जगदीश शर्माको 'अमेरिकामा महिना दिन' हेर्दा

Map of America१. परिचय
जगदीश शर्मा पेसाले पत्रकार हुन्। साहित्य भनेपछि हुरुक्क हुन्छन्। त्यसैले उनको योगदान पत्रकारिता र साहित्यमा उत्तिकै नभए साहित्यतर्फ पनि गतिलै छ। साहित्यिक क्षेत्रमा भने उनी मूलतः प्रेरकका रूपमा चिनिन्छन्। खास गरी 'प्रतीक' दैनिकको 'वाटिका' स्तम्भ मार्फत् उनले नारायणी अञ्चलका बारा, पर्सा, रौतहट तथा मकवानपुरका नव प्रतिभाहरूलाई चिनाउने तथा चिनिएकाहरूलाई स्थापित गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। 
२००६ सालमा जन्मेर ३३ वर्षको उमेरदेखि निरन्तर पत्रकारिता गर्दै आएका जगदीशको पहिलो पुस्तकाकार कृतिका रूपमा 'अमेरिकामा महिना दिन' यात्रा साहित्यिक कृति २०६७ मा पाठक समक्ष आएको हो। पत्रकारिताकै सिलसिलामा एक महिना अमेरिका बस्ने गरी जान पाएका जगदीशले यस कृतिमा सङ्ग्रहित चौध वटै यात्रा संस्मरणहरूमा आफूलाई खुलस्त रूपमा अभिव्यक्त गरेका छन्। 
२. अचम्म लाग्दा यथार्थको प्रस्तुति
लेखकले आफूले जानकारी पाएका प्रत्येक कुरा पाठकमा सम्प्रेषण गर्न खोजेका छन्। यस क्रममा अमेरिकामा रेडियो स्टेसन भएको थाहा पाएका उनले आफ्नो खुसी पाठकहरूलाई बाँड्न खोजेको अनुभूति हुन्छ। अमेरिका जस्तो संसारकै प्रजातान्त्रिक आदर्श ठानिने मुलुकमा समेत कतिपय कुरा खुलस्त भन्न मिल्ने स्थिति नहुनु र कसैले केही कुरो चुहाइहाले पनि 'अफ द रेकर्ड' भनेर मात्र भन्न मिल्ने अमेरिकी सहकारी संस्थाहरूको जस्तो उदेक लाग्दो स्थिति पनि हामी उनका संस्मरण पढेर थाहा पाउन सक्छौँ। नेपाल जस्तो अविकसित देशका समेत कतिपय सहरहरूमा हुने खालको सार्वजनिक शौचालय अमेरिकामा कतै नहुनु झन् अचम्म लाग्दो कुरा हो। यस्तै उपभोग्य वस्तुहरू उत्पादन नगर्ने अमेरिकी नीति र प्रवृत्ति पनि पत्याउन अप्ठ्यारो पर्ने तर पत्याउनै पर्ने सत्य हो।
अमेरिकाको 'आई डु नट नो' अर्थात् 'मलाई केही थाहा छैन' संस्कृति अचम्म लाग्दो छ। अमेरिकीहरू विवादमा पर्न सकिने सन्दर्भमा कतिपय अवस्थामा 'थाहा छैन' भनी दिन्छन्। त्यस्ता विषयमा उनीहरूले राम्ररी थाहा पाएका वा पटक्कै थाहा नपाएका पनि हुन सक्छन्। यो संस्कृति कतिपय प्रसङ्गमा ठिकै लागे पनि  कतिपय प्रसङ्गमा भने अलि बढी बिन्दास खालको तथा व्यक्तिवादी लाग्छ। सँगै कुनै कार्यक्रममा गएका व्यक्ति पति पत्नी नै भए पनि एकले अर्कालाई नपर्खने अमेरिकी विशेषता व्यक्तिवादी लाग्दा लाग्दै पनि ठिकै लाग्छ। यसो गर्दा भने कुनै एकका कारणले हुने ढिलाइ वा अन्य कमजोरीप्रति निर्दोष व्यक्ति दोषी ठहरिनु पर्दैन। परिचित होस् वा अपरिचित; नयाँ ठाउँमा त्यस ठाउँको गन्ध आउने जगदीशको स्वभाव अचम्मकै छ। यस्तो सुवास तथा गन्धको प्रसङ्ग नियात्राकार निर्मोही व्यासले पनि कतै लिखित वा मौखिक रूपमा अभिव्यक्त गर्नु भएको थियो। फूलको चर्चा गर्दा लेखकले फूलकै वासना महसुस गर्‍यो भने त्यो लेखाइ जीवन्त हुन्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो उहाँले। आमिसहरूको बस्तीको प्र्रसङ्ग पनि अचम्म लाग्दो छ। अमेरिका जस्तो विकसित देशमा कृत्रिम जीवनलाई पुरापुर बेवास्ता गरेर प्राचीन, प्राकृतिक तथा गाउँले प्रकारको जीवन बाँच्न खोज्नु साँच्चिकै अचम्म लाग्दो छ।
३. आतिथ्य परम्परा
अमेरिका नपुगेका तथा अमेरिका बारे त्यति थाहा नपाएकाहरूका लागि अधिकारीको भोगाइसँगै तथ्यका केही पाटाहरू खुल्दछन्। उनका अनुसार अमेरिकालीहरूले रेड इन्डियनलाई इन्डियन ठान्दा रहेछन् र इन्डियनलाई एसियन इन्डियनका रूपमा हेर्दा रहेछन्। डिनरमा जाँदा आआफ्ना घरको एक एक परिकार लाने राम्रो चलन रहेछ त्यहाँ। यस्तै आफ्ना घरमा आउने पूर्ण अपरिचित अतिथिसँग समेत गरिने पारिवारिक तथा आत्मीय व्यवहार रहर लाग्दो छ। आफ्नो घरमा आउने पाहुनाको लुगासम्म धोइदिने क्लिभल्यान्डेली डनसँगिनी पैटको शिष्टता अनुकरणीय छ। अनि नयाँ ठाउँमा जाँदा कोसेली लग्ने चलन पनि शिष्टता तथा मर्यादाका दृष्टिले राम्रो हो।
यस कृतिमा अमेरिकामा शनिवार र आइतवार बजार बन्द रहने प्रचलनका साथै 'सुपरम्यान' को निर्माण र 'स्पाइडरम्यान'को सुटिङ क्लिभल्यान्डमा भएको सूचना समेत शर्माले आफ्ना पाठकहरू समक्ष प्रस्तुत गरेका छन्।
४. हास्य
'हात झर्ला जस्तो भएर म बाँदर जस्तै उफ्रिरहेको थिएँ' (पृ.५४) भन्ने वाक्यमा लेखकलाई हात ठिहिर्‍याउँदा भएको पीडा अभिव्यक्त भएको छ भने हास्य पनि सृजना भएको छ। यस्तै आतिथेयका घरमा शर्माले खाना बनाउँदा दालमा नुन नपर्नु तथा आलु काँचै रहनु जस्ता प्रसङ्गले उनलाई विदेशीका अगाडि लज्जाबोध भए तापनि यो अभिव्यक्ति हास्य सृजना गर्न पनि सफल भएको छ। 
कतै मौका पाउँदा रोमाञ्चक कुरा गर्न बेर नलाउने हुनाले उनको लेखनमा कताकति रसिकता समेत पाइन्छ, आनन्द महसुस हुन्छ।
५. इमानदारी तथा निष्ठा
उनी आफू इमानदार रूपमा प्रस्तुत भएका छन् र रत्ति नलुकाई आफ्ना अनुभूति प्रस्तुत गरेका छन्। उनले मर्निङ वाकका क्रममा बाटो भुलिएको कुरो समेत जीवन्त रूपमा उतारेका छन्।
शर्मा इमानदार लेखक हुनाले उनले विन्ड चिटर पैँचो मागेको यथार्थता व्यक्त गर्न रत्ति धक मानेका छैनन्।
त्यस्तै, उनले आफूलाई चित्त बुझेका सन्दर्भमा अमेरिकाको प्रशंसा तथा चित्त नबुझेका सन्दर्भमा आलोचना पनि गरेका छन्। साँचो कुरा व्यक्त गर्ने शर्माको प्रवृत्ति प्रशंसनीय छ, पत्रकारीय धर्म पनि हो त्यो।
६. भाषा शैली
शाब्दिक शुध्दतामा ध्यान कमै पुगेको देखिन्छ। 'मावले भाइ' यस्तै शब्द हो। यस शब्दका सट्टा 'मावली भाइ' हुनु पर्ने हो। कतिपय अवस्थामा नेपाली शब्दले अर्थ वहन गर्न नसकेमा अनेपाली शब्दहरूको प्रयोग गर्नु पर्ने अवस्था सृजना हुन सक्छ भने अनेपाली शब्दहरूको प्रयोग नगरे पनि हुने अवस्थामा प्रयोग गरियो भने खट्कन पनि सक्छ। संस्मरणकारले आफ्नो कृतिमा निहाल(पृ.१५), पडाव(पृ.२१), बहलवान, कस्मोपोलिटन(पृ.२३), डायर, इस्टर्न, चेरिओक फास्टफुड, कोकाकोला जस्ता शब्दहरू प्रयोग गरेका छन्। यस्तै 'दिऊन् कि' हुनु पर्नेमा 'दिनु कि' भएको छ।(पृ.३१) शीर्षकहरू अखबारी पाराका छन्। यिनै शीर्षकहरू कवितात्मक वा आकर्षक हुन सकेको भए तिनले रचनाहरूको ओज बढाउन सक्ने थिए।
शर्माले आफ्ना संस्मरणहरूमा आफू सक्तो अलङ्कारको प्रयोग गरेका छन्। 'इस्टर्न हेमलक र चेरिओकको सहअस्तित्व जस्तै' तथा 'अमेरिकी संस्कृति भनेको फास्टफुड कोकाकोला संस्कृति हो, फास्टफुड संस्कृति हो'(पृ.३६) आदि यसका केही उदाहरण हुन्। यी अभिव्यक्तिहरूले एकातिर भाषिक वजन बढाएका छन् भने अर्कातिर कुनै काम पनि फत्ते गरी हाल्ने किसिमले लाग्ने र लागी रहने संस्कृतिमाथि समेत प्रकाश पारेका छन्।
७. निष्कर्ष
कुरा खाँदेर भन्दा पाठकमा सम्प्रेषण हुने सम्भावना कम हुन्छ भने मिठासमा पनि कमी महसुस हुन्छ तसर्थ विस्तारमा नै लेखेको राम्रो हुन्छ संस्मरणात्मक रचनामा। शर्माको लेखनमा सामर्थ्य छ। तर उनले आफ्नो पूर्ण सामर्थ्य कृतिमा प्रस्तुत गर्न सकेका छैनन्। यसको कारण कृति छिटो तुर्ने मानसिकता नै हो। शर्माले आफ्नो यसै कृतिको दोस्रो संस्करण निकाल्दा वा संस्मरणकै अर्को कृति निकाल्दा आयामका दृष्टिले नखुम्चिई आफूलाई पूर्ण रूपमा फुकाएर प्रस्तुत गर्ने हो भने शर्मा नेपालका स्मरणीय यात्रा संस्मरणकारमा दरिने कुरामा शङ्का लिनु पर्ने ठाउँ रत्ति पनि देखिन्न। 

2 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails