आधारभूत तहका नेपाली पाठ्य पुस्तकहरूमा एक दृष्टि

नेपाली पाठ्यक्रमले मूलत: विक्रमाब्द २०२८ देखि विकसित स्वरूप सुरु गरेको
हो । त्यसदेखि यता पनि समय अनुसार पाठ्यक्रममा निरन्तर रूपमा सुधार हुँदै
आएको छ । त्यही क्रममा पाठ्यक्रम आजको स्वरूपसम्म आइ पुगेको छ । सोही
अनुसार पाठ्य पु्स्तक पनि तयार भएर हाम्रा हात हातमा छन् । निश्चित रूपमा
भन्न सकिन्छ-पाठ्यक्रम र पाठ्यपुस्तक आजको स्थितिमा आइ पुग्दासम्म निकै
कुइनेटाहरू पार गरेको छ र अनन्तसम्म पाठ्यक्रम र सोही अनुसार पाठ्य
पुस्तकमा परिवर्तन गर्दै जान पर्ने स्थिति छ ।
यस लेखोटमा वर्तमान नेपाली पाठ्य पुस्तकका सन्दर्भमा केही कुरा उठाउन
खोजिएको छ । यस क्रममा सर्सर्ती हर्दा देखिएका सकारात्मक तथा नकारात्मक
पक्षको चर्चा हुने छ ।
पाठ्य पुस्तक अद्यावधिक छ र पनि ख्याल पुर्याउनु पर्ने कतिपय पक्ष छुटेका
छन्, खटकेका छन् । ती पक्षहरूलाई बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयत्न
गरिएको छ । यस लेखमा आधारभूत तहको कक्षा एकदेखि पाँचसम्मलाई आधार मानिएको
छ ।
विद्वान् लेखकहरूले लेख्नु भएको छ, आआफ्ना सिप पोख्नु भएको छ राम्रो हो
तर उहाँहरूले कक्षा अनुसार शब्दहरू चयन गर्न ख्याल पुर्याउन नसक्नु भएको
हो कि जस्तो लाग्छ ।
हाम्रो देश बहु भाषिक, बहु स्थानिक तथा बहु जातीय हुनाले सबैका लागि
अर्थात् देशभरिका विद्यार्थीका लागि एउटै पाठ्य क्रम र पाठ्य पुस्तक
दिँदा उनीहरूको ग्रहण क्षमतालाई पनि ख्याल गर्नु पर्छ । काठमाडौँका
विद्यार्थीले ग्रहण गर्न सक्ने शब्दहरू मोफसलका लागि उपयुक्त नहुन सक्छ,
मोफसलका लागि उपयुक्त हुने शब्दहरू काठमाडौँका लागि उपयुक्त नहुन सक्छ ।
तसर्थ पुस्तक लेखक तथा सम्पादकहरूले नेपाली भाषाको स्तर उठेका
विद्यार्थीहरू, नेपाली मातृभाषी भएर पनि स्तर नउठेका विद्यार्थीहरू,
नेपाली भाषिक वातावरण नपाएका विद्यार्थीहरू तथा नेपाली भाषिक परिवेश
पटक्कै नपाएका विद्यार्थीहरूलाई एकै दृष्टिले हेर्न हुँदैन । यस कुरामा
ख्याल पुर्याउन सकिएन भने लक्ष्य अनुसार उपयुक्त ढङ्गले बालबालिकाको
विकास हुन सक्तैन ।
Related Posts with Thumbnails