रमेश मोहन अधिकारीको घुम्तीहरू छेलिएपछिमाथि दृष्टि प्रक्षेप

लेखकः घनश्याम न्यौपाने 'परिश्रमी'
रमेशमोहन अधिकारी शिक्षण र सिर्जनामा सम्बद्ध र प्रतिबद्ध व्यक्ति हुन् । भाषा साहित्यकै अध्येता भएकाले पनि परिभाषाका वृत्तमा केन्द्रित रहेर साहित्यका विविध विधाको ज्ञानार्जन गर्न सदैव इच्छुक र उत्सुक  रमेशले विभिन्न विधामा कलम चलाउँदै आएका छन् तापनि यिनको लेखनले सार्थकता पाएको प्रमुख क्षेत्र भने संस्मरण र नियात्रा हो ।  सम्झनाको सेरोफेरो(२०६३) यिनको प्रथम कृतिका रूपमा प्रकाशित  संस्मरण र नियात्रा सङ्ग्रह हो । यसपछि यिनको घुम्तीहरू छेलिएपछि (२०७४) नामकृत संस्मरण र नियात्राकै द्वितीय कृति प्रकाशित भई पाठकलोकमा आएको छ ।
नेपाली साहित्यमा केही दशकयतादेखि संस्मरण र नियात्रालेखन एवम् प्रकाशनले निकै गति पाइरहेको देखिन्छ । संस्मरण र नियात्राहरू निबन्ध विधा अन्तर्गत पर्दछन् । यसखाले निबन्धहरूमा मूलतः स्रष्टा स्वकीय रूपमा विविध ढङ्गले प्रस्तुत हुन्छ र आफ्नो माध्यमबाट अन्योन्य स्थान, घटना वा प्रतिघटना, यात्रा र व्यक्तिविशेषका स्वभाव, प्रवृत्ति आदिको प्रतिविम्बन पनि गरेको हुन्छ । निबन्ध आफैमा बेकनले भनेजस्तै निर्बन्ध ढङ्गले गद्य शैलीमा विकीर्ण मनोभावहरूलाई समेट्ने वा मोन्तेनले भनेजस्तै अहम्को अभिव्यञ्जन गर्ने गद्यात्मक भाषिक कला हो । आकारगत दृष्टिले बढी लामो नहुनुबाहेक यसको लेखनमा खास बन्धन हुँदैन । तर कलात्मक सौन्दर्य भने अपरिहार्य हुन्छ । निबन्ध साहित्यको एउटा प्रमुख विधा भएकाले यसका उपविधा वा प्रविधाहरूमा पनि नैबन्धिक विशेषताको अनुपालन गरिएको हुनुपर्दछ । सपाट निबन्ध सामान्य गद्य लेखको कोटिमा पर्दछ । अतः संस्मरण वा नियात्रा लेख्दा पनि लेखक यस्ता कुरामा सचेत हुनुपर्दछ । यसभित्रका निबन्धहरूमाथि दृष्टिप्रक्षेप गर्दा रमेशमोहनमा यी कुराप्रति सचेतता छ भन्न सकिन्छ ।
घुम्तीहरू छेलिएपछि नामक यस कृतिमा समग्रतः विविध शीर्षकबद्ध चौबीसवटा संस्मरण र नियात्राहरू समाविष्ट छन् । आमाको सम्झनामा लेखिएको आमा ! मेरी आमा ! शीर्षकको संस्मरणबाट आरम्भ भएको यो कृति बुवाको सम्झनामा लेखिएको मेरा बुवा मेरै स्मृतिमा शीर्षकको संस्मरणबाट समापन भएको छ । यी दुवै संस्मरणमा लेखकभित्रको अगाध मातृपितृभक्ति मुखरित भएको छ । बाल्यकालमा नै पिता गुमाएका लेखकले मातृवात्सल्य भने जीवनको लामो कालखण्डसम्म प्राप्त गरेका रहेछन् भन्ने कुरा यी दुई संस्मरणको अध्ययनबाट जानकारी मिल्दछ । आफ्ना मातापिताका गुणावगुणहरूको निरूपण अत्यन्त स्वाभाविक ढङ्गले गरेका छन् रमेशले यी संस्मरणहरूमा । यस कृतिअन्तर्गत केही नियात्रा र संस्मरणहरू शान्तिवन प्रस्थान र प्रत्यागमनसँग सम्बन्धित छन् । यी निबन्धहरू हुन्–  रेलमा रमाउँदै पुगियो शान्ति वन, उडन खटोलामा सरर,  भव्य रहेछ शान्ति वन, बिदा ! जयपुर बिदा ! र परदेशी! परदेशी! ।
रेलमा रमाउँदै पुगियो शान्ति वन शीर्षको नियात्रामा माउन्ट आबुको यात्राप्रसङ्ग रहेको छ ।  यो मूलतः आध्यात्मिक यात्रासँग सम्बन्धित नियात्रा हो । शान्तिवनमा जाने क्रममा रक्सौलदेखि आबुरोडसम्मको रेलयात्रालाई यसमा विषयवस्तु बनाइएको छ र प्रस्तुति रोचक छ । उडन खटोलामा सरर पनि शान्तिवनको यात्रासँग जोडिएको संस्मरण हो । यसमा गुजरातको यात्राका प्रसङ्गहरू छन् । उडन खटोलामा चढेर अम्बाजीको मन्दिरमा पुगेको, दर्शन गरेको तथा  यसै क्रममा जैन मन्दिर र कुम्भारियाज मन्दिरको अवलोकन समेत गरेको विषय यसमा रहेको छ । भव्य रहेछ शान्ति वनमा शान्तिवनकै आध्यात्मिकता र भौतिक सुविधाको प्रशंसा रहेको छ  । बिदा ! जयपुर बिदा ! मा शान्तिवनबाट फर्किने क्रममा गुलाबी सहर भनेर चिनिने जयपुर सहरको भ्रमण गर्दाको मनोरम चित्रण छ । परदेशी! परदेशी! मा पनि माउन्ट आबुबाट फर्किँदाको यात्राप्रसङ्ग नै रहेको छ । भारतको राजधानी दिल्लीको छोटोछरितो अवलोकनपछिको रेलयात्राको रमाइलो यसमा रहेको छ । यसको शीर्षक परदेशी! परदेशी! एउटा हिन्दी चलचित्रको प्रसिद्ध गीतबाट लिइएको हो ।
केही व्यक्तिविशेषसँगका भेट, सङ्गत, सम्पर्क र सम्झनाका संस्मरणहरू पनि समाविष्ट छन् यस कृतिमा ।  जोसिला बुढा, हार्दिकताले बाँधिदा, कवि केवलपुरेलाई सम्झँदा, रोचक दाइ र म, मेरो स्मृतिमा खेम र नारायण मेरो आँखामा जस्ता संस्मरणहरू यसका उदाहरण हुन् ।
जोसिला बुढा  पथलैयाका एकजना पुरानो पुस्ताका व्यक्तित्व कलानाथ अधिकारीसँगको भेट र सङ्गतलाई विषय बनाएर लेखिएको अत्यन्त प्रेरक संस्मरण हो । हार्दिकताले बाँधिदामा चितवनका स्रष्टा रमेश प्रभातलाई उनकै घरमा पुगेर भेटेको प्रसङ्ग छ जुन निकै रोचक पनि छ । कवि केवलपुरेलाई सम्झँदा पत्रात्मक   शैलीमा नरनाथ सरलाई सम्बोधन गरेर लेखिएको संस्मरण हो । सम्बोधन नरनाथ सरलाई गरिएको भए पनि यस संस्मरणमा मूलतः कवि केवलपुरे किसानका विशेषताहरूको वस्तुगत ढङ्गले उजागर गरिएको छ । रोचक दाइ र म पनि पत्रात्मक शैलीमा लेखिएको संस्मरण हो ।  रचना साहित्यिक पत्रिकाका सम्पादक समेत रहनुभएका रोचक घिमिरेलाई नायक बनाइएको  यस संस्मरणमा रौतहटका स्रष्टा हरिकृष्ण काफ्ले सिकिस्त बिरामी परेर काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरेको प्रसङ्ग पनि जोडिएको छ, जुन अत्यन्त मार्मिक छ । मेरो स्मृतिमा खेममा  मकवानपुरे एकजना युवा स्रष्टा खेम बानियाँलाई सम्झना गरिएको छ । मोटर बाइक दुर्घटनामा परी कल्कलाउँदो उमेरमा नै जीवनबाट बिदा लिएका खेमलाई यस संस्मरणमा एउटा राम्रो प्रतिभाका रूपमा सम्झना गरेका छन् लेखकले । नारायण मेरो आँखामा शीर्षकको संस्मरणमा लेखकले टाइफाइडका कारण कालकवलित भएका नारायण सापकोटा नामका सङ्कोची र अन्तर्मुखी स्वभावका तर अति स्वाभिमानी र प्रतिभाशाली एकजना आफ्ना छात्रलाई सम्झेका छन् ।
यस कृतिअन्तर्गतका जिन्दगीको मोड, सुपर इगोको पौरख, कोदाको ढिँडो र अनपेक्षित छलाङ, आनन्द र पीडाको स्थान, सम्झना समनपुर बसाइको, प्रियालाई चिठी शीर्षकका संस्मरणहरू शैक्षणिक र साहित्यिक सन्दर्भसँग जोडिएका छन् ।
जिन्दगीको मोड लेखक रमेशमोहन अधिकारीले शिक्षण सेवा आरम्भ गरेको प्रसङ्गमा आधारित संस्मरण हो । वसन्तपञ्चमी  प्राथमिक विद्यालय चन्द्रनिगाहपुरबाट शिक्षणसेवा आरम्भ गरेका लेखक रमेशले जीवनलाई यसै पेसामा समर्पित गरेका छन् । सुपर इगोको पौरखमा पनि वसन्तपञ्चमी  प्राथमिक विद्यालयकै प्रसङ्ग छ । अस्थायी भएका कारण कूटनीतिक ढङ्गले आफूलाई  त्यस विद्यालयको जागिरबाट निकालिएको लेखकको नमिठो अनुभूति यसमा अभिव्यक्त भएको छ । कोदाको ढिँडो र अनपेक्षित छलाङ मकवानपुरको फापरबारी स्थित लोकहित माध्यमिक विद्यालयमा लेखक शिक्षक भएर जाँदाको र त्यहाँ रहँदाबस्दाको अनुभव र अनुभूति मुखरित भएको संस्मरण हो । यसमा जूनकिरी साहित्यिक परिवारको गठन तथा जूनकिरी नामक हवाई पत्रिकाको प्रकाशन सुरु गरेको विषयलाई पनि समेटिएको छ । आनन्द र पीडाको स्थान पनि  लेखकको शिक्षण र साहित्यिक यात्राकै सन्दर्भमा केन्द्रित संस्मरण हो । लोकहित माध्यमिक विद्यालय फापरबारीको जागिरबाट अवकाश लिई छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा निजी स्रोतको माध्यमिक शिक्षकका रूपमा नियुक्त भएर काम गर्न थालेपछि त्यहाँ पनि झरना साहित्यिक परिवार गठन गरी झरना हवाई पत्रिकाको प्रकाशनका माध्यमबाट साहित्यिक गतिविधिमा समेत आबद्ध भई कार्य गर्दाखेरिका मिठा नमिठा अनुभव÷अनुभूतिहरू यसमा व्यक्त गरेका छन् । मूलतः छतिवन प्रिय हुँदाहुँदै पनि विद्यालयको सरकारी माध्यमिक दरबन्दीको कोटामा आफूले ठाउँ नपाएको पीडा लेखकले बिर्सन नसकेको कटु मनोभाव नै यसको सार हो । सम्झना समनपुर बसाइको संस्मरण पनि शैक्षणिक सन्दर्भमा नै आधारित छ । लेखक माध्यमिक तहको पहिलो  स्थायी नियुक्ति पाएर रौतहटको समनपुरस्थित शङ्कर गुदर उच्च माध्यमिक विद्यालयमा गएको र त्यहाँ तीन वर्ष पढाएको प्रसङ्ग नै यसको विषयवस्तु हो । प्रियालाई चिठीमा लेखकको छतिवनप्रतिको आत्मीयता मुखरित भएको छ । पत्रात्मक शैली अवलम्बन गरेर लेखिएको यस संस्मरणमा छतिवनलाई युवतीकरण गरिएको छ ।
यस कृतिअन्तर्गतका सिमभन्ज्याङको दुर्घटना, माछी काँडैले, मनै हल्लाउने भुइँचालो, इन्द्रसरोवरमा म र जुके र चिप्लेकिरे बाटोको एक यात्राजस्ता शीर्षकका संस्मरण र नियात्राहरूमध्ये सिमभन्ज्याङको दुर्घटना शिक्षण पेसाकै सन्दर्भसँग जोडिएको छ । लेखकले चित्लाङको जलदेवी प्राथमिक विद्यालयमा अध्यापन गर्दाका अनुभवका अतिरिक्त एकपटक सिमभन्ज्याङमा ट्रक दुर्घटनामा परेको कहाली लाग्दो घटना पनि यसमा विषयवस्तु बनेको छ । माछी काँडैले  चित्लाङमा हुने विद्यार्थीहरूको हिज्जे प्रतियोगिताको सन्दर्भसँग सम्बन्धित नियात्रा हो । यसमा पहाडी यात्राको अत्यन्त रोचक र कौतूहलपूर्ण प्रस्तुति छ । मनै हल्लाउने भुइँचालो शीर्षकको संस्मरणमा लेखकले आफूले पहिलो पटक अनुभव गरेको २०४५ साल भदौ ५ गतेको भूकम्पको स्मरण गर्दै २०७२ साल वैशाख १२ गते गएको भूकम्पको त्रास र जनधनको क्षतिलाई प्रमुख विषय बनाएका छन् । इन्द्रसरोवरमा म संस्मरण र  नियात्राको मिश्रणजस्तो लाग्दछ । यसमा शैक्षिक प्रसङ्ग पनि छ र मूलतः लेखकको प्रकृतिप्रेमको मनोभाव सुन्दरतापूर्वक अभिव्यञ्जित भएको छ । जुके र चिप्लेकिरे बाटोको एक यात्रा मूलतः नियात्रा हो । यसमा पनि शिक्षा र साहित्यका प्रसङ्गहरू जोडिएका छन् । यसमा लेखकले आफू स्रोत व्यक्तिका रूपमा सेवा गर्न मकवानपुरको दुर्गम गाउँ आग्रा जाँदाको सन्दर्भलाई बडो कुतूहलपूर्ण ढङ्गले प्रस्तुत गरेका छन् ।
यस कृतिभित्र समाविष्ट संस्मरण र नियात्राहरू आयामका दृष्टिले प्रायः छोटाछरिता लघु र मध्यमाकारका छन् । पढ्दापढ्दै पट्यार लाग्ने खालका लामो आकारका कुनै पनि छैनन्, बरु उत्सुकता जगाउने खालका छन् । लेखक जहाँजहाँ पुगेका छन् त्यहाँत्यहाँ यसभित्रका संस्मरण वा नियात्राहरूले पाठकहरूका मनमस्तिष्कलाई पनि पु¥याएका छन् । केही नियात्रा र संस्मरण कुनै गीतबाट, कुनै लोकगीतबाट र कुनै कविताबाट समापन गरिएका छन् । संस्मरण र नियात्राका अतिरिक्त यसमा पत्रसाहित्यको मिश्रण पनि छ । केहीमा नियात्रा र संस्मरणको मञ्जुल मिश्रिति पनि छ । यी निबन्ध अर्थात् संस्मरण र नियात्राहरू मूलतः शिक्षा, साहित्य र अध्यात्मलाई विषय बनाएर लेखिएका छन् । लेखक यी संस्मरण र नियात्राहरूमा अत्यन्त वस्तुगत ढङ्गले प्रस्तुत भएका छन् । यसरी नै यथाप्रसङ्ग अग्रज, समकालिक वा अनुज पुस्ताका स्रष्टाहरूलाई तथा शिक्षक, विद्यार्थीहरूलाई एवम् अन्य व्यक्तिविशेषहरूलाई यी संस्मरण वा नियात्राहरूमा सम्झेका छन् । विषयवस्तुको प्रस्तुतिका सन्दर्भमा  रोचक बनाउने ध्येयले स्वैरकल्पना र अतिरञ्जनाजन्य अभिव्यञ्जनाको सहारा बढी मात्रामा लिएका छैनन् । यी संस्मरण र नियात्राहरूमा अधिकांशतः शैक्षणिक र साहित्यिक सन्दर्भका प्रसङ्गहरू प्रभावकारी र रोचक छन् । लेखकले आफू शिक्षण पेसामा प्रवेश गर्दाखेरिका र यसै पेसामा आवद्ध भएर अगाडि बढ्दा समयसमयमा विभिन्न सन्दर्भमा देखेका र भोगेका तिक्तानुभव वा अनुभूतिहरूको वर्णन मार्मिक ढङ्गले गरेका छन् । शैक्षिक क्षेत्रका विकृतिविसङ्गतिहरूमाथि प्रहारात्मक अभिव्यक्ति भेटिन्छन् यहाँ । यात्राका प्रक्रममा कतै रौसिएका, कतै आत्तिएका त कतै ठगिएका प्रसङ्गहरू उत्तिकै रोचक लाग्दछन् । वस्तुतः यो कृति केही गहकिला, केही चोटिला र केही रसिला संस्मरण र नियात्राहरूको एउटा गतिलो सङ्ग्रहका रूपमा आएको छ ।
सम्प्रति– त्रि.वि., विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँ ।

1 comment:

  1. राम्रो समालोचना । धन्यवाद घनश्याम सर !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails