गुम्बाडाँडा र आवाजहरू
आवाजहरू आइरहेछन्
मेरा अगाडिबाट
मेरा पछाडिबाट
मेरा छेउहरूबाट
धुलो खाइरहेछु म
प्रस्तरको
मेरो नाकमा धुलो पसेको छ
र पनि
निमग्न छु यी आवाजहरूमा
तल्लीन छु यी आवाजहरूमा
चौबासे र चेतना
चौबासेहरू
जौ खेतीमै मग्न भए
कालो अक्षर र भैँसीको मोल
एउटै तोकेर
निरक्षर नै रहे
गोरेटा बाटा
ध्वाइँला चुला र
ध्वाँसे बत्तीमै मस्त रहे
तर समयले
अलिकता भने पनि
पाठ पढाउन भ्याएको छ
चौबासेहरूलाई
र त
अब उनीहरू
साना नानीहरू
किशोर किशोरीहरू
तन्नेरी–तरुनीहरू
बुढा बुढीहरू
सबैलाई अक्षर चिनाउन खोज्दै छन्
अक्षरको महत्त्व बुझ्दै
बुझाउँदै छन्
र
पारिजात
प्रकृतिको एक सुन्दर उपहार
ऊ आफैँ प्रकृतिको अंश
पारखीका आँगनमा
वा
चुरे डाँडामा
हरियै भेटिन्छ यो
फुल्छ अरूका लागि
सुन्दर फूल भएर
प्रस्तुत हुन्छ अरूका लागि
मिठो वासना भएर
पुजिन्छ देवतालाई
पवित्र ठानिएर
फुल्दै जान्छ प्रत्येक दिन ढल्कँदा
ओइलिएर झर्छ प्रत्येक रात छिप्पिँदा
काम लाग्दा छन् यसका प्रत्येक अङ्ग
गजल
अर्कालाई होच्याउनेले हेर्नुपर्छ आफ्नै कद
जसलाई जे मन लाग्छ त्यही गरे भयो
सीमा नाघेरै बढ्न लाग्यो मानिसमा मद
आफू ठिक अरू बेठिक मान्ने कस्तो चलन
आफू बसे मात्र ठिक हुने भयो कुनै पद
थुक
तिहार : एउटा उन्माद
भ्यागुताहरू
सहरिया भ्यागुताहरू
सहरमा बस्छन्
सहरमा रम्छन्
ती गाउँ पस्नै चाहन्नन्
त्यसैले ती
गाउँमा पनि देख्छन्
सहरिया सुख–सुविधाहरू
अर्थात्
रिक्सा, बस, ट्याक्सी
फोन, फ्याक्स र इन्टरनेट
अनि सजगता र सचेतता
गाउँका भ्यागुताहरू
गाउँमा बस्छन्
गाउँमै रम्छन्
ती सहर जान्नन्
ती सहर जान चाहन्नन्
र
सहरमा पनि बाँचेको ठान्छन्
गाउँले मौलिकता
अर्थात्
निष्पक्षता, निस्वार्थता
श्रमनिष्ठा, स्वावलम्बीपन र नैतिकता
अनि स्वाभिमानीपन र स्वच्छता
गोहीको साथी
हेर्दा मान्छेजस्तो लाग्थ्यो
मान्छेकै जस्ता दुई ओटा गोडा
मान्छेकै जस्तो आकृति
मान्छेकै जस्तो उभ्याइ, हिँडाइ र बोलाइ थिए उसका
लाग्थ्यो, त्यो मान्छे हो
निक्खुर मान्छे
एक दिन ऊ हाँस्तै
म नेर आउँदै थियो
म पनि मान्छे न हुँ
फिस्स हाँसि दिएँ
उसले मलाई च्याप्प समात्यो
ग्वाम्लाङ्ङ अँगालो मार्यो
र
मलाई चाट्न थाल्यो
म मक्खिएँ चाटिन पाएकामा
धेरै माया गरेको ठानेँ
उसले चाट्दै गयो,
म चाटिँदै गएँ
उसले धेरै चाटेपछि
म आत्तिएँ
मेरा गाला, हात, पाखुरा र गोडाका
मासुहरु त
दर्फरिइसकेका रहेछन्
जता छाम्दा पनि दुख्तो रहेछ
जता छाम्दा पनि पीडा नै हुँदो रहेछ
उसले चाट्ता चाट्तै
क्रूरताका डामहरु छोडि सकेको रहेछ
पीडाका स्मारकहरु खडा गरि सकेको रहेछ
झलक्क हेर्दा दयालु जस्तो
पुलुक्क चियाउँदा मायालु जस्तो
त्यो त
बोली मिठो
र
जिब्रो खस्रो भएको
गैँडा पो रहेछ
गोहीको साथी!
(Picture Source : Click Here)
लामखुट्टेहरू
लामखुट्टेहरू रगत चुसिरहेछन्
निर्दोष मानिसहरूका
परजीवी हुनुको लक्षण
वर्षौँदेखी देखाउँदै आएका छन्
बिगो गर्नेले अमल तिर्नैपर्छ
सजायमा उनीहरू अर्मल पनि तिरिरहेछन्
प्राणदण्ड स्वकारेर
रगत चुसिरहेका लामखुट्टेहरू देखेर
शोषणका उग्र विरोधिहरू
तिनलाई
ठामका ठामै ठहरै पार्दैछन्
रगत चुसुवामा सुचिकृत गरेर
जतिखेर लामखुट्टेले रगत चुस्तै हुन्छन्
त्यतिखेर देखिने लामखुट्टेहरू
सूचीकृत हुदैँछन्, परमधाम जाँदैछन्
सूचीवालहरूद्वारा
तर नदेखिने लामखुट्टेहरू
थाहै नपाई चुस्स टोक्ने लामखुट्टेहरू
बाँचिरहेछन्
बचेको बच्यै छन्
भिजिटरहरूको अर्कै खेती छ
तिनीहरू सयौँ वर्ष पुरानो
डी.डी.टी. छर्कने सल्लाह दिदैँछन्
तर
मान्छेहरू डी.डी.टी. छर्कदैँछन्
लामखुट्टेहरू बढ्दैछन्
प्रतिरोधात्मक शक्ति बढ्दैछ
लामखुट्टेहरूमा
जय खरपस !
यता हेर्छु खरपस देख्छु
उता हेर्छु खरपस देख्छु
खरपसबाट घेरिएकैले
म भोकाएको रहेछु
नाङ्गिइ सकेको रहेछु
ओत गुमाइ सकेको रहेछु
अब मलाई खरपसबाट मुक्ति
आवश्यक छैन
किनभने
अब मेरा हातहरु खरपस नै खोज्छन्
अब मेरा गोडाहरु खरपस नै खोज्छन्
अब मेरा आखाँहरु खरपस नै खोज्छन्
त्यसैले अब म पनि
निर्धक्क भन्छु
जय खरपस !
(Picture source:-Click Here)
ऊ र यात्रा
रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ
र
यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा
प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई
यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्
र
नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !
एक त्यान्द्रो गुन्द्रुक
एक त्यान्द्रो गुन्द्रुक
गिजामा अड्किरहन्छ
दाँतलाई दु:ख दिइरहन्छ
जिब्रोलाई सक्रिय मात्र पारिरहन्छ
र
मेरो मस्तिष्कलाई
उतै केन्द्रित पारिदिन्छ
कस्तो रहेछ
न त्यसै त्यसै बिलाउने
न हतपत बाहिर नै आउने
कस्तो अधबेस्रो यो
उकुच पल्टेको घाउजस्तो
भिरमा फलेको फर्सीजस्तो
न यसो गर्दा हुन्छ
न उसो गर्दा हुन्छ
यसले मलाई खालि दु:ख दिन्छ
न यो रहनुको प्रयोजन छ
न यो आफैँ मेरो मर्का बुझ्न प्रयत्नरत छ
स्वार्थ पूरा गर्न मात्र तयार देखिन्छ यो
पीडा दिन मात्र तयार भेटिन्छ यो
कस्तो यो कस्तो कस्तो
न यसोको न उसोको
एक त्यान्द्रो गुन्द्रुक !
कालीखोला
कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई
कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला
चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला
कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला
कालीखोला अब उठ्नेछ
र
उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!
(Source of Photo:- Click Here )
कागजको घोडा
त्यो त कागजको घोडा हो
जो एक झोक्का हावाले
ढल्न सक्छ
एक घुस्सा मात्रले पनि
कच्याककुचुक हुन सक्छ
कागजको घोडाको
के पाइन हुन्छ र ?
केही छिटा पानीले
गल्न सक्छ
पानीको एउटा सानै लहरले पनि
बग्न सक्छ
कागजको घोडा
आखिर कागतकै हो
चाहे त्यो गत्ताको होस्
चाहे नेपाली कागतको
वा
साधारण रोलदार,
फुलिस्केपको
त्यो एक काँटी सलाईको
खेल त हो
त्यसैले
त्यति कमजोर घोडाले होस्
वा
त्यसमाथि काठी कस्नेले होस्
फुर्ती लाइरहनु आवश्यक छैन
किनभने
घोडा जस्तो देखिए पनि
आखिर कागतकै हो !
(२०६२-६३को आन्दोलनका क्रममा सशस्त्र सेनाको घेराबन्दीबीच २०६३ वैशाख ५ गते चन्द्रनिगाहपुरको दुर्गाचोकमा सुनाइएको कविता )
(Source of photo : Click here)
अप्ठ्यारो प्राप्ति
एउटा स्पष्ट चित्र छ
सुदूरमा
जो धेरैलाई मन पर्छ
र
थोरैलाई मन पर्दैन
टाढाको, साह्रै टाढाको त्यो चित्र
कल्पनाको मात्र भए पनि
सपनाको मात्र भए पनि
दन्त्यकथाको
अप्ठ्यारो प्राप्तिझैँ भए पनि
त्यो प्यारो छ, सबैको प्यारो
त्यो चित्र
छुन र भोग्न
बडो अप्ठ्यारो छ
किनभने
त्यहाँसम्म पुग्ने बाटाहरू
स्पष्ट छैनन्
सजिला छैनन्
त्यसैले
चित्र छुन र भोग्न चाहनेहरू
चित्रसम्म पुग्ने बाटो खोज्दै छन्
र
त्यहाँसम्म पुग्न सक्ने
समर्थ पथप्रदर्शक खोज्दै छन्
बाटाहरू अस्पष्ट छन्
धूमिल छन्
र पनि
चित्रसम्म पुग्न डोर्याउने
साहसी खोज्दै छन्
धेरै मान्छेहरू
(फोटो स्रोत :- यहाँ क्लिक गर्नुहोस् )
युना
दिनहरू गन्छे ऊ
एक, दुई, तीन
र फेरि
एक, दुई, तीन
हिसाबमा दोहोरिन्छन् उही दिनहरू
र
गणना हुन्छन् त्यसै गरी
आगतका दिनहरू
रोपाइँका दिनहरू आउँछन्
ऊ मेला जान्छे
ऊ पर्म जान्छे
पर्महरू सध्दै जान्छन्
मेलाका ज्यालाहरू बढ्दै हुन्छन्
क्रमशः क्रमशः
र
सपना देख्न थाल्छे
'फेबल्स अफ एसप'की केटीझैँ
वा
दन्त्यकथाको 'सोम शर्मा'को बाबुझैँ
किन नदेखोस् ऊ सपना त्यस्तो
सपनाले नै
कल्पनाले नै
मान्छेलाई जिजीविषातर्फ आकृष्ट गर्छ
यस्तै सपना र परिकल्पनाले त
ऊ बाँचेकी छ
ऊ हाँसेकी छ
र
यसै यसै गरी
बाँच्ने छे युना
बाँचिरहने छे युना !
तिमी
आएकी पनि हुन्छ्यौ
दैला ठेलामा ठिङ्ङ उभिएकी हुन्छौ
अमृतको घडा हुन्छ तिम्रो साथमा
म अमृतको प्यासी
एक थोपा मात्र पाए पनि
अमर बन्ने लालसामा छु
तिमीले घडाबाट
अमृतको एक थोपा
निकालिसकेकी पनि छ्यौ
म आनन्दले विभोर छु
मेरो खुसीको सीमा छैन
र
आँखा चिम्लन्छु
पूर्ण तृप्तिका लागि
म आँखा खोल्छु
तिमीलाई देख्तिनँ
कहाँ गयौ तिमी
कलश साथमा लिएर
कहाँ गयौ
मलाई मृगतृष्णामा भुलाएर
पानीबिनाको माछो बनाएर
उफ !
म एक थोपा अमृतको प्यासी
प्यासप्यासमै मर्न लागेँ
हाय !!
हिमाल
कति राम्रो हिमाल हेर हाँसे जस्तै लाग्छ
हिमालमा डाँफे चरी नाचे जस्तै लाग्छ
म पनि त हिमाल खोज्न लेक-बेँसी धाएँ
आखिरीमा आफ्नो हिमाल आफैसँग पाएँ
हेर साथी हिमालमा सेता दन्त लहर
हिमालसँग नाता गाँस्ने मेरो आफ्नो रहर
कस्तो राम्रो हिमाल हेर सधैँ हाँसिरहने
सबैसँग आफ्नो नाता गाँसिरहने
हामी पनि हिमाल जस्तै हाँस्न सिक्नुपर्छ
सबैसँग आफ्नो नाता गाँस्न सिक्नुपर्छ
हिमाल, पहाड, तराई कोही छैन पराई
हिँड्नुपर्छ हामी शत्रुसँग नडराई
सगरमाथा शिखर नेपालमा छँदै छ
त्यही माथि नेपालीको इज्जत बढ्दै छ
नेपाली हामी कमाउँन मिहिनेत गर्छौं
मिहिनेतअनुसार आफ्नो नाम कमाउँछौं
मलाई हिमाल र झर्ना साह्रै मन पर्छ
हिमालमा हिउँ पग्ली नदी बनी बग्छ
हामीले हिमाललाई माया गर्नुपर्छ
हिमालसँग हाँसी खुसी सधैँ बस्नुपर्छ
रचयिता :- अञ्जिता बर्तौला
कक्षा :- ८
कालिका मावि नामटार, मकवानपुर
तिमी
सलक्क परेका हातगोडा
बोलिहाल्लान् जस्ता ओठ
मृगका जस्ता आँखा
सुन्दर नाक
अनुहारका प्रत्येक उपाङ्ग
तिम्रो सुन्दरता बढाइरहन उद्यत देखिन्थे
जय चुस्की !
आदरणीय मित्र ! नव वर्ष २०१० तपाईँ, तपाईँको परिवार, हाम्रो राष्ट्र र सिङ्गो विश्वका लागि पूर्व वर्षहरूभन्दा सुखद रहोस् । शुभकामना !
र
उहाँलाई पनि मीठो लाग्छ