आनन्दमय यात्राहरू

आनन्दमय यात्राहरू

मेरा जीवनका रहरहरूमा यात्रामा रमाउनु पनि एउटा हो । तर यस मौकाबाट म प्रायः वञ्चित नै रहँदै आएको छु । यी वञ्चनाका आफ्नै बाध्यता त अवश्य होलान् । जन्मँदा म मोटर नचल्ने ठाउँमा थिएँ । आठ वर्ष टेक्दा नटेक्दै मेरो परिवार जहाँ बसाइँ सरेको थियो, त्यहाँ पनि भर्खर मोटर बाटो बन्न लागेको थियो । त्यसो हुनाले बाल्यकाल भनिने उमेरमा मैले यात्राको औपचारिक मौका पाइनँ ।
परिवारमा कान्छो भएको हुनाले म अलि पुल्पुलिएको थिएँ । जति पुल्पुलिए पनि मेरा बुवा–आमा तथा दाजुहरूले मलाई पढाइका मामलामा भने पुल्पुलिन दिनुभएको थिएन । सानो छदाँ म आफूभन्दा तीन वर्ष जेठो सान्दाजुलाई हेपिहाल्थेँ । उहाँसगैँ नै प्रायः खेल्ने, पढ्ने, विद्यालय जाने–आउने हुनाले पनि मैले उहाँलाई हेप्न सकेको थिएँ । त्यतिखेर सान्दाजु अलि सोझो खालको हुनुहुन्थ्यो । अरू दाजुहरू घरमा रहनुहुन्नथ्यो । बुवा जागिरमा कता–कता पुग्नुहुन्थ्यो । नियमितजसो घरमा बस्नेमा सान्दाजु, आमा र म थियौँ ।

तीन जना मात्र रहने हुनाले मेरा लागि प्रायः परिस्थिति अनुकूल हुन्थ्यो । यस मौकाको फाइदा उठाउन म स्वच्छन्द हुन खोज्थेँ । यही स्वच्छन्दताले ममा बिस्तारै यात्रा गर्ने रहरको विकास हुने मौका पाउँदै गएको थियो, म त्यसप्रति अनुरक्त हुने भइहालेँ । यिनै परिवेशले स्वच्छन्द विचरण गर्ने चाहनालाई पुट दिइरहेका हुन्थे ।
म डुल्न, घुम्न चाहन्थेँ । नयाँ–नयाँ ठाउँ हेर्ने घुम्ने लालसा हुन्थ्यो तर सानो भएकाले म त्यस्ता मौका गुमाउन पुग्थेँ । विवश हुन्थेँ र मौकाको प्रतिक्षामा व्यग्र रहन्थेँ । त्यसैले म घरबाट कहिलेकाहीँ भागेको पनि छु । त्यसरी भाग्नुको अरू कुनै लालसा हुँदैनथ्यो; मात्र नयाँ ठाउँ घुम्ने, हेर्ने चाहना, नयाँ परिवेशको जानकारीले रमाउने अभीप्सा ।
यही अभीप्साले पाँच वर्षकै उमेरमा एउटा जन्तीको पछि लागेर म तीन कोस धुले बाटो हिँड्न तयार भएको थिएँ । घरबाट एकजनालाई निम्तो रहेछ क्यारे, जन्त जान । बेहुला अन्माएर पठाएपछि आमासँग जन्तीसँग केही परसम्म पुगेर आउँछु भनेँ कि आमाको आँखा छलेर त्यतिकै लागेँ, मलाई त्यत्तिको हेक्का छैन । जन्ती हिँड्यो, म पछि लागेँ । बिहे चाहिँ हुनेखानेकै छोराको थियो । त्यसैले एउटा जिप र एउटा हात्ती थियो, अरू चाहिँ बयलगाडामा थिए, क्यारे ! बिहेमा हुन सक्ने रमाइलोले पनि तानेको हुन सक्छ, त्यतिखेर मलाई । त्यही रमाइलोले ‘हात्तीको पाइला रामसाइँला’ भन्दै हात्तीले लात्ताले हान्छ कि भनेर डराउँदै हात्तीको पछिपछि लागेको थिएँ म । गाडाको पछि लाग्दा त के कसो तर हात्तीको पछि लागे त ठाउँमै पुगिन्छ भन्ने सोच बनेछ मेरो ।
धेरैबेर हिँडेपछि कुनै सहृदयीको आँखा परेछ ममाथि । ‘बाबु ! हात्तीमा चढ’ भने कसैले । तर म चढिनँ । त्यत्रो बढेमानको हात्तीले फुत्त फाल्दियो भने वा केहि गरी हात्तीले फुत्त फाल्दियो भने वा केही गरी हात्तीबाट पुर्लुङ्ग लड्न पुगेँ भने के हालत होला, भन्ठानेँ । ज्यानको मायाले चिमोट्यो र हात्तीमाथि चढ्न मानिनँ । पुनः केही समय हिँडेपछि जिपबाट कसैले बालाए । जिपमा चढेँ । पाँच वर्षको केटो, देहाती बाटो, घ्यारघ्यारे जिप, कहिल्यै गाडीमा नचढेको मान्छे, कमला हात । जोल्ंिडमा पर्दा म अलिकति हुत्तिन्थेँ, टाउको अगाडिपट्टि ठोक्किन पुग्थ्यो तर पनि म निरुपाय थिएँ । कसैले थाहा पाएर पछाडि ताने क्यारे, पछि ठोक्किएजस्तो लाग्दैन टाउको ।
यसरी हात्तीको पछि लाग्दै र जिपमा गुड्दै म विश्रामपुरबाट महम्मदपुरमा पुगेँ । बेलुका दाजुसँग भेट भयो । मलाई त्यहाँ अचानक देख्दा दाजुलाई हुनसम्म रिस उठेको थियो रे । तर बिरानो ठाउँमा आफूभन्दा दस वर्ष कान्छो म भुरोलाई देख्ता दाजुको मन पग्लिहाल्यो । ठुल्दाजुलाई मेरो उपस्थिति जति आश्चर्यजनक र अनेपक्षित लागे पनि दाजुले मलाई सामान्य गाली गरेजस्तो लाग्छ, त्यसपछि दाजुकै सान्निध्यमा रहेँ, त्यस विवाहभर ।
यसै सिलसिलामा म अहिले अर्को घटना पनि सम्झिरहेको छु । पूर्व–पश्चिम महेन्द्र राजमार्ग बन्दै गएपछि कीर्तिनिधि विष्ट पुलको उद्घाटन गर्न गएका थिए बाग्मती । उनी गुडेर गएका थिए त्यहाँ । गाडीमा गुडेर गएका प्रधानमन्त्रीको अनुहार हेर्न, उद्घाटनमा ताली बजाउन, भाषण सुन्न चन्द्रनिगाहपुरदेखि वागमतीसम्मको १३ किमि पैदल यात्रामा सहभागी भयौँ हामी । त्यतिखेर म ९ वर्षको थिएँ । अरू सबै मभन्दा जेठा थिए सायद । १३ किमि बाटो जङ्गलको थियो र भर्खर पिच गरेको थियो क्यारे । साथीहरूसँग कुद्दा म कैयौँ पटक लडेको थिएँ, घुँडा तछारिएको थियो । उसबेला हाफपैन्टको चलन थियो । नाङ्गो घुँडा पिचमा तछारिँदा कति दुख्यो होला मलाई, अहिले झसक्क सम्झँदा पनि आङ जिरिङ्ङ हुन्छ ।
अर्कोले बनाएको पुलको उद्घाटन गर्ने प्रधानमन्त्री मोटरमा, हामी पैदल यात्रामा । हामी के गरी भेटाउँथ्यौँ र प्रधानमन्त्रीलाई । हामीलाई के थाहा, हामी त्यहाँ पुग्दा उद्घाटन गरिसकेर प्रधानमन्त्री चिप्लिसक्छन् भन्ने कुरा । हामी त निकै हौसिएर पुगेका थियौँ, प्रधानमन्त्री कस्ता हुँदा रहेछन्, बागमती पुल कस्तो रहेछ हेर्न ।
त्यत्रो बाटो कुद्दा–कुद्दै जाँदा पनि प्रधानमन्त्रीलाई हामीले देख्न पाएनौँ, थकथक लागिरह्यो । त्यहाँ पुग्दा पो भोक लागेको थाहा पाइयो, थकाइ पनि मज्जाले लागेको रहेछ । पछिपछि बैकुण्ठ र अरू साथीहरू कता–कता छरिए । मसँग चोबनाथ थिए क्यारे । मसँग गोजीमा एक पैसा थिएन । कसैले दुई टुक्रा बिस्कुट दिएजस्तो लाग्छ । साँझ पर्न थालिसकेको छ , १३ किमि जङ्गलको बाटो हिँडेर फर्कन साहस छैन, बस्न त्यहाँ कसैलाई चिनिएको छैन, बडो असमञ्जसमा थियौँ हामी ।
घरमा चाहिँ सबैलाई पर्नसम्म पिर परेछ । त्यही दिन एउटा बच्चालाई गाडीले किचेको रहेछ । घरमा पिर पर्नुको कारण रहेछ त्यो किचिने मै हुँ कि भनेर । भेटाउने बित्तिक्कै बस्मरी ठटाउँछु भन्नु पनि भएको रहेछ दाईले । नभनी हिँड्ने, बेपत्ता भइदिने, बेलैमा नआइदिनेप्रति रिस उठ्नु स्वभाविकै हो । दाजु मनमा पीडा, छटपटी बोकेर राँक्किँदै वाग्मती पुग्नुभयो । म रुन्चे अनुहार लाएर अर्को साथीसँग बरालिँदै रहेछु । मलाई पनि दाजुसँग खुब डर लागेको थियो, कुट्नु हुने हो कि भनेर । ठुल्दाजु मेरो दाजु मात्र नभएर विद्यालयीय गुरू पनि हुनुहन्थ्यो । त्यसताका उहाँ कडा स्वभावको हुनुहुन्थ्यो, त्यसकारण पनि उहाँसँग खुब डर लागेको थियो । तर दाजुले केही गर्नुभएन । जुन चिज खोज्न उहाँ छटपटिनुभएको थियो, जसलाई नभेट्टाउँदा उहाँ आहत हुनुभएको थियो, जसलाई खोज्न उहाँलाई वाग्मतीसम्म पुग्नुपरेको थियो, त्यसैलाई भेट्टाउँदा उहाँलाई रिस उठेन, खुसी लाग्यो । बिस्कुट किनेर खुवाउनुभयो र घर ल्याउनुभयो । मलाई देखेर आमा सा¥है खुसी हुनुभयो, गाली पनि गर्नुभयो ।
नयाँ ठाउँ हेर्ने चाहनाले टेस्ट परीक्षा दिइसकेर सो¥हवर्षे पट्ठो उमेरमा पनि म एकचोटि हराएको छु । मेरो माहिलो दाजुको विवाह मेरो ९ कक्षाको वार्षिक परीक्षाकै बेलामा परेकाले दाजुको विवाहमा जान पाएको थिइनँ । ठुल्दाजुको विवाहमा बेहुलाको भाइ बनेर जन्त जान पाउँदा बडो आनन्द आएको थियो । माल्दाजुको विवाहको साइत ठ्याक्कै जाँचमा नर्पान जति आग्रह गरे पनि विवाह त्यही समयमा नै भएको थियो । त्यसैले दाजुको ससुराली गाउँ–घर कस्तो रहेछ, जान्ने जिज्ञासा भइरहेको थियो मलाई । त्यस बीचमा भतिजो विश्व जन्मिसकेको थियो । त्यही बेला एस्एल्सीको फारमसम्बन्धी कामले वीरगन्ज जान ताक परेको थियो मलाई । वीरगन्ज गएर फोटो खिचाएपछि माल्दाजुलाई हाम्रो बुवाको जन्मथलो खेस्राहातिर जाने कुरा सुनाएर लागेको थिएँ, उहाँकै ससुराली गढीमाईस्थान भएको गाउँ बरियारपुर । म भाउजु र भतिजालाई भेटाएर मक्ख थिँए र ढुक्कसँग बस–घुम गर्दै थिएँ । माल्दाजुले चिठी पठाउनुभएछ ‘वर्ष सो¥हको, गहुँगोरो वर्णको, लामो र घुम्रिएको कपाल भएको भएको, रमेशमोहन अधिकारी नाम भएको, मेरो भाइ त्यहाँ पुगेको भए तुरुन्त पठाइदिनुहोला । उसलाई खोज्दा–खोज्दा म हैरान भैइसकेँ । म खेस्राहा, पटना, बेतौना पुगेँ । नेपाल र भारतका विभिन्न प्रहरीचौकीहरूमा जानकारी पठाएको छु ।’ म त्यहाँ पुगेको पाँच दिन भइसकेको थियो । त्यसरी अचानक पत्र पुग्दा म छक्क परेँ र लाजले भुतुक्क भएँ । आमालाई त मैले सुटुक्क त्यता जान सक्ने सम्भावन दर्साएको थिएँ, दाजुलाई चाहिँ सुराकै दिएको थिइनँ । त्यसपछि वीरगन्ज फर्केर बल्ल दाजुलाई स्पष्टीकरण दिएको थिएँ – दाजुको ससुराली हेर्न र भतिजालाई भेट्न गएको हँु, भनेर ।
यसरी मेरा चाहनाहरू बाल्यकाल र किशोरवयमा अभिव्यक्ति भएका थिए, भगुवाका रूपमा चिनिएर । यदाकदा यी घटनाहरू मेरो घरमा चर्चाको विषय बन्दा पनि ती यात्राहरूमा पाएका आनन्दले रोमाञ्चित हुने गर्छु म ।
२०५३ फागुन ७ ।

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails