ।यसपछि मप्रति माया जागेछ क्यारे ! सरले हिन्ट्स दिनुभयो एउटा प्रश्नको सन्दर्भमा । त्यसपछि बल्ल मेरो दिमाग खुल्यो र भटाभट उत्तरहरू पनि लेखेँ । 

पछि एसएलसी पनि आयो । त्यसपछिका धेरै वर्षसम्म भेट भएन सरसँग । कहिले भेट भई पनि हाल्थ्यो । पछि राम्ररी भेट भयो २०६० सालमा अर्थात् विद्यालयीय पढाइ सकिएको २५ वर्षपछि गौरमा । 

२०५२ सालमा लिइएको शिक्षक सेवा आयोगको माध्यमिक तहको खुला प्रतियोगिताको परीक्षाफल २०६० सालमा आएपछि विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई पनि जिज्ञासा थियो को पर्ने हो, कस्तो शिक्षक फेला पर्ने हो ? यता शिक्षकहरूमा पनि उत्कण्ठा थियो कहाँ पर्ने हो ? कस्तो प्रधानाध्यापक पर्ने हो

यसै बिचमा पत्र पनि हात पर्यो । पत्र बुझ्नासाथ गौरमै हेड सर शिवचन्द्र साह पनि भेटिनुभयो । उहाँलाई भनेँ समनपुर पर्यो ।उहाँले भन्नुभयो समनपुरलाई नेपाली शिक्षकको खाँचो छैन, त्यहाँ पहिलेदेखि नेपाली विषयको शिक्षक हुनुहुन्छ ।मलाई रनन्न भयो । मलाई पनि समनपुरको खाँचो थिएन । मैले त उत्तरी भेग मागेको थिएँ । उहाँले भन्नुभयो जे भए पनि आउनुस् ।मैले पनि आउँछुभनिदिएँ । 

नेपालका राजनीतिक दलहरूलाई बेला न कुबेला बजिनयलाभने जस्तो छ । हामीले बल्ल आठ वर्षपछि स्थायी शिक्षकको नियुक्ति पाएका छौँ । उनीहरूलाई चाहिँ यही बेला नेपाल बन्द गर्नुपरेको छ । 

पत्र बुझेको एक दुई दिनपछि विद्यालय पुगियो र तीन वर्ष रौतहट जिल्लाको पुरानो माध्यमिक विद्यालय शङ्कर गुदर उमाविमा अध्यापन गरियो ।

मैले यहाँ आइसकेपछि शिवचन्द्र सरलाई खास रूपमा चिन्न पाएँ । 

मैले बाइक चलाउन जानेको थिइनँ । त्यसैले साइकलबाट ग्रेभेलको बाटो दैनिक रूपमा आउजाउ गरी ४० किलोमिटरको यात्रा गर्थेँ । चालिस वर्षको उमेरमा यो कुरो त्यति सहज थिएन । यो कुरा मलाई थाहा भएर पनि म निरुपाय थिएँ । यो कुरा शिवचन्द्र सरलाई बिझेछ । एक दिन उहाँले भन्नुभयो सेकेन्ड ह्यान्ड भए पनि एउटा बाइक किन्नुस् ।” “मैले सहज छैनभन्ने जबाफ दिएँ । उहाँले भन्नुभयो बाइक किन्नुहुन्छ भने दुई महिनाको पेस्की प्राप्त हुन्छ ।मैले हुन्छभनेँ । उहाँले भोलिपल्ट स्टाफहरूबिचमा घोषणा गर्नुभयो बाइक किन्न चाहने शिक्षकलाई बाइक खरिदका लागि दुई महिनाको रकम पेस्कीका रूपमा दिइनेछ ।” 

चन्द्रपुरका शिक्षक गगनदेव यादव सरको बाइक चलाएर सिकेपछि बाइक किनेँ । बाटामा एक दिन बाइक पङ्क्चर भयो, टाल्न समय लाग्यो । विद्यालय पुग्दा १०ः३० बजेको थियो । हाजिर गर्न जाँदा रातो लागिसकेको थियो; टाउको रनन्न भयो । हेड सरलाई भनेँ मैले जानी जानी ढिला गरेको होइन, रातो लागिसकेछ !रातो लगाउने सहायक प्रधानाध्यापक हरिशङ्करलाल कर्ण हुनुहुन्थ्यो । हेड सरले भन्नुभयो धेरै वर्ष लगाएर यो नियम लागू गरिएको छ । आज तपाईँको हाजिर हुँदैन तर तपाईँ रिसको झोँकमा नहिँड्नुहोला । चार बजेपछि मात्र जानुहोला । यो अरूका लागि पनि राम्रो उदाहरण हुन सक्छ ।उहाँले भन्नुभए जस्तै गरेँ पनि । मेरा गुरुको वचन पालना गर्नु मेरो कर्तव्य थियो ।

एक दिन शिवचन्द्र सरको मनमा के आएछ कुन्नि ? सोध्नुभयो अधिकारीजी ! साहित्यप्रति तपाईँको रुचि छ ?” मलाई लाग्छ, उहाँले थाहा नपाएकाले सोध्नुभएको थिएन । मेरा रचनाहरू २०३९ सालदेखि नै छापिन्थे । म साहित्यमा सूर्योदय पुस्तकालयमार्फत त्यही समयदेखि र पछि अन्य संस्थाहरूमार्फत र व्यक्तिगत रूपमै निरन्तर लागिरहेको थिएँ । सूर्योदयका ६ अङ्क, ‘जूनकिरीका ४ अङ्क र झरनाका नौ अङ्क सम्पादन गरिसकेको थिएँ । मेरो मन बुझ्न खोज्नुभएको होला भन्ठानेँ र पनि भनिदिएँ । 

त्यसको भोलिपल्ट होला, उहाँले एउटा सानो साहित्यिक पत्रिका निकाल्नुस् । पैसाको फिक्री नगर्नुहोला । तपाईँको काम रचनाहरू सङ्कलन गरेर प्रेसमा पठाउने र प्रुफ हेर्ने होभन्नुभयो । शिक्षणका अतिरिक्त कम्तीमा एउटा काम गर्नै पर्छ भन्ठान्ने मलाई के चाहियो र !

पत्रिकाको नामबारे सोच्ता अरू कुनैसँग नजुधोस्, स्थानसँग जोड्न पाए हुन्थ्यो र अलिकति कोमल पनि हुन पाए हुन्थ्यो भन्ने लाग्यो । मलाई समनपुष्पनाम उचित लाग्यो र हेड सरले स्वीकृति प्रदान गर्नुभयो । फेरि लाग्यो; यी सबै विद्यार्थी नेपालीमा लेख्न जान्दैनन्; नाममा स्थानीयता भएपछि भाषामा पनि स्थानीयता हुनुपर्छ । यसरी गर्दा पत्रिकामा द्विभाषिकता हुने भयो । साहित्यिक रुचि राख्नुहुने तथा त्यसै विद्यालयका पुराना शिक्षक रामसुन्दर श्रेष्ठलाइ बज्जिका भाषासम्पादकका रूपमा काम गरिदिन आग्रह गरेँ । पछि अझ अर्को सोचाइ आयो; ‘बज्जिकाभाषी क्षेत्र हो, यहाँको लोकसाहित्यका साथै लोकसंस्कृतिलाई पनि समावेश गर्दै जानुपर्छ । प्रत्येक चौथो अङ्कलाई बज्जिकाविशेष बनाउँछु ।यसो गर्न सञ्जय साह मित्रसँग पनि सल्लाह गरेँ ।  

यसरी समनपुष्पनिस्कन लाग्यो । हेड सरले फेरि एक दिन भन्नुभयो स्मारिका निकालौँ ।मैले हुन्छभनिदिएँ । यसो सोचेँ, आखिर समनपुष्पनिस्किराखेकै छ । छुट्टै स्मारिका किन भन्ने ? यसैको विशेष अङ्क भनिदिए भइहाल्यो नि ! हेड सरसँग सल्लाह गरेँ । त्यो पनि हुन्छभन्नुभयो । 

विद्यालयको इतिहासका बारेमा विवाद थियो । विशेषाङ्कद्वारा त्यस विवादको अन्त्य गर्नु थियो । म एक्लैले त्यस विवादको अन्त्य गर्नु सम्भव थिएन । यसका लागि त्यहीँका अनुभवी शिक्षकहरूलाई अनुरोध गरेँ र त्यससम्बन्धी सत्यताको परीक्षण गर्न सहायक प्रधानाध्यापक हरिशङ्करलाल कर्ण र अर्का अनुभवी र स्थानीय शिक्षक महेन्द्र पण्डित सरलाई अनुरोध गरेँ । अन्त्यमा हेड सरबाट पनि अनुमोदन गराएँ । 

यसरी विशेषाङ्क निकाल्न पाउँदा, विद्यालयको इतिहास निर्क्योल  गर्न पाउँदा र समनपुरलाई माया गर्नुहुने धेरै जनालाई समेट्न पाउँदा खुसी पनि लाग्यो । 

तत्कालीन परिवेशले मलाई त्यहाँबाट सरुवा हुन प्रेरित गरेर म पुनः मकवानपुर आए तापनि शिवचन्द्र सरसँग निरन्तर सम्पर्कमै छु । उहाँको हार्दिक सान्निध्यमै छु । मलाई लागिरहेको छ; “मेरो शिवचन्द्र सर मसँगै यतै कतै हुनुहुन्छ ।”   

 

 

 

 

 


No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails