मनै हल्लाउने भुइँचालो

जीवनमा पहिलो पटक भुइँचालोको अनुभव गर्दा म यस्तै १७ वर्षको थिएँ हुँला । त्यो दिन म चन्द्रनिगाहपुरमा सानो मामा भैरवप्रसाद भट्टराईकहाँ थिएँ । मामाले ‘भुइँचालो गयो’ भन्नुभयो । मलाई पनि हल्लाए जस्तो लाग्यो ।  मलाई नै त्यो अनुभूति भयो वा मामाले भन्नुभएपछि त्यस्तो लाग्यो । जे होस्; यो घटना २०३७ सालतिरको हुनु पर्छ । त्यसपछि मलाई एकैपटक २०४५ सालको भुइँचालोको अनुभूति छ । २०४५ साल भदौ ५ गतेको भुइँचालो जाँदा म सान्दाजु चन्द्रमोहनसँग बाराको ज्योति फारामको आवासगृहमा थिएँ । म कुनै जाँचको क्रममा त्यहाँ पुगेको थिएँ । भुइँचालो गएको बिहान खाट बेस्मारी हल्लियो । हामी तिनै जना भुइँचालोको आभास भएर ब्युँझियौँ । पछि हेर्दा थाहा भयो; हामी सुतेको खाट जोडिएको भित्ता चर्किएको रहेछ । उदयपुरलाई केन्द्र बनाएको ६.७ रेक्टर स्केलको त्यस भुइँचालोले हामीलाई घटनापछि मात्र अत्याएछ, तै केही भएन भनेर । खास गरी पूर्वी नेपालमा बढी क्षति पु¥याएको त्यस भुइँचालोले हामीलाई केही गर्न भ्याएनछ ।

विगतमा भुइँचालोबाट त्यति नआत्तिएका हामी आमालाई सोध्थ्यौँ ‘आमा ! नब्बे सालको भुइँचालोको बारेमा भन्नोस् न ।’ आमा आफूले सम्झेजति कुराहरू भन्ने गर्नुहुन्थ्यो ‘म सानी छ महिना जतिकी थिएँ । मलाई खास स्मरण छैन । त्यतिखेरको भुइँचालोमा मान्छेहरू हिँड्न नसकेर भुकुभुकु लड््थे रे । कताकताबाट जरुवाहरू पनि पलाएका थिए रे । म गोडा टेक्न खोज्थेँ रे । म ढलि पनि हाल्थेँ रे ।’ आमाका यस्ता कुरा सुनेर म रोमाञ्चक हुन्थेँ र त्यस्तो अनुभवको कल्पनामा हराउँथेँ ।
मैले नेपालका लाखौँ नागरिकहरूसँगै भुइँचालोको कहिल्यै नबिर्सने गरी र आपूmसमेत प्रभावित हुने गरी अनुभूति गर्न पाएको पहिलोपल्ट चाहिँ २०७२ वैशाख १२ गते नै हो ।
म मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडामा आफूले जिम्मा लिएको एसएलसीका उत्तरपुस्तिकाहरू परीक्षण गरी बुझाउन खोज्दै थिएँ । एक्कासि कर्मचारीहरू ‘अर्थक्वेक’ ‘अर्थक्वेक’ भन्दै कराउँदै दौडन लाग्नुभयो । म नेपाली पढाउने हुनाले नेपाली शब्दहरूलाई नै जोड दिेने र त्यसमै रमाउने मान्छे; ‘अर्थक्वेक’ भनेको ‘भुइँचालो’ भन्ने अर्थ सोच्तासोच्तै ढिला भएछु । के गरूँ के गरूँ  भयो । एक दुई वर्ष  अगाडि ‘डिजास्टर’ सम्बन्धी तालिम लिँदाको सम्झना भयो । टेबुल थियो मेरो अगाडि । टेबुलमुनि घुस्रेँ । टेबुलमुनि उत्तरपुस्तिकाका एक दुइटा पोका देखेको थिएँ । यसो छामेको त एक जना कर्मचारी पनि त्यहीँ घुस्रेका रहेछन् । त्यो कम्पन छोटै समय रहला भन्ठानेको त के हुन्थ्यो ! हल्लिया छ हल्लिया छ, हल्लिन छोड्ने नामै लिँदैन । बल्ल बल्ल थामिए जस्तो लाग्यो । टेबुलमुनिबाट बाहिर निस्केर हेर्छु त कोही साथी चौकोसमुनि उभिइरहेका, कोही चाहिँ पिल्लरलाई अँगालो मारिरहेका । अलि मत्थर जस्तो भएपछि हामी सबै बाहिर निस्कियौँ ।
भवनबाट बाहिर निस्कँदा पो देखियो भवनको अगाडिपट्टि गुणन चिन्ह बनाएर चर्केको रहेछ । कम्पाउन्ड वालहरू भत्किसकेका रहेछन् । दक्षिणी कम्पाउन्डवालको दक्षिणपट्टिको एउटा घर पनि भत्केछ । तुरुन्तै भित्र जान हुँदैनथ्यो र आँट पनि कसैले गर्न सकेन । अरू साथीहरू घर÷डेरातिर लागिसकेका थिए । मचाहिँ भूकम्पको रूप हेर्न खोज्दै थिएँ । फेरि पराकम्प गयो । क्षेत्रीय शिक्षा निर्देशनालयको अगाडिपट्टिको घर यता र उता लर्केको प्रस्टै देखिन्थ्यो । अनि पो मलाई लाग्यो; ‘डिजास्टर’ सम्बन्धी तालिमहरूमा मसँगै नेपालका धेरैले लिएको शिक्षा काँचो रहेछ । नेपालमा दिइने कतिपय तालिमहरू, नेपालमा बन्ने कतिपय नीति नियमहरू विकसित देशबाट आयातित हुन्छन् । हाम्रो जस्तो विकासोन्मुख देशका कमजोर भौतिक संरचना भएको भवनको छत झर्दा प्लाइउडको टेबुलमुनि लुक्ने हामी कति सुरक्षित हुन्थ्यौँ ? जे होस् ; अब यस सम्बन्धी तालिम दिनेहरूले विदेशबाट आयातित मात्र होइन नेपालका कमजोर संरचनाका बिच हामी कसरी सुरक्षित रहन सक्छौँ भन्ने ज्ञान तालिमहरूमा बाँड्नुपर्ने देखिन्छ । 
अँ, वैशाख १२ र १३ गते कापी परीक्षण वा संपरीक्षण गर्न जाने कसैको हिम्मत आएन । १४ गते साथीहरू गएछन्, म चाहिँ संपरीक्षणका लागि १५ गते मात्र पुगेँ । सो भवनको तल्लो तला रिङ्ङै चर्केको रहेछ । निकै जोखिमपूर्ण भएको रहेछ ।
१२ गतेको भूकम्पपछि पाँच दिनलाई बिदा भइहाल्यो । जीवनमा नभोगेको अनुभव गरियो । घरमा पनि भित्र बस्न भएन, बरन्डामा बस्न थालियो । भुइँतले हुनाले घर छोडेर अन्त सुत्न गइएन । चौर, त्रिपाल केही खोजिएन । तिन परिवार एउटै ओछ्यान लगाएर आप्mनै बरन्डामा लस्करै सुत्न थालियो । दिनभर बरन्डामा बस्ने र अनुभव साट्ने, समाचार सुन्ने, सुनाउने यस्तै क्रम रह्यो । यसै बिचमा आफन्त तथा साथीभाइको खोजखबर गरिन्थ्यो । १२ गते कतै निस्कने जाँगर र हिम्मत पलाएन । १३ गते दोस्रो भूकम्प गएको केही बेरपछि नारायणी मललगायत सानोपोखराको क्षति हेर्दै आफ्नो कार्यक्षेत्र पुगियो । खानेपानीको ट्याङ्की, केही कक्षाकोठाहरू, साइन्स ल्याब तथा नाम पाटीमा क्षति पुगेको रहेछ ।
वरपर हाँडीखोला, मयुरधापतिर केही तर नामटार र आग्रातिर ठुलो क्षति भएछ । आग्राको सबैभन्दा पुरानो इन्द्रायणी माध्यमिक विद्यालय मोरियाका प्रधानाध्यापक नारायण बहादुर कार्कीको गाउँ महादेव खर्क नै क्षतिग्रस्त भएछ । म स्रोतव्यक्ति हुँदा कतिपय दिन खाना खाएको र बास बसेको घर भत्केको कुराले साह्रै दुखायो । आग्राको पहिलो साहित्य गोष्ठी पनि नारायण सरकै घरमा भएको थियो । आग्रा गाविसकै साहित्यिक इतिहास बोकेको घर भत्केको कुराले कसलाई मात्र दुःखी बनाउँदैनथ्यो र ! नारायण सरको घरले अर्को गरिमा पनि बोकेको थियो । म आग्रातिरै छँदा मेरो समन्वयमा गजल मञ्चले इन्द्रायणी माविमा गरेको कार्यक्रममा मोरिया जाँदा साहित्यकारहरू शाम्ब ढकाल, रासा, भावना सापकोटा, सुवास खनाल, चिरञ्जीवी चकोर तथा श्यामकुमार बानियाँ नारायण सरकै घरमा बास बसेका थियौँ ।
भूकम्प वा पराकम्प त गइ नै राख्यो । त्यसबाट सतर्क पनि हुनु थियो र कर्महरू पनि गर्दै रहनु थियो । कुनै विपदमा परियो र त्यसबाट आत्तिएर मात्र बस्न थालियो भने धेरै समय खेर फालिन्छ र आखिरमा केही पनि गर्न सकिन्न । बरु विपदका बेला सतर्क रहँदै अगि बढिराखियो भने आपूmले गर्न थालेको कामले पनि गति लिन्छ र व्यक्तिगत, संस्थागत वा सामूहिक उन्नतिका लागि केही गर्न सकिन्छ । यिनै कुरालाई आत्मसात गर्दै २० गते स्टाफ बैठक डाकेर २२ गतेदेखि विद्यालयको प्रशासन खुला राख्ने र भर्ना अभियान जारी राख्ने कुरा भयो । अफिस कोठा चर्केकाले स्टाफ कोठाबाट काम थालियोे । सुरु सुरुमा अभिभावकहरूको बाक्लो उपस्थिति भए तापनि पुनः भूकम्प आउने सम्भावनाले उपस्थिति पातलिँदै नै थियो । वैशाख २९ गते केही अभिभावकहरू आफ्ना बालबालिका भर्ना गरेर गइसक्नु भएको थियो । एक जना अभिभावक आप्mना दुई जना छोरीहरू लिएर भर्नाका लागि भर्खरै आउनुभएको थियो । अकस्मात् भुइँचालो आइहाल्यो । अलिअलि चर्किसकेको त्यस भवनबाट सबै जना हुरुरु बाहिर निस्कनुभयो । म पछाडि परेँ तर भवन हल्लेको राम्रै अनुभूति त्यहाँ पनि भयो ।
यसपालिको भूकम्पले विध्वंश नै मच्चायो । हजारौँ मानिस बेघरबार भए, हजारौँले आमा÷बुवा गुमाए, हजारौँले छोरा÷छोरी, हजारौँले पति÷पत्नी, यसै गरी हजारौँले काका÷काकी, मामा÷माइजू, हजुरबुृवा÷हजुरआमा अनि सयौँले नाति÷नातिनी, दाजु÷भाइ, दिदी÷बहिनी, ज्वाइँ, सासू, बुहारी, मिल्दा साथी, शिक्षक, विद्यार्थी, कर्मचारी, आफन्त र कतिपयले जीवनका सहाराहरू गुमाए ।
भूकम्पले कमजोर संरचना भएका घर र भवनहरूलाई मात्र हल्लाएन, मान्छेहरूका मनहरूलाई पनि हल्लायो । कमजोर मनस्थिति भएकाहरूलाई मात्र होइन, बलियो मनस्थिति भएकालाई पनि मज्जैले हल्लायो । गगनचुम्बी महल हुनेहरूको दम्भलाई एक पटकलाई भए पनि शून्य डिग्रीमा झा¥यो । अरू हात्ती चढेको देखेर धुरी चढ्न खोज्नेको तन्द्रा भङ्ग ग¥यो । जीवनभर नास्तिक हुँ भन्दै हिँड्नेलाई देवी देवताको आराधना वा भाकल गर्ने बनायो । इस्पातिलो मन र मुटु छ भन्दै हिँड्नेकोे मुटु थरर कमायो । कठोर हृदय हुनेलाई कोमल हृदयी बनायो । पीडा परेकाहरूका बिचमा सौहार्दता बढायो । पीडा परेका र नपरेकालाई नजिक बनायो ।
निश्चित रूपले भौतिक क्षतिभन्दा मानवीय क्षति आघातपूर्ण हुन्छ । त्यसमाथि आफ्ना अभिभावक गुमाएका बालबालिकाका लागि आजको पचास वर्ष वा सोभन्दा बढी समय यो पीडा चहर्याउने घाउका रूपमा रहिरहने छ तर पनि यी सबैलाई प्रकृतिको स्वाभाविकता ठानेर चित्त बुझाउनु र आगतका लागि सचेत रहनुभन्दा अर्को विकल्प कुन छ र हामीसित !

लेखन मिति ः २०७२।०२।०४           

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails