म २०६४ सालमा इन्द्रायणी
माध्यमिक विद्यालय आग्रा, मकवानपुरको स्रोत व्यक्ति हुँदा मेरो
कार्यक्षेत्र तीन ओटा गाविसका ३५ ओटा विद्यालयहरू थिए । तीमध्ये डाँडाखर्क
गाविसअन्तर्गत दुई ओटा निम्न माध्यमिक र
चार ओटा प्राथमिक विद्यालय थिए । तीमध्ये पनि एउटा थियो; सरस्वती निम्न
माध्यमिक विद्यालय बैकुण्ठ । त्यस विद्यालयमा प्राथमिक तहमा एक जना शिक्षक
नियुक्तिको सिलसिलामा आफ्नो पदीय कार्यभार सम्हालेको लगत्तै म वैकुण्ठ गएको थिएँ ।
त्यस ताका स्थानीय बासिन्दाका लागि आफ्नो स्थान सहज असहज जस्तो लागे तापनि बाहिरी
व्यक्तिहरूका लागि भने त्यति सहज थिएन । त्यही भएर होला; इन्द्रायणी मावि
आग्राका पूर्व प्रधानाध्यापक तथा समाजसेवी विष्णु कार्कीले हिउँदमा जानुहुन्छ भने
म साथी गइदिउँला । सरलाई एक्लै जान असहज हुन्छ भन्नुभएको थियो ।
म, अर्का स्रोतव्यक्ति तथा बी.एड. पढ्दाका मित्र ठाकुर वर्तौला र विष्णुबहादुर कार्की सर गोगनेमा भेटिएर डाँडाखर्कको बाटो भएर पहिलोपल्ट वैकुण्ठ गएका थियौँ । वैकुण्ठका लागि उक्लने ठाउँ खोलाखर्कदेखि नै पानी छिट्याउन थाल्यो । सबैसँग छाता भए पनि नओढ्नाले र कतै पनि नओतिई हिँडिरहनाले हामी बासस्थानमा पुग्दा अलि अलि भिज्यौँ पनि । त्यसमाथि चलेको बतासले हाम्रो सातो उडायो ।
खाना खानभन्दा अगाडि
बलेँसीको पानीले हात धोइयो । चुठ्ता पनि बलेँसीकै पानी प्रयोग गरियो । यति भएपछि
राति कुन पानी खान दिइएको थियो भनेर मैले सोधिनँ । हामीले बलेँसीकै पानी खाएको भनेर
थाहा पाएको भए रातभरि पखाला चल्थ्यो होला, बास दिने मित्रलाई पनि
ग्लानि हुन्थ्यो होला । रातभरि बतासका साथ पानी परिरह्यो । बिहान उठ्ता जाडो झन्
बढेको थियो ।
मैले आमाको बर्खी बारेको
बेला थियो । खाना यहाँ खाने र त्यहाँ नखाने भन्ने थिएन । पद नै डुलुवा प्रकारको
भएपछि र स्वयम्पाकी स्वभाव नबनाएपछि जे गर्न मिल्थ्यो, त्यही गरिन्थ्यो
। नित्य स्नान चाहिँ ६ महिनादेखि जारी थियो । यहाँ भएको धारालाई पानी र बतासले
तहसनहस बनाएपछि नुहाउने कुरै आएन । मलाई अप्ठ्यारो अप्ठ्यारो लागिरह्यो । ७० बर्से
सहयात्री आदरणीय विष्णु सरसँग सल्लाह मागेँ । उहाँले सुझाउनु भएअनुसार सुक्खा
स्नान गरेँ । नित्य जलस्नानको परम्परा वैकुण्ठमा विष्णुकै सल्लाहमा तोडियो ।
शिक्षक नियुक्तिको क्रममा
अरू एक रात त्यहाँ बस्नुपरेको थियो । रातिका कतिपय अप्ठ्यारा हामीलाई मात्र होइन, बास दिने
मित्रलाई पनि महसुस भएछ । उहाँको सल्लाहमा अर्को रात उहाँको भाइकहाँ बस्यौँ ।
हामीले सुविधा होइन, अलि सजिलो भने खोजेका थियौँ किनभने हाम्रो
यात्रामा हामी मात्र होइन; सत्तरी बर्से व्यक्तित्व पनि हुनुहुन्थ्यो ।
हामी गएपछि घरबेटीले सिकारको खोजी गर्ने सुरसार गर्न थाल्नुभयो । मैले बरखी बारेका
हुनाले मांसाहार नगर्ने बताएँ । मैले ग्रहण नगर्ने कुराले मित्रहरूलाई मात्र ग्रहण
गर्न असजिलो भएछ, उहाँहरूले पनि साकाहार नै रोज्नुभयो ।
यी घरमूलीको भर्खर विवाह भएको रहेछ ।
नवविवाहितालाई हामीले साकाहार रोजेको मन परेको थिएन । विकल्पमा यहाँ सजिलै उपलब्ध
हुने स्कुस पकाउनुभयो । हामीलाई केही थिएन । उहाँलाई साह्रै असजिलो लागेर ‘पाहुनालाई स्कुस
!’
‘पाहुनालाई स्कुस !’ भन्दै खुब हाँस्नुभयो ।
उहाँको अतिथि सत्कारको हार्दिकता हाँसोबाट व्यक्त भएको पाएर हामी भने गदगदिएका
थियौँ ।
यहाँ दुई रात बस्ता एउटा
कुरा नराम्ररी खट्केको थियो । त्यो भने यहाँ आएर मात्र थाहा भएको तितो सत्य थियो ।
यस गाविसमा एस.एल.सी. उत्तीर्ण बढीमा पाँच जना थिए; जसमध्ये एकै घरका
दुई भाइ लक्ष्मीदेव घिसिङ, राजेन्द्र घिसिङ तथा कमल घलान र अरू एक दुई जना
होलान् भन्ने अनुमान मात्र हो ।
यहाँको यस अवस्थाले मलाई
साह्रै चिमोट्यो । गाविसभरिमै माध्यमिक विद्यालय नहुनु तथा पाँच घण्टा वर कुनै
अर्काे माध्यमिक विद्यालय नहुनु कम्ती पीडादायक कुरा थिएन । स्थानीय शिक्षित
व्यक्तिहरू नहुनाले बाहिरी जिल्लाका शिक्षकहरूको बाहुल्य त थियो नै ।
प्रधानाध्यापकहरू सबै बाहिरिया थिए । गाउँलेहरू सोझा र प्रायः निरक्षर थिए । यी
सबै कुराहरूको फाइदा शिक्षण पेसामा पसेका धमिराहरूले उठाइरहेका थिए ।
विद्यालयहरूमा आलोपालोको चलन थियो; खास गरी प्राथमिक
विद्यालयहरूमा । कोही सट्टा शिक्षक राखेर अर्कै व्यवसाय पनि गर्थे ।
लामो समयदेखि घर
गरिराखेको विकृति कसैले पनि एक्लैले र एकै पटक तोड्न सक्तैनथ्यो । यस्ता विकृति
हटाउन पढेलेखेका मानिसको सङ्ख्या बढाउनुपथ्र्यो । त्यसो गर्न सर्वप्रथम गाविसमा
कम्तीमा एउटा माध्यमिक विद्यालय चाहिन्थ्यो । त्यसैले मैले वैकुण्ठमा दुई रात
बस्ता खास गरी राति बास बसेकै घरका स्वामीहरूलाई यी कुराहरू प्रतीकात्मक रूपमा
भनेँ डाँडाखर्कमा एउटा माध्यमिक विद्यालय आवश्यक छ भनेर । उहाँहरूले मेरो कुरालाई
कति गम्भीरतापूर्वक लिनुभयो, मलाई थाहा भएन । म भने यस वा त्यस प्रकारले यस
कुरामा लागिरहेँ ।
आग्रा र डाँडाखर्क
गाविसका बिचको गोगने गाविसको पनि उही अवस्था थियो । उता आग्रामा दुइटा माध्यमिक
विद्यालय हुँदा डाँडाबासको नाकैमुन्तिर रहेको गोगनेमा पनि ६ ओटा प्राथमिक विद्यालय
र एउटा निम्न माध्यमिक विद्यालय थियो । गोगनेको पकनीमा रहेको निमाविको नामले पनि
मलाई आकर्षण गरेको थियो । व्यास निमावि भनेर चिनिएको यो विद्यालय पनि आफ्नो स्तरोन्नतिप्रति
सचेत थिएन । यहाँका मानिसहरू केही पढालेखा थिए । नपढेका पनि केही टाठा थिए । केही
कुनाकाप्चाका विद्यालयबाहेक कटहरे, गोगने र मझुवाका
विद्यार्थी राम्रै थिए । विद्यार्थी राम्रा हुनु भनेको शिक्षक राम्रा हुनु हो ।
यसैले यहाँ माध्यमिक विद्यालय चलिहाल्ने अवस्था थियो । यहाँको विद्यालय माध्यमिक
हुँदा डाँडाखर्कलाई खास फरक पर्दैनथ्यो । त्यसैले यहाँ अन्तरक्रिया कार्यक्रम
राखिहाल्ने विचार गरेँ । म बलियो हुन अर्कोपटकको डुलाइमा सो कार्यक्रमका लागि पुनः
विष्णुबहादुर कार्की सरलाई डाकेँ । उहाँ अवकाशप्राप्त भए पनि त्यस क्षेत्रमा
परिचित र प्रसिद्ध हुनुहुन्थ्यो । उहाँको कुराले धेरैलाई छुन सक्थ्यो र मैले
आँटेको कुरा पूरा हुन सक्थ्यो ।
मैले सो कार्यक्रममा
सबैभन्दा पहिले उहाँलाई नै शिक्षाको महत्त्व तथा त्यहाँ माध्यमिक
तहको विद्यालयको आवश्यकताका विषयमा बोल्न अनुरोध गरेँ । कार्यक्रममा सहभागिता पनि
राम्रो थियो । युवा, महिला, विव्यस–शिक्षक अभिभावक
सङ्घ र पाका व्यक्तिहरूका फरक फरक समूह बनाएर व्यास निमाविलाई मावि किन बनाउनुपर्छ
भन्ने प्रश्न दिएँ । उहाँहरूले गम्भीर छलफल गरेर आआफ्ना समूहका धारणा प्रस्तुत
गर्नुभयो । त्यस कार्यक्रमको राम्रो प्रभाव पर्यो । व्यास निमाविले
माध्यमिक तहमा उक्लने निर्णय गर्यो । प्रक्रिया पनि थालिहाल्यो । अर्को
वर्षदेखि अर्थात् २०६६ देखि नौ कक्षा चलाउने गरी अनुमति पनि प्राप्त गर्यो ।
डाँडाखर्कमा भने यति
सजिलो थिएन । मैले प्रत्येक पटक कमला निमावि डाँडाखर्क पुग्दा पनि माध्यमिक
बनाउनुपर्छ भन्ने कुरा उठाइरहेँ । त्यस प्रयासले पुगेको थिएन । स्थानीय व्यक्तिहरू
सचेत नहुँदासम्म विकासको प्रक्रिया बढाउन साह्रै गाह्रो हुन्छ भन्ने कुरा
सैद्धान्तिक रूपमा पहिलेदेखि थाहा भए पनि व्यावहारिक रूपमा मैले यहीँ आएर बुझेँ ।
यहाँको समुदाय त्यति सचेत
थिएन, प्रक्रिया पनि थाहा थिएन । विद्यालयका प्रधानाध्यापकले
बी.एड. गरेका थिएनन् । उनले उल्टो बुझिरहेका थिए । उनले आफूलाई हटाउन यी
कुराहरू ल्याइएका हुन् भन्ठानिरहेका थिए । कुरो त्यसो थिएन । उनलाई बुझाउन पनि
असजिलो भइरहेको थियो । यस्तै अवस्थामा कार्यक्रम कार्यान्वयनसम्बन्धी सात दिने
तालिम पर्यो । सो कार्यक्रम प्रधानाध्यापक, विव्यस र शिक्षक
अभिभावक सङ्घका सदस्यहरूका लागि थियो । सो कार्यक्रम हामीले कमला निम्न माध्यमिक
विद्यालयमा गर्ने निर्णय गर्यौँ । ।
सो कार्यक्रममा विद्यालय
निरीक्षक शोभाकर रेग्मी पनि जाँदै हुनुहुन्थ्यो । स्रोत व्यक्ति भएपछि नै मैले
उहाँलाई चिने पनि र मेरो परिचालनको जिम्मा उहाँलाई परे तापनि उहाँ मेरो एक किसिमको
अभिभावक जस्तो हुनुहुन्थ्यो । उहाँका र मेरा भावना, विचार र
आदर्श प्रायः एकै किसिमका थिए । उहाँले
मलाई पनि उसै गरी विश्वास गर्नुहुन्थ्यो ।
अँ, हामी दुवै जनाले
यही कार्यक्रममा अभिभावकहरूलाई कुरा बुझाउने सोचाइ बनायौँ । कार्यक्रम सुरु भएको
दिनदेखि बिस्तारै बिस्तारै र अन्तिम दिन विस्तारित रूपमा कुरा गर्यौँ । विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष मधु थापा मगर बडो सचेत व्यक्ति हुनुहुँदो रहेछ ।
उहाँले कुरो बुझ्नाले पनि हामीलाई सहज भयो । हामी तालिम सकेर हिँडेपछि नै स्थानीय
रूपमा तीव्रतासाथ काम भयो र २०६७ सालदेखि कमला निम्न माध्यमिक विद्यालय माध्यमिक
विद्यालयमा रूपान्तर भयो ।
यसरी माध्यमिक विद्यालय
बनाउने कुनै छेकछन्द नै नभएको ठाउँमा त्यसका लागि प्रयत्न गर्दा झमेलाहरू आए । यो
कुरो टार्न अर्कै बहाना बनाएर शिक्षकहरूको एउटा समूह मरिमेटेर लाग्यो, शिक्षा
कार्यालयमा डेलिगेसन आयो, पत्रिकामा समाचार आयो तर तिनको केही लागेन ।
आखिरमा एक वर्षको अन्तरालमा अचानकै जसो गोगने र डाँडाखर्कमा माध्यमिक विद्यालयहरू सञ्चालन
भए । यो कुरो ती गाविस, म र विद्यालय निरीक्षक सरका लागि गर्वका विषय
भए ।
No comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!