कमलो वस्तुमा हुने गुण नै कोमलता हो । कोमल हुनु भनेको नरम हुनु हो ।
कुनै वस्तु नरम छ भने त्यसलाई स्पर्श गर्न पाउँदा मात्र पनि हामीलाई आनन्द आउँछ । नरम वस्तुलाई छुँदा आउने आनन्द साहित्यमा नआउन पनि सक्छ ।
साहित्यमा कोमलता भनेको मन छुने हुनु हो । मन छुने साहित्यिक रचनाले कहिले मनलाई आनन्दित तुल्याउँछ भने कहिले पीडित समेत । कविता अझ पद्य कविताका सन्दर्भमा भन्नुपर्दा माधुर्य गुण भएका कारण करुण, शृङ्गार आदि रसका रचनाहरू मूलत: कोमल हुन्छन् ।
शृङ्गार रस प्रधानताको पृथक्ता बोकेर आएको हुनाले गजल कोमल हुन्छ तर गीत अझ कोमल हुन्छ । यस्तै कविता तथा मुक्तकहरू पनि कोमल हुनु राम्रो हुन्छ । हाइकु, हाइकाइ, क्षणिका तथा छोकहरू भने अलि पृथक् प्रवृत्तिका हुन्छन् । जुन विषयमा हामी जति पग्लन सक्छौँ, जति हामी सलल बग्न सक्छौँ, त्यति नै त्यो सुबोध्य, हृदयसंवेद्य वा मर्मस्पर्शी हुन्छ, जति मर्मस्पर्शी हुन्छ; त्यति नै लयात्मक, मधुर, स्तरीय तथा चिरस्थायी हुने सम्भावना हुन्छ ।
कवितामा कोमलता खोज्दा छन्दमय कविताहरूमा हामी यसको पर्याप्त प्रभाव पाउन सक्छौँ । महाकवि देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘राजेश्वरी’ तथा ‘गौरी’ जस्ता खण्डकाव्य तथा शोक काव्यहरू कोमल कृतिका उदाहरण हुन् ।
कविता, गीत, गजल जस्ता पद्य विधामा मात्र होइन मानिसका पीडा तथा आनन्दसँग एकाकार हुन सकेका गद्य रचनाहरू पनि कोमल हुन सक्छन् । कृष्ण धरावासीको ‘झोला’ र महेशविक्रम शाहको ‘गनाउने चामल’ कथा समेत मर्म स्पर्शी र कोमल छन् । मानवीय संवेदनाको गहिराइसम्म मनग्गे डुबुल्की मारी लेखिएका रचनाहरू कारुणिक छन् र स्तरीय पनि ।
आनन्दका क्षणलाई मानवीय संवेदनाले च्याप्प समात्न सकेका खण्डमा आनन्दयुक्त रचनाहरू पनि कोमल हुन सक्ने सम्भावना हुन्छ तर पीडादायक वा करुणरसप्रधान रचनाहरू नै मूलत: कोमल हुन्छन् ।
साहित्यकार चाहे जुनसुकै विधामा सिध्दहस्त होस्, उसले मिठो शैलीलाई रोज्न सक्यो भने धेरैको प्यारो हुन सक्छ ।
मिठो रचना लेख्न खोज्दा स्वत: मस्तिष्कभन्दा हृदय परिचालित हुन्छ । मस्तिष्क बढी परिचालन हुँदा बौध्दिक रचनाहरू तयार हुन्छन् । बौध्दिकताका दृष्टिले ती स्तरीय र शाश्वत भए तापनि तिनले पाठकका मन जित्न नसकेका हुन सक्छन् । हृदय, मस्तिष्क र हातको क्रमश: संयोजन गरी हामीले त्रिशङ्कु रचना सिर्ज्यौँ भने त्यो निबन्ध नै भए पनि कोमल हुन सक्छ । निबन्धका क्षेत्रमा खास गरी आत्मपरक निबन्ध तथा नियात्रा कोमल हुने सम्भावना हुन्छ । कोमल रचनामा खुबी भएका साहित्यकारहरू नै लोकप्रिय हुन सक्छन् ।
प्रकृति तथा शृङ्गार जस्ता विषयमा लेखिएका रचनाहरू कोमल हुने सम्भावना हुन्छ । तैपनि व्यक्तिले आफ्ना विगतलाई रत्ति नलुकाई लेखेका रचनाहरू नै कोमल हुन्छन् ।
रचनालाई कोमल बनाउन आफू कोमल हुनु पर्छ । कठोर हृदय भएका व्यक्तिबाट कोमल रचनाको अपेक्षा गर्न सकिन्न । केही गरी कठोर हृदयीले कोमल रचना लेखेका छन् भने ती आदर्शका फोस्रा स्वाङ हुन्छन् । तसर्थ कोमल रचना कोमल हृदयीले मात्र लेख्न सक्छ भनेर ठोकुवा गर्न सकिन्छ ।
सबै मानिसले एकै प्रकारको काम गर्नुपर्छ, एउटै धारमा बग्नु पर्छ भन्ने छैन तर हरेकले आआफ्ना रचनालाई यथासम्भव हृदयस्पर्शी, मधुर तथा कोमल बनाउन सके साहित्यका नरम विधाहरूले अग्र गति लिन सक्छन्, स्तरीय हुन सक्छन् र आफ्ना पाठकहरू माझ प्रिय हुन सक्छन् । त्यसैले आउनुहोस्, हामी पनि कोमल रचना लेख्ने प्रयत्न गरौँ ।
रचनालाई कोमल बनाउन आफू कोमल हुनु पर्छ । कठोर हृदय भएका व्यक्तिबाट कोमल रचनाको अपेक्षा गर्न सकिन्न |
ReplyDeleteगहन विचार !
राम्रो छ ।
ReplyDelete