युना



दिनहरू गन्छे ऊ
एक, दुई, तीन
र फेरि
एक, दुई, तीन
हिसाबमा दोहोरिन्छन् उही दिनहरू
र
गणना हुन्छन् त्यसै गरी
आगतका दिनहरू

रोपाइँका दिनहरू आउँछन्
ऊ मेला जान्छे
ऊ पर्म जान्छे
पर्महरू सध्दै जान्छन्
मेलाका ज्यालाहरू बढ्दै हुन्छन्
क्रमशः क्रमशः
र
सपना देख्न थाल्छे
'फेबल्स अफ एसप'की केटीझैँ
वा
दन्त्यकथाको 'सोम शर्मा'को बाबुझैँ
किन नदेखोस् ऊ सपना त्यस्तो
सपनाले नै
कल्पनाले नै
मान्छेलाई जिजीविषातर्फ आकृष्ट गर्छ

यस्तै सपना र परिकल्पनाले त
ऊ बाँचेकी छ
ऊ हाँसेकी छ
र
यसै यसै गरी
बाँच्ने छे युना
बाँचिरहने छे युना !

'अन्तर्मनको यात्रा' : एक हेराइ

२०६६।१०।९
जगदीश घिमिरेज्यू ,
तपाईँको 'केही कथा कविता संस्मरण' पाएर पनि मैले पढेको थिइनँ । त्यो पुस्तक मेरो छोरो विवेकले २०५१ सालतिर बालकविका रूपमा पुरस्कार पाएको थियो । विधागत छ्यासमिस देखेर मन नपरेको हो खास मलाई ।
पछिल्ला वर्षहरूमा मैले अति चर्चित पुस्तक यथासम्भव किनेरै पढ्न थालेको थिएँ । त्यसै क्रममा 'अन्तर्मनको यात्रा' रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिने गरी हात पर्यो । कुनै पनि पुस्तक हतार-हतार नपढ्ने बानीले छिटै पढिसिध्याउन सकिनँ ।
म रामेछापबासी होइनँ, तर मेरो रगतमा पनि रामेछापको अंश भने छ । मेरो हजुरबुवा गणेशराज अधिकारी अघिको पूर्व दुई नम्बरकै कठजोरबाट पर्सा जिल्लाको खेस्राहामा बसाइँ जानुभएकाले हामी तराईमा जन्मेका हौँ । हाम्रा आमाबुवा कहिलेकाहीँ कठजोर जानुहुन्थ्यो रे । हाम्रा दुईजना हजुरआमामध्ये एकजना तराईमा र एकजना कठजोरमै बस्नुहुन्थ्यो रे । त्यसैले हजुरबुवाको कठजोर-खेस्राहा ओहोरदोहोर स्वाभाविक नै थियो ।
हजुरबुवा तथा हजुरआमाहरूको सेखपछि हुनुपर्छ, हाम्रो एकजना काका कठजोर जाँदा आफन्तले नै हरिताल ख्वाएर मारेछन् । त्यसपछि बुवा, काका र ठूलोबुवाहरू पनि जान छाड्नुभएछ । हाम्रो मूल सम्पत्ति त्यहीँ थियो रे, कसले अपुताली मनायो थाहा भएन ।

हामीलाई आफ्नो पुर्ख्यौली टेक्ने, हाम्रा पुर्खाको पौरखको वास लिने ठूलो धोको थियो तर काकाप्रति घटित घटनाले आमामा परेको 'इम्प्रेसन' र आमाप्रतिको आज्ञाकारिताले हामी कुनै पनि भाइ कहिल्यै पनि कठजोर उक्लेनौँ । 'अन्तर्मनको यात्रा' पढिसक्ता नसक्तै मभित्र भने आफ्नो पुर्ख्यौली माटो सुँघ्ने रहर अठोटमा परिणत हुन खोज्दै छ ।
मैले 'अन्तर्मनको यात्रा' को कुरो गर्न खोज्दै थिएँ, बहकिएर आफ्नै कुरो पो गर्न थालेछु त । हट्ट !
'अन्तर्मनको यात्रा' तपाईँका भोगाइहरूको आफ्नो अभिव्यक्ति हो तर पनि यसले संवेदनशील हरेक भावकलाई आ-आफ्नै किसिमले झकझक्याउँछ । यसको खरो शैली कसैका लागि सुस्वादु वा कसैका लागि कोक्याउँदो हुन सक्छ । यथार्थताको उदाङ्गता यस कृतिको सबभन्दा मन खिँच्ने पाटो हो । जीवनका विभिन्न मोडमा आवश्यक पर्ने शिक्षा सूक्तिमय रूपमा व्यक्तिनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो ।
जीवन भोगाइको सङ्घर्षको निश्छल प्रकटन तथा धार्मिक पाखण्डप्रति तीव्र असन्तुष्टि पाइने यस कृतिमा प्रेमप्रति आफ्नै खाले दृष्टि पाइन्छ । यो कृति मार्मिक त छँदै छ, साथै यसमा हास्य तथा व्यङ्ग्यसमेत पाइन्छ । फ्ल्यासब्याक शैलीले प्रसङ्गहरूलाई पट्यारिलो हुन नदिई रोचक बनाएको छ ।
झर्रोपनप्रति अनुराग हुँदाहुँदै अङ्ग्रेजी पर्याप्त परेको छ । कथ्य, भाषिका तथा अझ व्यक्तिभाषाको प्रयोगले भाषाशैली आफ्नै प्रकारको भएको छ । उपमा तथा बिम्बको प्रयोगले भाषालाई सुन्दर बन्न सघाएका छन् ।
किमो उपचारका प्रसङ्गहरू झसङ्ग र जिरिङ्ङ पार्ने खालका छन् ।
पुस्तकमा कताकति निराशाका धर्साहरू देखिए तापनि समग्रमा आशावादी छ ।
यस पुस्तकको अध्ययनबाट आफूले थाहापत्तै नपाई काल सुटुक्क आएर छेवैमा बस्ने हुनाले जीवनलाई सार्थक पार्न निमेष समेत खेर फाल्न नहुने रहेछ, आफ्नो पछिल्लो जीवनबारे सचेत र विश्वस्त हुनुपर्ने रहेछ र अन्तिम साससम्म आशावादी भएर काम गर्नुपर्ने रहेछ भन्ने शिक्षा पाएँ ।
तपाईँको जीवन रहेसम्म यस्तै उत्कृष्ट कृतिहरू पढ्न पाइरहौँ । तपाईँको जीवन लामो होओस्, शुभकामना !
तपाईँको
रमेशमोहन अधिकारी

तिमी

तिमी आएझैँ गर्छ्यौ
आएकी पनि हुन्छ्यौ
दैला ठेलामा ठिङ्ङ उभिएकी हुन्छौ
अमृतको घडा हुन्छ तिम्रो साथमा
म अमृतको प्यासी
एक थोपा मात्र पाए पनि
अमर बन्ने लालसामा छु


तिमीले घडाबाट
अमृतको एक थोपा
निकालिसकेकी पनि छ्यौ
म आनन्दले विभोर छु
मेरो खुसीको सीमा छैन
र
आँखा चिम्लन्छु
पूर्ण तृप्तिका लागि
म आँखा खोल्छु
तिमीलाई देख्तिनँ


कहाँ गयौ तिमी
कलश साथमा लिएर
कहाँ गयौ
मलाई मृगतृष्णामा भुलाएर
पानीबिनाको माछो बनाएर
उफ !
म एक थोपा अमृतको प्यासी
प्यासप्यासमै मर्न लागेँ
हाय !!

मेरो भूत

07014053.detail.a कुरा केही वर्ष अगाडिको हो, त्यतिखेर म एक्लै बस्ने गर्थेँ। म बस्ने घर अलि पुरानो खालको थियो, जसको माथिको छ कोठामध्ये अगाडिको दुइटा कोठामा घरबेटीहरू बस्थे । म पछाडिको एउटा कोठामा बस्थेँ र माथिको ३ वटा कोठा खाली थियो । घरबेटीहरुको माथि नै भएपनि उनीहरुकोमा पुग्न बिचको गजवारवाला ढोका पार भएर जानु पर्ने भएको हुनाले घरबेटीहरू भएपनि म एक्लो जस्तै नै हुन्थेँ । Toilet-Bathroom सबै तल नै थियो। तलको तल्लामा क्याम्पस पढ्ने विद्यार्थीहरु बस्थे । त्यतिखेर गर्मीयाम थियो ।
त्यो दिन म केही काममा अल्झिएर बसेकोले गर्दा राति सुत्न अलि ढिलो भयो । सुत्नु भन्दा अगाडि हल्का हुनुपर्यो भनेर म त्यस्तै १०:३० तलतिर ओर्लें, त्यतिखेरसम्म सबैजना सुतिसक्नु पर्ने थियो तर गर्मीले गर्दा सुत्न सकिरहेका रहेनछन् । उमेश र उसको रुम पार्टनर राजेश आफ्नै कोठाभित्र गफिँदै थिए। म पनि सधैँझैँ उनीहरुको कोठातिर लागें । राजेश भर्खर गाउँबाट आएको हुनाले ऊसँग गफ गर्ने विषय धेरै नै थियो । ऊ भर्खरै गाऊँमा घटेको घटना बारे सविस्तार व्याख्या गर्दै थियो । उसको गाउँको साथीको भर्खरै गाउँ नजिकको दहमा डुबेर दु:खद निधन भएको रहेछ । ती युवकको शव निकालिएको विषयमा वर्णन गर्दै थियो । यसै प्रसङ्गमा कुरा हुँदाहुँदै गाउँमा देखिने गरेको भूतको कुरा हुन थाल्यो, जसलाई अधिकांश गाउँलेहरुले गोठमा, चौरमा, वनमा, खोला नजिकै वा बासँको झ्याङ्गमा देख्ने गर्थे । यो गफ मोडिदै बिस्तारै एक-अर्कालाई तर्साउने र रमाइलो मान्ने हिसाबले अगाडि बढ्न थाल्यो । गफै-गफमा उमेश र राजेश दुवैजना मिलेर मलाई तर्साउने हिसाबले कुरा गर्न थाले। दुवैजना मलाई भूत-प्रेतको कथा बनाउँदै सुनाउन पनि थाले, म यी सबैमा विश्वास नगर्ने भएकोले उनीहरु आफ्नो कुराहरु पुष्टि गर्न जोडतोडले लागिपरेका थिए । मलाई पनि यिनीहरुसँग मजाक गर्नुपर्यो भन्ने लाग्यो र मैले पनि तिनीहरुलाई तर्साउन नयाँ कथा बनाएर भनेँ जसअनुसार ऊनीहरु बसेको कोठामा एक असफल प्रेमी झुन्डिएर मरेको थियो । म उनीहरुभन्दा पहिलेदेखि नै त्यहाँ बसिरहेको हुनाले आफूसँग भएको अन्य जानकारीको प्रयोग गर्दै त्यस कुराको थप पुष्टि गरें । उनिहरुले सुरुमा त पत्याएका थिएनन् तर मैले हो कि हो भनेपछि उनीहरुले पनि विश्वास नगरी धरै भएन । यसरी उनीहरु पङ्गु बने भन्ने लागेपछि म माथि लागेँ र मस्तसँग सुतेँ ।
भोलिपल्ट बिहान अलि अबेला नै आँखा खुल्यो र नित्यक्रिया गर्न तलतिर लागेँ । तल त भद्रगोल नै भएको रहेछ । तलका सबैको अनुहार निन्याउरो देखिन्थ्यो, जसले उनीहरु राति राम्ररी नसुतेको कुराको पुष्टि गर्दथ्यो । म बाथरूमसम्म पुग्न भ्याएको थिइनँ; बाटैमा शेखर, जो बिचको कोठामा बस्थ्यो, ले हिजोको कुरा साँचो हो कि होइन भनेर सोध्यो। मैले कुन कुरा भनेर सोधेँ। उसले भूतको कुरा भनेर भन्यो अनि म छक्क परेँ । मैले उसलाई कसरी थाहा भयो भनेर सोध्दा उसले सम्पुर्ण कुरा भन्यो । हिजो म गइसकेपछि उमेश र राजेश बाहिर निस्केछन् र सबैलाई उठाएर मेरो कथालाई फुलबुट्टा भरेर सुनाउने काम चैँ राजेशले गरछ । त्यसले गर्दा अरुहरुपनि अबेरसम्म सुत्न सकेनछन् । यसरी एउटा कोठाभित्र गरेको मजाकले सारालाई सताएछ । त्यसले गर्दा अन्य कथाहरूपनि प्रकाशमा आयो । अरुहरुले पनि भूत भेटेको प्रमाण दिन थालेछन्, जसमा दिनेश, जो स्नातकको पढाई सकेर शिक्षण गरिरहेको थियो, ले सबैलाई उछिनेछ । उसले घरको पछाडिमा, गल्लीमा, धारामा समेत भूत भेटेको रहेछ । अरुहरूका पनि त्यस्तै खालका कुराहरु रहेछन् । त्यहाँ भएका मध्ये वैधनाथलाई सबभन्दा बढी असर परेछ । ऊ कक्षा १२ मा विज्ञान पढ्ने विद्यार्थी थियो । ऊ सबभन्दा पछाडिको कोठामा एक्लै बस्ने गर्थ्यो । तलका सवै जनालाई सुत्न जान डर लागेछ गफ गरेर १ बजेसम्म बसेछन् र त्यसपछिमात्र सुत्न गएछन् । वैधनाथको डरले गर्दा पेट दुखेछ । उसलाई रातभरी छेरपट्टी चलेछ । राति एक्लै सुत्न डर लागेर ऊ उमेशहरुको कोठामा सुतेछ । मलाई यि सारा कुराहरू सनेपछी सारै नै नराम्रो लाग्यो । अघिल्लो बेलुका यस्तो हुन्छ भन्ने लागेको भए अवश्य नै यस्तो कुरा गर्ने थिइन् । मेरो कारणले गर्दा त्यतिखेर सबैले दु:ख झेल्नुपर्यो । मैले यो मजाक हो भनेर भन्दा भन्दै पनि वैधनाथले त्यो घटना भएको १ हप्तापछि कोठा सर्यो । घरबेटीहरु यो घटना पछि मसँग रिसाएका थिए ,जसले मलाई झन् दु:खी बनाएको थियो ।
(Image source: Click here )

हिमाल

 



कति राम्रो हिमाल हेर हाँसे जस्तै लाग्छ
हिमालमा डाँफे चरी नाचे जस्तै लाग्छ
म पनि त हिमाल खोज्न लेक-बेँसी धाएँ
आखिरीमा आफ्नो हिमाल आफैसँग पाएँ


हेर साथी हिमालमा सेता दन्त लहर
हिमालसँग नाता गाँस्ने मेरो आफ्नो रहर
कस्तो राम्रो हिमाल हेर सधैँ हाँसिरहने
सबैसँग आफ्नो नाता गाँसिरहने


हामी पनि हिमाल जस्तै हाँस्न सिक्नुपर्छ
सबैसँग आफ्नो नाता गाँस्न सिक्नुपर्छ
हिमाल, पहाड, तराई कोही छैन पराई
हिँड्नुपर्छ हामी शत्रुसँग नडराई


सगरमाथा शिखर नेपालमा छँदै छ
त्यही माथि नेपालीको इज्जत बढ्दै छ
नेपाली हामी कमाउँन मिहिनेत गर्छौं
मिहिनेतअनुसार आफ्नो नाम कमाउँछौं


मलाई हिमाल र झर्ना साह्रै मन पर्छ
हिमालमा हिउँ पग्ली नदी बनी बग्छ
हामीले हिमाललाई माया गर्नुपर्छ
हिमालसँग हाँसी खुसी सधैँ बस्नुपर्छ

रचयिता :- अञ्जिता बर्तौला

कक्षा :- ८

कालिका मावि नामटार, मकवानपुर

Related Posts with Thumbnails