Picture Source : Click Here |
त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।
यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !
कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।
यस पटक कलानाथज्यूसँग उहाँहरूमार्फत भेट तथा परिचय भएपछि त के चाहियो र खोजीनिति गर्न र नयाँ कुरा जान्न आफूभन्दा पाकाबाट केही कुरा सिक्न, थाहा पाउन खोज्ने मेरा लागि । पछि पो थाहा हुँदै गयो उहाँले पुस्तिका आकारका खण्डकाव्य, कविता सँगालो, गीत सँगालो, सांस्कृतिक तथा राजनीतिक सामग्रीहरू लेख्नु भएको रहेछ ।
अहिलेको जस्तो क्यासेट, सिडीको प्रचलन नेपालमा नभएको र भारतमा रेकर्ड गराउँदा समेत अत्यन्तै महँगो पर्ने प्रविधि मात्र हुनाले उहाँका कतिपय गीतहरू रेडियो नेपालमा एकपटक गाएपछि हराएका रहेछन् । रेकर्ड हुन सकेका कतिपय गीतहरू भने अद्यापि रेडियो नेपालबाट बज्ने गर्दछन् ।
त्यसताका मेरो जागिरे थलो मकवानपुरको छतिवन हुनाले चन्द्रनिगाहपुरतिर लाग्दा मैले उहाँलाई भेटेकै हुन्थेँ । कम्तीमा पाँच दस मिनेट भए पनि उहाँसँग बिताएकै हुन्थेँ । मेरो हतारोले गर्दा मैले उहाँसँग प्रायः छोटो छोटो समय मात्र भेट्न पाएको छु । ती प्रत्येक भेटहरूमा उहाँबाट हार्दिकता पाएको छु । यिनै भेटका प्रसङ्गहरूमा मैले उहाँका कृतिहरूको समीक्षा लेख्ने जिज्ञासा राख्ता उहाँले आफ्नो एउटा मात्र साहित्यिक मुद्रित अभिलेख पूर्ण विश्वाससाथ दिनु भएको थियो । त्यो अभिलेख उहाँको थारु जातिको चाड सम्बन्धी पुस्तक 'जितिया पावनी' बाहेक सम्पूर्ण कृतिहरूको समग्र रूप अर्थात् बाइन्डिङ हो । यी सबै कुराहरूका आधारमा मैले उहाँको जीवन छँदैँ 'कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना' शीर्षकमा समीक्षा लेखी 'सूर्योदय' मा छापेको पनि छु । मेरो यो व्यवहारदेखि उहाँ सन्तुष्ट हुनु भएको छ र म पनि मक्खिएको छु ।
उहाँको जीवन छँदा पनि म उहाँलाई अत्यन्त श्रद्धा गर्थेँ । मैले उहाँलाई भेट्न नभ्याएका बेलामा पनि बसबाट उहाँको मुहार हेरिरहेको हुन्थेँ । छोटा छोटा भेटघाटमा पनि उहाँ मसँग सान्दर्भिक, समकालीक तथा प्रेरणादायी कुराहरू गर्नु हुन्थ्यो । प्रत्येक पटक उहाँ आफ्ना विगतका पानाहरू नै पल्टाउनु हुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधव प्रसाद घिमिरे, कमल दीक्षित, निर्मल लामा, बद्री विक्रम थापा तथा उहाँ जिउँदो छँदाका राजाहरूका प्रसङ्गहरू उठाउनु हुन्थ्यो । ठुला बडाहरूसँगको सङ्गत, त्यसबाट भएका उपलब्धि, आफूप्रति गरिएका ईर्ष्या, आपूmसँग उनीहरूको सम्बन्ध तथा तत्कालीन राजनीतक स्थिति उहाँका चर्चाका विषय हुन्थे ।
त्यस उमेरमा पनि उहाँमा युवा जोस देखेर म पनि हौसिन्थेँ । त्यति बुढामा त युवापनको जोस छ, रौनक छ, उमङ्ग छ, उत्साह छ भने म त उमेरको मान्छे, म त धेरै गर्न सक्छु भन्ठान्थेँ । उहाँले यसो गर्नु पर्छ र उसो गर्नु पर्छ भनेर मलाई उपदेश नदिनु भए तापनि, उहाँले प्रत्येक पटक जसो आफ्नै बखान गरे जस्तो लागे तापनि त्यहाँ मैले नेपालको राजनीतिक, साहित्यिक, सांस्कृतिक आदि विषयका इतिहासहरू पाउँथेँ र उहाँप्रति अझ श्रद्धा जाग्थ्यो ।
कतिपय पटकका भेटहरूमा उहाँले मलाई नेपाली तथा हिन्दी गीतहरू सुनाउनु भएको छ । सत्तरी वर्ष नाघिसकेका उहाँको सुमधुर स्वर सुन्न पाएर म छक्क परेको छु ।
कतिपय कुरामा निराश भएका बेला बरु हामी भन्ने गर्छौँ 'बुढो भइयो, के गर्ने' तर उहाँ जस्तो बुढो मान्छेमा युवा जोस देख्ता हामी लाजले पानी पानी हुनु पर्छ । हजुरबुवा भने हुने उमेरका मान्छेमा युवा जोस, नातिनातिना भने हुने उमेरका मान्छेमा वृद्ध निराशा ! कस्तो विपरीतता ! आकस्मिक नियमितता हो वा नियमित आकस्मिकता छुट्याउन हम्मे पर्छ मलाई ।
अझ उहाँले 'आदिकवि भानुभक्त' फिल्ममा अभिनयका लागि गर्न खोज्नु भएको भूमिका पो अचम्म लाग्दो छ । भानुभक्तको हजुरबुवा श्रीकृष्ण बन्न तयार हुनुहुन्थ्यो उहाँ । त्यस फिल्मका कतिपय कुरामा सहभागी पनि भइसक्नु भएको थियो । तर संयोग भनौँ वा दुर्भाग्य, त्यही बेला उहाँलाई आँखामा ज्योति कम भएको महसुस भएछ । उपचार नगरी नहुने भएछ । त्यस क्रममा शल्यक्रिया गर्दा नसामा गडबडी भएछ र त्यही नै उहाँको मृत्युको कारण बन्न पुगेछ ।
उहाँको जीवनलाई उहाँका कृति तथा पर्चाहरूका आधारमा स्वतन्त्र ढङ्गले नियाल्दा क्रान्तिकारी कुरा गर्ने गरे तापनि उहाँमा राजनीतिक विचलन आएको देखा पर्छ । सबै पक्षहरूलाई समेटेर लग्न नसकेको वा समेट्न नखोजेको जस्तो पनि लाग्छ । यी आलोच्य पक्ष हुन् उहाँका । अन्यथा उहाँमा मैले प्रेरक व्यक्तित्व नै पाउँदै आएको छु, सुरुको भेटमा, पछिल्ला भेटहरूमा र अन्तिम भेटमा ।
लेखन मिति : २०५५ श्रावण १३ गते ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।