आदिकवि भानुभक्त आचार्यकोे ‘अमरावति कान्तिपुरी नगरी’ कविता मैले कक्षा सातमा छँदा पढेको हुनुपर्छ । त्यतिखेर मेरा नेपाली भाषा शिक्षक अर्जुनप्रसाद अधिकारीले कसरी पढाउनुभयो र मैले कसरी बुझेको थिएँ भन्ने कुराको हेक्का मलाई अहिले छैन तर त्यो कविता मलाई एकसरो मन पर्थ्यो । छन्द र लय नजाने पनि कहिलेकाहीँ गुनगुनाउन मन लाग्थ्यो ।
अहिले पनि यस कविताले मलाई त्यही बेलाको सम्झना आउँछ र थोरै मात्र भए पनि बुझेको रहेछु जस्तो लाग्छ ।
यस कविताका कवि आचार्यलाई पहिलो पटक काठमाडौँ पुग्दा सारै रमाइलो लागेछ । सौन्दर्य चेतना भएका कवि प्रकृतिका सुन्दर उपहार युवतीहरू बाटामा मस्किँदै हिँडेको देखेर भुतुक्क भएछन् र लेखेछन् ः
चपला अबला एक सुरमा
गुनकेसरीको फुल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी
