साहित्यमा कोमलता

कमलो वस्तुमा हुने गुण नै कोमलता हो । कोमल हुनु भनेको नरम हुनु हो ।
कुनै वस्तु नरम छ भने त्यसलाई स्पर्श गर्न पाउँदा मात्र पनि हामीलाई आनन्द आउँछ । नरम वस्तुलाई छुँदा आउने आनन्द साहित्यमा नआउन पनि सक्छ ।
साहित्यमा कोमलता भनेको मन छुने हुनु हो । मन छुने साहित्यिक रचनाले कहिले मनलाई आनन्दित तुल्याउँछ भने कहिले पीडित समेत । कविता अझ पद्य कविताका सन्दर्भमा भन्नुपर्दा माधुर्य गुण भएका कारण करुण, शृङ्गार आदि रसका रचनाहरू मूलत: कोमल हुन्छन् ।
शृङ्गार रस प्रधानताको पृथक्ता बोकेर आएको हुनाले गजल कोमल हुन्छ तर गीत अझ कोमल हुन्छ । यस्तै कविता तथा मुक्तकहरू पनि कोमल हुनु राम्रो हुन्छ । हाइकु, हाइकाइ, क्षणिका तथा छोकहरू भने अलि पृथक् प्रवृत्तिका हुन्छन् । जुन विषयमा हामी जति पग्लन सक्छौँ, जति हामी सलल बग्न सक्छौँ, त्यति नै त्यो सुबोध्य, हृदयसंवेद्य वा मर्मस्पर्शी हुन्छ, जति मर्मस्पर्शी हुन्छ; त्यति नै लयात्मक, मधुर, स्तरीय तथा चिरस्थायी हुने सम्भावना हुन्छ ।
कवितामा कोमलता खोज्दा छन्दमय कविताहरूमा हामी यसको पर्याप्त प्रभाव पाउन सक्छौँ । महाकवि देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘राजेश्वरी’ तथा ‘गौरी’ जस्ता खण्डकाव्य तथा शोक काव्यहरू कोमल कृतिका उदाहरण हुन् ।
कविता, गीत, गजल जस्ता पद्य विधामा मात्र होइन मानिसका पीडा तथा आनन्दसँग एकाकार हुन सकेका गद्य रचनाहरू पनि कोमल हुन सक्छन् । कृष्ण धरावासीको ‘झोला’ र महेशविक्रम शाहको ‘गनाउने चामल’ कथा समेत मर्म स्पर्शी र कोमल छन् । मानवीय संवेदनाको गहिराइसम्म मनग्गे डुबुल्की मारी लेखिएका रचनाहरू कारुणिक छन् र स्तरीय पनि ।
आनन्दका क्षणलाई मानवीय संवेदनाले च्याप्प समात्न सकेका खण्डमा आनन्दयुक्त रचनाहरू पनि कोमल हुन सक्ने सम्भावना हुन्छ तर पीडादायक वा करुणरसप्रधान रचनाहरू नै मूलत: कोमल हुन्छन् ।
साहित्यकार चाहे जुनसुकै विधामा सिध्दहस्त होस्, उसले मिठो शैलीलाई रोज्न सक्यो भने धेरैको प्यारो हुन सक्छ ।
मिठो रचना लेख्न खोज्दा स्वत: मस्तिष्कभन्दा हृदय परिचालित हुन्छ । मस्तिष्क बढी परिचालन हुँदा बौध्दिक रचनाहरू तयार हुन्छन् । बौध्दिकताका दृष्टिले ती स्तरीय र शाश्वत भए तापनि तिनले पाठकका मन जित्न नसकेका हुन सक्छन् । हृदय, मस्तिष्क र हातको क्रमश: संयोजन गरी हामीले त्रिशङ्कु रचना सिर्ज्यौँ भने त्यो निबन्ध नै भए पनि कोमल हुन सक्छ । निबन्धका क्षेत्रमा खास गरी आत्मपरक निबन्ध तथा नियात्रा कोमल हुने सम्भावना हुन्छ । कोमल रचनामा खुबी भएका साहित्यकारहरू नै लोकप्रिय हुन सक्छन् ।
प्रकृति तथा शृङ्गार जस्ता विषयमा लेखिएका रचनाहरू कोमल हुने सम्भावना हुन्छ । तैपनि व्यक्तिले आफ्ना विगतलाई रत्ति नलुकाई लेखेका रचनाहरू नै कोमल हुन्छन् ।
रचनालाई कोमल बनाउन आफू कोमल हुनु पर्छ । कठोर हृदय भएका व्यक्तिबाट कोमल रचनाको अपेक्षा गर्न सकिन्न । केही गरी कठोर हृदयीले कोमल रचना लेखेका छन् भने ती आदर्शका फोस्रा स्वाङ हुन्छन् । तसर्थ कोमल रचना कोमल हृदयीले मात्र लेख्न सक्छ भनेर ठोकुवा गर्न सकिन्छ ।
सबै मानिसले एकै प्रकारको काम गर्नुपर्छ, एउटै धारमा बग्नु पर्छ भन्ने छैन तर हरेकले आआफ्ना रचनालाई यथासम्भव हृदयस्पर्शी, मधुर तथा कोमल बनाउन सके साहित्यका नरम विधाहरूले अग्र गति लिन सक्छन्, स्तरीय हुन सक्छन् र आफ्ना पाठकहरू माझ प्रिय हुन सक्छन् । त्यसैले आउनुहोस्, हामी पनि कोमल रचना लेख्ने प्रयत्न गरौँ ।

ऊ र यात्रा

रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ

यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा


प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई


यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्

नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !

निसाना

अनामग्राममा कुनै बेला दुईजना अचुक निसानाबाजहरु थिए । ती दुवैको सिकारपनामा कहिल्यै कमजोरी आउन पाएको थिएन । एक दिन ती दुवै सिकार गर्न सँगै जङ्गल पसेका थिए । एउटा घनघोर जङ्गलको माझमा पुगेपछि दुइटा बाटाहरू देखिए । एकजनालाई दायाँतिरबाट जाँदा सिकार पाइने लाग्यो र अर्कालाई बायाँपट्टिबाट ।
आ-आफ्ना निसानाको अचुकताले दुवैको अहम् चरमावस्थामा पुग्यो र ती एकै बाटाबाट अघि बढ्न नसक्ने भए । आखिर ती दुई छुट्टिए । ती दुवै झन्नै उस्तै गतिमा हिँड्दै थिए । दुवैले भिन्नाभिन्नै बाटामा कुनै वस्तुको सरसराहट सुने । ती दुवैलाई लाग्यो ‘सिकार पक्कै उनीहरूको नजिक आउँदै छ ।’ दुवैले आआफूले आवाज सुनेका दिशामा गोली छाडे ।
नीरव वनमा एक्कासि दुई ठूला आवाजहरू ध्वनन-प्रतिध्वनन भए ‘ड्याङ्ङ ! ड्याङ्ङ !!’ उनीहरू दुवैको निसाना अचुक नै थियो तर ती निसानाहरूका सिकार ...................!
lw_main
( Source of Photo : Click here )

एक त्यान्द्रो गुन्द्रुक


एक त्यान्द्रो गुन्द्रुक
गिजामा अड्किरहन्छ
दाँतलाई दु:ख दिइरहन्छ
जिब्रोलाई सक्रिय मात्र पारिरहन्छ

मेरो मस्तिष्कलाई
उतै केन्द्रित पारिदिन्छ

कस्तो रहेछ
न त्यसै त्यसै बिलाउने
न हतपत बाहिर नै आउने
कस्तो अधबेस्रो यो
उकुच पल्टेको घाउजस्तो
भिरमा फलेको फर्सीजस्तो

न यसो गर्दा हुन्छ
न उसो गर्दा हुन्छ
यसले मलाई खालि दु:ख दिन्छ
न यो रहनुको प्रयोजन छ
न यो आफैँ मेरो मर्का बुझ्न प्रयत्नरत छ

स्वार्थ पूरा गर्न मात्र तयार देखिन्छ यो
पीडा दिन मात्र तयार भेटिन्छ यो
कस्तो यो कस्तो कस्तो
न यसोको न उसोको
एक त्यान्द्रो गुन्द्रुक !

कालीखोला



कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई

कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला

चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला

कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला

कालीखोला अब उठ्नेछ

उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!

Beautiful_village

(Source of Photo:- Click Here )

Related Posts with Thumbnails