Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

जिउँदै वैकुण्ठ

 म २०६४ सालमा इन्द्रायणी माध्यमिक विद्यालय आग्रा, मकवानपुरको स्रोत व्यक्ति हुँदा मेरो कार्यक्षेत्र तीन ओटा गाविसका ३५ ओटा विद्यालयहरू थिए । तीमध्ये डाँडाखर्क गाविसअन्तर्गत दुई ओटा निम्न माध्यमिक  र चार ओटा प्राथमिक विद्यालय थिए । तीमध्ये पनि एउटा थियो; सरस्वती निम्न माध्यमिक विद्यालय बैकुण्ठ । त्यस विद्यालयमा प्राथमिक तहमा एक जना शिक्षक नियुक्तिको सिलसिलामा आफ्नो पदीय कार्यभार सम्हालेको लगत्तै म वैकुण्ठ गएको थिएँ । त्यस ताका स्थानीय बासिन्दाका लागि आफ्नो स्थान सहज असहज जस्तो लागे तापनि बाहिरी व्यक्तिहरूका लागि भने त्यति सहज थिएन । त्यही भएर होला; इन्द्रायणी मावि आग्राका पूर्व प्रधानाध्यापक तथा समाजसेवी विष्णु कार्कीले हिउँदमा जानुहुन्छ भने म साथी गइदिउँला । सरलाई एक्लै जान असहज हुन्छ भन्नुभएको थियो ।

आदरणीय गुरु शिवचन्द्र


 

मैले प्राथमिक तहमा हुँदै अङ्ग्रेजी ग्रामरका पुस्तकहरू पढिसकेको थिएँ र केही ट्रान्सलेसनका पुस्तकहरूमा अभ्यास गरिसकेको थिएँ । छैठौँ कक्षामा पुग्दा चूडामणि ग्रामरपनि एकसरो अध्ययन गरिसकेको थिएँ तैपनि म अङ्ग्रेजीमा कमजोर नै थिएँ । कक्षा सातमा पढ्दा मैले पढेको सुबलाल हाई स्कुल सन्तपुरमा आउनुभएका रामदेव सरको अङ्ग्रेजी खुब मन पर्थ्यो । उहाँको बुझाउने कला अद्भूत थियो तर हाम्रो विद्यालयमा उहाँ एक वर्ष पनि बस्नुभयो कि बस्नुभएन !

भय र स्नेहका पर्याय: ठुल्दाजु

आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।

म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।

जिन्दगीको मोड

मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ । कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो । बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो । सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी. सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि गर्थेँ म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा पाउनुहुनेछ दाइले मलाई कुटेको फल !
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले कमर्समा नाम लेखाएँ ।

सम्झना समनपुर बसाइको

सत्ता चलाउने र  तिनका मतियारहरु स्वार्थी भएपछि सोझासाझाको केही चल्दो रहेनछ । फोर्सका अगाडि सोर्सले शिर नुहाउनु पर्दो रहेछ र सोर्सका अगाडि व्यक्तिका योग्यता र क्षमताले । त्यही भएर हाम्रो देश हरेक क्षेत्रमा पछाडि परेको रहेछ र यो देश अहिलेको अवस्थासम्म आइपुग्नु परेको रहेछ । नभए  स्थायी हुन २०५२ देखि २०६० सम्मको कष्टकर आठ वर्ष कुर्नु पर्ने थिएन होला मैले पनि । २०४० सालदेखि २०५२ भन्दा अघिका १२ वर्षहरूमा लिखितमा पास हुने र मौखिकमा  फालिने, जाँच लिइने र जाँच स्थगित गरिने स्थिति भोग्नुपर्दैनथ्यो होला ‘म’ हरूले ।
२०५२ सालमा जाँच दिएर २०६० सालमा पास भएको खबर सुन्दा कस्तो लाग्यो होला हामीलाई ! तैपनि दीपकराज सोती शिक्षक सेवा आयोगमा प्रमुख नभएका भए हामी जस्ता बबुराको के हाल हुन्थ्यो होला ? सोती न मेरो नातामा पर्छन्  न मैले त्यक्तिगत रूपमा चिनेको छु न त कुनै सम्बन्ध नै जोरेको छु । त्यतिखेर उनले निष्पक्षता अँगालेका हुनाले ’म’ हरू स्थायी हुन पाएका हौँ मात्र  भन्न खोजेको हुँ ।

मनै हल्लाउने भुइँचालो

जीवनमा पहिलो पटक भुइँचालोको अनुभव गर्दा म यस्तै १७ वर्षको थिएँ हुँला । त्यो दिन म चन्द्रनिगाहपुरमा सानो मामा भैरवप्रसाद भट्टराईकहाँ थिएँ । मामाले ‘भुइँचालो गयो’ भन्नुभयो । मलाई पनि हल्लाए जस्तो लाग्यो ।  मलाई नै त्यो अनुभूति भयो वा मामाले भन्नुभएपछि त्यस्तो लाग्यो । जे होस्; यो घटना २०३७ सालतिरको हुनु पर्छ । त्यसपछि मलाई एकैपटक २०४५ सालको भुइँचालोको अनुभूति छ । २०४५ साल भदौ ५ गतेको भुइँचालो जाँदा म सान्दाजु चन्द्रमोहनसँग बाराको ज्योति फारामको आवासगृहमा थिएँ । म कुनै जाँचको क्रममा त्यहाँ पुगेको थिएँ । भुइँचालो गएको बिहान खाट बेस्मारी हल्लियो । हामी तिनै जना भुइँचालोको आभास भएर ब्युँझियौँ । पछि हेर्दा थाहा भयो; हामी सुतेको खाट जोडिएको भित्ता चर्किएको रहेछ । उदयपुरलाई केन्द्र बनाएको ६.७ रेक्टर स्केलको त्यस भुइँचालोले हामीलाई घटनापछि मात्र अत्याएछ, तै केही भएन भनेर । खास गरी पूर्वी नेपालमा बढी क्षति पु¥याएको त्यस भुइँचालोले हामीलाई केही गर्न भ्याएनछ ।

रेलमा रमाउँदै

मानिसका चासाहरू विविध विषयहरूमा हुने गर्दछन् । आफूले चासो राखेका विषयहरूमा मानिसले अभिरुचिपूर्वक अध्ययन गर्न खोज्दछन् र जान्दछन् पनि । मेरा पनि चासा र जिज्ञासाहरू विविध क्षेत्रमा छन् । तीमध्ये एउटा क्षेत्र हो आध्यात्म ।
जानेर वा नजानेर तिनै कक्षादेखि आध्यात्मिक अध्ययन गरे पनि अध्ययनको जिज्ञासा भने चालिस वर्ष नाघेपछि मात्र पलाएको छ । जिज्ञासा पलाएकै बेला अवसर मिल्दा वातावरण झन् अनुकूल भइदिएको छ ।
मेरो गृहनगर चन्द्रनिगाहपुरमा गीता पाठशाला छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित यो मेरो छिमेकमै छ अचेल ।
मेरो माइल्दाजु र भाउजू त यससँग नजिकिएको दुई तिन वर्ष भइसक्यो । म भने भर्खर मात्र त्यसको चेष्टा गर्दै छु ।
म आध्यात्मिक व्यक्तिहरूको पछि लागेर पनि हिँडिनँ, उनीहरूसँग तर्केर पनि हिँडिनँ । यसो हुनाले सानैदेखि घर र सामाजिक वातावरणका प्रभावले ममा आध्यात्मिक रुचि एक किसिमले थियो र झन् बढ्यो । गीता

आनन्दमय यात्राहरू

आनन्दमय यात्राहरू

मेरा जीवनका रहरहरूमा यात्रामा रमाउनु पनि एउटा हो । तर यस मौकाबाट म प्रायः वञ्चित नै रहँदै आएको छु । यी वञ्चनाका आफ्नै बाध्यता त अवश्य होलान् । जन्मँदा म मोटर नचल्ने ठाउँमा थिएँ । आठ वर्ष टेक्दा नटेक्दै मेरो परिवार जहाँ बसाइँ सरेको थियो, त्यहाँ पनि भर्खर मोटर बाटो बन्न लागेको थियो । त्यसो हुनाले बाल्यकाल भनिने उमेरमा मैले यात्राको औपचारिक मौका पाइनँ ।
परिवारमा कान्छो भएको हुनाले म अलि पुल्पुलिएको थिएँ । जति पुल्पुलिए पनि मेरा बुवा–आमा तथा दाजुहरूले मलाई पढाइका मामलामा भने पुल्पुलिन दिनुभएको थिएन । सानो छदाँ म आफूभन्दा तीन वर्ष जेठो सान्दाजुलाई हेपिहाल्थेँ । उहाँसगैँ नै प्रायः खेल्ने, पढ्ने, विद्यालय जाने–आउने हुनाले पनि मैले उहाँलाई हेप्न सकेको थिएँ । त्यतिखेर सान्दाजु अलि सोझो खालको हुनुहुन्थ्यो । अरू दाजुहरू घरमा रहनुहुन्नथ्यो । बुवा जागिरमा कता–कता पुग्नुहुन्थ्यो । नियमितजसो घरमा बस्नेमा सान्दाजु, आमा र म थियौँ ।

जोसिला बुढा

Picture Source : Click Here

त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।

यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !

कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।

इन्द्र सरोवरमा म

मान्छेको जीवन अचम्मको हुँदो रहेछ । कतिपय यात्रा मान्छेले योजना गरेर हुँदो रहेछ, कतिपय यात्रा विना योजनामै वा अरूका योजनाका कारणले हुँदो रहेछ । कतिपय यात्रा थाहा पाएर हुँदो रहेछ, कतिपय यात्रा त आफैँले थाहा नपाई नपाई पनि हुँदो रहेछ । मैले गरेका मार्खुका यात्राहरू यस्तै थाहा पाई पाई थाहा नपाई नपाई भएका छन् । पहिलो चोटि २०४२ सालमा म मार्खु जाँदै छु भन्ने थाहा नपाईकनै पुगेको थिएँ । त्यतिखेर पनि माहिलो दाजु उत्तम चित्लाङमा पढाउनु हुन्थ्यो । दाजुलाई भेट्नु पर्ने थियो । त्यस ताका अहिले जस्तो मोबाइल त परैको कुरो भयो सिडिएमए फोन पनि प्रचलनमा थिएन । कसलाई सोध्नु ? चन्द्रनिगाहपुरबाट हेटौँडा आएर एक दुई जनालाई सोधेँ, भीमफेदीको बाटो देखाइदिए । होला त नि भनेर हिँडेको हत्तु हैरान भइयो । हो, त्यही बेला म चित्लाङ पुग्न मार्खु पुगेको थिएँ ।
 

दोस्रो पटक जागिरको सिलसिलामा चित्लाङको खर्क पुगेको थिएँ । खर्क अर्थात् कखुबिर्ता । मूलतः उपाध्याय लामिछानेहरूको बस्ती । त्यहाँ ठुला पसलहरू थिएनन् । चामल आदि किन्न कि त एक घण्टा हिँडेर पौवा पुग्नु पथ्र्यो कि त एक घण्टा नै हिँडेर मार्खु । मलाई चाहिँ पौवाभन्दा मार्खु नै सजिलो लाग्थ्यो । मार्खुमा विद्युत् प्राधिकरण क्षेत्रमा सान सानै भए पनि चिटिक्क मिलेका घरहरू थिए । इन्द्र सरोवर थियो । म त्यस क्षेत्रभित्र पस्तैनथेँ, इन्द्र सरोवरको पानी खेलाउन जाँदैनथेँ र त्यहाँको माछा खाने सोख पनि मभित्र पलाउँदैनथ्यो । किन भनेर भन्न मलाई अहिले पनि असजिलो छ । जे भए पनि  बाहिर बाहिरबाटै हेर्न भनेर पनि मैले मार्खुलाई मेरो बजारका रूपमा रोजेको थिएँ ।
Photo1421खर्कमा म एक वर्ष पनि बसिनँ । तर यही बाटो भएर २०५५ र २०५९ सालमा चित्लाङको साहित्यिक यात्राका क्रममा पनि हिँडेको छु ।  
त्यसपछि पुरा बाह्र वर्ष भएछ मार्खु नगएको । यसपालि फेरि अचानक जाने मौका पर्यो । कार्यालयबाट परीक्षा शाखाका हरिश्चन्द्र सापकोटाले फोन गर्नु भयो 'रमेश सर, फागुन २३ गते जिशिकामा आउनु होला ।' मैले किन भनेर प्रश्न सोधेँ । उहाँले तपार्ईँ केन्द्राध्यक्ष हुनुभा'छ भन्नुभयो । मैले केको भनी सोधेँ । उहाँले एसएलसीको भन्नुभयो । अनि मैले कहाँको भनी सोध्दा तपाईँलाई त्यति मात्र भन्ने आदेश छ भन्नु भयो । मैले २३ गते मात्र थाहा पाएँम मार्खु जानु छ भनेर ।
कार्यालयीय जिम्मेवारी भनेको एउटा अवसर र एउटा जिम्मेवारी पनि हो । अझ प्रवेशिका परीक्षा सञ्चालन गर्ने जिम्मेवारी त चुनौती पनि हो । कार्यालयले दिएको जिम्मेवारी राम्ररी गर्न सके जस पनि पाइन्छ र राम्ररी गर्न नसके अपजस पनि । तर पनि कार्यालयले दिएको जिम्मेवारी वहन गर्नै पर्ने हुन्छ ।
नेपालमा दलहरूको बहादुरी बन्द गर्नमा छ । त्यो बन्दले कस कसलाई कसरी कसरी मार पर्छ भन्ने चासो छैन । कुन दिन कसलाई के भ्mवाँक चल्छ, बन्द गर्छन् त्यो पनि अचानक अचानक । बन्द गर्न कुनै ठुलो तयारी र शक्ति पनि चाहिँदैन । धाक दिन सके पुग्छ, थर्काउन सके पुग्छ, तोडफोड गर्न सके पुग्छ । दलहरूको शक्ति आम प्रदर्शनमा हुनु पर्ने, राम्रा र सृजनात्मक कामहरू गर्नमा हुनु पर्ने । तर दलहरू र तिनका भातृ सङ्गठनहरूले पच्चिस पचास वा सयको जमातले पुग्ने विरोधको कार्यक्रम रोज्ने गर्दछन् र सर्व साधारणलाई मर्कामा पार्दछन् । त्यो मर्काले कसैको जागिर, कसैको मजदुरी वा कसैको ज्यानमा समेत तल वितल पर्छ । त्यसको वास्ता बन्दकारीलाई हुँदैन । उनीहरू त आप्mना कारणले अरू अप्ठ्यारामा परे आफ्नो कार्यक्रम सफल भएको ठान्दछन् । उनीहरूले विरोध र असर पार्नु पर्ने शक्ति पहिल्याउन नसक्नाले न बन्दको असर सम्बन्धित पक्षलाई पर्छ न अन्य पक्षहरू सकारात्मक हुन्छन् । चोट एउटाले पाउनु पर्ने अर्कैले पाइराखेको हुन्छ । हुनु पर्ने कुरो भइराखेको हुँदैन, नहुनु पर्ने कुरो भइरहेको हुन्छ । जे होस्, बन्दकर्ताको लक्ष्य म लगायतका साथीहरू थिएनन् तर हामी सहरबाट टाढाको केन्द्रमा जानु पर्ने साथीहरू नै विद्यालयबाट एक दिन अघि हिँड्नु पर्नेमा पर्यौ ।  मैले जानु थियो दुई दिन अगाडि अर्थात् २९ गते तर जानु पर्यो २८ गते नै ।
परीक्षाभन्दा तिन दिन अगाडि आइपुगे पनि म मरुभूमिमा आएको थिइनँ । म मेरै देशको छहरामुनि थिएँ, म मेरै देशको पहरामुनि थिएँ । म नेपालको एउटा सुन्दर ताल इन्द्र सरोवरको समीपमा थिएँ । म यसको सौन्दर्यले सुवासित, आह्लादित र प्रभावित थिएँ । यहाँ छँदा मैले कर्तव्य निर्वाहपछिको सम्पूर्ण समयलाई अधिकतम सदुपयोग गर्नु थियो । यस ठाउँलाई अझ चिन्नु थियो, यस वरपरको परिवेशलाई अझ बुभ्mनु थियो र यस अवसरलाई सधैँ सधैँका लागि मन  मुुटुमा साँच्नु थियो ।    
समयले २०४२२०६९ का बिचमा थुप्रै नभए पनि केही न केही परिवर्तन गरिसकेको थियो । मार्खु, इन्द्र सरोवर र चित्लाङ केही बदलिइ सकेका थिए । म आफ्नो १३ दिने बसाइमा यही भिन्नता खुट्याउन चाहन्थेँ र यस क्षेत्रलाई अझ चिन्न चाहन्थेँ ।
मैले चिनेको चित्लाङ काठमाडौँसँग बढी सम्बन्ध जोडिएको ठाउँ मात्र थियो । अब पर्यटकीय क्षेत्र बन्न लागेको रहेछ । मैले यहाँका होमस्टेका बारेमा राष्ट्रिय दैनिक पत्रिकाहरूमा पढेको र सुनेको थिएँ । मलाई रिसोर्ट नै खुलेको चाहिँ थाहा थिएन । चित्लाङको यो परिवर्तन हेर्ने चाहनालाई दाजु र स्वच्छन्द भैरव उच्च माविका प्राचार्य मित्र विष्णु दाहालले पुरा गरिदिनु भयो । यस क्रममा सर्वथम हामी रिसोर्टमा पुग्यौँ। विद्यालयको जग्गा ठेक्कामा लिएर चलाइएको त्यस रिसोर्टमा क्यानाडा, अस्ट्रेलिया लगायत विभिन्न देशका पर्यटकहरू आएका रहेछन् । एक जना महिलाले ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । तिनीहरू खाजा खाँदै पनि थिए । हामीले उनीहरूभन्दा पृथक् रहेर मकैभटमास खायौँ अनि मसरुम सुँप तथा चिया खायौँ । रिसोर्ट निर्माणाधीन अवस्थामै थियो । त्यहाँ आएका पाहुनाहरूलाई खाना त्यहीँ र सुत्ने व्यवस्था फरक फरक गरिएको थियो । कसैका लागि टेन्ट, कसैका लागि छुट्टै घरहरू तथा कसैका लागि होमस्टेमा व्यवस्था मिलाइएको रहेछ ।
रिसोर्टपछि होमस्टेतिर लागियो । साँझ परिसकेको हुनाले राधाकृष्ण बस्नेतको होमस्टे मात्र हेर्न भ्याइयो । चिटिक्क परेका कोठाहरूमा उसै गरी मिलाइएका ओछ्यानहरू, टकटकाउँदो सफापन, घरेलु खाजा र खान्गी, आत्मीय व्यवहार नै होमस्टेका विशेषता रहेछन् । उहाँकहाँ चिया र भुइँ स्याउ खाइयो । माटामुनि आलु जसरी नै फिँजिएर तरुल आकारमा फल्दो रहेछ यो । एउटा बोटमा १५-१६ किलो सहजै फल्ने रहेछ । अहिले सय रुपियाँमा बिक्न सक्ने यसको स्वाद रुखस्याउ जस्र्तै हुने रहेछ । सुगर, युरिक एसिड जस्ता रोगको औषधीका रूपमा उपयोगी हुने रहेछ ।
यता मार्खुमा पनि केही परिवर्तनहरू देखिए । मार्खु एउटा पर्र्यटकीय क्षेत्र मात्र नभएर अध्ययन केन्द्र पनि रहेछ । प्रत्येक वर्ष त्रिविविको विज्ञान सङ्कायका स्नातकोत्तर तहका विद्यार्थीहरू भूगर्भीय अध्ययनका लागि कतै न कतै जाँदा रहेछन् । यसपालि उनीहरू मार्खुलाई केन्द्र बनाएर मार्खु वरपरको क्षेत्रका खनिजको अध्ययन गर्दै थिए ।
मार्खुको बसाइ सकिन लाग्दा पनि मेरो एउटा रहर बाँकी नै थियो । म मेरै जिल्लाको सबगढा तथा गेडहीमा डुङ्गा चढेको थिएँ, यसै गरी फेवातालमा चढेको थिएँ । तर मार्खुमा दस बाह्र दिन बस्ता पनि डुङ्गामा पाइला राख्न ताल परेको थिएन । २÷३ दिन अघि स्रोतव्यक्ति पूर्णभद्र भुसाल सरको र मेरो नौका विहार गर्ने सोचाइ मेसो नपाउनाले त्यत्तिकै थन्किएको थियो । भोलिपल्ट महिलाले खियाएको डुङ्गामा ४५ मिनेट सयर गर्नु भएछ । म छक्क परेँ महिलाले डुङ्गा चलाएको सुनेर । कवि मोहन कोइरालाको कवितामा पढेको त थिएँ
माझी सुसेल्थे वारिबाट
मझिनी सुसेल्थिन् पारिबाट
तर आफैँले देख्न भने पाएको थिइनँ । यो कुरा डुङ्गा चढिरहनेका लागि सामान्य लागे तापनि म भने छक्क परिरहेको थिएँ । यत्तिकै हिँड्नु पर्ने भयो भन्ने लागिरहेको थियो । एस एल सीका सबै जाँच सकिएको दिन समीक्षा बैठक समेत सकिएपछि मित्रहरू समक्ष प्रस्ताव राखेँ । 'डुङ्गामा सयर गर्ने मेरो रहर बाँकी नै छ, सम्भव भए महिलाले खियाएको डुङ्गामा भए हुन्थ्यो ।' मेरो आसय बुझेर विद्यालय सहयोगी पार्वती रुम्बाले भनि पनि हाल्नु भयो 'सरलाई त्यस्तो लागेको छ भने म डुलाइदिउँला ।' मलाई के चाहियो र ढुङ्गो खोज्दा देउता पाएपछि । 
पार्वतीले वचन दिएको लगत्तै जसो खाना खाएर हामी तम्तयार भयौँ । सुरुमा केन्द्र परेको विद्यालय सरस्वती बालबोधिनी माविका प्रधानाध्यापक सहदेव कुमार रिमालले डुङ्गा खियाउन सुरु गर्नुभयो । हेड सरले नै चलाएको देखेर छक्क परेँ । मलाई पनि रहर लाग्यो । मैले पनि चलाएँ । बहना चलाउँदाको सन्तुलनले नै डुङ्गालाई सन्तुलन गर्दो रहेछ । सुरुमा त डर लाग्यो । कता कता डुङ्गामा चढेकाहरू दुर्घटनामा परेका समाचारहरू पढेको थिएँ । पानी नपस्ता डर हुँदैन भनेर सरहरूले भनेपछि आश्वस्त भएँ र एक छिन मज्जैले डुङ्गा खियाएँ । त्यसपछि पार्वतीले खियाएको हेर्दै सयर गरियो । मनमनै सिद्धिचरणको 'ओखलढुङ्गा' कविता सम्झेँ । सिद्धिचरण आफ्नो जन्मभूमि ओखलढुङ्गालाई सम्झेर भावको डुङ्गामा सयर गर्थे भने म शिक्षक मित्र पूर्णचन्द्र काफ्ले र विद्यालयकी अर्की सहयोगी लक्ष्मी लामा समेतसँग काठे डृुङ्गामा यथार्थमै थिएँ र पनि युगकविकै कविता सम्झिरहेको थिएँ :
 
जब म चढेर भावको डुङ्गा
सैर गर्छु स्मृतिको प्रिय गङ्गा
सुख स्मृतिको बर्सन्छ रिमझिम
स्वप्न गगनबाट सुशीतल जल
मेरो प्यारो .......................।
लेखन मिति : २०६९।१२।१४ 

बिदा ! जयपुर बिदा !

हामी राजस्थानको आबुरोडमा छौँ । हामीलाई आबुरोडबाट नेपाल आउनु छ । २०६३ सालको असार १५ गते दहीचिउरा खाएर रमाइलो गर्ने दिन ! हामी छ्याकछ्याके रेलमा चढेर सुइय्यँ आउने पक्षमा मात्र छैनौँ । हामीले यात्रामा बढीभन्दा बढी रमाइला, फरक र आनन्द लाग्ने कुराहरू अनुभव गर्नु छ, त्यसैले हामीसँगै भएका जनकपुरका साथीहरूभन्दा फरकिन्छौँ र चन्द्रनिगाहपुरेहरूमात्र एकसाथ यात्रा गर्न खोज्दै छौँ ।

हामीसँग रेलको रिजर्भ टिकट छ आबुरोड-दिल्ली, दिल्ली-नरकटियागन्ज, र नरकटियागन्ज-रक्सौलको । हामीलाई राजस्थानको प्रान्तीय राजधानी जयपुर हेर्न खुब मन छ, त्यसैले हामीले आबुरोडदेखि जयपुरसम्मको रेल-टिकट माया मारेका हौँ । झन्डै ५०० कि.मीको रिजर्भ टिकट माया मार्नु चानचुने कुरो होइन तर आएका बेला नयाँ ठाउँ हेरिहाल्नुपर्छ भन्ने धारणाले हामीले यो हिम्मत गरेको हौं।

आबुरोडबाट जयपुरसम्म रेल, बसजस्ता यात्रुवाहन चल्ने गर्छन् । तर रेल छाडिसकेपछि बसमा चढ्नु छ हामीले । बस पनि दुई थरी छन् । बस्ने सिट मात्र भएका र सुत्ने सिट पनि भएका । हाम्रो देशमा हामीले फोल्डिङ सिटवालाबाहेक सुत्ने सिट भएको बस देखेका छैनौँ, त्यसैले हामीलाई सुत्ने सिटको अनुभव गर्नु छ। सुत्ने र बस्ने सिटको भाडादर फरक रहेछ । यहाँ पनि हामी बढी तिरेरै भए पनि सुत्ने सिटहरूको जोहो गर्छौँ ।

बस्ने सिटहरूको मास्तिर हुँदो रहेछ सुत्ने सिट । बस्नेहरू नेपालका बसमा जस्तै बस्ने खालका सिटमा बस्ता रहेछन् , सुत्न खोज्नेहरू चाहिँ सुत्ने सिट नै रोज्दा रहेछन् ।सुत्ने सिटमा बस्न मन लाग्यो भने पलेटी कसेर बस्न पनि सकिँदो रहेछ ।एउटा सुत्ने सिटमा दुईजना सुत्नुपर्दो रहेछ । अपरिचितसँग परियो भने अप्ठ्यारै हुने रहेछ । बसको र रेलको सुताइमा धेरै फरक पर्ने रहेछ । रेल लिगमा सुलुलु बग्ने हुनाले प्राय: समतलै हुन्छ वा घल्च्याङघुल्चुङ हुँदैन भने बस गुड्ने बाटो राजमार्ग हुनाले रोकिँदा ,साइड दिँदा र जोल्डिङहरूमा पर्दा अलि अप्ठ्यारै हुने रहेछ । यात्री खाना खाएर सुतेको छ, बस ओरालोतिर हुइँकिरहेको छ र सिरानी ओरालैतिर परेको छ भने खाएको खाना फरक्क फर्करेर मुखबाट निस्कने सम्भावना हुँदो रहेछ ।

बसका केही अनुभूतिहरू बटुल्दै रात्रिकालीन झन्डै बाह्र घन्टाको यात्रा पूरा गरेर हामी आइपुग्छौँ जयपुर । प्लेटफार्म त नजिकै छ, लकरमा सामानहरू राखेर डुल्न त सकिन्छ तर हाम्रो यात्रादलका गाँठवाला मित्रहरूको मनसायलाई स्विकार्दै दिउँसो डुलुन्जेललाई मात्र भनेर लजका दुईवटा कोठाहरू लिन्छौँ । बाह्रैजनाले पालैपालो नित्य क्रिया गर्छौँ ।

कल्पन ट्राभल्सको टुरिस्ट बसले हामीलाई दिनभर जयपुर डुलाइदिने भएको छ ।

भव्य र दिव्य जयपुरमा हामी महालक्ष्मी मन्दिरबाट आफ्नो यात्राको श्रीगणेश गर्छौँ ।विशाल द्वार भएको त्यस भव्य मन्दिरमा हिन्दू देवताका प्रतिमूर्तिहरू देख्न पाइन्छ, मन्दिरका वरिपरि भागमा झन्डै रिङ्गै । निर्माणाधीन अवस्थामा पनि मैले कहिल्यै नदेखेको तालको भव्य छ भने निर्माण पूरा भइसक्ता झन् यो कस्तो होला !

मन्दिरलाई एकसरो तर थोरै भएपनि धित मर्ने गरी हेरेपछि हामी लाग्दै छौँ जन्तरमन्तरतिर । कुनै मन्त्रतन्त्रको प्रभाव देखाएर अन्धविश्वासी बनाउन खोजेको होला जस्तो लाग्छ हामीलाई । तर होइन रहेछ, नाम मात्र जन्तरमन्तर रहेछ । यो त तपाईँ-हामीले हेर्नुपर्ने कुरा पो रहेछ । ईसवीय अठारौँ शताब्दीको प्रारम्भमा सवाई जयसिंह द्वितीयद्वारा बनाइएको यस यन्त्रशालाका फरकफरक काम गर्ने र नजिकैनजिकै तर अलग-अलग रूपमा यी साधनहरू ढुङ्गाबाट बनाइएका रहेछन् । सिमेन्टेड जस्तो भ्रम हुने ढुङ्गाका यस्ता संसाधनहरू भारतका दिल्ली, मथुरा, बनारस तथा उज्जैनमा समेत भए तापनि जयपुरको जस्तो जन्तरमन्तर संसारको अन्य कुनै पनि ठाउँमा पाइन्न रे ! घडीको आविष्कार नहुँदा वा अभावमा समय थाहा पाउन कुनै खास समयको ग्रह, नक्षत्र , राशि आदि पत्ता लगाउन प्रयोग हुँदो रहेछ ज्योतिष विद्यासम्बन्धी यो वेधशाला । छाया नै मुख्य आधार हुनाले घाम नलाग्दा , पानी नपर्दा र हिउँदमा त्यति उपयोग हुन सक्तो रहेनछ यो ।

हामी अधबेस्रा खालका छौँ । बाह्र बजेको टन्टलापुर, त्यो पनि जयपुरको प्रचण्ड घाममा पनि हामीले ओढाहरू लिएका रहेनछौँ । छातालाई पानीबाट मात्र ओतिने साधनका रूपमा लिने बानी छ हाम्रो । त्यसैले घामबाट बच्न छाता चाहिन्छ भन्ने होस हामीमध्ये कसैलाई पनि छैन । चर्को घाम बेहोरेर खलखली पसिना काडेर पनि हामी पर्यटन सुख लिइरहेकाछौँ वा इन्द्रिय-सुख भोग गरिरहेका छौँ । जन्तरमन्तर हेर्दाहेर्दै मध्याह्न भइसकेछ । हाम्रा पेटहरू पनि उखरमाउलो गर्ने तम्तयारीमा जुटिसकेका छन । अब चाहिँ हामीले खाना खानुपर्छ । त्यसैले हामी राम्रै होटेलमा पुर्याइन्छौँ । होटेलमा प्रवेश गरिसकेपछि हाम्रा आन्द्राहरू एकछिनका लागि धीर हुन्छन् । तर हामी नयाँ खानाका लागि उत्कण्ठित हुन्छौँ ।

बिहानको खानामा म प्रय: भात रुचाउँछु । रोटी, चिउरा, चाउचाउ वा अन्य कुनै केहीले पनि मेरो आत्मा सन्तुष्ट हुँदैन । बेयराले कस्तो खाना ल्याउँछ केही थाहा छैन तैपनि अर्डर खुस्कन्छ ओठबाट 'राजस्थानी खाना'। मलाई लाग्छ 'राजस्थानको राजधानीमा म किन राजस्थानी खाना किन नखाऊँ ! यो पनि बेलाको उपलब्धि नै हो । सबै साथीहरूलाई खना दिइसकेपछि मात्र बेयरा मतिर फर्कन भ्याउँछ र ल्याउँछ-परोठा, दुई थरी तरकारी र अचार । उफ ! मैले भात खान नपाउने भएँ आज । तर के गर्नु बोलेको त आफैँले हो, चुकेको त आफैँ हो । खाना स्वादिलो रहेछ । थकथकिनु परेन मात्र होइन बेहद स्वादिलो ।

खाना खाएपछि बल्ल सास आयो, साहस पनि बढ्यो । नभए त 'नुन खाएको कुखुरा' भइसकिएको थियो ।

हामी अब अमेर जाँदै छौँ । यहाँ एउटा दरबार रहेछ पुरानो । दरबार जाने बाटो भन्दा निकै वर हाम्रो बस रोकिन्छ । दरबार जान थोरै उक्लिनुपर्छ । त्यसैले हाम्रा अधिकांश साथीहरू जान तयार हुँदैनन् । मलाई चाहिँ जान, हेर्न र रम्न खुब मन लागिरहेको छ । हाम्रो बसमा बाटामा चढेका केही भारतीय र हामीमध्ये केही प्राय: छरिएरै दरबार पुग्छौँ । एकजनाको लागि मात्र गाइड लिँदा महँगो पर्ने हुनाले म आफ्नै तालले दरबार चहार्छु । सत्रौँ शताब्दीतिर बनाउन थालिएको यस दरबारमा रानीहरूको तिर जाने बाटोमा भर्याङ छैन, सुस्त उकालोओरालो छ प्राय: अस्पतालमा हुने खालको । ओरालिँदा तल्लो तलामा पुगिन्छ, उकालिँदा माथ्लो तलामा । ३०० वर्षभन्दा पुरानो यस महलका रानीहरू हिँड्ने बाटामा हिँड्दा र उनीहरूका कोठाहरू चहार्न खोज्दा छुट्टै रमाइलो हुन्छ ।

यस दरबारमा कति नवयौवनाहरू रहरले भित्रिए होलान् र चाहेको आनन्द पाएर मक्खिए होलान् , सुन्दर सपना बोक्ने कतिपय शोडषीहरू यहाँ जबर्जस्ती भित्र्याइए होलान् र कुमारीत्व लुटाइए होलान् । यहाँका हाँसो र रोदनका, उदारता र सङ्कीर्णताका, नैतिकता र अनैतिकताका, मोजस्ती र पीडाका कथाहरू त यही भव्य दरबारलाई थाहा होला । तर न दरबार बोल्छ न इतिहास नै ।

हाम्रा कान र आँखाहरू जहिले पनि राम्रो सुन्न र हेर्न मात्र लालायित हुन्छन् । त्यसैले म रानीहरूका उन्मुक्त, तत्कालीन यौवनाहरूका रौनक, चहलपहल र मोजमस्तीहरू मात्र कल्पना गरेर विभोर हुन्छु र यी क्षणहरूलाई स्मृतिभित्र कैद गर्दै सुस्तसुस्त पइला चाल्छु ।

अँ, अमेरबाट फर्कँदा देखिन्छ वृन्दावन । यो कृष्णले रासलीला गरेको वृन्दावन होइन, त्यसको प्रतीक भने अवश्य हो । यहाँ पनि आधुनिक गोपिनीहरू जोडीजोडी भएर गफगाफमा तल्लीन भएको देख्न पाइन्छ । अनि सम्झन मन लाग्छ आफूले भर्खरभर्खर विवाह गरेको समयलाई ।

विवाह गर्दा म झन्डै एक्काइसको थिएँ भने मैले विवाह गरेकी कन्या थिइन् सोह्र वर्षकी । बिहे गरेको दोस्रो वर्ष अर्थात् मैले बाइस टेक्ता नटेक्तै र उनी सत्र वर्षकी छँदा मकवानपुर गढी डुल्न गएका थियौँ हामी । साथी थिए साला रूपचन्द्र । जुम्ल्याहाहरूको सँगसँगै विवाह गर्नुपर्छ भनेर रूपको पनि विवाह भइसकेको थियो हाम्रो भन्दा ठ्याक्कै सात दिन अगाडि अर्थात् २०४० साल माघ ८ गते । तर उनी सपत्नीक त्यहाँ थिएनन् अर्थात् हामी थियौँ तीन । म पहिलोपटक मकवानपुर गढी जाँदै थिएँ । फुरफर थिएँ म ऐतिहासिक-सांस्कृतिक स्थलमा जान पाएर । त्यहाँको बाटो थियो उकालो । उकालो र ओरालोमा अप्ठ्यारो परेको बेला एकले अर्काको हात समातिन्थ्यो-

'उकालीमा अघिअघि 
ओरालीमा पछिपछि'
मा जस्तै हो । त्यही सम्झना भइरहेको छ मलाई । आजभन्दा बाइस वर्षअगाडिको घटना सम्झँदा मात्र पनि मलाई रोमाञ्च भइरहेको छ र कताकता काउकुती लागेजस्तो पनि ।

कृष्णको सम्झना गराउने र आफैँलाई विगततिर फर्काइदिने रमाइलो वृन्दावनमा पाँच मिनेट रोकिएर यहाँको प्राकृतिक तथा वातावरणीय रसपान गरेर हामी अगाडि बढ्दै छौँ । अब हामीलाई अलिकति बजार गर्नु छ, त्यसैले हामी त्यतै लाग्दै छौँ ।

पहिले हामी जान्छौँ कपडा पसलमा । थरीथरी कपडाहरू छन् । सारी, तन्ना, गलैँचा, प्यान्ट, सर्ट, सुरुवाल, कुर्ता, ब्याग के लिने त्यही छ । लिन त मलाई पनि मन छ, तर यहाँको भाउ महँगो छ । घरका लागि कोसेली किन्ने रहर हुँदाहुँदै पनि म रोक्छु आफूलाई । यहाँभन्दा त मेरै देशमा सस्तो छ । वीरगन्जमा उही मूल्यमा पाइने कुरा जयपुरदेखि किन बोक्नुपर्यो ! केही किन्दिनँ । केही साथीहरू सारी, कुर्ता-सुरुवाल र तन्नाहरू किन्छन् र थकथकिन्छन् । किन नथकथकिऊन् , भारुमा मूल्य सुन्दा सस्तो ठान्छन तर गोजीबाट रकम झिक्ता नेपाली रुपियाँ घटेको महसुस गर्छन् 'मथुराजीका पेडा खायाभी पछताया, नहीं खायाभी पछताया ।'

कपडा पसलपछि हामी अघि बढ्दै छौँ अन्य पसलहरूतर्फ । अब हामीले पनि अलिअलि अनुभव गर्न लागेका छौँ 'कि त जयपुर महँगो छ कि त जयपुरको महँगो पसलमा पर्यौँ हामी ।' ब्रोकेन हिन्दी बोले पनि नेपाली भनेर चिनिहाल्छन् जयपुरका धूर्त व्यापारी । त्यसमाथि पसलमा पनि परस्परमा हामी नेपाली बोल्ने, ठगिन झन् सजिलो । चिनोका रूपमा केही किन्नैपर्ने हाम्रो सोचाइ हुनाले विभिन्न पसलहरूबाट हामी भाँडा, मूर्ति, प्रतिमूर्ति, जुत्ता, ब्याग, रिङ आदि केही न केही किन्छौँ र बाटो लाग्छौँ ।

अब हामी समयमा नै रेल चढ्न स्टेसनमा पुग्नु छ । हामीलाई जयपुर डुल्नु छैन अब । झन्डैझन्डै एकसरो धोको पूरा गरी हेरेका छौँ गुलाबी सहर जयपुरलाई । त्यसैले जयपुरलाई बिदाइका हातहरू हल्लाउँदै अघि बढ्छौँ – बिदा ! जयपुर बिदा !!

jantar_mantar_jaipur_2281_jpg_600x

(Source of Photo: Click Here)

परदेशी ! परदेशी !!

जयपुरमा २०६३ असार सत्र गते राति ११ बजे रेल चढेका हामी अठार गते बिहान ७ बजे दिल्ली आइपुग्यौँ । आबुतिर जाने बेलामा हामीले दिल्ली घुम्ने ताल मिलाउन सकेका थिएनौँ । त्यतिखेर प्लेटफारमको पाँच घन्टाको समय व्यर्थै गएको थियो । अहिले पनि समय मिलाउन नसक्ता हाम्रो ठुलो गल्ती हुन्थ्यो । एउटा राम्रो अवसर हामीले गुमाउनु पर्थ्यो । दिल्ली पुगेपछि साधारण ढङ्गले नित्यक्रिया गरेर निस्किहाल्ने रेलमै सल्लाह भए तापनि ओर्लेपछि भने यसोउसो गर्दागर्दै एघार बजिहाल्यो । अब हामीसँग चार घण्टाजति मात्र समय बाँकी रह्यो डुल्न । यहाँ डुल्न हामीले महिन्द्रा गाडी भेट्यौँ ।

साथीहरू विभिन्न रुचिका थिए । दिल्लीका प्रत्येक अवलोकनीय स्थलहरू हेरौँ भन्थे कोही, होइन गाडीबाटै दिल्ली सरर हेरौँ भन्थे कोही, बढीभन्दा बढी ठाउँ हेरौँ भन्थे कोही । 'बढ्ता जोगी मठ उजाडे' भनेझैँ थरीथरीका रुचि र चाहना अनि त्यसै किसिमको आदेशले ड्राइभरसमेत हैरान भयो । त्यसो हुँदाहुँदै पनि केही महत्त्वपूर्ण र प्रसिद्ध स्थलहरू हेर्न भ्यायौँ ।

सर्वप्रथम हामी गान्धीसमाधि पुग्यौँ । गान्धी परिवारकाहरूलाई समाधिस्थ गर्ने गरिएको ठाउँ रहेछ यो । गान्धीसमाधि एउटा सुन्दर र विशाल पार्क जस्तो छ ,जहाँ फूलैफूलका माझमा सुन्दर कमला हरिया दुबोमा बसेर घन्टौँ गफिन, कविता रच्न वा भावनात्मक वार्तालापमा तल्लीन हुन मन लाग्छ । साँच्चिकै भनूँ भने बिहान-बेलुका यहाँ डुल्न आउने हो भने छुट्टै शान्ति मिल्छ ।

ठ्याक्कै समाधि नै भएको ठाउँमा पुग्नुअघि चप्पल-जुत्ता फुकाल्नपर्ने रहेछ । समाधिस्थल नै चाहिँ अत्यन्त सम्मानित रहेछ ,श्रद्धाका साथ फूलका गुच्छा चढाउँदा रहेछन् मानिसहरू । म भारतीय होइन, गान्धी परिवारको राजनीतिबारे पनि म धेरै जान्दिनँ । तैपनि समाधिस्थलमा पुग्दा कसोकसो मेरा दुवै हातहरू जोरिएर उचालिएछ न् । पछि पो ख्याल भयो, भारतीय यी मनीषीहरूलाई पत्तै नपाई सम्मान गरेछु भनेर ।

गान्धीसमाधिबाट मुग्धिएर लाग्यौँ हामी कुतुबमिनार तर्फ । कुतुबमिनार हेर्न पुग्दा मलाई आफ्नो बाल्यकालको सम्झना भयो । म दस-एघार वर्षको हुँदा साइकलमा बाकसजस्तो एउटा भाँडो ल्याउँथ्यो एउटा घुमन्तेले । कोहीसँग मकै, कोहीसँग पैसा लिएर उसले सिनेमा देखाउँथ्यो । हाम्रो गाउँमा त्यतिखेर चलचित्र घर थिएन । हामीले सिनेमा देखेकै थिएनौँ । त्यसैले घुमन्तेले सिनेमा भनेर ल्याएको भाँडो हामीलाई साँच्चिकै सिनेमा जस्तो लाग्थ्यो ।

म पनि कहिलेकाहीँ त्यस्तै सिनेमा हेर्न जान्थेँ । उसले बाकसमाथिको ह्यान्डिल घुमाउँदै जान्थ्यो, चित्र सर्दै जान्थ्यो । एकपछि अर्को रङ्गिन आकर्षक चित्र हेर्दा हामीलाई खुब आनन्द लाग्थ्यो, सिनेमा हेरेकै मज्जा आउँथ्यो । हामी फुरुङ्ङ परेको देखेर फेरीवाला मक्ख पर्थ्यो र भन्दै जान्थ्यो 'ए, राजेश खन्ना देखो, 'ए हेमा मालिनी देखो', ए, मकैका घोगा देखो आदिआदि । हेर्नमा मज्जा आउने हुनाले ऊ आएपिच्छे म पनि मकैका घोगा लिएर कुदिहाल्थेँ ।

हो, त्यसैबेला सिनेमाभित्र देखेको दिल्लीको कुतुबमिनार अर्थात् धरहराको सामुन्ने थिएँ म । कुतुबमिनार मात्र थिएन त्यहाँ । त्यसको सुरक्षार्थ बनाइएजस्ता लाग्ने अवशेष र भग्नावशेषहरू पनि थिए त्यहाँ ।

पहिलेका राजा-माहाराजाहरूले सोखका रूपमा बनाए तापनि ,यस्ता कुरामा गरिएका खर्च त्यतिखेर फजुल लागे तापनि आज ती राष्ट्रकै सम्मानित बनेका छन् र अत्यन्त सजगतासाथ सुरक्षित गरिएका छन्।

अँ, त्यसपछि हामी इन्डियागेट हुँदै हामी लाग्यौँ इन्दिरा गान्धी म्युजियम । जाने-नजाने, जाने-नजाने गर्दै थिए कति साथी । हामी अघि बढिहाल्यौँ ,पछि उनीहरू पनि आएछन् ।

मैले 'नेहरुज लेटर' पढेको थिइनँ तर विद्यालय पढ्दाताकै सान्दाजु चन्द्रमोहनबाट प्रसङ्ग भने सुनेको थिएँ धेरैपटक । "त्यो पुस्तक जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेका चिठीहरूको सँगालो हो" भन्नुभएको थियो उहाँले । बाबुले छोरीलाई लेखेका व्यक्तिगत चिठीहरू अरूका लागि पनि पठनीय र प्रेरक हुन्छन् भन्ने सुन्दा छक्क परेको थिएँ म । त्यसैले इन्दिरा गान्धीका बारेमा थोरै भए पनि चासो राख्ने गरेको थिएँ । यहाँ अर्थात् इन्दिरा गान्धी म्युजियममा चाहिँ इन्दिरा गान्धीको दिनचर्या ,जीवन, सङ्गत तथा उनीप्रति अरूको दृष्टिकोण झल्काउने वस्तुहरू सङ्ग्रह गरिएका थिए । भारतको कुनै बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीप्रति त्यसैत्यसै सम्मान पलाएर आयो पुन:स्मृतिले, उनले प्रयोग गर्ने गरेका सामग्रीहरूले, उनको विवाहका झल्काहरूले, उनले पाएका सौगात र उपाधिहरूले, अनि उनले आफ्नो हत्याका दिन लगाएका सारी, गहना र भिरेका ब्यागहरूले ।

यही म्युजियममा भेटिए राजा वीरेन्द्र । राजा वीरेन्द्रको सम्झना ताजा बनेर आयो । विदेशमा तस्विर मात्र देख्ता पनि आत्मगौरवले मन धपक्क बल्यो । तुरून्तै हत्या गरिएको क्रूर र वीभत्स दृश्य आँखा अगाडि आयो र मन कस्तोकस्तो नरमाइलो भयो ।

लालकिल्ला हेर्ने ठूलो उत्कण्ठा भएर पनि आइतबारे भीडले हाम्रो अपेक्षामा तुषारापात गर्यो । लाल किल्ला हेर्न खोज्नेहरूको पङ्क्ति निकै लामो थियो र घामले पनि प्रचण्डता प्रदर्शन गरिरहेको थियो । स्टेसनमा पुग्न हामीसँग एक घण्टा मात्र समय बाँकी थियो । यहाँको लाममा मात्र हामीलाई एक घण्टा लाग्ने थियो, हेर्न कतिबेर लाग्थ्यो होला ! त्यसैले होला समयको लगामले कसेर लालकिल्लाको परिसरबाहिर ल्याइपुर्याएको हामीलाई ।

समय घर्कँदै थियो, 'दिल्लीको चिनु' भनेर हामीले केही किन्नु पनि थियो । आइतवार हुनाले दिल्ली बन्द जस्तै रहेछ । त्यसैले हामी पस्यौँ सधैँजसो खुला रहने चाँदनीचोकमा । दिल्लीमा सामान सस्तैमा पाइन्छ भन्दा रहेछन् मान्छेहरू । जयपुर जत्तिकै नभएपनि महँगै रहेछ चाँदनीचोकभित्रको दिल्ली पनि । साना पसलहरू छन् चाँदनीचोकमा । रेलको समय र बिदाको दिन सम्झँदै बजार गर्यौँ हामीले । मैले किनेका सामानहरू दिल्लीमा भन्दा वीरगन्जमै सस्तो पाइने रहेछ । जयपुरमा ठगिनबाट बचेको म भारतको राजधानीमा भने फेला परिहालेँ ।

भारतीयहरू आफ्नो देशका प्रत्येक निधिको प्रचार गर्न, महत्त्व बढाउन तथा संरक्षण गर्न अत्यन्त सचेत र तत्पर रहेछन् ।

अँ, बजार सकेर हामी स्टेसनमा आयौँ । जुन रेलमा चढेका थियौँ, त्यसैबाट हामी नरकटियागन्जसम्म आउन पाउँथ्यौँ । यो रेल मुजफ्फरपुर जाने हुनाले हामीले नरकटियागन्जमा रेल बदलिनु थियो । लोकल रेलमा चढ्दा सिट पाइने कम सम्भावनाले चढ्दा भने बढी भीड हुने रहेछ । चढिसकेपछि भने त्यस्तो असुविधा भएन ।

नरकटियागन्जबाट यता आएपछि भने पल्लो डब्बाबाट

नारीआवाजमा गीत सुनियो । मुक्त कण्ठले गाउने तिनीहरू मागेर गुजारा गर्नेहरू रहेछन् । तर माग्ने जुक्ति भने तिनीहरूको फरक थियो । हामी उता लाग्ने बेलामा हिजडाहरूले माग्दाखेरि अपनाएजस्तो अश्लील व्यवहार उनीहरूको थिएन । अनि छोरीको बिहे गरिदिनुछ भनेर एउटी तरुनीलाई अगि लाएर माग्दै हिँड्ने आमाको भूमिकामा रहेकी एक माग्नेको जस्तो चाला थिएन यिनीहरूको । यिनीहरू हक्की थिए । कला र गलाको संयोजन गरेर यात्रीहरूलाई मोहित पार्न सक्थे ।

पल्लो कोठामा गीत घन्केको सुनेर हाम्रो डब्बाका प्राय:को ध्यान उतै मोडियो । चालीस वरपरको उमेरका ती महिला विभिन्न गीतका टुक्राहरू निरन्तर गाउँथे ,मानौँ ती सबै गीतहरू एकै गीतका फाँकीहरू हुन् । उनीहरूलाई कुनै पनि गीत सिङ्गो रूपमा गाउन आएपनि नआएपनि वा उनीहरूले विविधता दिन खोजेको भए पनि उनीहरूले दिल खोलेर गाएका थिए । कलाकारिताको उच्च सम्मान गर्न कुरा राख्तै मोटै रकम माग गरेका थिए । उनीहरूले मागेजति दिन पल्लो डब्बाकाहरूलाई हम्मे परयो होला । मलाई चाहिँ तिनीहरूको प्रस्तुति रोचक लाग्यो । रेलबाट ओर्लिसकेर पनि उनीहरूको मुक्त आवाज मेरो कानमा गुन्जिरहेकै छ :

'परदेशी ! परदेशी !!

जाना नहीँ

मुझे छोडके, मुझे छोडके !'

मेरो भूत

07014053.detail.a कुरा केही वर्ष अगाडिको हो, त्यतिखेर म एक्लै बस्ने गर्थेँ। म बस्ने घर अलि पुरानो खालको थियो, जसको माथिको छ कोठामध्ये अगाडिको दुइटा कोठामा घरबेटीहरू बस्थे । म पछाडिको एउटा कोठामा बस्थेँ र माथिको ३ वटा कोठा खाली थियो । घरबेटीहरुको माथि नै भएपनि उनीहरुकोमा पुग्न बिचको गजवारवाला ढोका पार भएर जानु पर्ने भएको हुनाले घरबेटीहरू भएपनि म एक्लो जस्तै नै हुन्थेँ । Toilet-Bathroom सबै तल नै थियो। तलको तल्लामा क्याम्पस पढ्ने विद्यार्थीहरु बस्थे । त्यतिखेर गर्मीयाम थियो ।
त्यो दिन म केही काममा अल्झिएर बसेकोले गर्दा राति सुत्न अलि ढिलो भयो । सुत्नु भन्दा अगाडि हल्का हुनुपर्यो भनेर म त्यस्तै १०:३० तलतिर ओर्लें, त्यतिखेरसम्म सबैजना सुतिसक्नु पर्ने थियो तर गर्मीले गर्दा सुत्न सकिरहेका रहेनछन् । उमेश र उसको रुम पार्टनर राजेश आफ्नै कोठाभित्र गफिँदै थिए। म पनि सधैँझैँ उनीहरुको कोठातिर लागें । राजेश भर्खर गाउँबाट आएको हुनाले ऊसँग गफ गर्ने विषय धेरै नै थियो । ऊ भर्खरै गाऊँमा घटेको घटना बारे सविस्तार व्याख्या गर्दै थियो । उसको गाउँको साथीको भर्खरै गाउँ नजिकको दहमा डुबेर दु:खद निधन भएको रहेछ । ती युवकको शव निकालिएको विषयमा वर्णन गर्दै थियो । यसै प्रसङ्गमा कुरा हुँदाहुँदै गाउँमा देखिने गरेको भूतको कुरा हुन थाल्यो, जसलाई अधिकांश गाउँलेहरुले गोठमा, चौरमा, वनमा, खोला नजिकै वा बासँको झ्याङ्गमा देख्ने गर्थे । यो गफ मोडिदै बिस्तारै एक-अर्कालाई तर्साउने र रमाइलो मान्ने हिसाबले अगाडि बढ्न थाल्यो । गफै-गफमा उमेश र राजेश दुवैजना मिलेर मलाई तर्साउने हिसाबले कुरा गर्न थाले। दुवैजना मलाई भूत-प्रेतको कथा बनाउँदै सुनाउन पनि थाले, म यी सबैमा विश्वास नगर्ने भएकोले उनीहरु आफ्नो कुराहरु पुष्टि गर्न जोडतोडले लागिपरेका थिए । मलाई पनि यिनीहरुसँग मजाक गर्नुपर्यो भन्ने लाग्यो र मैले पनि तिनीहरुलाई तर्साउन नयाँ कथा बनाएर भनेँ जसअनुसार ऊनीहरु बसेको कोठामा एक असफल प्रेमी झुन्डिएर मरेको थियो । म उनीहरुभन्दा पहिलेदेखि नै त्यहाँ बसिरहेको हुनाले आफूसँग भएको अन्य जानकारीको प्रयोग गर्दै त्यस कुराको थप पुष्टि गरें । उनिहरुले सुरुमा त पत्याएका थिएनन् तर मैले हो कि हो भनेपछि उनीहरुले पनि विश्वास नगरी धरै भएन । यसरी उनीहरु पङ्गु बने भन्ने लागेपछि म माथि लागेँ र मस्तसँग सुतेँ ।
भोलिपल्ट बिहान अलि अबेला नै आँखा खुल्यो र नित्यक्रिया गर्न तलतिर लागेँ । तल त भद्रगोल नै भएको रहेछ । तलका सबैको अनुहार निन्याउरो देखिन्थ्यो, जसले उनीहरु राति राम्ररी नसुतेको कुराको पुष्टि गर्दथ्यो । म बाथरूमसम्म पुग्न भ्याएको थिइनँ; बाटैमा शेखर, जो बिचको कोठामा बस्थ्यो, ले हिजोको कुरा साँचो हो कि होइन भनेर सोध्यो। मैले कुन कुरा भनेर सोधेँ। उसले भूतको कुरा भनेर भन्यो अनि म छक्क परेँ । मैले उसलाई कसरी थाहा भयो भनेर सोध्दा उसले सम्पुर्ण कुरा भन्यो । हिजो म गइसकेपछि उमेश र राजेश बाहिर निस्केछन् र सबैलाई उठाएर मेरो कथालाई फुलबुट्टा भरेर सुनाउने काम चैँ राजेशले गरछ । त्यसले गर्दा अरुहरुपनि अबेरसम्म सुत्न सकेनछन् । यसरी एउटा कोठाभित्र गरेको मजाकले सारालाई सताएछ । त्यसले गर्दा अन्य कथाहरूपनि प्रकाशमा आयो । अरुहरुले पनि भूत भेटेको प्रमाण दिन थालेछन्, जसमा दिनेश, जो स्नातकको पढाई सकेर शिक्षण गरिरहेको थियो, ले सबैलाई उछिनेछ । उसले घरको पछाडिमा, गल्लीमा, धारामा समेत भूत भेटेको रहेछ । अरुहरूका पनि त्यस्तै खालका कुराहरु रहेछन् । त्यहाँ भएका मध्ये वैधनाथलाई सबभन्दा बढी असर परेछ । ऊ कक्षा १२ मा विज्ञान पढ्ने विद्यार्थी थियो । ऊ सबभन्दा पछाडिको कोठामा एक्लै बस्ने गर्थ्यो । तलका सवै जनालाई सुत्न जान डर लागेछ गफ गरेर १ बजेसम्म बसेछन् र त्यसपछिमात्र सुत्न गएछन् । वैधनाथको डरले गर्दा पेट दुखेछ । उसलाई रातभरी छेरपट्टी चलेछ । राति एक्लै सुत्न डर लागेर ऊ उमेशहरुको कोठामा सुतेछ । मलाई यि सारा कुराहरू सनेपछी सारै नै नराम्रो लाग्यो । अघिल्लो बेलुका यस्तो हुन्छ भन्ने लागेको भए अवश्य नै यस्तो कुरा गर्ने थिइन् । मेरो कारणले गर्दा त्यतिखेर सबैले दु:ख झेल्नुपर्यो । मैले यो मजाक हो भनेर भन्दा भन्दै पनि वैधनाथले त्यो घटना भएको १ हप्तापछि कोठा सर्यो । घरबेटीहरु यो घटना पछि मसँग रिसाएका थिए ,जसले मलाई झन् दु:खी बनाएको थियो ।
(Image source: Click here )

प्रियालाई चिठी

प्रियालाई चिठी

प्रिय छतिवन,

धेरै धेरै सम्झना,

तिमीलाई मैले छाडेको एक वर्ष तीन महिना भइसकेछ । यस बीचमा तिमीलाई एउटा चिठी पठाएको थिएँ । तिमीले पाएकी हुनुपर्छ । तर मैले जबाफ पाउन सकिनँ, दु:ख लागिरहेको छ। मेरा जीवनका ऊर्जाशील वर्षहरूमा तिम्रो र मेरो बीच फस्टाएको प्रेमले गर्दा नै तिम्रो पत्रको उत्तर नपाए तापनि पत्र कोर्ने धृष्टता गर्दै छु ।

प्रिय छतु !

तिमीलाई मैले आजभन्दा तेह्र वर्षअगाडि मात्र चिनेको हुँ । सुरुमा तिमलिाई चिन्न खोज्दा बिरानी जस्ती लाग्थ्यौ । म तिमीलाई पुलुक्क हेर्थेँ ,तिमी लजाउँदै ओझेल हुन्थ्यौ । तिमीसँग नजिक भइनसक्तै पनि तिमीले हरिदाइको होटलमा खुवाएको जेरी म अहिले पनि सम्झँदै छु ।

अँ, जेरी प्रसङ्गले एउटा घटनाको सम्झना भयो मलाई । त्यतिखेर म फापरबारीमा पढाउँथेँ । दशैँको बिदाताक होला, म आफ्नो विद्यालयको प्रअ मभधुसूदन शर्मा साहित्याचार्य, सहप्रकोष्ठी श्यामकृष्ण ढकाल र अन्य मित्रहरूसँग घर आउनका लागि हेटौँडा आउँदै थिएँ । आमाले जानकारी दिनुभएअनुसार त्यो दिन एकछाकी थियो । त्यही हुनाले म फापरबारीबाट केही नखाई हिँडेको थिएँ । फापरबारीबाट तिमीसम्म आइपुग्दाको चार कोसको छिटो हिँडाइले मलाई ज्यादै भोक लागिसकेको थियो । एकातिर मेरा स्वर्गीय पिताप्रतिको श्रद्धा र भक्तिले एकछाकीप्रति सतर्क थिएँ भने अर्कातिर पेट र खुट्टाले ज्यादै दु;ख दिन थालिसकेका थिए, वस्तुगत परिवेशसँग सम्झौता गर्नुपर्ने अवस्था आइसकेको थियो । भोको पेटमा यात्रामा ज्यादा थकाइ लाग्छ भन्ने कुरा यसपालि पनि मैले राम्ररी अनुभूति गर्न पाएको थिएँ । हो, त्यही अवसरमा मैले खाजाको भोक मारेको थिएँ । त्यतिखेर नै तिम्रो र मेरो सम्बन्ध प्रगाढ हुने छनक मैले पाइसकेको थिएँ । आखिर तिमीसँगको सान्निध्यले मलाई तिमीनेर तानेरै छाड्यो ।

तिमीसँगको बसाइ, उठाइ र हिँडाइका दस वर्षका एक-एक क्षणहरू मेरा लागि अति प्रिय छन्। तिनै क्षणहरू सम्झेर म तीता र पीडाजनक क्षणहरू बिर्सन खोज्छु ।

जीवनका पीडाका क्षणहरू बिर्सन कोही सुरामा भुल्दा हुन् कोही सुन्दरीमा, कोही कौडामा, अनि कोही तासमा । तर मलाई चित्लु र तिम्रा सम्झना पर्याप्त छन् । चित्लु मेरी प्रिया हुन् तर उनीसँगको संसर्ग अवधि कम हुनाले म तिमीसँगै बढी नजिकिएको छु; सायद तिमीसँग नै बढी रत्तिएको छु, रित्तिएको छु ।

हाम्रो भेट नभएको लामो समयका कारणले पनि मैले अलि लामो गनगन लेखेँ कि जस्तो लागिरहेको छ । अहिले मेरो स्मृतिमा तिमीसँगका एक-एक क्षणहरू तँछाड-मछाड गर्दै आइरहेका छन् ।तिनलाई संयोजन गर्न मलाई अप्ठ्यारो-अप्ठ्यारो भइरहेको छ । सायद भावनात्मक क्षणहरू यस्तै हुँदा हुन् ।

छतु !

तिमीसँगै बस्न आइपुग्दा त मैले तिमीलाई थोरै र निकै थोरै मात्र चिनेको थिएँ ।कसैले भन्थे त्यो राम्री छे, कोही भन्थे देख्नमा मात्र राम्री छे । यस्तै यस्तै प्रतिक्रियाहरूबिच तिम्रो र मेरो सामीप्य बढेपछि म आफैँले चिन्न थालेँ र साँच्चै चिनेँ । साँच्चिकै भन्नुपर्दा तिमी सुन्दरी हौ भनेर त म पनि भन्दिनँ । तिम्रो बाह्यपन एकथरी छ र आन्तरिकपन अर्को थरी । तिम्रो सङ्गतै नगरी चिन्न खोज्नेहरूले तिमीलाई आफ्नै ढंगले चिन्दा हुन् र तिमीमै समाहित हुनेहरूले भिन्दै ढङ्गले चिन्दा हुन् । म चाहिँ तिमीमै समाहित हुनाले थोरै भए पनि राम्ररी चिन्न पाएको छु ।

अँ, म तिमीसँग लामो सहवासका लागि आउन खोज्दा तिमीसँग मलाई भेट्न दिने-नदिने विषयमा लामो बहस भएको थियो रे । म तिम्रा लागि योग्य छैन भनेर कतिपयले भने भनेर केदार दाइले मलाई सुनाउनुभएको थियो । पछि तिम्रो र मेरो भेट भइसकेपछि कसले छेक्न सक्नु मेरो र तिम्रो सम्बन्धलाई, कसले थुनेर सक्नु तिम्रो र मेरो पिरतीलाई । पिरती आफैँ हुँदोरहेछ, हैन त छतु !

तिम्रो र मेरो सान्निध्यमा रिस गर्नेहरू मात्र थिएनन्, रमाउनेहरू पनि थिए र त म र तिमी त्यसरी एकाकार भएका थियौँ ।तिमीसँगको भेटपछि उद्धव सर, जनार्दन सर, परशुराम सर अनि बेलप्रसाद दाइहरूले हाम्रो मिलनलाई कत्ति सघाउनु भएको हगि !

तिम्रो उर्वरता पो प्रशंसनीय लाग्यो । तिमीलाई सिँचन गर्ने झरना ! तिमीलाई उर्वरशील बनाउने झरना ! तिम्रो उर्वरताको पारख गर्ने झरना ! हो, त्यही झरनामा नुहाउँदा कत्ति आनन्द लाग्थ्यो हामीलाई । चैत-बैशाखको खडेरीमा झरना पातलिँदा कति साथी अधीर भएर हिँडे । कति साथी झरनामै नुहाएर पनि नित्य नित्य नुहाइरहन सकेनन् । हामीले त नुहाइरह्यौं नुहाइरह्यौं हैन त !

आहा ! झरनाको पानी कति कति पोसिलो ! झरनामा नुहाएर, नुहाएको निहुँमा कतिपय अनमोलहरू मणि बने, कतिपय चिरञ्जीवीहरू चकोर बने, कतिपय लीलाहरू शिरीष बने अनि जनक, मीन, अमृत, सुवास, दीपक, राजन, कुमार, देवकी, मुना, वासुदेव, नारायणहरू तृप्त भए । हो, यही तृप्ति आनन्द हो र जीवन पनि ।

हाम्रो निकटता पाएर पनि जसले झरनाको पानी पिएनन्, पिउँदै पिएनन्, तिनलाई के थाहा ! आनन्दको क्षण कस्तो हुन्छ, पीडा व्यक्तिन पाउँदा पीडाको खिल कसरी उक्किएर जाँदोरहेछ ! हो, तिनले त जीवनलाई राम्ररी बुझ्न सकेनन् ।

प्रिय, मैले यहाँ आएर पनि उद्यानका कोपिलाहरू फस्टाउन खोजेको देखिरहेको छु, लक्ष्मीहरूले विवशताहरूलाई कुल्चेर पनि झरनामा नुहाइरहेको, भावना, सिर्जना, कुन्साङ, सोमनाथ र मसानहरू झरनाबाट तृप्त, परितृप्त भएको देखिरहेको छु ।

छतु ! तिमीसँगका मेरा हर पलहरू मेरो शरीरका, मनका हरेक कणकणमा भिजेका छन् र ती मेरा जीवनका महत्त्वपूर्ण अंशियारसमेत बनेका छन् ।

म यस्तो शुष्क भूमिमा आइपुगेको छु, जहाँ निस्वार्थता भन्दा स्वार्थताको, सेवाभन्दा जागिरे प्रवृत्तिको र संवेदनाभन्दा कठोरताको हैकम छ । जब मलाई यी कुराहरूले चिमोट्न थाल्दछन्, अनि शिवजीको जटाबाट निस्केकी गङ्गाझैं तिमीबाट नि:सृत झरनालाई स्मरण र कल्पनाको संयोजनद्वारा आव्हान गरेर परितृप्त हुन्छु ।

प्रिय ! भावनाको अन्त हुँदैन भन्छन् मान्छेहरू । म पनि भावनामै बगिरहेको रहेछु । अब पत्र बन्द गरूँ है !

छिट्टै भेट्ने वाचाका साथ ।

तिम्रो उही आफ्नो मान्छे

रमेशमोहन अधिकारी

आमा

आमाभन्ने शब्द गजबको रहेछ । आमा जिउँदो हुदा पनि आमा भएको सन्तान हुनुको गर्व हुदो रहेछ । आमाको अभावमा त झन् आमाको महत्व बढ्ने रहेछ । आमाको मृत्युपश्चात् आमालाई प्रत्यक्ष रुपमा देख्न नपाए पनि आमाशब्दको उच्चारण मात्रले पनि शान्ति मिल्दो रहेछ ।
आमाशब्द त भगवान्भन्दा ठूलो र महत्वपूर्ण रहेछ । भगवान् अदृश्य हुन्छन्, मान्छेले कहिल्यै देख्तैनन् ,मानिआएका मात्र हुन्छन् ।आमा त जिउदो हुदाका दृश्य र मरेपछि अदृश्य भगवान् हुदा रहेछन् । त्यसैले भगवानको अप्रत्यक्ष आशीर्वादभन्दा आमाको काख नै लाख हुँदो रहेछ र आमाको मृत्युपश्चात् समेत आमाशब्द प्यारो, आदरणीय र पूज्य भइरहदो रहेछ ।
आज २०६४ साल वैशाख २३ गते आइतवार अर्थात् आमालाई कहिल्यै भेट्न नपाउने गरी देख्न नपाएको एकतीसौ दिन । आमालाई सम्झिरहेको छु , धेरै सम्झिरहेको छु । आमाको अभाव खट्किरहेको छ । आमाविनाको जीवन बाच्नु छ अब । आमालाई बोलाउन नपाई बाच्नु छ अब ।
आमासग बितेका प्रत्येक पल सम्झनामा छन् र ती अझ प्रगाढ बनेर झकझक्याइरहेछन् मलाई । ती प्रत्येक पलहरु आमाको महत्व दर्साउन उपस्थित हुन खोजिरहेछन् मेरा सामु । तिनलाई तछाडमछाड गर्न नदिन खोज्दै छु म ।
amma0

घरमा कान्छो सन्तान भएर जन्मेको थिए म । कान्छो हुनाले आमाको निकटता बढी पाए मैले । आमाको माया चाहि अरु दाजुभाइभन्दा बढी पाए कि पाइन भन्न हम्मे परिरहेको छ मलाई । मलाई लाग्छ कसैको पनि जेठो सन्तानले नै बढी माया पाउछ । पछि जन्मनेहरुले पनि माया त पाइ नै हाल्छन् । जति सन्तान जन्मन्छन् , त्यति नै सन्तानमा आमाबाबुको माया विभाजित हुदोरहेछ र पनि प्रत्येक सन्तानले पाउने माया पूर्ण नै हुँदो रहेछ । यसो हुदाहुदै पनि एक ठाउमा चाहि हिसाब नमिल्ने देख्छु म । जेठाहरुले कान्छाहरु जन्मनु अघि जति माया पाउछन् त्यति त उनीहरुको पेवा नै हुन्छ । कान्छाहरु नजन्मिदासम्म उनीहरुका दाजुदिदीले पाउने माया त बढीको बढी नै हुदो रहेछ । त्यसैले जेठो बाबुको, कान्छो आमाको, साइलो माइलो आनामानीभन्ने उखान कताकति नमिल्दो जस्तो लाग्ने रहेछ ।
जे होस् ,म कान्छो थिए त्यसैले मैले थाहा पाउने हुदासम्म म आमाको दूध चुस्थेँ । मैले चार वर्षको हुँदासम्म आमाको दूध चुसे रे । एक दिन अलिअलि जानेरै आमाको थुन टोकिदिएछु । आमा रन्थनिएर साह्रो हप्काउनुभयो । मैले आमासग गिज्जिदागिज्जिदै त्यस्तो बदमासी गरेको थिए ,पीडा दिने उद्देश्यले होइन । आमा मर्माहत भएको देखेर म पनि आत्तिए अबदेखि यस्तो कहिल्यै गर्दिन’  भनेर माफी मागे
हाम्रो पुर्ख्यौली रामेछाप जिल्लाको कठजोर भए पनि हजुरबुवा तराई झर्नु भएकोले बुवा पर्सा जिल्लाको खेस्राहामा जन्मनुभएको थियो । हाम्रो पुरानो घर त्यही थियो । म सानै छदा आमासग खेस्राहा जादाको प्रसङ्ग पनि अहिले म झल्झली सम्झदै छु । तीन वर्षजतिको हुदो हु । मेरो जन्मघर रौतहटको विश्रामपुरबाट खेस्राहा पुग्न सदरमुकाम गौरसम्म गडी (गोरुगाडा) र गौरको सीमावर्ती बैरगनियादेखि खेस्राहाको सीमावर्ती सिक्टासम्म रेलयात्रा गर्नुपथ्र्यो । रेलको पहिलो यात्रा , त्यो पनि तीन वर्षकै छदा रेल आफ्नै गतिमा गुड्दै गर्दा मैले रुखहरु कुदेको ठानेछु । अनि मैले आमालाई सोधेछु आमा रुख पनि कुद्छ ?’ मेरो जिज्ञासा सुनेर आमालाई हासो उठ्यो होला.। तर जिज्ञासा मेटिने जबाफ दिनुभयो रेल अगाडि गुड्दा पछाडिएका रुखहरु कुदेजस्ता  देखिएका मात्र हुन्, रुखहरु कहिल्यै कुद्दैनन् ।
, यो पनि तीन वर्षकै हुदाको कुरो हो । आमालाई ठूलो मामाको घर जानुपर्ने रहेछ । उहाको घर एक किलोमिटर जति पर थियो । म आमालाई पिर्दै रहेछु । आमालाई झिझ्याहट लागेछ क्यारे आमाले भन्नुभयो म तेरी आमा होइन, तेरी आमा त माइत गाछे । ऊ आउने बेला भयो । त चादी खोलाको बगरमा गएर हेरिराख् , ऊ आइरहेकी हुनेछे । ऊ आएर तलाई खाजा पनि दिनेछे ।आमाले मेरो आखा छल्नु रहेछ । मैले ख्याल गर्न नभ्याउने बाटाबाट जानुभएछ । नभन्दै आमा केही बेरपछि बगरबाटै आउनुभयो र खाजा पनि दिनुभयो । कुराले एकछिन छक्किए पनि मेरा आखाहरुले भने धोका खाएका थिएनन् । मलाई म तेरी आमा होइन भन्ने र मेरी आमा बनेर खाजा दिने महिला उही हुनुहुन्थ्यो र मेरी आमा नै हुनुहुन्थ्यो ।
कतिपय आमाहरु आदर्शतामा मात्र संस्कार सिकाउछन् । व्यवहारले संस्कार सिकाउने आमाहरु नै आदर्श र महान् हुन्छन् । मेरी आमा व्यवहारतः संस्कार सिकाउनुहुन्थ्यो र सिकाइरहनुहुन्थ्यो । आमालाई धेरैथरी मिठाई पकाउन आउथ्यो । तराईमा पकाइने गोजी, खजुरी, बुनिया, रसवरी, लालमोहन, जेरी, सातपत्रे आदि ।
सातपत्रे मिठाई पकाउने अर्को व्यक्ति न म जन्मेको गाउ विश्रामपुरमा थियो, न म हुर्केबढेको चन्द्रनिगाहपुरमा नै । विश्रामपुर छदैको कुरो हो यो । मिठाई पकाउन जान्ने हुनाले आमाले धेरै दुःख पनि पाउनुपर्थ्यो। गाउमा हुनेखाने वा आफन्तहरुकहा मिठाई पकाउनुपर्दा आमाले जानैपथ्र्यो । गाउमै पढ्दै रहेका म र सान्दाजु स्कुलबाट घरमा आइपुग्दा कहिलेकाही आमालाई भेट्टाउदैनथ्यौ । यसै पनि बच्चाहरु जहाकहीबाट आइपुग्नासाथ आमालाई खोज्छन् । त्यसमाथि विद्यालयबाट घर आउनासाथ घरमा ताल्चा लागेको देख्ता र आमालाई नभेट्ता खोज्नु स्वाभाविक नै हुन्छ । त्यसैले हामी पनि कुनै सुराकले आमालाई फेला पारी छाड्थ्यौ ।आमा अरु कसैकहा मिठाई पकाइरहनुभएको भेटिनुहुन्थ्यो । हामीलाई देख्नासाथ साचोको झुत्ता दिनुहुन्थ्यो र मूक भाषामा झट्टै घरतिर लागिहाल्ने आदेश दिनुहुन्थ्यो । आमासग एकछिन बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अलि भित्रबाट अर्को लोभ पनि थियो होला, अलिबेर अल्मलिन पाए पकवानमध्येबाट थोरै भए पनि रसास्वादन गर्ने । हाम्रो यो अभीप्सालाई आमाले पनि राम्ररी बुझ्नुहुन्थ्यो । भित्र कतै कुनामा होस् न तभन्ने पनि हुन सक्थ्यो । तर अह , त्यो भाव प्रकट हुन दिनुहुन्थेन आमाले । हाम्रो लोभले आमाको स्वाभिमानमा असर पर्न सक्थ्यो । आफ्नो सीप पोखेर गाउलेहरुलाई सघाउने उहाको सदासयता लोभमा अनुवाद हुन सक्थ्यो र धेरै गुमाएर उहाले प्राप्त गर्नुभएको प्रतिष्ठा हाम्रो कारणले खस्कन सक्थ्यो । यस प्रकरणमा उहा निकै सचेत र सतर्क हुनुहुन्थ्यो । त्यसैले उहाले आखा तरेर हप्काउन लागेको थाहा पाएपछि हामी लोइरे कान लाएर हिडिहाल्थ्यौ
हामी चन्द्रनिगाहपुर आइसकेपछिको कुरो हो । म दस वर्ष जतिको थिए ुँला, आमालाई हेटौडा जाने काम आइपर्यो । त्यसैताका म पहिलोपल्ट वीरगन्ज गएको थिए । हेटौडाको नाम त्यति सुनेको थिइन । मैले आमालाई म पनि जान्छुभने । आमाले पढ्ने मान्छेले धेरै डुल्ने होइनभन्नुभयो तर म सहमत हुन सकिन । आमा बसमा चढेर हेटौडातिर लाग्नुभयो । म पनि बसको पछिपछि दौडन थाले । बस त आफ्नो गतिमा हुइकिहाल्यो । म पनि बसलाई पछ्याउदै सात किलोमिटर परको लमाहासम्म पुगे । बस के भेटिनु,  म लमाहासम्म पुग्दा बस हेटौडा पुगिसकेको थियो होला । बल्ल पो मेरो होस खुल्यो । आफ्नो मुर्ख्याइप्रति पश्चात्ताप गर्दै कुदेर थाकेका गोडाहरुले लोफ्र्याकलोफ्र्याक गर्दै घर आइपुगे । आफ्नो पीडा सान्दाजुलाई सुनाए । त्यसको एकदुई दिनपछि आमा आइपुग्नुभयो । आमाले मलाई छाडेर जानुभएको पहिलोपल्ट थियो क्यारे आमाको अभावमा म निकै न्यास्रिएको थिए । आमा आइपुग्नासाथ आमाको फरिया समातेर म धेरैबेर रोए । आमा पनि झन्डै रुनुभयो ।
आमाको जीवनमा उहाको चित्त दुखाउने कुनै काम नगरे पनि आफूसक्तो हेरविचार र सेवा गरे तापनि अहिले लागिरहेको छ आमालाई अझ खुसी राख्न सकिन्थ्यो, अझ सुखी राख्न सकिन्थ्यो ।
आमाहरु आफू खाएरनखाएर, लाएरनलाएर आफ्ना सन्तानहरुको पालनपोषण गर्छन् । छोराछोरीको खुसीका लागि आफूलाई पनि त्याग्न सक्छन् । आमाहरुको यस्तो महान्ताको गुन तिर्न कुनै पनि सन्तान सक्षम हुँदैनन्, मैले पनि सकिन
मैले मेरी आमाले जस्तै माया गर्ने केही आमाहरु मेरो जीवनमा भेट्टाएको छ्रु । चन्द्रनिगाहपुरकी तिमल्सिना आमा, हिमालीबासका भुजेल र पोख्र्रेल आमाहरु, भलुवाइ खोरकी मैनाली आमा, छतिवनकी दाहाल आमा र मेरी सासूआमा । उहाहरुले कुनै खास समयमा र भेट्ताका समयमा ठूलो गुन लाउनुभएको छ । उहाहरुको सदासयता र उदारताप्रति म नतमस्तक छु ।  म छोरा बन्न सके  भने अब बाकी जीवनमा पनि माया गर्ने आमाहरु अवश्य भेट्नेछु । तर मलाई जन्म दिने, स्याहारसुसार गर्ने, हुर्काउने ,बढाउने, संस्कार दिने र ४५ वर्षको बनाएर कहिल्यै नफर्कने बाटो लाग्ने मेरी आमा सावित्रीदेवीलाई म कहिल्यै पाउन्न , कहिल्यै पाउन्न

     

Related Posts with Thumbnails