जोसिला बुढा

Picture Source : Click Here

त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।

यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !

कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।

Related Posts with Thumbnails