‘अमरावति कान्तिपुरी नगरी’मा शैलीवैज्ञानिक दृष्टि

१. परिचय
आदिकवि भानुभक्त आचार्यकोे ‘अमरावति कान्तिपुरी नगरी’ कविता मैले कक्षा सातमा छँदा पढेको हुनुपर्छ । त्यतिखेर मेरा नेपाली भाषा शिक्षक अर्जुनप्रसाद अधिकारीले कसरी पढाउनुभयो र मैले कसरी बुझेको थिएँ भन्ने कुराको हेक्का मलाई अहिले छैन तर त्यो कविता मलाई एकसरो मन पर्थ्यो । छन्द र लय नजाने पनि कहिलेकाहीँ गुनगुनाउन मन लाग्थ्यो ।
अहिले पनि यस कविताले मलाई त्यही बेलाको सम्झना आउँछ र थोरै मात्र भए पनि बुझेको रहेछु जस्तो लाग्छ ।
यस कविताका कवि आचार्यलाई पहिलो पटक काठमाडौँ पुग्दा सारै रमाइलो लागेछ । सौन्दर्य चेतना भएका कवि प्रकृतिका सुन्दर उपहार युवतीहरू बाटामा मस्किँदै हिँडेको देखेर भुतुक्क भएछन् र लेखेछन् ः
चपला अबला एक सुरमा
गुनकेसरीको फुल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी

समीक्षात्मक पत्र : आत्मध्वनि भित्रको ध्वनि

देवराज खरेलज्यू ,
हार्दिक अभिवादन !

तपाईँको पहिलो कृति अर्थात् 'आत्मध्वनि' पढेँ । आफूमा अरूको प्रभाव नपरोस् भनेर नेपाली साहित्यका स्वनामधन्य हस्ताक्षर परशु प्रधान, डा तुलसी भट्टराई तथा लक्ष्मणप्रसाद गौतमका भूमिकाहरूतर्फ आँखै लगाइनँ । मेरो स्वतन्त्र हेराइमा देखिएका कुराहरू लेख्न लाग्दै छु ।
सर्वप्रथम कवितासङ्ग्रह प्रकाशनका लागि बधाई !
तपाईँका कविताका विषयमा मान्छे र संवेदनाका प्रसङ्गहरू रहेछन् । किन नहुनु ? आजका मान्छे स्वार्थी, संवेदनहीन र बर्बर बन्दै छन् । तपाईँ एउटा कवि हुनुका नाताले त्यसप्रति संवेदनशील र भावुक हुनु स्वाभाविक हो ।

आनन्दमय यात्राहरू

आनन्दमय यात्राहरू

मेरा जीवनका रहरहरूमा यात्रामा रमाउनु पनि एउटा हो । तर यस मौकाबाट म प्रायः वञ्चित नै रहँदै आएको छु । यी वञ्चनाका आफ्नै बाध्यता त अवश्य होलान् । जन्मँदा म मोटर नचल्ने ठाउँमा थिएँ । आठ वर्ष टेक्दा नटेक्दै मेरो परिवार जहाँ बसाइँ सरेको थियो, त्यहाँ पनि भर्खर मोटर बाटो बन्न लागेको थियो । त्यसो हुनाले बाल्यकाल भनिने उमेरमा मैले यात्राको औपचारिक मौका पाइनँ ।
परिवारमा कान्छो भएको हुनाले म अलि पुल्पुलिएको थिएँ । जति पुल्पुलिए पनि मेरा बुवा–आमा तथा दाजुहरूले मलाई पढाइका मामलामा भने पुल्पुलिन दिनुभएको थिएन । सानो छदाँ म आफूभन्दा तीन वर्ष जेठो सान्दाजुलाई हेपिहाल्थेँ । उहाँसगैँ नै प्रायः खेल्ने, पढ्ने, विद्यालय जाने–आउने हुनाले पनि मैले उहाँलाई हेप्न सकेको थिएँ । त्यतिखेर सान्दाजु अलि सोझो खालको हुनुहुन्थ्यो । अरू दाजुहरू घरमा रहनुहुन्नथ्यो । बुवा जागिरमा कता–कता पुग्नुहुन्थ्यो । नियमितजसो घरमा बस्नेमा सान्दाजु, आमा र म थियौँ ।

तिहार : एउटा उन्माद

एउटा उन्माद छाइरहेछ सबैतिर

भावनात्मक उन्माद
रक्त सम्बन्धको उन्माद
आत्मीयताको उन्माद
यो कस्तो उन्माद हो ?

दिदीबहिनीहरू
हस्याङफस्याङ गर्दे छन्
कुनै कुरो बित्न लागे जस्तो
कुनै कुराको समय बित्नै लागे जस्तो

दाजुभाइहरू मक्ख छन्
दाजुभाइहरू गमक्क छन्
कुनै कुरा पाउन लागे जस्तो
कुनै दुर्लभ कुरा भेट्नै लागे जस्तो

कस्तो सम्बन्ध हो यो
कस्तो परम्परा हो यो

दाजुभाइ नहुनेले दाजुभाइ खोज्नै पर्ने जस्तो
दिदीबहिनी नहुनेले पनि दिदीबहिनी खोज्नै पर्ने जस्तो
भावनाको कस्तो डोरो हो यो
आत्मीयताको कस्तो पोयो हो यो

दाजुभाइ आफ्नै नभए पनि आफ्नै जस्तो
दिदीबहिनी आफ्नै नभए पनि आफ्नै जस्तो

छाड्न खोजेर छाड्न नसकिने
त्याग्न खोजेर त्याग्न नसकिने
अचम्मको चाड यो भावनाको
अचम्मको पर्व यो आत्मीयताको

कस्तो सम्बन्ध यो स्पृहाको
तर नितान्त हार्दिकताको ।  

जोसिला बुढा

Picture Source : Click Here

त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।

यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !

कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।

Related Posts with Thumbnails