बिदा ! जयपुर बिदा !

हामी राजस्थानको आबुरोडमा छौँ । हामीलाई आबुरोडबाट नेपाल आउनु छ । २०६३ सालको असार १५ गते दहीचिउरा खाएर रमाइलो गर्ने दिन ! हामी छ्याकछ्याके रेलमा चढेर सुइय्यँ आउने पक्षमा मात्र छैनौँ । हामीले यात्रामा बढीभन्दा बढी रमाइला, फरक र आनन्द लाग्ने कुराहरू अनुभव गर्नु छ, त्यसैले हामीसँगै भएका जनकपुरका साथीहरूभन्दा फरकिन्छौँ र चन्द्रनिगाहपुरेहरूमात्र एकसाथ यात्रा गर्न खोज्दै छौँ ।

हामीसँग रेलको रिजर्भ टिकट छ आबुरोड-दिल्ली, दिल्ली-नरकटियागन्ज, र नरकटियागन्ज-रक्सौलको । हामीलाई राजस्थानको प्रान्तीय राजधानी जयपुर हेर्न खुब मन छ, त्यसैले हामीले आबुरोडदेखि जयपुरसम्मको रेल-टिकट माया मारेका हौँ । झन्डै ५०० कि.मीको रिजर्भ टिकट माया मार्नु चानचुने कुरो होइन तर आएका बेला नयाँ ठाउँ हेरिहाल्नुपर्छ भन्ने धारणाले हामीले यो हिम्मत गरेको हौं।

आबुरोडबाट जयपुरसम्म रेल, बसजस्ता यात्रुवाहन चल्ने गर्छन् । तर रेल छाडिसकेपछि बसमा चढ्नु छ हामीले । बस पनि दुई थरी छन् । बस्ने सिट मात्र भएका र सुत्ने सिट पनि भएका । हाम्रो देशमा हामीले फोल्डिङ सिटवालाबाहेक सुत्ने सिट भएको बस देखेका छैनौँ, त्यसैले हामीलाई सुत्ने सिटको अनुभव गर्नु छ। सुत्ने र बस्ने सिटको भाडादर फरक रहेछ । यहाँ पनि हामी बढी तिरेरै भए पनि सुत्ने सिटहरूको जोहो गर्छौँ ।

बस्ने सिटहरूको मास्तिर हुँदो रहेछ सुत्ने सिट । बस्नेहरू नेपालका बसमा जस्तै बस्ने खालका सिटमा बस्ता रहेछन् , सुत्न खोज्नेहरू चाहिँ सुत्ने सिट नै रोज्दा रहेछन् ।सुत्ने सिटमा बस्न मन लाग्यो भने पलेटी कसेर बस्न पनि सकिँदो रहेछ ।एउटा सुत्ने सिटमा दुईजना सुत्नुपर्दो रहेछ । अपरिचितसँग परियो भने अप्ठ्यारै हुने रहेछ । बसको र रेलको सुताइमा धेरै फरक पर्ने रहेछ । रेल लिगमा सुलुलु बग्ने हुनाले प्राय: समतलै हुन्छ वा घल्च्याङघुल्चुङ हुँदैन भने बस गुड्ने बाटो राजमार्ग हुनाले रोकिँदा ,साइड दिँदा र जोल्डिङहरूमा पर्दा अलि अप्ठ्यारै हुने रहेछ । यात्री खाना खाएर सुतेको छ, बस ओरालोतिर हुइँकिरहेको छ र सिरानी ओरालैतिर परेको छ भने खाएको खाना फरक्क फर्करेर मुखबाट निस्कने सम्भावना हुँदो रहेछ ।

बसका केही अनुभूतिहरू बटुल्दै रात्रिकालीन झन्डै बाह्र घन्टाको यात्रा पूरा गरेर हामी आइपुग्छौँ जयपुर । प्लेटफार्म त नजिकै छ, लकरमा सामानहरू राखेर डुल्न त सकिन्छ तर हाम्रो यात्रादलका गाँठवाला मित्रहरूको मनसायलाई स्विकार्दै दिउँसो डुलुन्जेललाई मात्र भनेर लजका दुईवटा कोठाहरू लिन्छौँ । बाह्रैजनाले पालैपालो नित्य क्रिया गर्छौँ ।

कल्पन ट्राभल्सको टुरिस्ट बसले हामीलाई दिनभर जयपुर डुलाइदिने भएको छ ।

भव्य र दिव्य जयपुरमा हामी महालक्ष्मी मन्दिरबाट आफ्नो यात्राको श्रीगणेश गर्छौँ ।विशाल द्वार भएको त्यस भव्य मन्दिरमा हिन्दू देवताका प्रतिमूर्तिहरू देख्न पाइन्छ, मन्दिरका वरिपरि भागमा झन्डै रिङ्गै । निर्माणाधीन अवस्थामा पनि मैले कहिल्यै नदेखेको तालको भव्य छ भने निर्माण पूरा भइसक्ता झन् यो कस्तो होला !

मन्दिरलाई एकसरो तर थोरै भएपनि धित मर्ने गरी हेरेपछि हामी लाग्दै छौँ जन्तरमन्तरतिर । कुनै मन्त्रतन्त्रको प्रभाव देखाएर अन्धविश्वासी बनाउन खोजेको होला जस्तो लाग्छ हामीलाई । तर होइन रहेछ, नाम मात्र जन्तरमन्तर रहेछ । यो त तपाईँ-हामीले हेर्नुपर्ने कुरा पो रहेछ । ईसवीय अठारौँ शताब्दीको प्रारम्भमा सवाई जयसिंह द्वितीयद्वारा बनाइएको यस यन्त्रशालाका फरकफरक काम गर्ने र नजिकैनजिकै तर अलग-अलग रूपमा यी साधनहरू ढुङ्गाबाट बनाइएका रहेछन् । सिमेन्टेड जस्तो भ्रम हुने ढुङ्गाका यस्ता संसाधनहरू भारतका दिल्ली, मथुरा, बनारस तथा उज्जैनमा समेत भए तापनि जयपुरको जस्तो जन्तरमन्तर संसारको अन्य कुनै पनि ठाउँमा पाइन्न रे ! घडीको आविष्कार नहुँदा वा अभावमा समय थाहा पाउन कुनै खास समयको ग्रह, नक्षत्र , राशि आदि पत्ता लगाउन प्रयोग हुँदो रहेछ ज्योतिष विद्यासम्बन्धी यो वेधशाला । छाया नै मुख्य आधार हुनाले घाम नलाग्दा , पानी नपर्दा र हिउँदमा त्यति उपयोग हुन सक्तो रहेनछ यो ।

हामी अधबेस्रा खालका छौँ । बाह्र बजेको टन्टलापुर, त्यो पनि जयपुरको प्रचण्ड घाममा पनि हामीले ओढाहरू लिएका रहेनछौँ । छातालाई पानीबाट मात्र ओतिने साधनका रूपमा लिने बानी छ हाम्रो । त्यसैले घामबाट बच्न छाता चाहिन्छ भन्ने होस हामीमध्ये कसैलाई पनि छैन । चर्को घाम बेहोरेर खलखली पसिना काडेर पनि हामी पर्यटन सुख लिइरहेकाछौँ वा इन्द्रिय-सुख भोग गरिरहेका छौँ । जन्तरमन्तर हेर्दाहेर्दै मध्याह्न भइसकेछ । हाम्रा पेटहरू पनि उखरमाउलो गर्ने तम्तयारीमा जुटिसकेका छन । अब चाहिँ हामीले खाना खानुपर्छ । त्यसैले हामी राम्रै होटेलमा पुर्याइन्छौँ । होटेलमा प्रवेश गरिसकेपछि हाम्रा आन्द्राहरू एकछिनका लागि धीर हुन्छन् । तर हामी नयाँ खानाका लागि उत्कण्ठित हुन्छौँ ।

बिहानको खानामा म प्रय: भात रुचाउँछु । रोटी, चिउरा, चाउचाउ वा अन्य कुनै केहीले पनि मेरो आत्मा सन्तुष्ट हुँदैन । बेयराले कस्तो खाना ल्याउँछ केही थाहा छैन तैपनि अर्डर खुस्कन्छ ओठबाट 'राजस्थानी खाना'। मलाई लाग्छ 'राजस्थानको राजधानीमा म किन राजस्थानी खाना किन नखाऊँ ! यो पनि बेलाको उपलब्धि नै हो । सबै साथीहरूलाई खना दिइसकेपछि मात्र बेयरा मतिर फर्कन भ्याउँछ र ल्याउँछ-परोठा, दुई थरी तरकारी र अचार । उफ ! मैले भात खान नपाउने भएँ आज । तर के गर्नु बोलेको त आफैँले हो, चुकेको त आफैँ हो । खाना स्वादिलो रहेछ । थकथकिनु परेन मात्र होइन बेहद स्वादिलो ।

खाना खाएपछि बल्ल सास आयो, साहस पनि बढ्यो । नभए त 'नुन खाएको कुखुरा' भइसकिएको थियो ।

हामी अब अमेर जाँदै छौँ । यहाँ एउटा दरबार रहेछ पुरानो । दरबार जाने बाटो भन्दा निकै वर हाम्रो बस रोकिन्छ । दरबार जान थोरै उक्लिनुपर्छ । त्यसैले हाम्रा अधिकांश साथीहरू जान तयार हुँदैनन् । मलाई चाहिँ जान, हेर्न र रम्न खुब मन लागिरहेको छ । हाम्रो बसमा बाटामा चढेका केही भारतीय र हामीमध्ये केही प्राय: छरिएरै दरबार पुग्छौँ । एकजनाको लागि मात्र गाइड लिँदा महँगो पर्ने हुनाले म आफ्नै तालले दरबार चहार्छु । सत्रौँ शताब्दीतिर बनाउन थालिएको यस दरबारमा रानीहरूको तिर जाने बाटोमा भर्याङ छैन, सुस्त उकालोओरालो छ प्राय: अस्पतालमा हुने खालको । ओरालिँदा तल्लो तलामा पुगिन्छ, उकालिँदा माथ्लो तलामा । ३०० वर्षभन्दा पुरानो यस महलका रानीहरू हिँड्ने बाटामा हिँड्दा र उनीहरूका कोठाहरू चहार्न खोज्दा छुट्टै रमाइलो हुन्छ ।

यस दरबारमा कति नवयौवनाहरू रहरले भित्रिए होलान् र चाहेको आनन्द पाएर मक्खिए होलान् , सुन्दर सपना बोक्ने कतिपय शोडषीहरू यहाँ जबर्जस्ती भित्र्याइए होलान् र कुमारीत्व लुटाइए होलान् । यहाँका हाँसो र रोदनका, उदारता र सङ्कीर्णताका, नैतिकता र अनैतिकताका, मोजस्ती र पीडाका कथाहरू त यही भव्य दरबारलाई थाहा होला । तर न दरबार बोल्छ न इतिहास नै ।

हाम्रा कान र आँखाहरू जहिले पनि राम्रो सुन्न र हेर्न मात्र लालायित हुन्छन् । त्यसैले म रानीहरूका उन्मुक्त, तत्कालीन यौवनाहरूका रौनक, चहलपहल र मोजमस्तीहरू मात्र कल्पना गरेर विभोर हुन्छु र यी क्षणहरूलाई स्मृतिभित्र कैद गर्दै सुस्तसुस्त पइला चाल्छु ।

अँ, अमेरबाट फर्कँदा देखिन्छ वृन्दावन । यो कृष्णले रासलीला गरेको वृन्दावन होइन, त्यसको प्रतीक भने अवश्य हो । यहाँ पनि आधुनिक गोपिनीहरू जोडीजोडी भएर गफगाफमा तल्लीन भएको देख्न पाइन्छ । अनि सम्झन मन लाग्छ आफूले भर्खरभर्खर विवाह गरेको समयलाई ।

विवाह गर्दा म झन्डै एक्काइसको थिएँ भने मैले विवाह गरेकी कन्या थिइन् सोह्र वर्षकी । बिहे गरेको दोस्रो वर्ष अर्थात् मैले बाइस टेक्ता नटेक्तै र उनी सत्र वर्षकी छँदा मकवानपुर गढी डुल्न गएका थियौँ हामी । साथी थिए साला रूपचन्द्र । जुम्ल्याहाहरूको सँगसँगै विवाह गर्नुपर्छ भनेर रूपको पनि विवाह भइसकेको थियो हाम्रो भन्दा ठ्याक्कै सात दिन अगाडि अर्थात् २०४० साल माघ ८ गते । तर उनी सपत्नीक त्यहाँ थिएनन् अर्थात् हामी थियौँ तीन । म पहिलोपटक मकवानपुर गढी जाँदै थिएँ । फुरफर थिएँ म ऐतिहासिक-सांस्कृतिक स्थलमा जान पाएर । त्यहाँको बाटो थियो उकालो । उकालो र ओरालोमा अप्ठ्यारो परेको बेला एकले अर्काको हात समातिन्थ्यो-

'उकालीमा अघिअघि 
ओरालीमा पछिपछि'
मा जस्तै हो । त्यही सम्झना भइरहेको छ मलाई । आजभन्दा बाइस वर्षअगाडिको घटना सम्झँदा मात्र पनि मलाई रोमाञ्च भइरहेको छ र कताकता काउकुती लागेजस्तो पनि ।

कृष्णको सम्झना गराउने र आफैँलाई विगततिर फर्काइदिने रमाइलो वृन्दावनमा पाँच मिनेट रोकिएर यहाँको प्राकृतिक तथा वातावरणीय रसपान गरेर हामी अगाडि बढ्दै छौँ । अब हामीलाई अलिकति बजार गर्नु छ, त्यसैले हामी त्यतै लाग्दै छौँ ।

पहिले हामी जान्छौँ कपडा पसलमा । थरीथरी कपडाहरू छन् । सारी, तन्ना, गलैँचा, प्यान्ट, सर्ट, सुरुवाल, कुर्ता, ब्याग के लिने त्यही छ । लिन त मलाई पनि मन छ, तर यहाँको भाउ महँगो छ । घरका लागि कोसेली किन्ने रहर हुँदाहुँदै पनि म रोक्छु आफूलाई । यहाँभन्दा त मेरै देशमा सस्तो छ । वीरगन्जमा उही मूल्यमा पाइने कुरा जयपुरदेखि किन बोक्नुपर्यो ! केही किन्दिनँ । केही साथीहरू सारी, कुर्ता-सुरुवाल र तन्नाहरू किन्छन् र थकथकिन्छन् । किन नथकथकिऊन् , भारुमा मूल्य सुन्दा सस्तो ठान्छन तर गोजीबाट रकम झिक्ता नेपाली रुपियाँ घटेको महसुस गर्छन् 'मथुराजीका पेडा खायाभी पछताया, नहीं खायाभी पछताया ।'

कपडा पसलपछि हामी अघि बढ्दै छौँ अन्य पसलहरूतर्फ । अब हामीले पनि अलिअलि अनुभव गर्न लागेका छौँ 'कि त जयपुर महँगो छ कि त जयपुरको महँगो पसलमा पर्यौँ हामी ।' ब्रोकेन हिन्दी बोले पनि नेपाली भनेर चिनिहाल्छन् जयपुरका धूर्त व्यापारी । त्यसमाथि पसलमा पनि परस्परमा हामी नेपाली बोल्ने, ठगिन झन् सजिलो । चिनोका रूपमा केही किन्नैपर्ने हाम्रो सोचाइ हुनाले विभिन्न पसलहरूबाट हामी भाँडा, मूर्ति, प्रतिमूर्ति, जुत्ता, ब्याग, रिङ आदि केही न केही किन्छौँ र बाटो लाग्छौँ ।

अब हामी समयमा नै रेल चढ्न स्टेसनमा पुग्नु छ । हामीलाई जयपुर डुल्नु छैन अब । झन्डैझन्डै एकसरो धोको पूरा गरी हेरेका छौँ गुलाबी सहर जयपुरलाई । त्यसैले जयपुरलाई बिदाइका हातहरू हल्लाउँदै अघि बढ्छौँ – बिदा ! जयपुर बिदा !!

jantar_mantar_jaipur_2281_jpg_600x

(Source of Photo: Click Here)

कागजको घोडा



त्यो त कागजको घोडा हो
जो एक झोक्का हावाले
ढल्न सक्छ
एक घुस्सा मात्रले पनि
कच्याककुचुक हुन सक्छ


कागजको घोडाको
के पाइन हुन्छ र ?
केही छिटा पानीले
गल्न सक्छ
पानीको एउटा सानै लहरले पनि
बग्न सक्छ

जनआन्दोलन


कागजको घोडा
आखिर कागतकै हो
चाहे त्यो गत्ताको होस्
चाहे नेपाली कागतको
वा
साधारण रोलदार,
फुलिस्केपको
त्यो एक काँटी सलाईको
खेल त हो 


त्यसैले
त्यति कमजोर घोडाले होस्
वा
त्यसमाथि काठी कस्नेले होस्
फुर्ती लाइरहनु आवश्यक छैन
किनभने
घोडा जस्तो देखिए पनि
आखिर कागतकै हो  !

(२०६२-६३को आन्दोलनका क्रममा सशस्त्र सेनाको घेराबन्दीबीच २०६३ वैशाख ५ गते चन्द्रनिगाहपुरको दुर्गाचोकमा सुनाइएको कविता )

(Source of photo : Click here)

अप्ठ्यारो प्राप्ति



एउटा स्पष्ट चित्र छ
सुदूरमा
जो धेरैलाई मन पर्छ

थोरैलाई मन पर्दैन

टाढाको, साह्रै टाढाको त्यो चित्र
कल्पनाको मात्र भए पनि
सपनाको मात्र भए पनि
दन्त्यकथाको
अप्ठ्यारो प्राप्तिझैँ भए पनि
त्यो प्यारो छ, सबैको प्यारो


त्यो चित्र
छुन र भोग्न
बडो अप्ठ्यारो छ
किनभने
त्यहाँसम्म पुग्ने बाटाहरू
स्पष्ट छैनन्
सजिला छैनन्
त्यसैले
चित्र छुन र भोग्न चाहनेहरू
चित्रसम्म पुग्ने बाटो खोज्दै छन्

त्यहाँसम्म पुग्न सक्ने
समर्थ पथप्रदर्शक खोज्दै छन्
बाटाहरू अस्पष्ट छन्
धूमिल छन्
र पनि
चित्रसम्म पुग्न डोर्याउने
साहसी खोज्दै छन्
धेरै मान्छेहरू

निकै धेरै मान्छेहरू !

 12

 

(फोटो स्रोत :- यहाँ क्लिक गर्नुहोस् )

परदेशी ! परदेशी !!

जयपुरमा २०६३ असार सत्र गते राति ११ बजे रेल चढेका हामी अठार गते बिहान ७ बजे दिल्ली आइपुग्यौँ । आबुतिर जाने बेलामा हामीले दिल्ली घुम्ने ताल मिलाउन सकेका थिएनौँ । त्यतिखेर प्लेटफारमको पाँच घन्टाको समय व्यर्थै गएको थियो । अहिले पनि समय मिलाउन नसक्ता हाम्रो ठुलो गल्ती हुन्थ्यो । एउटा राम्रो अवसर हामीले गुमाउनु पर्थ्यो । दिल्ली पुगेपछि साधारण ढङ्गले नित्यक्रिया गरेर निस्किहाल्ने रेलमै सल्लाह भए तापनि ओर्लेपछि भने यसोउसो गर्दागर्दै एघार बजिहाल्यो । अब हामीसँग चार घण्टाजति मात्र समय बाँकी रह्यो डुल्न । यहाँ डुल्न हामीले महिन्द्रा गाडी भेट्यौँ ।

साथीहरू विभिन्न रुचिका थिए । दिल्लीका प्रत्येक अवलोकनीय स्थलहरू हेरौँ भन्थे कोही, होइन गाडीबाटै दिल्ली सरर हेरौँ भन्थे कोही, बढीभन्दा बढी ठाउँ हेरौँ भन्थे कोही । 'बढ्ता जोगी मठ उजाडे' भनेझैँ थरीथरीका रुचि र चाहना अनि त्यसै किसिमको आदेशले ड्राइभरसमेत हैरान भयो । त्यसो हुँदाहुँदै पनि केही महत्त्वपूर्ण र प्रसिद्ध स्थलहरू हेर्न भ्यायौँ ।

सर्वप्रथम हामी गान्धीसमाधि पुग्यौँ । गान्धी परिवारकाहरूलाई समाधिस्थ गर्ने गरिएको ठाउँ रहेछ यो । गान्धीसमाधि एउटा सुन्दर र विशाल पार्क जस्तो छ ,जहाँ फूलैफूलका माझमा सुन्दर कमला हरिया दुबोमा बसेर घन्टौँ गफिन, कविता रच्न वा भावनात्मक वार्तालापमा तल्लीन हुन मन लाग्छ । साँच्चिकै भनूँ भने बिहान-बेलुका यहाँ डुल्न आउने हो भने छुट्टै शान्ति मिल्छ ।

ठ्याक्कै समाधि नै भएको ठाउँमा पुग्नुअघि चप्पल-जुत्ता फुकाल्नपर्ने रहेछ । समाधिस्थल नै चाहिँ अत्यन्त सम्मानित रहेछ ,श्रद्धाका साथ फूलका गुच्छा चढाउँदा रहेछन् मानिसहरू । म भारतीय होइन, गान्धी परिवारको राजनीतिबारे पनि म धेरै जान्दिनँ । तैपनि समाधिस्थलमा पुग्दा कसोकसो मेरा दुवै हातहरू जोरिएर उचालिएछ न् । पछि पो ख्याल भयो, भारतीय यी मनीषीहरूलाई पत्तै नपाई सम्मान गरेछु भनेर ।

गान्धीसमाधिबाट मुग्धिएर लाग्यौँ हामी कुतुबमिनार तर्फ । कुतुबमिनार हेर्न पुग्दा मलाई आफ्नो बाल्यकालको सम्झना भयो । म दस-एघार वर्षको हुँदा साइकलमा बाकसजस्तो एउटा भाँडो ल्याउँथ्यो एउटा घुमन्तेले । कोहीसँग मकै, कोहीसँग पैसा लिएर उसले सिनेमा देखाउँथ्यो । हाम्रो गाउँमा त्यतिखेर चलचित्र घर थिएन । हामीले सिनेमा देखेकै थिएनौँ । त्यसैले घुमन्तेले सिनेमा भनेर ल्याएको भाँडो हामीलाई साँच्चिकै सिनेमा जस्तो लाग्थ्यो ।

म पनि कहिलेकाहीँ त्यस्तै सिनेमा हेर्न जान्थेँ । उसले बाकसमाथिको ह्यान्डिल घुमाउँदै जान्थ्यो, चित्र सर्दै जान्थ्यो । एकपछि अर्को रङ्गिन आकर्षक चित्र हेर्दा हामीलाई खुब आनन्द लाग्थ्यो, सिनेमा हेरेकै मज्जा आउँथ्यो । हामी फुरुङ्ङ परेको देखेर फेरीवाला मक्ख पर्थ्यो र भन्दै जान्थ्यो 'ए, राजेश खन्ना देखो, 'ए हेमा मालिनी देखो', ए, मकैका घोगा देखो आदिआदि । हेर्नमा मज्जा आउने हुनाले ऊ आएपिच्छे म पनि मकैका घोगा लिएर कुदिहाल्थेँ ।

हो, त्यसैबेला सिनेमाभित्र देखेको दिल्लीको कुतुबमिनार अर्थात् धरहराको सामुन्ने थिएँ म । कुतुबमिनार मात्र थिएन त्यहाँ । त्यसको सुरक्षार्थ बनाइएजस्ता लाग्ने अवशेष र भग्नावशेषहरू पनि थिए त्यहाँ ।

पहिलेका राजा-माहाराजाहरूले सोखका रूपमा बनाए तापनि ,यस्ता कुरामा गरिएका खर्च त्यतिखेर फजुल लागे तापनि आज ती राष्ट्रकै सम्मानित बनेका छन् र अत्यन्त सजगतासाथ सुरक्षित गरिएका छन्।

अँ, त्यसपछि हामी इन्डियागेट हुँदै हामी लाग्यौँ इन्दिरा गान्धी म्युजियम । जाने-नजाने, जाने-नजाने गर्दै थिए कति साथी । हामी अघि बढिहाल्यौँ ,पछि उनीहरू पनि आएछन् ।

मैले 'नेहरुज लेटर' पढेको थिइनँ तर विद्यालय पढ्दाताकै सान्दाजु चन्द्रमोहनबाट प्रसङ्ग भने सुनेको थिएँ धेरैपटक । "त्यो पुस्तक जवाहरलाल नेहरुले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेका चिठीहरूको सँगालो हो" भन्नुभएको थियो उहाँले । बाबुले छोरीलाई लेखेका व्यक्तिगत चिठीहरू अरूका लागि पनि पठनीय र प्रेरक हुन्छन् भन्ने सुन्दा छक्क परेको थिएँ म । त्यसैले इन्दिरा गान्धीका बारेमा थोरै भए पनि चासो राख्ने गरेको थिएँ । यहाँ अर्थात् इन्दिरा गान्धी म्युजियममा चाहिँ इन्दिरा गान्धीको दिनचर्या ,जीवन, सङ्गत तथा उनीप्रति अरूको दृष्टिकोण झल्काउने वस्तुहरू सङ्ग्रह गरिएका थिए । भारतको कुनै बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीप्रति त्यसैत्यसै सम्मान पलाएर आयो पुन:स्मृतिले, उनले प्रयोग गर्ने गरेका सामग्रीहरूले, उनको विवाहका झल्काहरूले, उनले पाएका सौगात र उपाधिहरूले, अनि उनले आफ्नो हत्याका दिन लगाएका सारी, गहना र भिरेका ब्यागहरूले ।

यही म्युजियममा भेटिए राजा वीरेन्द्र । राजा वीरेन्द्रको सम्झना ताजा बनेर आयो । विदेशमा तस्विर मात्र देख्ता पनि आत्मगौरवले मन धपक्क बल्यो । तुरून्तै हत्या गरिएको क्रूर र वीभत्स दृश्य आँखा अगाडि आयो र मन कस्तोकस्तो नरमाइलो भयो ।

लालकिल्ला हेर्ने ठूलो उत्कण्ठा भएर पनि आइतबारे भीडले हाम्रो अपेक्षामा तुषारापात गर्यो । लाल किल्ला हेर्न खोज्नेहरूको पङ्क्ति निकै लामो थियो र घामले पनि प्रचण्डता प्रदर्शन गरिरहेको थियो । स्टेसनमा पुग्न हामीसँग एक घण्टा मात्र समय बाँकी थियो । यहाँको लाममा मात्र हामीलाई एक घण्टा लाग्ने थियो, हेर्न कतिबेर लाग्थ्यो होला ! त्यसैले होला समयको लगामले कसेर लालकिल्लाको परिसरबाहिर ल्याइपुर्याएको हामीलाई ।

समय घर्कँदै थियो, 'दिल्लीको चिनु' भनेर हामीले केही किन्नु पनि थियो । आइतवार हुनाले दिल्ली बन्द जस्तै रहेछ । त्यसैले हामी पस्यौँ सधैँजसो खुला रहने चाँदनीचोकमा । दिल्लीमा सामान सस्तैमा पाइन्छ भन्दा रहेछन् मान्छेहरू । जयपुर जत्तिकै नभएपनि महँगै रहेछ चाँदनीचोकभित्रको दिल्ली पनि । साना पसलहरू छन् चाँदनीचोकमा । रेलको समय र बिदाको दिन सम्झँदै बजार गर्यौँ हामीले । मैले किनेका सामानहरू दिल्लीमा भन्दा वीरगन्जमै सस्तो पाइने रहेछ । जयपुरमा ठगिनबाट बचेको म भारतको राजधानीमा भने फेला परिहालेँ ।

भारतीयहरू आफ्नो देशका प्रत्येक निधिको प्रचार गर्न, महत्त्व बढाउन तथा संरक्षण गर्न अत्यन्त सचेत र तत्पर रहेछन् ।

अँ, बजार सकेर हामी स्टेसनमा आयौँ । जुन रेलमा चढेका थियौँ, त्यसैबाट हामी नरकटियागन्जसम्म आउन पाउँथ्यौँ । यो रेल मुजफ्फरपुर जाने हुनाले हामीले नरकटियागन्जमा रेल बदलिनु थियो । लोकल रेलमा चढ्दा सिट पाइने कम सम्भावनाले चढ्दा भने बढी भीड हुने रहेछ । चढिसकेपछि भने त्यस्तो असुविधा भएन ।

नरकटियागन्जबाट यता आएपछि भने पल्लो डब्बाबाट

नारीआवाजमा गीत सुनियो । मुक्त कण्ठले गाउने तिनीहरू मागेर गुजारा गर्नेहरू रहेछन् । तर माग्ने जुक्ति भने तिनीहरूको फरक थियो । हामी उता लाग्ने बेलामा हिजडाहरूले माग्दाखेरि अपनाएजस्तो अश्लील व्यवहार उनीहरूको थिएन । अनि छोरीको बिहे गरिदिनुछ भनेर एउटी तरुनीलाई अगि लाएर माग्दै हिँड्ने आमाको भूमिकामा रहेकी एक माग्नेको जस्तो चाला थिएन यिनीहरूको । यिनीहरू हक्की थिए । कला र गलाको संयोजन गरेर यात्रीहरूलाई मोहित पार्न सक्थे ।

पल्लो कोठामा गीत घन्केको सुनेर हाम्रो डब्बाका प्राय:को ध्यान उतै मोडियो । चालीस वरपरको उमेरका ती महिला विभिन्न गीतका टुक्राहरू निरन्तर गाउँथे ,मानौँ ती सबै गीतहरू एकै गीतका फाँकीहरू हुन् । उनीहरूलाई कुनै पनि गीत सिङ्गो रूपमा गाउन आएपनि नआएपनि वा उनीहरूले विविधता दिन खोजेको भए पनि उनीहरूले दिल खोलेर गाएका थिए । कलाकारिताको उच्च सम्मान गर्न कुरा राख्तै मोटै रकम माग गरेका थिए । उनीहरूले मागेजति दिन पल्लो डब्बाकाहरूलाई हम्मे परयो होला । मलाई चाहिँ तिनीहरूको प्रस्तुति रोचक लाग्यो । रेलबाट ओर्लिसकेर पनि उनीहरूको मुक्त आवाज मेरो कानमा गुन्जिरहेकै छ :

'परदेशी ! परदेशी !!

जाना नहीँ

मुझे छोडके, मुझे छोडके !'

युना



दिनहरू गन्छे ऊ
एक, दुई, तीन
र फेरि
एक, दुई, तीन
हिसाबमा दोहोरिन्छन् उही दिनहरू

गणना हुन्छन् त्यसै गरी
आगतका दिनहरू

रोपाइँका दिनहरू आउँछन्
ऊ मेला जान्छे
ऊ पर्म जान्छे
पर्महरू सध्दै जान्छन्
मेलाका ज्यालाहरू बढ्दै हुन्छन्
क्रमशः क्रमशः

सपना देख्न थाल्छे
'फेबल्स अफ एसप'की केटीझैँ
वा
दन्त्यकथाको 'सोम शर्मा'को बाबुझैँ
किन नदेखोस् ऊ सपना त्यस्तो
सपनाले नै
कल्पनाले नै
मान्छेलाई जिजीविषातर्फ आकृष्ट गर्छ

यस्तै सपना र परिकल्पनाले त
ऊ बाँचेकी छ
ऊ हाँसेकी छ

यसै यसै गरी
बाँच्ने छे युना
बाँचिरहने छे युना !
Related Posts with Thumbnails