माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म

प्रिय जोन उड,                                                            २०६६।०८।२७    

मैले "लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड" खगेन्द्र सङ्ग्रौलाकृत सुन्दर नेपाली अनुवाद माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म भर्खर पढेँ । यो पुस्तक म अध्यापनरत विद्यालयमा नेस्ट मकवानपुरद्वारा दिइएको पुस्तकालयबाट लिएर पढेको हुँ । यसको अध्ययनबाट मैले तपाईँले गर्नुभएको त्याग, निरन्तरको कडा मिहिनेत तथा समर्पण थाहा पाएँ ।




मैले आजसम्म पढेका पुस्तकहरूमा यो साह्रै उत्प्रेरक लाग्यो । यो पुस्तक पढेर पनि म तपाईँजसरी नै त काम गर्न सक्तिनँ तर मैले गरिरहेको कामलाई अझ राम्ररी गर्ने प्रेरणा भने पाएको छु । म आफूलाई लगनशील ठान्दछु र पनि आफ्नो पेसामा अझ दत्तचित्त भई मेरो देशका लागि कुशल नागरिक तयार गर्ने प्रेरणा यस पुस्तकबाट पाएको छु । मैले यस चिठीमा आफ्नो मन छोएका पक्षहरूलाई समेट्ने प्रयत्न गरेको छु , अवश्य स्विकार्नुहुनेछ ।

यस पुस्तकमा क्यानाडाली महिलासँग तपाईँको बाहुन डाँडानेर भएको भेटले तपाईँमा उत्साह भर्न नसके पनि तपाईँको योजना सुन्ने प्रथम व्यक्ति उनी नै भएकीले र तपाईँमा त्यस भेटले ऊर्जा प्रदान गरेको हैसियतले उनीसँगको भेटलाई फलदायी नै मान्नुपर्छ । यस पुस्तकमा एलनको चिठी र अझ त्यस चिठीको अन्तिम वाक्य, बालस्पर्शको रोमाञ्चकारिता मार्मिक पक्षहरू हुन् । भियतनामी केटो, एरिन भियतनामबाट फर्केपछिको वार्ता, एरिनले श्रीलङ्का भ्रमण गरेपछि लेखेको चिठी तथा उमेरमा पढ्न नपाएकी महिलाको प्रसङ्ग मार्मिक छन् अनि कृपालीको प्रयत्न र जुक्ति ज्याकोब, डेबिड र डानियलको मिहिनेत तथा श्रीलङ्काली ४ वर्षीय केटो कविथको स्वयम्सेवा कम्ती उल्लेखनीय छैनन् ।

 पुस्तकमा आएका कतिपय प्रसङ्गहरू तपाईँको जीवनदर्शन जस्ता लाग्दछन् । त्यस्ता कतिपय प्रसङ्गहरू महान् व्यक्तिका उद्धरणकै रूपमा पनि आएका छन् । यस्ता महत्वपूर्ण वाणीहरू मजस्ता मानिसका लागि प्रेरक र मार्गदर्शक बन्न सक्छन् । यस प्रकारका उद्धरणहरूले मानिसलाई चिन्ने तरिका, आफ्नो क्षमता र रुचिअनुसार कार्य गर्न पाउँदाको आनन्द, दम्पतिबीचको साङ्केतिकता तथा चाहने मान्छेले आफूलाई फेर्न सक्ने तरिका बताउँछन्। यसै गरी कुनै पनि असल कार्यको पूर्वतयारीले खराब कार्यसम्पादनबाट बचाउँने, आफ्ना अधीनस्थका कुरा सुन्नुपर्ने, खराब श्रोता बन्न नहुने, आफ्नो अगाडिको यथार्थलाई उपेक्षा गर्न नहुने जस्ता शिक्षा प्राप्त हुन्छन् ।  यसबाट  ग्रहणशीलता, उच्च विचार, उपलब्धिहरूको प्रसारण, आफूले गर्ने कार्यप्रति तीव्र उमङ्ग तथा हैसियतदारी जस्ता शिक्षा प्राप्त हुन्छन् । कर्मनिष्ठा, आँटिलोपना तथा असल व्यूहरचना नै उद्यमका सफलताको कडी हुन् भन्ने ठहर यस पुस्तकबाट प्राप्त हुने शिक्षा हो ।

यस पुस्तकबाट सिङ्गो विश्वकै महिला, बालबालिका तथा समग्र निरक्षरता स्थिति, गिनी जुका र कार्टर प्रसङ्ग, कोलोराडोबाट नेपालको दूरी तथा अकल्यान्डको भूपरिवेशजस्ता कुराहरू जानकारी हुन्छन् ।

तपाईँका वैयक्तिक प्रसङ्ग तथा निजी अनुभूति पनि पुस्तक पढ्दा रमाइला लाग्दछन् । तपाईँलाई कतिपय अवस्थामा नौलो अनुभव गर्न पाउने कल्पना मात्र पनि आनन्दिलो लाग्दोरहेछ ।तपाईँमा आशावाद निकै छ । गर्दै गएपछि हुँदै जान्छ र यो संसार आँटीहरूकै हो भन्ने रहेछ । हरेक राम्रा कुराको टिपोट गर्ने तपाईँको बानी राम्रो छ । बाल्यकालको स्वाध्ययनको अभ्यासले नै तपाईँलाई विश्वभरकै बालबालिकाको कल्याणका लागि लाग्न प्रेरित गरेको रहेछ ।

यो पुस्तकमा हास्य पनि पाइने रहेछ । सार्क माछाका दाँतका प्रसङ्ग पढ्दा हाँसो उठ्छ ।

नेपाली संस्करणमा छिटपुट भाषिक त्रुटिहरू भए तापनि अनुवादकलालाई बेजोड मान्नुपर्छ । त्यसभन्दा पनि तपाईँको प्रस्तुति कलाले यो पुस्तक समाजसेवी, साहित्यकार तथा व्यवसायी सबैका लागि ऊर्जामय र उत्प्रेरक बनेको छ । नेपालजस्तो देशका लागि तपाईँको उदात्तताका लागि साधुवाद !!


 
तपाईँको

रमेशमोहन अधिकारी

2 comments:

  1. मैले पुरै त पढ्न पाएको छैन तर धेर थोर चैँ पढेको हुँ यो किताव । तपाईको चिठीसँगै पढ्ने जाँगर पनि सँगै पलाएर आयो । धेरै धन्यवाद ।

    ReplyDelete
  2. केशव शर्माMay 29, 2010 at 6:19 PM

    समीक्षात्मक टिप्पणी उपयुक्त लाग्यो । पढेपछिका अनुभव समेटेकामा सङ्क्षेपको टिप्पणी स्वाभाविक छ ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails