समीक्षात्मक पत्र : आत्मध्वनि भित्रको ध्वनि

देवराज खरेलज्यू ,
हार्दिक अभिवादन !

तपाईँको पहिलो कृति अर्थात् 'आत्मध्वनि' पढेँ । आफूमा अरूको प्रभाव नपरोस् भनेर नेपाली साहित्यका स्वनामधन्य हस्ताक्षर परशु प्रधान, डा तुलसी भट्टराई तथा लक्ष्मणप्रसाद गौतमका भूमिकाहरूतर्फ आँखै लगाइनँ । मेरो स्वतन्त्र हेराइमा देखिएका कुराहरू लेख्न लाग्दै छु ।
सर्वप्रथम कवितासङ्ग्रह प्रकाशनका लागि बधाई !
तपाईँका कविताका विषयमा मान्छे र संवेदनाका प्रसङ्गहरू रहेछन् । किन नहुनु ? आजका मान्छे स्वार्थी, संवेदनहीन र बर्बर बन्दै छन् । तपाईँ एउटा कवि हुनुका नाताले त्यसप्रति संवेदनशील र भावुक हुनु स्वाभाविक हो ।

तपाईँ आफू जस्तो हुनुहुन्छ , त्यस्तै अरूलाई पनि देख्न चाहनुहुन्छ । तपाईँको आध्यात्मिकताप्रतिको दृष्टिकोणले तपाईँमा उदारता, दानशीलता जस्ता भावनाहरू पलाएका होलान् र तपाईँका कविताहरू मार्मिक भएका होलान् ।
तपाईँ जस्तो जीवनको यथार्थता बुझेको, जीवनलाई सार्थक बनाउन खोज्ने र आफ्नोनो राष्ट्र भनेपछि हुरुक्क हुने मान्छेलाई पनि हीनताबोधले किन सताएको होला ? बुझ्न गाह्रो पर्छ । तपाईँ आध्यात्मिक पाण्डित्य छाँट्ता कट्टर ईश्वरवादी देखिनुहुन्छ भने ईश्वरप्रति असन्तुष्टि र तिनको सत्ताप्रति प्रश्न चिह्न खडा गर्नु भएको पनि पाइन्छ । यो पनि अप्ठेरो प्रसङ्ग परेको छ मेरा लागि । कुनै दिनको भेट वा पत्रमा अवश्य प्रस्ट पारिदिनुहुनेछ ।
तपाईँले महिला समानताको पक्ष लिएको र समावेशिताको अपेक्षा गरेको पक्षचाहिँ राम्रो मानेको छु ।
तपाईँले कविताहरूमा लेखेजस्तै मान्छेहरू स्वार्थी र अझ स्वार्थी बन्दै छन् । ती अवसरवादी र अन्तर्घाती हुँदै छन् । स्वार्थमा धक्का नपर्दासम्म तपाईँको परम हितैषी देखिने मित्र उसको आन्तरिक मनसाय पुरा नहुने देख्नासाथ तपाईँको शत्रु कित्तामा पुग्छ । यो हामीले खप्न नचाहेको र खप्न परिरहेको विडम्बनात्मक पक्ष हो । मान्छेको यही स्वार्थले पैसालाई मात्र आफ्नो ठान्नेहरू कपटी बन्दै गएका हुन् र जातिवादी तथा साम्प्रदायिक समेत बनेका हुन् । योग्य मान्छेका लागि जात, लिङ्ग र सम्प्रदाय बाधक हुँदैन भन्ने बुझ्दाबुझ्दै पनि नबुझेजस्तो गरी मान्छे मान्छेमा विभाजन गर्न खोजेका छन् ।
स्वार्थीहरूकासामु निस्वार्थीहरूले शिर झुकाउन विवश हुनुपरेको तीतो यथार्थलाई तपाई“का कविताहरूले राम्ररी प्रस्तुत गरेका छन् ,गर्न सकेका छन् । यसप्रति म तपाईँलाई साधुवाद दिन चाहन्छु ।
देवराजजी ! तपाईँ मकवानपुरमा राम्ररी चिनिनुभएको कवि, त्यसमाथि सहरको एउटा साहित्यिक संस्थाको अध्यक्ष पनि हुनुहुन्छ । तैपनि तपाईँका कविताहरूले यहाँको प्रतिष्ठा र पदलाई थेग्न नसके जस्तो लाग्छ । तपाईँका कतिपय कविताहरू अभिधा स्तरमै रहेका पाइन्छन् । कतिपयमा कवित्व न्यून र वर्णनात्मकता ज्यादा पाइन्छ । वर्ण विन्यासगत, आदरगत, मुद्रणगत त्रुटिहरू कताकति देखा परेकै छन् । कताकति लेखनाथ पौड्याल तथा मनु मन्जिलका कविताहरूको शैलीगत झल्को आए तापनि प्रतीकात्मक बनाउने प्रयासले यहाँका कविताहरू स्तरीयतातर्फ उन्मुख भए जस्ता पनि लाग्दछन् ।
तपाईँ जस्ता साहित्यकारले आफ्ना रचनाहरूको परिष्कार र अझ परिष्कार गर्नुपर्दछ ।
तपाईँको आगामी साहित्यिक यात्रा सफलतापूर्वक अघि बढोस् भन्ने कामनाका साथ यो चिठी यही“ तुर्याउँछु ।


यहाँकै
रमेशमोहन अधिकारी





No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails