विद्या भण्डारी ‘चिराग’ र उनका बाल कविताहरू

वि.सं.२०२३ मा काठमाडौँमा जन्मेकी विद्या भण्डारी ‘चिराग’ को एउटा बाल कविता सङ्ग्रह वि.सं.२०६२ मा प्रकाशित देखिन्छ ।

उनका कविताहरू हकमुखी छन् । टिभीबाट बाल कार्यक्रम, ज्ञानविज्ञानका सामग्री तथा देश विदेशका खबर थाहा हुने हुनाले टिभी हेर्न दिनु पर्छ भन्ने बाल भावनाको प्रतिनिधित्व उनका कविताले गरेका छन् । बालबालिकालाई साना भनी नहोच्याउन आग्रह गर्ने उनका कवितामा शनिवारलाई फुर्सतको, स्वतन्त्रताको तथा बालबालिकाले आमाबुवासँग बिताउने दिनका रूपमा पहिचान गराउने प्रयत्न गरेकी छन् । बाल सुलभ लाग्ने उनका कवितामा हरियो चउरमा खेल्दा आनन्द लाग्ने अभिव्यक्ति पाइन्छ । उनले आफ्ना कवितामा जन्मदिनको महत्ता प्रकटन गरेकी छन् भने पढ्नमा रमाउने बालबालिकाको प्रशंसा गरेकी छन् ।


उनका कवितामा प्रकृति मज्जैले आएको देखिन्छ । उनले प्रकृतिका सुन्दर र सकारात्मक रूपको मात्रै कुरा नगरी कुरूप र नकारात्मक रूपको पनि चर्चा गरेकी छन् । यस क्रममा कुहिराले मानिसलाई अन्योलमा पार्ने र घामले त्यो अन्योल चिर्ने हुनाले कुहिरोभन्दा घाम जाती भएको अभिव्यक्ति उनको कवितामा आएको छ ।

लालीगुराँस तथा गुलाफको सुन्दरताको बखान पाइने उनका कवितामा उनले फूलबारीको बयान गरेकी छन् भने फूल टिप्न नहुने चेतना दिने प्रयत्न गरेकी छन् । यस्तै इन्द्रेणीको सुन्दरतामा मुग्ध उनी ऋतुगानका साथै पीपलको बोट तथा नदीको समेत बयान गर्दछिन् ।

पुतलीको सुन्दरतामा मग्न हुँदै पुतलीका क्रियाकलापको अवलोकन गर्दछिन् । यस्तै बादल, क्षितिज, असिना आदि बारेका भावना पनि उनका कवितामा परेका छन् । फलफूलको महिमा गाउने उनले आफ्ना कवितामा सन्तुलित भोजनका लागि आवश्यक पर्ने थरी थरी तरकारीको समेत उल्लेख गरेकी छन् ।

सपनालाई चेतना फिँजाउन माध्यम बनाउने प्रयत्न गरेकी उनले कविताहरूद्वारा घर परिवारका समस्या बुझ्ने बानी लाउने, स्वावलम्बी बन्न प्रेरणा दिने, वातावरणीय प्रदूषणप्रति सचेत गराउने तथा सांस्कृतिक सद्भाव छर्ने चेतना प्रदान गर्ने प्रयत्न गरेकी छन् । यसै गरी कमिला, नदी आदिलाई गुरु मान्न तथा अहिंसावादी बन्न समेत आग्रह गरेकी छन् ।
अन्य

उनका कविताहरूमा बाटो, हाट तथा घडीको बखान पाइन्छ । ट्राफिक नियमबारे सचेत गराउन खोजेकी उनले आफ्ना कविताहरूबाटै डायरीबारेको आफ्नो प्रतिक्रिया दिएकी छन्, चिडियाखानामा देखिने विविध दृश्यको वर्णन तथा होली मनाइएको सन्दर्भ प्रस्तुत गरेकी छन् भने महाकवि देवकोटाको सम्झना र प्रशंसा समेत गरेकी छन् ।

उनले आफ्ना कविताहरूद्वारा कवितामा बालबालिकाको लुकेर हैरान पार्ने स्वभाव तथा आमाको आफ्ना सन्तानप्रतिको मायाको प्रकटीकरण सशक्त ढङ्गले गरेकी छन् ।
निष्कर्ष

उनका अधिकांश कविता बालबालिकाका तर्फबाट लेखिएका छन् भने ठुला मान्छेका तर्फबाट र अझ कतिपय आमाका तर्फबाट लेखिएका पनि छन् ।

उनका प्रत्येक कविता स्तरीय छन् भन्न अवश्य पनि सजिलो छैन तर यी निम्न माध्यमिक तहको नेपालीका कतिपय पाठहरू पढाउन सजिलो पार्ने प्रकारका भने अवश्य छन् ।


No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails