'ठूली' पढ्दा

नरनाथ लुइँटेलज्यू,

तपाईँले आफ्नी आमालाई सम्झेर लेख्नुभएको शोककाव्य 'ठूली' भर्खर पढिसिध्याएँ । आमाका बारेमा लेख्नुभएको राम्रो हो । आमाका बारेमा धेरै मानिसहरू संवेदित हुन्छन् । स्वाभाविकै हो , आमाले जत्तिकै माया र त्याग गर्ने नातादार वा अन्य व्यक्ति पनि कमै भेटिन्छन् ।

आमाका बारेमा लेख्नुपर्छ भन्ने प्रेरणा मैले सर्वप्रथम श्यामप्रसादबाट पाएको थिएँ । उहाँले आफ्नी आमाका बारेमा आमाको जीवन छँदै लेख्न नसकेकामा पछुतो मान्नुभएको थियो । त्यसैले म आमाको जीवन छँदै लेख्न चाहन्थेँ तर सकिनँ । जीवन छँदै लेख्ता त्यसमा आमाको चित्त नबुझ्न सक्थ्यो । त्यसले हामीबीचको समझदारीमा असर पार्न पनि सक्थ्यो । त्यसैले मैले मेरी आमाको देहावसानको एकतीसौँ दिनमा मात्र 'आमा' शीर्षकमा संस्मरण लेख्न सकेँ, जुन तपाईँले पढिसक्नुभएको हुन सक्छ ।

'ठूली' पढ्दा मैले तपाईँकी आमालाई मेरी आमाको समानान्तरतामा हेरेछु । तपाईँकी आमाले तपाईँलाई गर्नुभएको मायालाई मेरी आमाले मलाई गर्नुभएको ठानेछु र तपाईँकी आमाले तपाईँका बारेमा सोच्नुभएको कुरा मेरी आमाले मेरा बारेमा सोच्नुभएको ठानेछु । त्यसैले 'ठूली' का सिलोकहरू पढ्दा म द्रवित भएको रहेछु ।

'आशा किन नगरेकी त्यो गुनको गुन
बैगुनीले सकेनछौँ तिम्रा आँसु धुन'

पढेपछि मैले आफूलाई थाम्न सकिनँ, त्यसपछि दस मिनेटजति थामिएर पढ्न खोजेँ पुन: पढ्न सकिनँ । हो, त्यही रन्कोमा मैले तपाईँलाई एस्एम्एस् गरेको थिएँ 'रुने किन लेख्नुभएको ? रोएरै पढ्न सकिनँ मैले त !'

मेरो एस्एम्एस्ले पक्कै तपाईँलाई मर्माहत तुल्याएको हुनुपर्छ । आफ्नी जन्मदातृसँग सधैँभरिको लागि बिछोड कुनै पनि सुयोग्य छोराछोरीका लागि मार्मिक हुन्छ, त्यही कुराको अभिव्यक्ति थियो तपाईँको लेखाइमा । नितान्त आफ्नो संवेदना पोखिएको थियो त्यसमा । कसैलाई पीडा पार्ने उद्देश्य थिएन त्यो लेखाइको र पनि मैले चित्त कुँडिने एस्एम्एस् पठाएछु ।

कहिलेकाहीँ संवेदित पाठकले यसो गर्न पनि सक्छ। यसले असमञ्जसमा परिन्छ, चित्त दुख्ने स्थिति आउन पनि सक्छ तर यो लेखकको सफलता पनि हो ।

तपाईँको पुस्तकमा केही मार्मिक प्रसङ्गहरू आएका छन् । महिलाले हलो जोत्न हुँदैन भन्ने धारणा र अर्कातिर आमाले हलो जोत्नै पर्ने बाध्यता । यस्तै 'बाहुनले च्याउ खान हुँदैन' भन्ने धारणा र अर्कोतिर च्याउ खानै पर्ने बाध्यता । यस्ता केही गर्न नमिल्ने भनिएका बाध्यताहरू यथार्थताका विरूध्द छन् तर नगरी नहुने प्रकारका छन् । निकास दिन नसक्नेको औँलो ठड्याउने हक हुँदैन तर हाम्रो समाज उपयुक्त निकास दिने ल्याकत पनि राख्तैन र औँलो पनि ठड्याउँछ । पति भएर आफ्नो भूमिका वहन गर्न नसक्नेलाई स्याबासी दिने हाम्रो समाज लाजै नमानी एउटी पत्नी हुँदाहुँदै साली स्याहार्नेलाई धाप मार्छ । निरीहका पक्षमा बोल्न सक्तैन र चाहँदैन तर आफूलाई बाठो ठान्छ । हो; यो नचाहिँदो बाठोपनको तपाईँले पर्दाफास गर्नुभएको छ, राम्रो पक्ष हो ।

अत्याचारको पराकाष्ठाले मानिसलाई सहिष्णु वा विद्रोही जस्तो पनि बनाउन सक्छ । सहने प्रवृत्तिकाहरू सहेरै जिन्दगी बिताइदिन्छन् तर सहन नसक्नेहरू विद्रोही बन्न पुग्छन् । तपाईँ र आमाको बीचको फरक पनि त्यही होला ।

तपाईँ र आमाको बीचको सम्झौता गजब लाग्छ । एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तपाईँका घरमा अपवादका रूपमा भएजस्तो लाग्छ । सबैका आमाहरू कहाँ त्यति लचिला हुन्छन् र ? आमालाई त्यो कुरामा मनाउन तपाईँ सफल हुनुभएको रहेछ ।

आफ्नो मृत्युपश्चात् पिण्ड-पानी नदिन गर्नुभएको आग्रह जायज छ ।

अँ, तपाईँले आफ्नी आमाको दिगो सम्झनाको स्मारकका रूपमा केही गर्न खोज्नुभएको रहेछ । त्यसो गर्दा सम्भव भए वृध्दाश्रम नै राम्रो हो, नसक्ता पुरस्कार स्थापना गर्दा पनि हुन्छ । यसमा हाम्रो अनुभवले तपाईँलाई सहयोग गर्न सक्छ ।

हाम्रो बुवा २०३२ सालमा नै बित्नुभयो । हामी आमाकै संरक्षणमा हुर्क्यौँ । आमा २०६३ चैत्रमा बित्नुभयो । हामीले आमाको जीवनकालमै अर्थात् २०५२ सालमा 'शिव-सावित्री प्रतिष्ठान' स्थापना गर्यौँ र २०५४ सालदेखि केही वर्षसम्म साहित्यिक कार्यक्रमको प्रायोजन र लगभग २०६० देखि आयोजन नै गर्न थाल्यौँ । आमा खस्नुभएपछि त्यस क्रममा केही परिवर्तन आएको छ ।

आमाको जिउनीबाट क्रिया र बरखी गरेर बाँकी रहेको जग्गा आमाबुवाकै नाममा रहने सर्तमा 'शिव-सावित्री आँखा अस्पताल' खोल्न दिने निर्णय भएको छ । अस्पतालले सो सहयोग निश्चित समयभित्रमा प्रयोग नगरेमा त्यसका बारेमा पुन: निर्णय गर्नुपर्ने हुन्छ । यता हेटौँडामा चाहिँ मेरो व्यक्तिगत व्यवस्थापनमा प्रत्येक वर्ष दिने गरी 'शिव-सावित्री मुक्तक साहित्य पुरस्कार' स्थापना गरिएको छ । 'झरना-हेटौँडा सेतु'द्वारा आयोजना गरिने प्रत्येक वर्षको चौथो मुक्तक गोष्ठीका उत्कृष्टलाई दिइने पुरस्कार राशि रु ११११।– रहेको छ ।

यस्तै वा अन्य खाले पुरस्कार स्थापना गरेर पनि पितृलाई सम्झने बाटो गर्न सकिन्छ ।

मानिसले मरेर जाँदा केही लाने होइन, छोडेर जाने कीर्ति वा अकीर्ति हो । मरेर जाने त गइहाल्छन्, उनीहरूलाई सम्झने बाटो गर्नाले आफूलाई पनि सन्तुष्टि मिल्छ, यो नै बाँच्नेका लागि प्राप्ति हो ।

चिठी लामो पो हुन थालेछ । अरू कुरा भेटमा वा अर्को पत्रमा गरौँला । अहिलेलाई बिट मारेँ है त !

तपाईँको

रमेशमोहन अधिकारी

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails