रेलमा रमाउँदै

मानिसका चासाहरू विविध विषयहरूमा हुने गर्दछन् । आफूले चासो राखेका विषयहरूमा मानिसले अभिरुचिपूर्वक अध्ययन गर्न खोज्दछन् र जान्दछन् पनि । मेरा पनि चासा र जिज्ञासाहरू विविध क्षेत्रमा छन् । तीमध्ये एउटा क्षेत्र हो आध्यात्म ।
जानेर वा नजानेर तिनै कक्षादेखि आध्यात्मिक अध्ययन गरे पनि अध्ययनको जिज्ञासा भने चालिस वर्ष नाघेपछि मात्र पलाएको छ । जिज्ञासा पलाएकै बेला अवसर मिल्दा वातावरण झन् अनुकूल भइदिएको छ ।
मेरो गृहनगर चन्द्रनिगाहपुरमा गीता पाठशाला छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित यो मेरो छिमेकमै छ अचेल ।
मेरो माइल्दाजु र भाउजू त यससँग नजिकिएको दुई तिन वर्ष भइसक्यो । म भने भर्खर मात्र त्यसको चेष्टा गर्दै छु ।
म आध्यात्मिक व्यक्तिहरूको पछि लागेर पनि हिँडिनँ, उनीहरूसँग तर्केर पनि हिँडिनँ । यसो हुनाले सानैदेखि घर र सामाजिक वातावरणका प्रभावले ममा आध्यात्मिक रुचि एक किसिमले थियो र झन् बढ्यो । गीता
पाठशालासँगको यही निकटताले नै मलाई आध्यात्मबारे केही बुझ्न, जान्न सघाएको छ । यसको मोहनीले तानिएर म कैले गीता पाठशालामा पुग्छु त कहिले वीरगन्जस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको उपशाखामा । यसै सिलसिलामा प्रस्ताव आउँछ माउन्ट आबु जाने । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय जाने प्रस्ताव म कसरी नकारूँ । त्यहाँ गएर केही जान्ने बुझ्ने उत्कण्ठालाई किन मारूँ ? आध्यात्मिक मनीषीहरूको अध्ययन र अनुभव सुन्नबाट किन वञ्चित होऊँ ? यात्राको रमाइलो अनुभूति किन नगरूँ ?
प्रस्तावलाई मैले स्विकारेँ । छ महिनाअघि दिइराखेको रु. २०००।— र दुई महिनाअगाडि दिएको रु.२४००।— रेलको शयन यान रिजर्भ भयो र माउन्ट आबु जाने बाटो पनि खुल्यो ।
जानु थियो २०६३ साल असार ११ गते रक्सौलबाट । म भने १० गते नै वीरगन्ज पुगेँ । मलाई वीरगन्जस्थित आश्रमको वस्तुस्थिति पनि बुझ्न मन लागिरहेको थियो । बाहिर बाहिरबाट हेरेर वा सुनेरभन्दा भित्र पस्ता नै अलि बढी कुरो थाहा हुन्थ्यो । म आश्रममा बेलुका ६ः४५ तिर पुगेँ । दाजुको क्वाटर परवानीपुरमै छाडेँ, वीरगन्जका आफन्तहरूकहाँ जान मन लागिरहेको थिएन । ढिलो भइसकेकाले आश्रममा वास पाइने वा नपाइने केही आभाससम्म थिएन । आश्रम परिसरमा पस्नासाथ अन्योल हट्यो । पिङ खेल्दै गरेकी रञ्जु बहिनीलाई देखेपछि कुरै सकियो । रञ्जु बहिनी चन्द्रनिगाहपुरस्थित गीता पाठशालाकी सञ्चालिका त हुँदै हुन्, माउन्ट आबु जान पटक पटक प्रेरणा दिने पनि उनै हुन् ।
आश्रमद्वारमै गुणराज भाइ, निर्मला र रञ्जु बहिनीहरूले फूलका गुच्छाहरू दिएर स्वागत गरे ।
पुष्पगुच्छाद्वारा आगन्तुकलाई गरिने यस्तो स्वागतको मौका मैले यसअघि दुईपटक मात्र पाएको छु । छतिवनको मुक्तानस्वाँरामा सञ्चारकर्मीका रूपमा र वीरेन्द्र मध्यक्षेत्रीय प्रहरी आवासीय मावि बिर्तामा साहित्यकारका रूपमा । यस सन्दर्भमा २०६० सालतिरको मुक्तानस्वाँरा छतिवनको कार्यक्रम मेरा लागि पहिलो त छँदै थियो, नौलो पनि लागेको थियो । त्यहाँ ब्रह्माठाकुर वन उपभोक्ता समितिको साधारण भेला हुँदै थियो । त्यस भेलाको खुला सत्रका लागि हामीलाई त्यस समितिका तत्कालीन अध्यक्ष जितबहादुर स्याङ्बोले आमन्त्रण गर्नुभएको थियो । मूलतः तामाङ जातिको बस्ती हो यो । हामी पुगेको लगत्तै जसो कार्यक्रम सुरु भयो । हामी पनि मञ्चमा बोलाइयौँ । मञ्चमा बस्नासाथ तामाङ महिलाहरूले सारै विनम्र रूपमा लाली गुराँसका थुङ्गा हाम्रा हात हातमा थमाउनुभयो । तामाङ जातिको पाहुनालाई गर्ने सम्मान र खाना खाने बेलामा सबैलाई ल्हासो गरेर मात्र आफूले खाना खान थाल्ने संस्कार मलाई सारै मन पर्छ । यस्तै संस्कारहरूले नै हाम्रो संस्कृतिलाई समष्टिमा समुन्नत तुल्याएका छन् । अँ, वीरेन्द्र मध्यक्षेत्रीय प्रहरी आवासीय मावि बिर्तामा चाहिँ हामी रौतहटे साहित्यकारलाई डाकिएको थियो । प्रहरी विद्यालयको कार्यक्रम हुनाले हार्दिक त छँदै थियो साथै औपचारिक पनि ।
अरू बेला अरू साथीहरू पनि थिए भने यहाँ एक्लो, नितान्त एक्लो ।
आश्रमभित्रको वातावरण बेग्लै रहेछ । प्रायः श्वेत वस्त्रधारी आमा, बहिनी र भाइहरू । आश्रममा बस्नेको स्वागत पनि गरिने र निगरानी पनि राखिने । बाबाका सबै उस्तै भक्त, श्वेत वस्त्रधारी, सबै ब्रह्मचारी । स्वागत स्थान, ध्यान कोठा, बाबाको कोठा, शयन कक्ष, भान्सा घर, भोजन कक्ष सबै अलग अलग छन्, सबै सफा र व्यवस्थित । श्रमिक स्तरका मान्छे नराखिएका र सबै काम आपूmले नै गर्ने हुनाले आफूले खाना खाएका भाँडा आफैले माझ्नुपर्ने । स्वावलम्बनको एउटा दरो पाठ जस्तो पनि लाग्यो । सुत्नुअघि सम्म हाफ लुगाहरू लाउन नपाइने । आश्रममा ब्रह्मकुमार दाजुभाइहरू र ब्रह्मकुमारी आमा र बहिनीहरू बस्नुपर्ने हुनाले नियमको यो कठोरता ठिकै लाग्यो ।
११ गते बिहान नित्यक्रिया सक्नासाथ जनकपुर र चन्द्रनिगाहपुरको टोली आइपुग्यो । म चन्द्रनिगाहपुरकै टिमको भए तापनि कारणवश अलग अलग जस्तो भइरहेको थिएँ । मेरो गाउँको टोलीमा को को छन् भन्ने समेत मलाई थाहा थिएन । मैले तिन चार जनाको नाम मात्र सुनेको थिएँ, सबैलाई राम्ररी चिनेको पनि थिइनँ । रेलमा चढेपछि मात्र मेरो ठाउँका साथीहरू एकातर्पm पर्दा टोलीका सबैलाई चिन्न पाएँ । आधाजसो साथीहरू अपरिचित रहेछन् ।
रेलमा चढिसकेपछि त्यहीँभित्रको व्यवस्था हेर्दै बुझ्दै जाँदा रेलमा तिन किसिमको व्यवस्था भएको थाहा भयो । एउटै रेलमा स्वर्ग, नर्क र मिश्रित अवस्था छ । रेल एउटै तर डिब्बाहरू फरक, सँगसँगैको यात्रा तर भोगाइ फरक ।
पैसावाला र हुनेखानेहरू वातानुकूलित डिब्बाहरूमा चढ्दा रहेछन् । शयन कक्षमा चाहिँ परस्पर सम्मुख तिन तिन सिटहरू हुँदा रहेछन् साइडमा दुइटा सिट । बस्न मन लागुन्जेल तल्लो सिटमा तितिन जना बस्यो, सुत्न मन लागेपछि आआफ्नो भाग परेको सिटमा सुत्यो, तल्लो, बिचको वा माथिल्लोमा । प्रायः ८÷९ बजे मात्र आआफ्ना सिटमा सुत्न खोज्दा रहेछन् मान्छेहरू । सुत्ने सिटहरू पनि आरामदायी हुन्छन्; पढ्न, लेख्न, पल्टन वा मस्त निदाउन सकिन्छ । खास गरी वातानुकूलित र शयन यानका लागि पहिले नै सिट रिजर्भ गरिँदो रहेछ ।
रक्सौलबाट दिल्लीसम्म एउटै रेलमा जाँदा सुविस्ता हुने भए तापनि नरकटियागन्जमा हामीले रेल बदलिनुपर्ने भयो । गुणराज भाइले भनेअनुसार सत्याग्रहभन्दा सप्तक्रान्ति सुपर फास्ट एक्सप्रेस अलि छिटो र सुविधाजनक भएकाले बदलिनुपरेको हो । नरकटियागन्जमा मुजफ्फरपुरबाट आउने अर्काे रेल समात्न २÷३ घन्टा नै बसियो । साथीहरूले बनिबनाउ खाजाका पोकाहरू खोले, केरा आयो, खाइयो । यस स्टेसनमा प्रतीक्षा कक्ष सानो तर व्यवस्थित देखिए पनि फोहर फाल्ने ठाउँको व्यवस्थापन हुन चाहिँ बाँकी रहेछ ।
सप्तक्रान्ति आइसकेपछि हामी रेलमा चढ्यौँ । यो रेल साँच्चै छिटो लाग्यो । केही सुविधाहरू पनि रहेछन् सत्याग्रहभन्दा । अगिल्लो रेलभन्दा यसमा अलि बढी घुइँचो लाग्यो । सिट दुई महिनाअघि नै बुक गरिेएको भए तापनि यात्रीहरू घचेटाघचेट गर्दै आउँदा रहेछन् । रिजर्भ सिटको स्वत्व बचाउन पनि गारो, सुबिस्ताले गन्तव्यमा पुग्न पनि गारो । दुई जनाको सिटमा पाँच जना पनि बसेका छन् । राति आइमाई मान्छेहरू सुतेका ठाउँमा अपरिचित लोग्नेमान्छेहरू टन्नै सुतेका पनि छन् । अपरिचित लोग्नेमान्छेका गोडा आफ्नो शरीरमा लाग्दा पनि सहेरै बसेका छन् आइमाई मान्छे । आफन्तको हरिबिजोग देखेर पनि ‘लाचारीका नाम महात्मा गान्धी’ मनन गरिरहेका छन् तिनका श्रीमान् र छोराहरू ।
 शयन कक्षको सिट नहुनाले र रिजर्भ नगरेका हुनाले यस्तो दुर्दशा भोग्न विवश छन् यात्रीहरू ।
दिल्लीबाट हामीले रेल बदलिनु थियो । दिल्लीबाट जयपुर हुँदै हाम्रो रेल आबु रोडसम्म पुग्नु थियो । यसका लागि हामीले दिल्ली पुगेपछि केही क्षण पर्खनु थियो । त्यसैले हामीे प्रतीक्षालयमा पस्यौँ । प्रतीक्षा कक्षहरू पनि रेलका फरक फरक प्रकारका डिब्बाहरू जस्तै थिए । वातानुकूलित कक्ष, शयन कक्ष र साधारण कक्षहरूका लागि फरक फरक थिए र तिनमा सुविधाहरू पनि फरक फरक नै थिए । हाम्रा अगुवाहरू बुझेर वा नबुझेर साधारण विश्राम कक्षतिर छिरे । मैले साथीहरूलाई यथार्थता बताए पनि साथीहरूले कक्ष फेर्न चाहेनन् । मैले पनि ‘जसो जसो बाहुन बाजे उसै उसै स्वाहा’ गर्नुप¥यो ।
दिल्ली जस्तो ठाउँको प्लेट फर्ममा पनि नित्य कर्म गर्न सास्ती । एउटा विश्राम कक्षका लागि दुई प्रसाधन र दुई स्नान कक्षहरू मात्र छन् । पालो पर्खनको गाराले कतिपय त दुई अपरिचत सँगै छिरेर नुहाए पनि । यात्रामा एउटा कुरा चाहिँ गज्जब हुँदो रहेछ । अपरिचित भए पनि परिचित जस्तो लाग्दो रहेछ । उस्तै खालको समस्या बेहोर्नुपर्ने हुनाले नचिनेर पनि आफ्नो जस्तो लाग्दो रहेछ ।
नित्य कर्मपछि खाना खान गयौँ प्लेटफर्मस्थित कसमस होटलमा । वातानुकूलित यो होटल आफैँमा स्तरीय त छँदै थियो, नेपाली अनुहार नै त्यहाँ कामदारका रूपमा पाउँदा खुसी पनि लाग्यो । खानामा भारतीय ६०।– रुपियाँ परे पनि बढी जस्तो लागेन ।
खानापछि एकछिन गफगाफ गरेर ३ः१५ का लागि दुई बजे नै छाड्यौँ विश्राम कक्ष अनि चढ्यौँ दिल्ली—अहमदाबादको रेल । यो रेल आबुरोडसम्म जाने रहेछ । दिल्लीदेखिको यात्रा रक्सौल—दिल्लीजस्तो भिडभाडयुक्त, खिचोलापूर्ण लागेन । सिट नपाएकाहरू जबर्जस्ती गर्दैनथे । बस्न मन लाग्दा पनि आफ्नो यथार्थता बताउँथे । अनुमति माग्थे र मात्र बस्थे । ती प्रायः शिक्षित र शिष्ट पनि थिए ।
दिल्लीदेखि यता होस् वा उता उर्वर जमिनहरू बाँझा छैनन् । ती हरिया छन् धानका बोटले, मकै र जुनेलाहरूले । अझ दिल्लीदेखि जयपुरबिचका स्थलहरू त रमाइला पनि लाग्छन् । त्यहाँ ऊँटले गाडा तान्छन्, हलो जोत्छन् । सिँचाइका सुविधाले परिपूर्ण छन् उर्वर फाँटहरू । स्प्रिङ्कल मेथडबाट सिँचाइ गरिन्छ यहाँ । यस तरिकाले सिँचाइ गर्दा कमै पानीले धेरै जमिनमा सिँचाइ गर्न सकिँदो रहेछ । पानीको प्रेस, स्प्रिङ र प्वालको संयोजनले एउटै पाइपबाट बगिरहेको पानीलाई बढीभन्दा बढी उपफोहराहरूमा विभाजन गर्न सकिने रहेछ । पानीको अधिकतम सदुपयोग गर्दैै बढीभन्दा बढी जग्गामा सिँचाइ गर्न सकिने रहेछ ।
नेपालमा र खास काठमाडौँमा हामी आकाशे पुलहरू देख्छौँ तर भारतका दिल्लीलगायत कतिपय ठाउँहरूमा आकाशे जस्ता लाग्ने सडकहरू पनि छन् । सिमेन्टका खम्बाहरूमा अड्याएर राजमार्गहरू बनाइएका छन् । यातायातलाई सहज बनाउन नै यसो गरिएको हुनुपर्छ । हामी चढेको रेल कतिपय ठाउँमा यस्ता आकाशे सडकमुनिबाट गुडे जस्तो पनि लाग्छ हामीलाई । यहाँ अग्ला बनाइएका सडकहरू माटो भरेर मात्र होइन, पर्खाल ठड्याएरसमेत अग्ला पारिएका हुन् ।
बाटामा ठाउँ ठाउँमा पहाड जस्ता अग्ला अग्ला ढिस्काहरू देखिन्छन् । खेरथल नजिकका यस्ता ढिस्काहरू सुक्खा र उजाड लाग्छन् । पूर्ण सुक्खा र उजाड चाहिँ रहेनछन् यी । नेपालका जस्ता हरिया वन जङ्गल नदेखिए पनि यहाँका यस्ता ढिस्काहरूमा साना जातका वनस्पति उम्रे जस्ता वा लगाइए जस्ता लाग्दछन् ।
रेलमा भेटिएका विद्वान देखिने एक जना यात्री विनोदकुमार मीणाका अनुसार राजस्थानमा अधिकांश राजपुत छन् र त्यसपछि मीणा, गरासिया, भिल र मारवाडीहरू ।
     बाटाका रमाइलाहरू हेर्दै जाँदा बाटैमा साँझ प¥यो अनि देखिन छाडे बस्तीहरू । गुड्दै गुड्दै रेल जयपुर स्टेसनमा अडियो आधा घन्टा जति । रेलमा भन्दा प्लेटफार्ममा खाना सस्तो हुने हुनाले जयपुर ओर्लनुको फाइदा उठाए कति साथीले । रेलमा रु. ५०।— जति पर्ने खाना प्लेटफार्ममा त नेपाली रु. १६।— मै पाइने रहेछ । कति फरक रहेछ रेलभित्रको र बाहिरको संसार । रेलमा कतिपय कुराहरूमा सीमिततामा अभ्यस्त हुनु परे पनि यतिसारो फरक नपर्नु पर्ने हो । तर फरक छ । यथार्थता यही हो र बाध्यता छ यात्रीहरूका लागि । कुनै भाते यात्रीले नेपाली रुपिया १००।— तिरेर पनि सन्तुष्ट हुन सक्तैन रेलको खानामा ।
जयपुरपछि आँखा चिम्लँदै उघार्दै गर्दा आइपुग्यो आबुरोड । आबुरोड नै हाम्रो यस यात्राको अन्तिम रेल बिसाउनी थियो । त्यहाँ ओल्यौँ हामी १३ जना, जनकपुरका २३ जना, विराटनगरका ४५ जना, पोखरा अनि भारतका विभिन्न स्थानका कति कति ?
रेल बिसाउनीबाट शान्तिवनसम्मका लागि शान्तिवनकै गाडीहरू आए धमाधम । कोही शान्तिवनका कार्यक्रमहरू सकेर फर्किँदै थिए । हामी भने भर्खर आइपुग्दै थियौँ शान्तिवन  । 


No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails