मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ ।
कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि
मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई
नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो ।
बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो ।
सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी.
सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र
सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि
गर्थेँ ‘म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि
बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई
चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि
बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा
पाउनुहुनेछ दाइले मलाई कुटेको फल !’
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप
बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले
कमर्समा नाम लेखाएँ ।