जगदीश शर्मा पेसाले पत्रकार हुन्। साहित्य भनेपछि हुरुक्क हुन्छन्। त्यसैले उनको योगदान पत्रकारिता र साहित्यमा उत्तिकै नभए साहित्यतर्फ पनि गतिलै छ। साहित्यिक क्षेत्रमा भने उनी मूलतः प्रेरकका रूपमा चिनिन्छन्। खास गरी 'प्रतीक' दैनिकको 'वाटिका' स्तम्भ मार्फत् उनले नारायणी अञ्चलका बारा, पर्सा, रौतहट तथा मकवानपुरका नव प्रतिभाहरूलाई चिनाउने तथा चिनिएकाहरूलाई स्थापित गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएका छन्।
२००६ सालमा जन्मेर ३३ वर्षको उमेरदेखि निरन्तर पत्रकारिता गर्दै आएका जगदीशको पहिलो पुस्तकाकार कृतिका रूपमा 'अमेरिकामा महिना दिन' यात्रा साहित्यिक कृति २०६७ मा पाठक समक्ष आएको हो। पत्रकारिताकै सिलसिलामा एक महिना अमेरिका बस्ने गरी जान पाएका जगदीशले यस कृतिमा सङ्ग्रहित चौध वटै यात्रा संस्मरणहरूमा आफूलाई खुलस्त रूपमा अभिव्यक्त गरेका छन्।
२. अचम्म लाग्दा यथार्थको प्रस्तुति
लेखकले आफूले जानकारी पाएका प्रत्येक कुरा पाठकमा सम्प्रेषण गर्न खोजेका छन्। यस क्रममा अमेरिकामा रेडियो स्टेसन भएको थाहा पाएका उनले आफ्नो खुसी पाठकहरूलाई बाँड्न खोजेको अनुभूति हुन्छ। अमेरिका जस्तो संसारकै प्रजातान्त्रिक आदर्श ठानिने मुलुकमा समेत कतिपय कुरा खुलस्त भन्न मिल्ने स्थिति नहुनु र कसैले केही कुरो चुहाइहाले पनि 'अफ द रेकर्ड' भनेर मात्र भन्न मिल्ने अमेरिकी सहकारी संस्थाहरूको जस्तो उदेक लाग्दो स्थिति पनि हामी उनका संस्मरण पढेर थाहा पाउन सक्छौँ। नेपाल जस्तो अविकसित देशका समेत कतिपय सहरहरूमा हुने खालको सार्वजनिक शौचालय अमेरिकामा कतै नहुनु झन् अचम्म लाग्दो कुरा हो। यस्तै उपभोग्य वस्तुहरू उत्पादन नगर्ने अमेरिकी नीति र प्रवृत्ति पनि पत्याउन अप्ठ्यारो पर्ने तर पत्याउनै पर्ने सत्य हो।
अमेरिकाको 'आई डु नट नो' अर्थात् 'मलाई केही थाहा छैन' संस्कृति अचम्म लाग्दो छ। अमेरिकीहरू विवादमा पर्न सकिने सन्दर्भमा कतिपय अवस्थामा 'थाहा छैन' भनी दिन्छन्। त्यस्ता विषयमा उनीहरूले राम्ररी थाहा पाएका वा पटक्कै थाहा नपाएका पनि हुन सक्छन्। यो संस्कृति कतिपय प्रसङ्गमा ठिकै लागे पनि कतिपय प्रसङ्गमा भने अलि बढी बिन्दास खालको तथा व्यक्तिवादी लाग्छ। सँगै कुनै कार्यक्रममा गएका व्यक्ति पति पत्नी नै भए पनि एकले अर्कालाई नपर्खने अमेरिकी विशेषता व्यक्तिवादी लाग्दा लाग्दै पनि ठिकै लाग्छ। यसो गर्दा भने कुनै एकका कारणले हुने ढिलाइ वा अन्य कमजोरीप्रति निर्दोष व्यक्ति दोषी ठहरिनु पर्दैन।