प्रियालाई चिठी

प्रियालाई चिठी

प्रिय छतिवन,

धेरै धेरै सम्झना,

तिमीलाई मैले छाडेको एक वर्ष तीन महिना भइसकेछ । यस बीचमा तिमीलाई एउटा चिठी पठाएको थिएँ । तिमीले पाएकी हुनुपर्छ । तर मैले जबाफ पाउन सकिनँ, दु:ख लागिरहेको छ। मेरा जीवनका ऊर्जाशील वर्षहरूमा तिम्रो र मेरो बीच फस्टाएको प्रेमले गर्दा नै तिम्रो पत्रको उत्तर नपाए तापनि पत्र कोर्ने धृष्टता गर्दै छु ।

प्रिय छतु !

तिमीलाई मैले आजभन्दा तेह्र वर्षअगाडि मात्र चिनेको हुँ । सुरुमा तिमलिाई चिन्न खोज्दा बिरानी जस्ती लाग्थ्यौ । म तिमीलाई पुलुक्क हेर्थेँ ,तिमी लजाउँदै ओझेल हुन्थ्यौ । तिमीसँग नजिक भइनसक्तै पनि तिमीले हरिदाइको होटलमा खुवाएको जेरी म अहिले पनि सम्झँदै छु ।

अँ, जेरी प्रसङ्गले एउटा घटनाको सम्झना भयो मलाई । त्यतिखेर म फापरबारीमा पढाउँथेँ । दशैँको बिदाताक होला, म आफ्नो विद्यालयको प्रअ मभधुसूदन शर्मा साहित्याचार्य, सहप्रकोष्ठी श्यामकृष्ण ढकाल र अन्य मित्रहरूसँग घर आउनका लागि हेटौँडा आउँदै थिएँ । आमाले जानकारी दिनुभएअनुसार त्यो दिन एकछाकी थियो । त्यही हुनाले म फापरबारीबाट केही नखाई हिँडेको थिएँ । फापरबारीबाट तिमीसम्म आइपुग्दाको चार कोसको छिटो हिँडाइले मलाई ज्यादै भोक लागिसकेको थियो । एकातिर मेरा स्वर्गीय पिताप्रतिको श्रद्धा र भक्तिले एकछाकीप्रति सतर्क थिएँ भने अर्कातिर पेट र खुट्टाले ज्यादै दु;ख दिन थालिसकेका थिए, वस्तुगत परिवेशसँग सम्झौता गर्नुपर्ने अवस्था आइसकेको थियो । भोको पेटमा यात्रामा ज्यादा थकाइ लाग्छ भन्ने कुरा यसपालि पनि मैले राम्ररी अनुभूति गर्न पाएको थिएँ । हो, त्यही अवसरमा मैले खाजाको भोक मारेको थिएँ । त्यतिखेर नै तिम्रो र मेरो सम्बन्ध प्रगाढ हुने छनक मैले पाइसकेको थिएँ । आखिर तिमीसँगको सान्निध्यले मलाई तिमीनेर तानेरै छाड्यो ।

तिमीसँगको बसाइ, उठाइ र हिँडाइका दस वर्षका एक-एक क्षणहरू मेरा लागि अति प्रिय छन्। तिनै क्षणहरू सम्झेर म तीता र पीडाजनक क्षणहरू बिर्सन खोज्छु ।

जीवनका पीडाका क्षणहरू बिर्सन कोही सुरामा भुल्दा हुन् कोही सुन्दरीमा, कोही कौडामा, अनि कोही तासमा । तर मलाई चित्लु र तिम्रा सम्झना पर्याप्त छन् । चित्लु मेरी प्रिया हुन् तर उनीसँगको संसर्ग अवधि कम हुनाले म तिमीसँगै बढी नजिकिएको छु; सायद तिमीसँग नै बढी रत्तिएको छु, रित्तिएको छु ।

हाम्रो भेट नभएको लामो समयका कारणले पनि मैले अलि लामो गनगन लेखेँ कि जस्तो लागिरहेको छ । अहिले मेरो स्मृतिमा तिमीसँगका एक-एक क्षणहरू तँछाड-मछाड गर्दै आइरहेका छन् ।तिनलाई संयोजन गर्न मलाई अप्ठ्यारो-अप्ठ्यारो भइरहेको छ । सायद भावनात्मक क्षणहरू यस्तै हुँदा हुन् ।

छतु !

तिमीसँगै बस्न आइपुग्दा त मैले तिमीलाई थोरै र निकै थोरै मात्र चिनेको थिएँ ।कसैले भन्थे त्यो राम्री छे, कोही भन्थे देख्नमा मात्र राम्री छे । यस्तै यस्तै प्रतिक्रियाहरूबिच तिम्रो र मेरो सामीप्य बढेपछि म आफैँले चिन्न थालेँ र साँच्चै चिनेँ । साँच्चिकै भन्नुपर्दा तिमी सुन्दरी हौ भनेर त म पनि भन्दिनँ । तिम्रो बाह्यपन एकथरी छ र आन्तरिकपन अर्को थरी । तिम्रो सङ्गतै नगरी चिन्न खोज्नेहरूले तिमीलाई आफ्नै ढंगले चिन्दा हुन् र तिमीमै समाहित हुनेहरूले भिन्दै ढङ्गले चिन्दा हुन् । म चाहिँ तिमीमै समाहित हुनाले थोरै भए पनि राम्ररी चिन्न पाएको छु ।

अँ, म तिमीसँग लामो सहवासका लागि आउन खोज्दा तिमीसँग मलाई भेट्न दिने-नदिने विषयमा लामो बहस भएको थियो रे । म तिम्रा लागि योग्य छैन भनेर कतिपयले भने भनेर केदार दाइले मलाई सुनाउनुभएको थियो । पछि तिम्रो र मेरो भेट भइसकेपछि कसले छेक्न सक्नु मेरो र तिम्रो सम्बन्धलाई, कसले थुनेर सक्नु तिम्रो र मेरो पिरतीलाई । पिरती आफैँ हुँदोरहेछ, हैन त छतु !

तिम्रो र मेरो सान्निध्यमा रिस गर्नेहरू मात्र थिएनन्, रमाउनेहरू पनि थिए र त म र तिमी त्यसरी एकाकार भएका थियौँ ।तिमीसँगको भेटपछि उद्धव सर, जनार्दन सर, परशुराम सर अनि बेलप्रसाद दाइहरूले हाम्रो मिलनलाई कत्ति सघाउनु भएको हगि !

तिम्रो उर्वरता पो प्रशंसनीय लाग्यो । तिमीलाई सिँचन गर्ने झरना ! तिमीलाई उर्वरशील बनाउने झरना ! तिम्रो उर्वरताको पारख गर्ने झरना ! हो, त्यही झरनामा नुहाउँदा कत्ति आनन्द लाग्थ्यो हामीलाई । चैत-बैशाखको खडेरीमा झरना पातलिँदा कति साथी अधीर भएर हिँडे । कति साथी झरनामै नुहाएर पनि नित्य नित्य नुहाइरहन सकेनन् । हामीले त नुहाइरह्यौं नुहाइरह्यौं हैन त !

आहा ! झरनाको पानी कति कति पोसिलो ! झरनामा नुहाएर, नुहाएको निहुँमा कतिपय अनमोलहरू मणि बने, कतिपय चिरञ्जीवीहरू चकोर बने, कतिपय लीलाहरू शिरीष बने अनि जनक, मीन, अमृत, सुवास, दीपक, राजन, कुमार, देवकी, मुना, वासुदेव, नारायणहरू तृप्त भए । हो, यही तृप्ति आनन्द हो र जीवन पनि ।

हाम्रो निकटता पाएर पनि जसले झरनाको पानी पिएनन्, पिउँदै पिएनन्, तिनलाई के थाहा ! आनन्दको क्षण कस्तो हुन्छ, पीडा व्यक्तिन पाउँदा पीडाको खिल कसरी उक्किएर जाँदोरहेछ ! हो, तिनले त जीवनलाई राम्ररी बुझ्न सकेनन् ।

प्रिय, मैले यहाँ आएर पनि उद्यानका कोपिलाहरू फस्टाउन खोजेको देखिरहेको छु, लक्ष्मीहरूले विवशताहरूलाई कुल्चेर पनि झरनामा नुहाइरहेको, भावना, सिर्जना, कुन्साङ, सोमनाथ र मसानहरू झरनाबाट तृप्त, परितृप्त भएको देखिरहेको छु ।

छतु ! तिमीसँगका मेरा हर पलहरू मेरो शरीरका, मनका हरेक कणकणमा भिजेका छन् र ती मेरा जीवनका महत्त्वपूर्ण अंशियारसमेत बनेका छन् ।

म यस्तो शुष्क भूमिमा आइपुगेको छु, जहाँ निस्वार्थता भन्दा स्वार्थताको, सेवाभन्दा जागिरे प्रवृत्तिको र संवेदनाभन्दा कठोरताको हैकम छ । जब मलाई यी कुराहरूले चिमोट्न थाल्दछन्, अनि शिवजीको जटाबाट निस्केकी गङ्गाझैं तिमीबाट नि:सृत झरनालाई स्मरण र कल्पनाको संयोजनद्वारा आव्हान गरेर परितृप्त हुन्छु ।

प्रिय ! भावनाको अन्त हुँदैन भन्छन् मान्छेहरू । म पनि भावनामै बगिरहेको रहेछु । अब पत्र बन्द गरूँ है !

छिट्टै भेट्ने वाचाका साथ ।

तिम्रो उही आफ्नो मान्छे

रमेशमोहन अधिकारी

1 comment:

  1. प्रेमिका पनि लेखक जत्तिकै भावनात्मक भए त ठिकै हो नत्र त केहि नबुझेर अलमल्ल पर्न वेर छैन है!! हा हा हा ठट्टा गरेको मात्र ।

    सधैँझैँ मीठो शव्द संयोजन, वलियो भाव पक्ष.....समग्रमा बेजोड प्रस्तुति!!

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails