२०६६।१०।९
जगदीश घिमिरेज्यू ,तपाईँको 'केही कथा कविता संस्मरण' पाएर पनि मैले पढेको थिइनँ । त्यो पुस्तक मेरो छोरो विवेकले २०५१ सालतिर बालकविका रूपमा पुरस्कार पाएको थियो । विधागत छ्यासमिस देखेर मन नपरेको हो खास मलाई ।
पछिल्ला वर्षहरूमा मैले अति चर्चित पुस्तक यथासम्भव किनेरै पढ्न थालेको थिएँ । त्यसै क्रममा 'अन्तर्मनको यात्रा' रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिने गरी हात पर्यो । कुनै पनि पुस्तक हतार-हतार नपढ्ने बानीले छिटै पढिसिध्याउन सकिनँ ।
म रामेछापबासी होइनँ, तर मेरो रगतमा पनि रामेछापको अंश भने छ । मेरो हजुरबुवा गणेशराज अधिकारी अघिको पूर्व दुई नम्बरकै कठजोरबाट पर्सा जिल्लाको खेस्राहामा बसाइँ जानुभएकाले हामी तराईमा जन्मेका हौँ । हाम्रा आमाबुवा कहिलेकाहीँ कठजोर जानुहुन्थ्यो रे । हाम्रा दुईजना हजुरआमामध्ये एकजना तराईमा र एकजना कठजोरमै बस्नुहुन्थ्यो रे । त्यसैले हजुरबुवाको कठजोर-खेस्राहा ओहोरदोहोर स्वाभाविक नै थियो ।
हजुरबुवा तथा हजुरआमाहरूको सेखपछि हुनुपर्छ, हाम्रो एकजना काका कठजोर जाँदा आफन्तले नै हरिताल ख्वाएर मारेछन् । त्यसपछि बुवा, काका र ठूलोबुवाहरू पनि जान छाड्नुभएछ । हाम्रो मूल सम्पत्ति त्यहीँ थियो रे, कसले अपुताली मनायो थाहा भएन ।
हामीलाई आफ्नो पुर्ख्यौली टेक्ने, हाम्रा पुर्खाको पौरखको वास लिने ठूलो धोको थियो तर काकाप्रति घटित घटनाले आमामा परेको 'इम्प्रेसन' र आमाप्रतिको आज्ञाकारिताले हामी कुनै पनि भाइ कहिल्यै पनि कठजोर उक्लेनौँ । 'अन्तर्मनको यात्रा' पढिसक्ता नसक्तै मभित्र भने आफ्नो पुर्ख्यौली माटो सुँघ्ने रहर अठोटमा परिणत हुन खोज्दै छ ।
मैले 'अन्तर्मनको यात्रा' को कुरो गर्न खोज्दै थिएँ, बहकिएर आफ्नै कुरो पो गर्न थालेछु त । हट्ट !
'अन्तर्मनको यात्रा' तपाईँका भोगाइहरूको आफ्नो अभिव्यक्ति हो तर पनि यसले संवेदनशील हरेक भावकलाई आ-आफ्नै किसिमले झकझक्याउँछ । यसको खरो शैली कसैका लागि सुस्वादु वा कसैका लागि कोक्याउँदो हुन सक्छ । यथार्थताको उदाङ्गता यस कृतिको सबभन्दा मन खिँच्ने पाटो हो । जीवनका विभिन्न मोडमा आवश्यक पर्ने शिक्षा सूक्तिमय रूपमा व्यक्तिनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो ।
जीवन भोगाइको सङ्घर्षको निश्छल प्रकटन तथा धार्मिक पाखण्डप्रति तीव्र असन्तुष्टि पाइने यस कृतिमा प्रेमप्रति आफ्नै खाले दृष्टि पाइन्छ । यो कृति मार्मिक त छँदै छ, साथै यसमा हास्य तथा व्यङ्ग्यसमेत पाइन्छ । फ्ल्यासब्याक शैलीले प्रसङ्गहरूलाई पट्यारिलो हुन नदिई रोचक बनाएको छ ।
झर्रोपनप्रति अनुराग हुँदाहुँदै अङ्ग्रेजी पर्याप्त परेको छ । कथ्य, भाषिका तथा अझ व्यक्तिभाषाको प्रयोगले भाषाशैली आफ्नै प्रकारको भएको छ । उपमा तथा बिम्बको प्रयोगले भाषालाई सुन्दर बन्न सघाएका छन् ।
किमो उपचारका प्रसङ्गहरू झसङ्ग र जिरिङ्ङ पार्ने खालका छन् ।
पुस्तकमा कताकति निराशाका धर्साहरू देखिए तापनि समग्रमा आशावादी छ ।
यस पुस्तकको अध्ययनबाट आफूले थाहापत्तै नपाई काल सुटुक्क आएर छेवैमा बस्ने हुनाले जीवनलाई सार्थक पार्न निमेष समेत खेर फाल्न नहुने रहेछ, आफ्नो पछिल्लो जीवनबारे सचेत र विश्वस्त हुनुपर्ने रहेछ र अन्तिम साससम्म आशावादी भएर काम गर्नुपर्ने रहेछ भन्ने शिक्षा पाएँ ।
तपाईँको जीवन रहेसम्म यस्तै उत्कृष्ट कृतिहरू पढ्न पाइरहौँ । तपाईँको जीवन लामो होओस्, शुभकामना !
तपाईँको
रमेशमोहन अधिकारी
सन्तुलित र सरस विश्लेषण! मैले पनि केहि समय पहिला पढें "अन्तर्मनको यात्रा"। पत्र-पत्रिकाहरुमा पढेका राजनीति सम्बन्धित केहि लेखबाहेक यो मेरा लागि पहिलो कृति थियो जगदीश घिमिरेज्यूको। म अत्यन्त प्रभावित भएको छु यो किताबबाट। एउटा संवेदनशील र इमान्दार ब्यक्ति अनि स्वाभिमानी-राष्ट्रवादी नेपालीको आत्म-चिन्तन- सबैले पढ्नैपर्ने किताब हो यो।
ReplyDeleteMaile yo kitab padeko chhain padepachhi matra kehi bhanna sakula yo post le mero yo kitap padne chaha bhane badaidiyeko 6.
ReplyDeleteपुस्तक असाध्यै जीवनोपयोगी छ र बसन्तजीले भनेजस्तै सबैले एकपल्ट पढ्नै पर्ने खालको छ | मैले पनि निकै दिन लगाएर यो पढेको छु| आफ्ना हर भोगाईलाई इमानदारीपूर्ण किसिमले लेखिएको पुस्तक हो यो|यहाँको विश्लेषणसंग म पनि धेरै हदसम्म सहमत छु|
ReplyDelete