इन्द्र सरोवरमा म

मान्छेको जीवन अचम्मको हुँदो रहेछ । कतिपय यात्रा मान्छेले योजना गरेर हुँदो रहेछ, कतिपय यात्रा विना योजनामै वा अरूका योजनाका कारणले हुँदो रहेछ । कतिपय यात्रा थाहा पाएर हुँदो रहेछ, कतिपय यात्रा त आफैँले थाहा नपाई नपाई पनि हुँदो रहेछ । मैले गरेका मार्खुका यात्राहरू यस्तै थाहा पाई पाई थाहा नपाई नपाई भएका छन् । पहिलो चोटि २०४२ सालमा म मार्खु जाँदै छु भन्ने थाहा नपाईकनै पुगेको थिएँ । त्यतिखेर पनि माहिलो दाजु उत्तम चित्लाङमा पढाउनु हुन्थ्यो । दाजुलाई भेट्नु पर्ने थियो । त्यस ताका अहिले जस्तो मोबाइल त परैको कुरो भयो सिडिएमए फोन पनि प्रचलनमा थिएन । कसलाई सोध्नु ? चन्द्रनिगाहपुरबाट हेटौँडा आएर एक दुई जनालाई सोधेँ, भीमफेदीको बाटो देखाइदिए । होला त नि भनेर हिँडेको हत्तु हैरान भइयो । हो, त्यही बेला म चित्लाङ पुग्न मार्खु पुगेको थिएँ ।
 

दोस्रो पटक जागिरको सिलसिलामा चित्लाङको खर्क पुगेको थिएँ । खर्क अर्थात् कखुबिर्ता । मूलतः उपाध्याय लामिछानेहरूको बस्ती । त्यहाँ ठुला पसलहरू थिएनन् । चामल आदि किन्न कि त एक घण्टा हिँडेर पौवा पुग्नु पथ्र्यो कि त एक घण्टा नै हिँडेर मार्खु । मलाई चाहिँ पौवाभन्दा मार्खु नै सजिलो लाग्थ्यो । मार्खुमा विद्युत् प्राधिकरण क्षेत्रमा सान सानै भए पनि चिटिक्क मिलेका घरहरू थिए । इन्द्र सरोवर थियो । म त्यस क्षेत्रभित्र पस्तैनथेँ, इन्द्र सरोवरको पानी खेलाउन जाँदैनथेँ र त्यहाँको माछा खाने सोख पनि मभित्र पलाउँदैनथ्यो । किन भनेर भन्न मलाई अहिले पनि असजिलो छ । जे भए पनि  बाहिर बाहिरबाटै हेर्न भनेर पनि मैले मार्खुलाई मेरो बजारका रूपमा रोजेको थिएँ ।
Photo1421खर्कमा म एक वर्ष पनि बसिनँ । तर यही बाटो भएर २०५५ र २०५९ सालमा चित्लाङको साहित्यिक यात्राका क्रममा पनि हिँडेको छु ।  
त्यसपछि पुरा बाह्र वर्ष भएछ मार्खु नगएको । यसपालि फेरि अचानक जाने मौका पर्यो । कार्यालयबाट परीक्षा शाखाका हरिश्चन्द्र सापकोटाले फोन गर्नु भयो 'रमेश सर, फागुन २३ गते जिशिकामा आउनु होला ।' मैले किन भनेर प्रश्न सोधेँ । उहाँले तपार्ईँ केन्द्राध्यक्ष हुनुभा'छ भन्नुभयो । मैले केको भनी सोधेँ । उहाँले एसएलसीको भन्नुभयो । अनि मैले कहाँको भनी सोध्दा तपाईँलाई त्यति मात्र भन्ने आदेश छ भन्नु भयो । मैले २३ गते मात्र थाहा पाएँम मार्खु जानु छ भनेर ।
कार्यालयीय जिम्मेवारी भनेको एउटा अवसर र एउटा जिम्मेवारी पनि हो । अझ प्रवेशिका परीक्षा सञ्चालन गर्ने जिम्मेवारी त चुनौती पनि हो । कार्यालयले दिएको जिम्मेवारी राम्ररी गर्न सके जस पनि पाइन्छ र राम्ररी गर्न नसके अपजस पनि । तर पनि कार्यालयले दिएको जिम्मेवारी वहन गर्नै पर्ने हुन्छ ।
नेपालमा दलहरूको बहादुरी बन्द गर्नमा छ । त्यो बन्दले कस कसलाई कसरी कसरी मार पर्छ भन्ने चासो छैन । कुन दिन कसलाई के भ्mवाँक चल्छ, बन्द गर्छन् त्यो पनि अचानक अचानक । बन्द गर्न कुनै ठुलो तयारी र शक्ति पनि चाहिँदैन । धाक दिन सके पुग्छ, थर्काउन सके पुग्छ, तोडफोड गर्न सके पुग्छ । दलहरूको शक्ति आम प्रदर्शनमा हुनु पर्ने, राम्रा र सृजनात्मक कामहरू गर्नमा हुनु पर्ने । तर दलहरू र तिनका भातृ सङ्गठनहरूले पच्चिस पचास वा सयको जमातले पुग्ने विरोधको कार्यक्रम रोज्ने गर्दछन् र सर्व साधारणलाई मर्कामा पार्दछन् । त्यो मर्काले कसैको जागिर, कसैको मजदुरी वा कसैको ज्यानमा समेत तल वितल पर्छ । त्यसको वास्ता बन्दकारीलाई हुँदैन । उनीहरू त आप्mना कारणले अरू अप्ठ्यारामा परे आफ्नो कार्यक्रम सफल भएको ठान्दछन् । उनीहरूले विरोध र असर पार्नु पर्ने शक्ति पहिल्याउन नसक्नाले न बन्दको असर सम्बन्धित पक्षलाई पर्छ न अन्य पक्षहरू सकारात्मक हुन्छन् । चोट एउटाले पाउनु पर्ने अर्कैले पाइराखेको हुन्छ । हुनु पर्ने कुरो भइराखेको हुँदैन, नहुनु पर्ने कुरो भइरहेको हुन्छ । जे होस्, बन्दकर्ताको लक्ष्य म लगायतका साथीहरू थिएनन् तर हामी सहरबाट टाढाको केन्द्रमा जानु पर्ने साथीहरू नै विद्यालयबाट एक दिन अघि हिँड्नु पर्नेमा पर्यौ ।  मैले जानु थियो दुई दिन अगाडि अर्थात् २९ गते तर जानु पर्यो २८ गते नै ।
परीक्षाभन्दा तिन दिन अगाडि आइपुगे पनि म मरुभूमिमा आएको थिइनँ । म मेरै देशको छहरामुनि थिएँ, म मेरै देशको पहरामुनि थिएँ । म नेपालको एउटा सुन्दर ताल इन्द्र सरोवरको समीपमा थिएँ । म यसको सौन्दर्यले सुवासित, आह्लादित र प्रभावित थिएँ । यहाँ छँदा मैले कर्तव्य निर्वाहपछिको सम्पूर्ण समयलाई अधिकतम सदुपयोग गर्नु थियो । यस ठाउँलाई अझ चिन्नु थियो, यस वरपरको परिवेशलाई अझ बुभ्mनु थियो र यस अवसरलाई सधैँ सधैँका लागि मन  मुुटुमा साँच्नु थियो ।    
समयले २०४२२०६९ का बिचमा थुप्रै नभए पनि केही न केही परिवर्तन गरिसकेको थियो । मार्खु, इन्द्र सरोवर र चित्लाङ केही बदलिइ सकेका थिए । म आफ्नो १३ दिने बसाइमा यही भिन्नता खुट्याउन चाहन्थेँ र यस क्षेत्रलाई अझ चिन्न चाहन्थेँ ।
मैले चिनेको चित्लाङ काठमाडौँसँग बढी सम्बन्ध जोडिएको ठाउँ मात्र थियो । अब पर्यटकीय क्षेत्र बन्न लागेको रहेछ । मैले यहाँका होमस्टेका बारेमा राष्ट्रिय दैनिक पत्रिकाहरूमा पढेको र सुनेको थिएँ । मलाई रिसोर्ट नै खुलेको चाहिँ थाहा थिएन । चित्लाङको यो परिवर्तन हेर्ने चाहनालाई दाजु र स्वच्छन्द भैरव उच्च माविका प्राचार्य मित्र विष्णु दाहालले पुरा गरिदिनु भयो । यस क्रममा सर्वथम हामी रिसोर्टमा पुग्यौँ। विद्यालयको जग्गा ठेक्कामा लिएर चलाइएको त्यस रिसोर्टमा क्यानाडा, अस्ट्रेलिया लगायत विभिन्न देशका पर्यटकहरू आएका रहेछन् । एक जना महिलाले ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । तिनीहरू खाजा खाँदै पनि थिए । हामीले उनीहरूभन्दा पृथक् रहेर मकैभटमास खायौँ अनि मसरुम सुँप तथा चिया खायौँ । रिसोर्ट निर्माणाधीन अवस्थामै थियो । त्यहाँ आएका पाहुनाहरूलाई खाना त्यहीँ र सुत्ने व्यवस्था फरक फरक गरिएको थियो । कसैका लागि टेन्ट, कसैका लागि छुट्टै घरहरू तथा कसैका लागि होमस्टेमा व्यवस्था मिलाइएको रहेछ ।
रिसोर्टपछि होमस्टेतिर लागियो । साँझ परिसकेको हुनाले राधाकृष्ण बस्नेतको होमस्टे मात्र हेर्न भ्याइयो । चिटिक्क परेका कोठाहरूमा उसै गरी मिलाइएका ओछ्यानहरू, टकटकाउँदो सफापन, घरेलु खाजा र खान्गी, आत्मीय व्यवहार नै होमस्टेका विशेषता रहेछन् । उहाँकहाँ चिया र भुइँ स्याउ खाइयो । माटामुनि आलु जसरी नै फिँजिएर तरुल आकारमा फल्दो रहेछ यो । एउटा बोटमा १५-१६ किलो सहजै फल्ने रहेछ । अहिले सय रुपियाँमा बिक्न सक्ने यसको स्वाद रुखस्याउ जस्र्तै हुने रहेछ । सुगर, युरिक एसिड जस्ता रोगको औषधीका रूपमा उपयोगी हुने रहेछ ।
यता मार्खुमा पनि केही परिवर्तनहरू देखिए । मार्खु एउटा पर्र्यटकीय क्षेत्र मात्र नभएर अध्ययन केन्द्र पनि रहेछ । प्रत्येक वर्ष त्रिविविको विज्ञान सङ्कायका स्नातकोत्तर तहका विद्यार्थीहरू भूगर्भीय अध्ययनका लागि कतै न कतै जाँदा रहेछन् । यसपालि उनीहरू मार्खुलाई केन्द्र बनाएर मार्खु वरपरको क्षेत्रका खनिजको अध्ययन गर्दै थिए ।
मार्खुको बसाइ सकिन लाग्दा पनि मेरो एउटा रहर बाँकी नै थियो । म मेरै जिल्लाको सबगढा तथा गेडहीमा डुङ्गा चढेको थिएँ, यसै गरी फेवातालमा चढेको थिएँ । तर मार्खुमा दस बाह्र दिन बस्ता पनि डुङ्गामा पाइला राख्न ताल परेको थिएन । २÷३ दिन अघि स्रोतव्यक्ति पूर्णभद्र भुसाल सरको र मेरो नौका विहार गर्ने सोचाइ मेसो नपाउनाले त्यत्तिकै थन्किएको थियो । भोलिपल्ट महिलाले खियाएको डुङ्गामा ४५ मिनेट सयर गर्नु भएछ । म छक्क परेँ महिलाले डुङ्गा चलाएको सुनेर । कवि मोहन कोइरालाको कवितामा पढेको त थिएँ
माझी सुसेल्थे वारिबाट
मझिनी सुसेल्थिन् पारिबाट
तर आफैँले देख्न भने पाएको थिइनँ । यो कुरा डुङ्गा चढिरहनेका लागि सामान्य लागे तापनि म भने छक्क परिरहेको थिएँ । यत्तिकै हिँड्नु पर्ने भयो भन्ने लागिरहेको थियो । एस एल सीका सबै जाँच सकिएको दिन समीक्षा बैठक समेत सकिएपछि मित्रहरू समक्ष प्रस्ताव राखेँ । 'डुङ्गामा सयर गर्ने मेरो रहर बाँकी नै छ, सम्भव भए महिलाले खियाएको डुङ्गामा भए हुन्थ्यो ।' मेरो आसय बुझेर विद्यालय सहयोगी पार्वती रुम्बाले भनि पनि हाल्नु भयो 'सरलाई त्यस्तो लागेको छ भने म डुलाइदिउँला ।' मलाई के चाहियो र ढुङ्गो खोज्दा देउता पाएपछि । 
पार्वतीले वचन दिएको लगत्तै जसो खाना खाएर हामी तम्तयार भयौँ । सुरुमा केन्द्र परेको विद्यालय सरस्वती बालबोधिनी माविका प्रधानाध्यापक सहदेव कुमार रिमालले डुङ्गा खियाउन सुरु गर्नुभयो । हेड सरले नै चलाएको देखेर छक्क परेँ । मलाई पनि रहर लाग्यो । मैले पनि चलाएँ । बहना चलाउँदाको सन्तुलनले नै डुङ्गालाई सन्तुलन गर्दो रहेछ । सुरुमा त डर लाग्यो । कता कता डुङ्गामा चढेकाहरू दुर्घटनामा परेका समाचारहरू पढेको थिएँ । पानी नपस्ता डर हुँदैन भनेर सरहरूले भनेपछि आश्वस्त भएँ र एक छिन मज्जैले डुङ्गा खियाएँ । त्यसपछि पार्वतीले खियाएको हेर्दै सयर गरियो । मनमनै सिद्धिचरणको 'ओखलढुङ्गा' कविता सम्झेँ । सिद्धिचरण आफ्नो जन्मभूमि ओखलढुङ्गालाई सम्झेर भावको डुङ्गामा सयर गर्थे भने म शिक्षक मित्र पूर्णचन्द्र काफ्ले र विद्यालयकी अर्की सहयोगी लक्ष्मी लामा समेतसँग काठे डृुङ्गामा यथार्थमै थिएँ र पनि युगकविकै कविता सम्झिरहेको थिएँ :
 
जब म चढेर भावको डुङ्गा
सैर गर्छु स्मृतिको प्रिय गङ्गा
सुख स्मृतिको बर्सन्छ रिमझिम
स्वप्न गगनबाट सुशीतल जल
मेरो प्यारो .......................।
लेखन मिति : २०६९।१२।१४ 
Related Posts with Thumbnails