ऊ र यात्रा

रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ

यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा


प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई


यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्

नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !

निसाना

अनामग्राममा कुनै बेला दुईजना अचुक निसानाबाजहरु थिए । ती दुवैको सिकारपनामा कहिल्यै कमजोरी आउन पाएको थिएन । एक दिन ती दुवै सिकार गर्न सँगै जङ्गल पसेका थिए । एउटा घनघोर जङ्गलको माझमा पुगेपछि दुइटा बाटाहरू देखिए । एकजनालाई दायाँतिरबाट जाँदा सिकार पाइने लाग्यो र अर्कालाई बायाँपट्टिबाट ।
आ-आफ्ना निसानाको अचुकताले दुवैको अहम् चरमावस्थामा पुग्यो र ती एकै बाटाबाट अघि बढ्न नसक्ने भए । आखिर ती दुई छुट्टिए । ती दुवै झन्नै उस्तै गतिमा हिँड्दै थिए । दुवैले भिन्नाभिन्नै बाटामा कुनै वस्तुको सरसराहट सुने । ती दुवैलाई लाग्यो ‘सिकार पक्कै उनीहरूको नजिक आउँदै छ ।’ दुवैले आआफूले आवाज सुनेका दिशामा गोली छाडे ।
नीरव वनमा एक्कासि दुई ठूला आवाजहरू ध्वनन-प्रतिध्वनन भए ‘ड्याङ्ङ ! ड्याङ्ङ !!’ उनीहरू दुवैको निसाना अचुक नै थियो तर ती निसानाहरूका सिकार ...................!
lw_main
( Source of Photo : Click here )

एक त्यान्द्रो गुन्द्रुक


एक त्यान्द्रो गुन्द्रुक
गिजामा अड्किरहन्छ
दाँतलाई दु:ख दिइरहन्छ
जिब्रोलाई सक्रिय मात्र पारिरहन्छ

मेरो मस्तिष्कलाई
उतै केन्द्रित पारिदिन्छ

कस्तो रहेछ
न त्यसै त्यसै बिलाउने
न हतपत बाहिर नै आउने
कस्तो अधबेस्रो यो
उकुच पल्टेको घाउजस्तो
भिरमा फलेको फर्सीजस्तो

न यसो गर्दा हुन्छ
न उसो गर्दा हुन्छ
यसले मलाई खालि दु:ख दिन्छ
न यो रहनुको प्रयोजन छ
न यो आफैँ मेरो मर्का बुझ्न प्रयत्नरत छ

स्वार्थ पूरा गर्न मात्र तयार देखिन्छ यो
पीडा दिन मात्र तयार भेटिन्छ यो
कस्तो यो कस्तो कस्तो
न यसोको न उसोको
एक त्यान्द्रो गुन्द्रुक !

कालीखोला



कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई

कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला

चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला

कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला

कालीखोला अब उठ्नेछ

उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!

Beautiful_village

(Source of Photo:- Click Here )

बिदा ! जयपुर बिदा !

हामी राजस्थानको आबुरोडमा छौँ । हामीलाई आबुरोडबाट नेपाल आउनु छ । २०६३ सालको असार १५ गते दहीचिउरा खाएर रमाइलो गर्ने दिन ! हामी छ्याकछ्याके रेलमा चढेर सुइय्यँ आउने पक्षमा मात्र छैनौँ । हामीले यात्रामा बढीभन्दा बढी रमाइला, फरक र आनन्द लाग्ने कुराहरू अनुभव गर्नु छ, त्यसैले हामीसँगै भएका जनकपुरका साथीहरूभन्दा फरकिन्छौँ र चन्द्रनिगाहपुरेहरूमात्र एकसाथ यात्रा गर्न खोज्दै छौँ ।

हामीसँग रेलको रिजर्भ टिकट छ आबुरोड-दिल्ली, दिल्ली-नरकटियागन्ज, र नरकटियागन्ज-रक्सौलको । हामीलाई राजस्थानको प्रान्तीय राजधानी जयपुर हेर्न खुब मन छ, त्यसैले हामीले आबुरोडदेखि जयपुरसम्मको रेल-टिकट माया मारेका हौँ । झन्डै ५०० कि.मीको रिजर्भ टिकट माया मार्नु चानचुने कुरो होइन तर आएका बेला नयाँ ठाउँ हेरिहाल्नुपर्छ भन्ने धारणाले हामीले यो हिम्मत गरेको हौं।

आबुरोडबाट जयपुरसम्म रेल, बसजस्ता यात्रुवाहन चल्ने गर्छन् । तर रेल छाडिसकेपछि बसमा चढ्नु छ हामीले । बस पनि दुई थरी छन् । बस्ने सिट मात्र भएका र सुत्ने सिट पनि भएका । हाम्रो देशमा हामीले फोल्डिङ सिटवालाबाहेक सुत्ने सिट भएको बस देखेका छैनौँ, त्यसैले हामीलाई सुत्ने सिटको अनुभव गर्नु छ। सुत्ने र बस्ने सिटको भाडादर फरक रहेछ । यहाँ पनि हामी बढी तिरेरै भए पनि सुत्ने सिटहरूको जोहो गर्छौँ ।

बस्ने सिटहरूको मास्तिर हुँदो रहेछ सुत्ने सिट । बस्नेहरू नेपालका बसमा जस्तै बस्ने खालका सिटमा बस्ता रहेछन् , सुत्न खोज्नेहरू चाहिँ सुत्ने सिट नै रोज्दा रहेछन् ।सुत्ने सिटमा बस्न मन लाग्यो भने पलेटी कसेर बस्न पनि सकिँदो रहेछ ।एउटा सुत्ने सिटमा दुईजना सुत्नुपर्दो रहेछ । अपरिचितसँग परियो भने अप्ठ्यारै हुने रहेछ । बसको र रेलको सुताइमा धेरै फरक पर्ने रहेछ । रेल लिगमा सुलुलु बग्ने हुनाले प्राय: समतलै हुन्छ वा घल्च्याङघुल्चुङ हुँदैन भने बस गुड्ने बाटो राजमार्ग हुनाले रोकिँदा ,साइड दिँदा र जोल्डिङहरूमा पर्दा अलि अप्ठ्यारै हुने रहेछ । यात्री खाना खाएर सुतेको छ, बस ओरालोतिर हुइँकिरहेको छ र सिरानी ओरालैतिर परेको छ भने खाएको खाना फरक्क फर्करेर मुखबाट निस्कने सम्भावना हुँदो रहेछ ।

बसका केही अनुभूतिहरू बटुल्दै रात्रिकालीन झन्डै बाह्र घन्टाको यात्रा पूरा गरेर हामी आइपुग्छौँ जयपुर । प्लेटफार्म त नजिकै छ, लकरमा सामानहरू राखेर डुल्न त सकिन्छ तर हाम्रो यात्रादलका गाँठवाला मित्रहरूको मनसायलाई स्विकार्दै दिउँसो डुलुन्जेललाई मात्र भनेर लजका दुईवटा कोठाहरू लिन्छौँ । बाह्रैजनाले पालैपालो नित्य क्रिया गर्छौँ ।

कल्पन ट्राभल्सको टुरिस्ट बसले हामीलाई दिनभर जयपुर डुलाइदिने भएको छ ।

भव्य र दिव्य जयपुरमा हामी महालक्ष्मी मन्दिरबाट आफ्नो यात्राको श्रीगणेश गर्छौँ ।विशाल द्वार भएको त्यस भव्य मन्दिरमा हिन्दू देवताका प्रतिमूर्तिहरू देख्न पाइन्छ, मन्दिरका वरिपरि भागमा झन्डै रिङ्गै । निर्माणाधीन अवस्थामा पनि मैले कहिल्यै नदेखेको तालको भव्य छ भने निर्माण पूरा भइसक्ता झन् यो कस्तो होला !

मन्दिरलाई एकसरो तर थोरै भएपनि धित मर्ने गरी हेरेपछि हामी लाग्दै छौँ जन्तरमन्तरतिर । कुनै मन्त्रतन्त्रको प्रभाव देखाएर अन्धविश्वासी बनाउन खोजेको होला जस्तो लाग्छ हामीलाई । तर होइन रहेछ, नाम मात्र जन्तरमन्तर रहेछ । यो त तपाईँ-हामीले हेर्नुपर्ने कुरा पो रहेछ । ईसवीय अठारौँ शताब्दीको प्रारम्भमा सवाई जयसिंह द्वितीयद्वारा बनाइएको यस यन्त्रशालाका फरकफरक काम गर्ने र नजिकैनजिकै तर अलग-अलग रूपमा यी साधनहरू ढुङ्गाबाट बनाइएका रहेछन् । सिमेन्टेड जस्तो भ्रम हुने ढुङ्गाका यस्ता संसाधनहरू भारतका दिल्ली, मथुरा, बनारस तथा उज्जैनमा समेत भए तापनि जयपुरको जस्तो जन्तरमन्तर संसारको अन्य कुनै पनि ठाउँमा पाइन्न रे ! घडीको आविष्कार नहुँदा वा अभावमा समय थाहा पाउन कुनै खास समयको ग्रह, नक्षत्र , राशि आदि पत्ता लगाउन प्रयोग हुँदो रहेछ ज्योतिष विद्यासम्बन्धी यो वेधशाला । छाया नै मुख्य आधार हुनाले घाम नलाग्दा , पानी नपर्दा र हिउँदमा त्यति उपयोग हुन सक्तो रहेनछ यो ।

हामी अधबेस्रा खालका छौँ । बाह्र बजेको टन्टलापुर, त्यो पनि जयपुरको प्रचण्ड घाममा पनि हामीले ओढाहरू लिएका रहेनछौँ । छातालाई पानीबाट मात्र ओतिने साधनका रूपमा लिने बानी छ हाम्रो । त्यसैले घामबाट बच्न छाता चाहिन्छ भन्ने होस हामीमध्ये कसैलाई पनि छैन । चर्को घाम बेहोरेर खलखली पसिना काडेर पनि हामी पर्यटन सुख लिइरहेकाछौँ वा इन्द्रिय-सुख भोग गरिरहेका छौँ । जन्तरमन्तर हेर्दाहेर्दै मध्याह्न भइसकेछ । हाम्रा पेटहरू पनि उखरमाउलो गर्ने तम्तयारीमा जुटिसकेका छन । अब चाहिँ हामीले खाना खानुपर्छ । त्यसैले हामी राम्रै होटेलमा पुर्याइन्छौँ । होटेलमा प्रवेश गरिसकेपछि हाम्रा आन्द्राहरू एकछिनका लागि धीर हुन्छन् । तर हामी नयाँ खानाका लागि उत्कण्ठित हुन्छौँ ।

बिहानको खानामा म प्रय: भात रुचाउँछु । रोटी, चिउरा, चाउचाउ वा अन्य कुनै केहीले पनि मेरो आत्मा सन्तुष्ट हुँदैन । बेयराले कस्तो खाना ल्याउँछ केही थाहा छैन तैपनि अर्डर खुस्कन्छ ओठबाट 'राजस्थानी खाना'। मलाई लाग्छ 'राजस्थानको राजधानीमा म किन राजस्थानी खाना किन नखाऊँ ! यो पनि बेलाको उपलब्धि नै हो । सबै साथीहरूलाई खना दिइसकेपछि मात्र बेयरा मतिर फर्कन भ्याउँछ र ल्याउँछ-परोठा, दुई थरी तरकारी र अचार । उफ ! मैले भात खान नपाउने भएँ आज । तर के गर्नु बोलेको त आफैँले हो, चुकेको त आफैँ हो । खाना स्वादिलो रहेछ । थकथकिनु परेन मात्र होइन बेहद स्वादिलो ।

खाना खाएपछि बल्ल सास आयो, साहस पनि बढ्यो । नभए त 'नुन खाएको कुखुरा' भइसकिएको थियो ।

हामी अब अमेर जाँदै छौँ । यहाँ एउटा दरबार रहेछ पुरानो । दरबार जाने बाटो भन्दा निकै वर हाम्रो बस रोकिन्छ । दरबार जान थोरै उक्लिनुपर्छ । त्यसैले हाम्रा अधिकांश साथीहरू जान तयार हुँदैनन् । मलाई चाहिँ जान, हेर्न र रम्न खुब मन लागिरहेको छ । हाम्रो बसमा बाटामा चढेका केही भारतीय र हामीमध्ये केही प्राय: छरिएरै दरबार पुग्छौँ । एकजनाको लागि मात्र गाइड लिँदा महँगो पर्ने हुनाले म आफ्नै तालले दरबार चहार्छु । सत्रौँ शताब्दीतिर बनाउन थालिएको यस दरबारमा रानीहरूको तिर जाने बाटोमा भर्याङ छैन, सुस्त उकालोओरालो छ प्राय: अस्पतालमा हुने खालको । ओरालिँदा तल्लो तलामा पुगिन्छ, उकालिँदा माथ्लो तलामा । ३०० वर्षभन्दा पुरानो यस महलका रानीहरू हिँड्ने बाटामा हिँड्दा र उनीहरूका कोठाहरू चहार्न खोज्दा छुट्टै रमाइलो हुन्छ ।

यस दरबारमा कति नवयौवनाहरू रहरले भित्रिए होलान् र चाहेको आनन्द पाएर मक्खिए होलान् , सुन्दर सपना बोक्ने कतिपय शोडषीहरू यहाँ जबर्जस्ती भित्र्याइए होलान् र कुमारीत्व लुटाइए होलान् । यहाँका हाँसो र रोदनका, उदारता र सङ्कीर्णताका, नैतिकता र अनैतिकताका, मोजस्ती र पीडाका कथाहरू त यही भव्य दरबारलाई थाहा होला । तर न दरबार बोल्छ न इतिहास नै ।

हाम्रा कान र आँखाहरू जहिले पनि राम्रो सुन्न र हेर्न मात्र लालायित हुन्छन् । त्यसैले म रानीहरूका उन्मुक्त, तत्कालीन यौवनाहरूका रौनक, चहलपहल र मोजमस्तीहरू मात्र कल्पना गरेर विभोर हुन्छु र यी क्षणहरूलाई स्मृतिभित्र कैद गर्दै सुस्तसुस्त पइला चाल्छु ।

अँ, अमेरबाट फर्कँदा देखिन्छ वृन्दावन । यो कृष्णले रासलीला गरेको वृन्दावन होइन, त्यसको प्रतीक भने अवश्य हो । यहाँ पनि आधुनिक गोपिनीहरू जोडीजोडी भएर गफगाफमा तल्लीन भएको देख्न पाइन्छ । अनि सम्झन मन लाग्छ आफूले भर्खरभर्खर विवाह गरेको समयलाई ।

विवाह गर्दा म झन्डै एक्काइसको थिएँ भने मैले विवाह गरेकी कन्या थिइन् सोह्र वर्षकी । बिहे गरेको दोस्रो वर्ष अर्थात् मैले बाइस टेक्ता नटेक्तै र उनी सत्र वर्षकी छँदा मकवानपुर गढी डुल्न गएका थियौँ हामी । साथी थिए साला रूपचन्द्र । जुम्ल्याहाहरूको सँगसँगै विवाह गर्नुपर्छ भनेर रूपको पनि विवाह भइसकेको थियो हाम्रो भन्दा ठ्याक्कै सात दिन अगाडि अर्थात् २०४० साल माघ ८ गते । तर उनी सपत्नीक त्यहाँ थिएनन् अर्थात् हामी थियौँ तीन । म पहिलोपटक मकवानपुर गढी जाँदै थिएँ । फुरफर थिएँ म ऐतिहासिक-सांस्कृतिक स्थलमा जान पाएर । त्यहाँको बाटो थियो उकालो । उकालो र ओरालोमा अप्ठ्यारो परेको बेला एकले अर्काको हात समातिन्थ्यो-

'उकालीमा अघिअघि 
ओरालीमा पछिपछि'
मा जस्तै हो । त्यही सम्झना भइरहेको छ मलाई । आजभन्दा बाइस वर्षअगाडिको घटना सम्झँदा मात्र पनि मलाई रोमाञ्च भइरहेको छ र कताकता काउकुती लागेजस्तो पनि ।

कृष्णको सम्झना गराउने र आफैँलाई विगततिर फर्काइदिने रमाइलो वृन्दावनमा पाँच मिनेट रोकिएर यहाँको प्राकृतिक तथा वातावरणीय रसपान गरेर हामी अगाडि बढ्दै छौँ । अब हामीलाई अलिकति बजार गर्नु छ, त्यसैले हामी त्यतै लाग्दै छौँ ।

पहिले हामी जान्छौँ कपडा पसलमा । थरीथरी कपडाहरू छन् । सारी, तन्ना, गलैँचा, प्यान्ट, सर्ट, सुरुवाल, कुर्ता, ब्याग के लिने त्यही छ । लिन त मलाई पनि मन छ, तर यहाँको भाउ महँगो छ । घरका लागि कोसेली किन्ने रहर हुँदाहुँदै पनि म रोक्छु आफूलाई । यहाँभन्दा त मेरै देशमा सस्तो छ । वीरगन्जमा उही मूल्यमा पाइने कुरा जयपुरदेखि किन बोक्नुपर्यो ! केही किन्दिनँ । केही साथीहरू सारी, कुर्ता-सुरुवाल र तन्नाहरू किन्छन् र थकथकिन्छन् । किन नथकथकिऊन् , भारुमा मूल्य सुन्दा सस्तो ठान्छन तर गोजीबाट रकम झिक्ता नेपाली रुपियाँ घटेको महसुस गर्छन् 'मथुराजीका पेडा खायाभी पछताया, नहीं खायाभी पछताया ।'

कपडा पसलपछि हामी अघि बढ्दै छौँ अन्य पसलहरूतर्फ । अब हामीले पनि अलिअलि अनुभव गर्न लागेका छौँ 'कि त जयपुर महँगो छ कि त जयपुरको महँगो पसलमा पर्यौँ हामी ।' ब्रोकेन हिन्दी बोले पनि नेपाली भनेर चिनिहाल्छन् जयपुरका धूर्त व्यापारी । त्यसमाथि पसलमा पनि परस्परमा हामी नेपाली बोल्ने, ठगिन झन् सजिलो । चिनोका रूपमा केही किन्नैपर्ने हाम्रो सोचाइ हुनाले विभिन्न पसलहरूबाट हामी भाँडा, मूर्ति, प्रतिमूर्ति, जुत्ता, ब्याग, रिङ आदि केही न केही किन्छौँ र बाटो लाग्छौँ ।

अब हामी समयमा नै रेल चढ्न स्टेसनमा पुग्नु छ । हामीलाई जयपुर डुल्नु छैन अब । झन्डैझन्डै एकसरो धोको पूरा गरी हेरेका छौँ गुलाबी सहर जयपुरलाई । त्यसैले जयपुरलाई बिदाइका हातहरू हल्लाउँदै अघि बढ्छौँ – बिदा ! जयपुर बिदा !!

jantar_mantar_jaipur_2281_jpg_600x

(Source of Photo: Click Here)

Related Posts with Thumbnails