सम्झना समनपुर बसाइको

सत्ता चलाउने र  तिनका मतियारहरु स्वार्थी भएपछि सोझासाझाको केही चल्दो रहेनछ । फोर्सका अगाडि सोर्सले शिर नुहाउनु पर्दो रहेछ र सोर्सका अगाडि व्यक्तिका योग्यता र क्षमताले । त्यही भएर हाम्रो देश हरेक क्षेत्रमा पछाडि परेको रहेछ र यो देश अहिलेको अवस्थासम्म आइपुग्नु परेको रहेछ । नभए  स्थायी हुन २०५२ देखि २०६० सम्मको कष्टकर आठ वर्ष कुर्नु पर्ने थिएन होला मैले पनि । २०४० सालदेखि २०५२ भन्दा अघिका १२ वर्षहरूमा लिखितमा पास हुने र मौखिकमा  फालिने, जाँच लिइने र जाँच स्थगित गरिने स्थिति भोग्नुपर्दैनथ्यो होला ‘म’ हरूले ।
२०५२ सालमा जाँच दिएर २०६० सालमा पास भएको खबर सुन्दा कस्तो लाग्यो होला हामीलाई ! तैपनि दीपकराज सोती शिक्षक सेवा आयोगमा प्रमुख नभएका भए हामी जस्ता बबुराको के हाल हुन्थ्यो होला ? सोती न मेरो नातामा पर्छन्  न मैले त्यक्तिगत रूपमा चिनेको छु न त कुनै सम्बन्ध नै जोरेको छु । त्यतिखेर उनले निष्पक्षता अँगालेका हुनाले ’म’ हरू स्थायी हुन पाएका हौँ मात्र  भन्न खोजेको हुँ ।

मकवानपुरभन्दा रौतहटमा बढी सिट भएकाले र आफ्नो जिल्ला हुनाले पनि मैले आयोग दिँदा रौतहटबाट दिएको थिएँ । स्थायीमा नाम निस्कँदा मैले मकवानपुर छाडेर जानै पथ्र्यो । अरु जागिर र शिक्षकको, जागिरमा फरक हुँदो रहेछ क्यारे ! विद्यार्थीहरूलाई पढाउँदै गएपछि तीप्रतिको माया बढ्दै जाने रहेछ । जति बढी बस्यो, त्यति तीप्रति मोह बढ्दै जाने रहेछ । कुनै पनि विद्यालयमा पढाउँदै गर्दा बढ्दै जाने विद्यार्थीप्रतिको, शिक्षक र अभिभावकप्रतिको , गाउँले अनि गाउँप्रतिको आसक्तिले गर्दा त्यो ठाउँ छाडेर हिँड्न मन लाग्दो रहेनछ, एकोहोरो वा दोहोरो मोह टपक्क टाँसिएर बसिरहँदो रहेछ । छतिवन छाड्नुपर्दा मेरा प्रिय शिष्य शिष्या र निकट मित्र र गाउँलेहरूसँगको विछोड अप्रिय र कष्टकर भए पनि म स्थायी भएर शङ्कर गुदर उच्च माध्यमिक विद्यालय समनपुर पुगेँ ।
मैले रौतहटका तत्कालीन  जिल्ला शिक्षा अधिकारी सदानन्द झाज्यूलाई आफू जान चाहेको विद्यालयमा समनपुरको नाम नराखीकन एउटा चिठी पठाएको थिएँ । जिशिअ सरसँग मैले दुईवटा कुरा मागेको थिएँ उच्च मावि र घरपाइक । उच्च माविको माग पूरा भयो , घरपाइक चाहिँ भएन । त्यस विद्यालयमा नेपाली पढाइरहेका र नेपालीमा बिएड् दुई जना सरहरू हुनुहुन्थ्यो । विद्यालयलाई पनि नेपाली शिक्षकको आवश्यकता थिएन र मलाई पनि समनपुरको  तर जिशिकाको निर्णयले समनपुरले मलाई स्विकार्नुप¥यो र मैले समनपुरलाई ।
समनपुर बजारको र गाउँको वातावरण जस्तो होस्, विद्यालयको वातावरण चाहिँ सुन्दर र रमणीय छ । प्रकृतिप्रेमी प्रधानाध्यापक शिवचन्द्र साह सरले योजनाबद्ध रूपमा फुलबारी लाउनुभएको छ । रौतहट जिल्लाकै फराकिलो भने हुने विद्यालयीय चौरमा गुलाब, गोदावरी, कमल, पारिजात, बेली, चमेली , घ्युकुमार, घन्टी जस्ता सयौँ पूmलहरू आफ्नै ढङ्गले हुर्किरहेका, फुलिरहेका र मगमगाइरहेका हुन्छन् । तिनले पढ्ने र पढाउनेका चित्तलाई शान्त र आनान्दित पार्दछन् र विद्यालयीय वातावरणलाई सुरम्य पार्दछन् ।
मैले शिक्षण सेवा सुरु गर्दा रौतहटको मेरै गाउँ चन्द्रनिगाहपुरमा पौने दुई वर्ष पढाएको थिएँ तर मधेसी विद्यार्थीहरू बारे कतिपय यथार्थताहरु थाहा पाउन सकिरहेको रहेनछु ।
मलाई लाग्थ्यो मधेसी विद्यार्थीहरू पढ्नै चाहँदैनन्, नपढेपछि जान्ने कुरा नै हँुदैन र कमजोर हुन्छन् । हो, मेरो विद्यालयमा पनि हुनुपर्ने जति पढाइ हुँदैनथ्यो हुन नसके तापनि रौतहट जिल्लाका अधिकांश विद्यालयहरूमध्ये नियमित पढाइ हाम्रैमा हुन्थ्यो । त्यसैले यहाँका विद्यार्थीहरू शिक्षकले चाहँदा तीखा हुने  खालका थिए। समनपुरमै पढेका कतिपय विद्यार्थीहरु अहिले उच्च शिक्षा राम्रै पढिरहेका छन् र पढाइ पुरा गरिसकेका पनि राम्रै पदहरूमा हुनु यसको प्रमाण हो ।
विद्यार्थीमा क्षमता छ, शिक्षकहरुले उचित गाइडलाइन दिइका छैनन् । शिक्षकले नै गाइडलाइन नजानेका हुन् वा नदिएका हुन् भन्न हम्मे पर्छ । तर त्यही एकै ठाउँको अनुभवले म भन्न सक्छु, ’शिक्षकले इमानदारीपूर्वक पढाएमा तराई, हिमाल, पहाड सबैतिरका विधार्थी सक्षम हुन्छन् । विद्यार्थीहरू पढाइमा कम ध्यान दिन्छन् भने, उनीहरूको पढाइको स्तर कमजोर छ भने त्यसको पहिलो अपजस शिक्षकले लिनु पर्छ ।
जुनसुकै समाजमा विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू बुद्धिजीवीहरूका अखाडाहरू हुन् । बुद्धि जीवीहरूले उपयुक्तक्त मार्गदर्शन गरेमा, असल बाटो देखाएमा अवश्य विद्यार्थीले पछ्याउँछन्, समाजले पछ्याउँछ अनि समाज स्वतः अगि बढिहाल्छ नि !
समनपुरमा पढाउँदा म ३ वर्ष दैनिक रूपमा बाइकबाटै धाएँ । ५, ६ महिना छात्रावासमा  बसेँ । त्यस क्रममा शिक्षक र विद्यार्थी दुवैलाई नजिकबाट चिन्ने अवसरहरू पाएँ । यसै मेसोमा टङ्केशजस्तो जस्तोसुकै गाह्रो, अप्ठ्यारो र विस्तारित  काम गर्न सक्ने, सन्तोष जस्तो एउटा साथी भेटे जस्तोसुकै गाह्रो काम आँट्ने र राकेश रौनियार जस्तो जेहनदार विद्यार्थी भेट्टाएँ । यस्तै गाइडलाइन पाइराखे राम्ररी पढ्न सक्ने र अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी हुन सक्ने कृष्ण, रञ्जिता, रिकी, प्रीति, निलम र उमा जस्ता विद्यार्थीहरु भेट्टाएँ । नेपाली विषयमा विमातृभाषी तराईली समाजमा छात्राहरू पछाडि नै पर्दछन् भन्ने एउटा ठूलो भ्रम मभित्र रहेछ । त्यो भ्रम रेखा र सरिताहरूले तोडेर देखाए ।
समनपुर बसाइका साढे तीन वर्षका बीचमा जति विद्यार्थी अनुहारहरू नजिकिएका छन्, ती सबै प्रिय छन् । तीसँगका प्रत्यक्ष भेटमा म समनपुर छाडेको घोषणा गर्न असमर्थ छु । त्यसैले अहिले म त्यहाँबाट सुटुक्क हिँडेको छु ।

लेखन-२०६४।६।२२

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails