ऊ र यात्रा

रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ

यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा


प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई


यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्

नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !

4 comments:

  1. राम्रो कविता! उज्यालो भाव बोकेको छ। यथार्थमा निरन्तरता र अविरल यात्रानै जीवनको नाम हो, सफलताको कुँजी हो।

    ReplyDelete
  2. पढिसकेपछि मैले आफूलाई चन्द्रमा छुन हिनेको यात्री ठानेँ। म मा यस्तो भावना उत्पन्न गराइदिएको लागि धन्यवाद।

    ReplyDelete
  3. कविता प्रेरणादायी छ, केहि गर्छु भन्नेलाई उत्साह दिने खालको |

    ReplyDelete
  4. उसले शिखर चुम्नु छ
    अवश्य
    शिखर चुम्न सफल हुन्छ ............
    ... अबश्य नै ..निकै उत्साहबर्द्रक र सकारात्मक सिर्जना !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails