मेरो भूत

07014053.detail.a कुरा केही वर्ष अगाडिको हो, त्यतिखेर म एक्लै बस्ने गर्थेँ। म बस्ने घर अलि पुरानो खालको थियो, जसको माथिको छ कोठामध्ये अगाडिको दुइटा कोठामा घरबेटीहरू बस्थे । म पछाडिको एउटा कोठामा बस्थेँ र माथिको ३ वटा कोठा खाली थियो । घरबेटीहरुको माथि नै भएपनि उनीहरुकोमा पुग्न बिचको गजवारवाला ढोका पार भएर जानु पर्ने भएको हुनाले घरबेटीहरू भएपनि म एक्लो जस्तै नै हुन्थेँ । Toilet-Bathroom सबै तल नै थियो। तलको तल्लामा क्याम्पस पढ्ने विद्यार्थीहरु बस्थे । त्यतिखेर गर्मीयाम थियो ।
त्यो दिन म केही काममा अल्झिएर बसेकोले गर्दा राति सुत्न अलि ढिलो भयो । सुत्नु भन्दा अगाडि हल्का हुनुपर्यो भनेर म त्यस्तै १०:३० तलतिर ओर्लें, त्यतिखेरसम्म सबैजना सुतिसक्नु पर्ने थियो तर गर्मीले गर्दा सुत्न सकिरहेका रहेनछन् । उमेश र उसको रुम पार्टनर राजेश आफ्नै कोठाभित्र गफिँदै थिए। म पनि सधैँझैँ उनीहरुको कोठातिर लागें । राजेश भर्खर गाउँबाट आएको हुनाले ऊसँग गफ गर्ने विषय धेरै नै थियो । ऊ भर्खरै गाऊँमा घटेको घटना बारे सविस्तार व्याख्या गर्दै थियो । उसको गाउँको साथीको भर्खरै गाउँ नजिकको दहमा डुबेर दु:खद निधन भएको रहेछ । ती युवकको शव निकालिएको विषयमा वर्णन गर्दै थियो । यसै प्रसङ्गमा कुरा हुँदाहुँदै गाउँमा देखिने गरेको भूतको कुरा हुन थाल्यो, जसलाई अधिकांश गाउँलेहरुले गोठमा, चौरमा, वनमा, खोला नजिकै वा बासँको झ्याङ्गमा देख्ने गर्थे । यो गफ मोडिदै बिस्तारै एक-अर्कालाई तर्साउने र रमाइलो मान्ने हिसाबले अगाडि बढ्न थाल्यो । गफै-गफमा उमेश र राजेश दुवैजना मिलेर मलाई तर्साउने हिसाबले कुरा गर्न थाले। दुवैजना मलाई भूत-प्रेतको कथा बनाउँदै सुनाउन पनि थाले, म यी सबैमा विश्वास नगर्ने भएकोले उनीहरु आफ्नो कुराहरु पुष्टि गर्न जोडतोडले लागिपरेका थिए । मलाई पनि यिनीहरुसँग मजाक गर्नुपर्यो भन्ने लाग्यो र मैले पनि तिनीहरुलाई तर्साउन नयाँ कथा बनाएर भनेँ जसअनुसार ऊनीहरु बसेको कोठामा एक असफल प्रेमी झुन्डिएर मरेको थियो । म उनीहरुभन्दा पहिलेदेखि नै त्यहाँ बसिरहेको हुनाले आफूसँग भएको अन्य जानकारीको प्रयोग गर्दै त्यस कुराको थप पुष्टि गरें । उनिहरुले सुरुमा त पत्याएका थिएनन् तर मैले हो कि हो भनेपछि उनीहरुले पनि विश्वास नगरी धरै भएन । यसरी उनीहरु पङ्गु बने भन्ने लागेपछि म माथि लागेँ र मस्तसँग सुतेँ ।
भोलिपल्ट बिहान अलि अबेला नै आँखा खुल्यो र नित्यक्रिया गर्न तलतिर लागेँ । तल त भद्रगोल नै भएको रहेछ । तलका सबैको अनुहार निन्याउरो देखिन्थ्यो, जसले उनीहरु राति राम्ररी नसुतेको कुराको पुष्टि गर्दथ्यो । म बाथरूमसम्म पुग्न भ्याएको थिइनँ; बाटैमा शेखर, जो बिचको कोठामा बस्थ्यो, ले हिजोको कुरा साँचो हो कि होइन भनेर सोध्यो। मैले कुन कुरा भनेर सोधेँ। उसले भूतको कुरा भनेर भन्यो अनि म छक्क परेँ । मैले उसलाई कसरी थाहा भयो भनेर सोध्दा उसले सम्पुर्ण कुरा भन्यो । हिजो म गइसकेपछि उमेश र राजेश बाहिर निस्केछन् र सबैलाई उठाएर मेरो कथालाई फुलबुट्टा भरेर सुनाउने काम चैँ राजेशले गरछ । त्यसले गर्दा अरुहरुपनि अबेरसम्म सुत्न सकेनछन् । यसरी एउटा कोठाभित्र गरेको मजाकले सारालाई सताएछ । त्यसले गर्दा अन्य कथाहरूपनि प्रकाशमा आयो । अरुहरुले पनि भूत भेटेको प्रमाण दिन थालेछन्, जसमा दिनेश, जो स्नातकको पढाई सकेर शिक्षण गरिरहेको थियो, ले सबैलाई उछिनेछ । उसले घरको पछाडिमा, गल्लीमा, धारामा समेत भूत भेटेको रहेछ । अरुहरूका पनि त्यस्तै खालका कुराहरु रहेछन् । त्यहाँ भएका मध्ये वैधनाथलाई सबभन्दा बढी असर परेछ । ऊ कक्षा १२ मा विज्ञान पढ्ने विद्यार्थी थियो । ऊ सबभन्दा पछाडिको कोठामा एक्लै बस्ने गर्थ्यो । तलका सवै जनालाई सुत्न जान डर लागेछ गफ गरेर १ बजेसम्म बसेछन् र त्यसपछिमात्र सुत्न गएछन् । वैधनाथको डरले गर्दा पेट दुखेछ । उसलाई रातभरी छेरपट्टी चलेछ । राति एक्लै सुत्न डर लागेर ऊ उमेशहरुको कोठामा सुतेछ । मलाई यि सारा कुराहरू सनेपछी सारै नै नराम्रो लाग्यो । अघिल्लो बेलुका यस्तो हुन्छ भन्ने लागेको भए अवश्य नै यस्तो कुरा गर्ने थिइन् । मेरो कारणले गर्दा त्यतिखेर सबैले दु:ख झेल्नुपर्यो । मैले यो मजाक हो भनेर भन्दा भन्दै पनि वैधनाथले त्यो घटना भएको १ हप्तापछि कोठा सर्यो । घरबेटीहरु यो घटना पछि मसँग रिसाएका थिए ,जसले मलाई झन् दु:खी बनाएको थियो ।
(Image source: Click here )

2 comments:

  1. विवेश जी, पोष्ट रोचक लाग्यो । तपाईको ब्लगमा छिरेको थिइनँ रहेछु सार्है राम्रो लाग्यो मलाई । निरन्तरताको शुभकामना छ तपाईलाई ।

    मेलै तपालई मेरो छिमेकी(ब्लग लिस्ट)मा राखिसकेको छु । मेरो ब्लग पनि तपाईको ब्लग लिस्टमा राखिदिनुहोला । सधैँ सहयोग र समर्थनको आशमा छु ।

    *नतांश*
    http://www.onlinekhaskhas.blogspot.com/

    ReplyDelete
  2. संस्मरण पढ्न रमाईलो लाग्यो! बेलाबखत यस्तो भईरहन्छ, भूत-प्रेतले हाम्रो चेतन-अचेतन दुबैमा गहिरो जरा गाडेको छ।
    घरबेटीहरु तपाईँसंग रिसाउनुपर्ने कारण भने थिएन किनभने वैधनाथलाई तपाईँले सुनाउनुभएको होईन।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails