पारितोषिक

award

‘भ्रम पो रहेछ ।’ जिल्ल पर्दै कमल बोल्छ । यताउति हेर्छ, अरूले उसको स्वर सुनेको भए अवश्य उसलाई पागल भन्थे होलान् ।

कयौँ वर्षदेखि ऊ त्यहाँ काम गरिरहेको छ । त्यहाँ थुप्रै सहकर्मीहरू छन उसका । कोही उत्तिकै कर्तव्य परायण, उत्तिकै निष्ठावान्, कोही ठिक विपरीत अर्थात् कर्तव्यच्यूत र निष्ठाहीन । सङ्ख्या भने दोस्राहरूको नै बढी छ । साथै कर्तव्यच्यूत र निष्ठाहीनहरूको एउटा सङ्गठन छ ‘कनिस’ प्रसङ्ग अनुसार उनीहरूको सङ्गठनको राम्रो अर्थ पनि लाग्न सक्छ अर्थात् कर्तव्य परायण तथा निष्ठावानहरूको सङ्गठन ।

त्यहाँ त्यसकै बोलवाला छ अर्थात् त्यो गिरोहले भनेकै चल्छ । व्यवस्थापन पक्ष उनीहरूदेखि डराउँछ र ‘कनिस’ को निर्णय र चाहना पन्छाउन सक्तैन । यो उसको बाध्यता हो वा आत्मिक चाहना हो, खुट्याउन गाह्रो मात्र होइन , साह्रै गाह्रो छ ।

कार्यरत कर्मचारीहरूको वार्षिक मूल्याङ्कन गर्दै कर्तव्यपरायणहरूलाई पुरस्कार दिने परम्परा त्यहाँ वर्षौँदेखि छ ।

आफू कर्तव्यनिष्ठ भएकामा कमलालाई गर्व छ किनभने उसको कार्यको प्रतिफल उसले सोचे अनुसार वा लक्ष्य अनुसार नै हुँदै आएको छ र व्यवस्थापनले पनि उसको प्रशंसा गर्ने गरेको छ ।

पारितोषिक वितरणको दिन भव्य कार्यक्रमको आयोजना हुन्छ । कार्यालयका उसका सम्पूर्ण सहकर्मीहरू सो कार्यक्रममा उपस्थित हुन्छन् । पारितोषिक तिन जनालाई दिइने भएको हुन्छ । मूल्याङ्कन समितिको निर्णय सुनाइँदा आफ्नो नाम पनि पर्छ, अझ एक नम्बरमा पर्छ भनेर उ पक किसिमले विश्वस्त नै हुन्छ ।

ऊ उद्घोषकको मुखबाट आफ्नो नाम सुन्न आतुर हुन्छ । नभन्दै उद्घोषकले पुरस्कार पाउनेहरूको नाम भन्छन् “यो वर्ष कार्यालयको लक्ष्य अनुसार कर्तव्य निष्ठा तथा आआफ्ना जिम्मेवारी पुरा गर्ने उम्दा कर्मचारीहरू हुनुहुन्छ विभीषण, हनुमान र कुम्भकर्ण ।”

 (Image Source: Click Here )

आँखा ( लघुकथा )

fuuny doctor ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् ।

‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन । यस्ता रोगमा के के जाति रोगका लक्षण देखिन्छन् भन्ने सुनेर आएको हुँ ।’ रोगी आफ्नो रोगलाई राम्ररी हेरियोस् भन्ने आग्रहयुक्त बोली एकै सासमा तुर्याउँछन् ।

रोगीलाई आफ्नो अलि नजिक डाक्तै डाक्टर हल्कै तरिकाले हेर्छन् र भन्छन् ‘देखिँदैन त ?’

‘इ ! याँनेर डाक्टर साहेब !’ रोगीले रातै ठाउँमा देखाउँछ ।

‘खै, मैले त देख्तै देखिनँ।’ डाक्टरको उपेक्षित जस्तो जवाफ हुन्छ ।

यस घाउका बारेमा शङ्का भएपछि ‘ दुइटा प्राइवेट क्लिनिकमा यसको उपचार गराएँ तर ठिक भएन । त्यसैले यहाँ आएको हुँ ।’ यसभन्दा अघिको उपचारको स्थिति अवगत गराउँछन् रोगी ।

त्यसपछि डाक्टर प्रसन्न हुँदै भन्छन् ‘ए ! उसो भए मेरो पनि प्राइवेटमै आउनुस् न !’

 

( Source of photo :Click here )

टिकट ( लघुकथा )

एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि थिए । त्यसैले उसले मामानेर आफ्नो समस्याको पोको फुकायो । भान्जाको अप्ठ्यारो परिस्थितिसँग मामा राम्ररी परिचित थिए । यस्तो स्थितिमा फाइदा उठाउन राजनीतिमा खप्पिस मामा के चुक्थे र ! मामाले भनी पनि हाले 'भान्जा ! जागिर त जहाँसुकै पाइन्छ तर भान्जाको विचार चाहिँ अलि ‍‍-----------। भान्जा चाहिँ अलि जिल्ल पर्यो र सोध्यो 'के भन्न खोज्नु भएको मामा, प्रस्ट भन्नुहोस् न !'

मामाले आफ्नो अभीप्सा पुरा हुने ठानेर जुङ्गामा ताउ लाउँदै भने 'मतलब, सत्ताधारी पार्टीको टिकट लिनु पर्यो ।'

आफ्ना मामाले समेत विचारको सौदाबाजी गर्न खोजेको देखेर भान्जा मामाको मुखमा हेर्या हेर्यै भयो ।

न्वारान ( लघुकथा )

Modern Purohit

‘नमस्कार पण्डित बाजे ! भोलि छोरीको न्वारान छ, आइ दिन सक्नु हुन्छ?’ ‘हुन्छ आइ दिउँला नि त ! बरू कति बजे हो कुन्नि ! पण्डित प्रश्न गर्दछन् । ‘सकेसम्म सात बजे बिहान हजुर ! अरू काम पनि छ, दिउँसो सबेरै सकिए पछि धन्दा नै छिनिन्छ बाजे ।' पण्डित स्वीकृति सूचक मुन्टो हल्लाउँछन् । पण्डित बाजेलाई नमस्कार गर्दै रामबिर घर जान्छ ।

भोलिपल्ट पण्डितलाई दिएको वचन पुरा गर्न र छोरीको न्वारानको फुरफुरले गर्दा रामबिर बिहान चार बजेदेखि नै उठेर पूजा सर्दाम मिलाएर ठिक पार्छ । तर ९ बजि सक्ता पनि पण्डितको पत्तो फाँट नपाएपछि पण्डितले बिर्से कि भन्ठान्दै बोलाउन घर जान्छ । तर अघि नै जानु भएको भन्ने पण्डितनी बज्यैको उत्तरले निराश हुन्छ । छटपटीले पिरोलिएर भौँतारिँदै हिँड्दै गर्दा एउटा भट्टीमा उसको आँखा ठोक्किन पुग्छ अचम्मित हुँदै । बाजे त २-३ गिलास लगाएर नटुङ्गिने गफ गरेर पो बसेका रहेछन् । रामबिरलाई देखेपछि ‘किन आयो होला ?’ भन्ठानेर निकैबेर घोरिएपछि उसकी छोरीको न्वारानको लागि बोलाएको कुरो बल्ल सम्झन्छन् । अनि पण्डित जगन्नाथ लर्बरिँदै बोल्छन् ‘ए ह्यामबीरे, तेइ छोरीको न्वायान ह्यै छ है ! मइले त हुसुक्कै बिसेको ! लौ हिँड् ।‘

आफ्नी पत्नीको सुतक फुकाइ दिएर चोख्याइ दिने पण्डित बाजेको चारित्रिक शुद्धता देखेर अचम्म मान्दै रामबिरे उनको पछि-पछि पाइलो चाल्छ घरतर्फ । 

( Source of photo: Click here )

'प्रेतकल्प' पढ्दा

नारायण ढकालज्यू,

मैले 'प्रेतकल्प' भर्खरै जसो पढेँ । तपाईँनेर गरेको वचन अनुरूप यो पत्र लेख्तै छु । पुस्तक केही कुरामा अरू उपन्यासहरूभन्दा पृथक् छ । कुनै परिच्छेदमा प्रथम र कुनैमा तृतीय पुरुष प्रयोग हुनु फरकपना हो । यस्तै परिच्छेदपिच्छे टिप्पणी फरक जस्तो लाग्छ । टिप्पणीहरूले उपन्यासका प्रकरणहरूलाई जीवन्त पारेका छन् ।

पण्डित बालकृष्ण र उसको परिवारले रत्ति नडगी एकपछि अर्का हिम्मतिला कार्यहरू गर्नु , समाजबाट सहमति प्राप्त हुँदै जानु र सफलता समेत प्राप्त हुँदै जानु चमत्कार जस्तै लाग्छ । त्यो चमत्कारै चमत्कारको भुवँरी कतिखेरसम्म चल्ने हो शङ्का पनि लाग्छ । चन्द्र शमशेरजस्ता निरङ्कुश शासकका अगाडि आर्य समाजी प्रचार गर्नु, चन्द्र शमशेरको निम्तो अस्वीकार गर्नु, जातपातको कुरा मेटाउन खोज्नु , अझ अश्विनीको संरक्षण गर्नु, विष्णुभक्तलाई नरम बनाउनु, शिक्षाको ज्योति छर्ने कार्य गर्नु, चेतना फैलाउने कार्य गर्नु एकपछि अर्का जादुगरी जस्ता लाग्ने कार्यहरू हुन् । अझ विधवा विवाह र अन्तरजातीय विवाह त्यसबेलाका परिवेशमा अति क्रान्तिकारी कार्यहरू हुन् ।

यस उपन्यासले दुइटा शिक्षा दिन खोजे जस्तो लाग्छ - पहिलो, उपन्यासका कथानक तथा घटनाक्रमहरूले समाजमा जागरण ल्याउन सङ्गठनको आवश्यकता औँल्याउनु हो भने दोस्रो समाजलाई बदल्न व्यक्ति पर्याप्त हुँदैन, राज्यको कानुन पनि सहयोगी हुन सक्नुपर्छ भन्ने हो ।

'क्रान्तिको महान् गीत झैँ', 'फाँटको साँढे झैँ', 'असारे फूल झैँ' जस्ता सुन्दर उपमाहरू पाइने यो कृति सूक्तिमय वाक्यहरूले अझ सुन्दर बनेको छ र मार्मिक पनि छ ।

अति कथ्य 'मन्नोदरी', 'भे', 'विधुवी' सामान्य पाठकका लागि उपयुक्त जस्तो लागि हाले पनि अनेपाली 'दोगला' खट्कँदो शब्द हो । 'टाउचे', 'टेठा', 'खलिखप्पर', 'खुल्ली' जस्ता अप्रसिध्द शब्द भाषिका भए पनि सामान्य पाठकका दिमागभित्र घुस्न गाह्रो मान्छन् । 'कथाकारको टिप्पणी' मा पुनरुक्ति पाइन्छ भने आदरगत त्रुटि पनि पाइन्छ ।

बालकृष्ण थुनिएपछि उसको बाली स्याहारिदिने को थिए ? बाहिर खुलेर समर्थन गर्न नसके पनि भित्रभित्र सघाउन खोज्ने सार्कीहरू थिए कि अरू कोही ? विष्णुभक्तको छोरा किन त्यति साह्रो पलायन भएको ? त्यस्ता साहसिक कार्य गर्न सक्ने बालकृष्ण किन त्यति विघ्न निरीह देखिएको ? कुराहरू राम्ररी खुल्न सकेका छैनन् ।

पुस्तक पढिरहँदा हृदय चन्द्रसिंह प्रधानको उपन्यास 'स्वास्नीमान्छे' र कृष्ण धरावासीको कथा 'झोला' को सम्झना आउँछ ।

कृति उपन्यास हुनाले टिप्पणीलाई 'कथाकारको टिप्पणी' नभनेर 'उपन्यासकारको टिप्पणी' भन्न पाएको भए राम्रो हुन्थ्यो ।

प्रगतिवादी लेखक भएर पनि यौन सन्दर्भ प्रस्तुत गर्नु भएको रहेछ । यस्तै अश्लील शब्दको पनि प्रयोग पाइन्छ ।

'दु:खको नवीकरण' भन्ने परिच्छेद नराखेकै भए राम्रो हुन्थ्यो । नागरिकहरू निराश भएको अवस्थामा झन् हतोत्साहित पार्न हुन्नथ्यो ।

ढकालज्यू !

पुस्तक रोचक छ । सुरुमा प्रेरक छ र अन्त्यमा निराशाजनक ! मेरो विचारमा होनहार लेखक तपाईँले क्षतिपूर्तिमा अर्को उपन्यास लेख्नुपर्छ; बालकृष्णकै शृङ्खलामा वा एउटा गतिलो पात्र राखेर ! प्रेरक र उत्साहवर्ध्दक उपन्यास लेख्नुपर्छ ।

तपाईँको

रमेशमोहन अधिकारी

Related Posts with Thumbnails